गुर्भाकोटमा ‘स्मार्ट सीटी’को प्रतिक्षा

नेपालीमा एउटा उखान छ, ‘१२ वर्षमा त खोलो पनि फर्किन्छ’ । यदि यो भनाइलाई विकाससँग जोड्ने हो भने केही अर्थ भेटाउन सकिन्छ । विकास विस्तारै चल्ने प्रक्रिया हो । कुनैबेला भौतिक पूर्वाधार अभावमा रहेका मानवबस्तीहरूमा विस्तारै विकासको ढोका खुल्दैछ । जिल्लाको पूर्वमा रहेको गुर्भाकोट नगरपालिका, आफैमा विकासको प्रतिक्षामा छ । हालैमात्र नगरपालिका घोषणा भएको यो क्षेत्रमा भौतिक विकास र समृद्धिका धेरै सम्भावनाहरू छन् । स्थानीयस्तरमा उपलब्ध स्रोत र साधनहरूको सदुपयोग गर्नसके नमुना नगर हुनेमा कुनै शंका छैन ।
अब नगरपालिकामा विकासको रथ गुडाउने जिम्मेवारी जनप्रतिनिधिको काँधमा आएको छ । नगरका जनप्रतिनिधिले अब निर्माण गर्ने योजना र सञ्चालन गर्ने कार्यक्रमले विकास र समृद्धिको आधार तय गर्नेछ । यसका लागि यहाँका जनप्रतिनिधिले नगरमा रहेका स्थानीय स्रोत परिचालनमा पहिलो ध्यान दिन जरुरी छ । अर्कोतर्फ हरेक वडामा सडक विस्तार र कालोपत्रे गर्ने कामलाई दोस्रो प्राथमिकता दिन सक्नुपर्दछ । यस्तै भेरी किनारमा रहेका बस्तीमा सिँचाइको अभाव छ । सिँचाइको व्यवस्थापनका लागि योजना कार्यान्वयन भएको खण्डमा कृषिमा आधुनिकीकरण गर्न सकिनेछ । खानेपानीको संकट रहेका स्थानमा तत्काल खानेपानी आयोजना निर्माण गर्न आवश्यक छ ।
भेरी किनारमा नमुना सहर
पूर्वी मालारानी, सहारे, धारापानी, घुमखहरे, मेहेलकुना, दहचौर र गुमीलाई जोडेर यो नगरपालिका बनेको छ । भेरी किनारमा रहेको यो नगरपालिका आफैमा सम्पन्न छ । विकासको सम्भावना पनि भएको नगरमा पर्दछ । समृद्धिको सपना बुनिरहेको यो नगरपालिका यतिबेला स्मार्ट सीटीको प्रतिक्षामा छ । विश्व बैंकको सहयोगमा सहरी विकास तथा भवन निर्माण विभागले यो नगरपालिका अन्तर्गत भेरी नदी किनारमा आधुनिक सहर निर्माणका लागि प्रक्रिया अगाडि बढाएको छ । वास्तवमा यही सहर नै यो नगरको समृद्धिको पहिलो मार्गचित्र हो । सहर निर्माणका लागि भन्दै सहरी विकास विभागले त्यसको सम्भाव्यता अध्ययनको कामसमेत सुरु गरिसकेको छ ।
आधुनिक सहर निर्माणका लागि आवश्यक पर्ने पूर्वाधार रहेको र बाँकी संरचनाहरू समेत निर्माण गर्न सकिने पर्याप्त सम्भावनाहरू रहेका छन् । कृषि र पर्यटनको सम्भावना तथा सडक सञ्जालमा समेत जोडिएकाले सो क्षेत्रमा आधुनिक सहर बन्ने निश्चित नै भएको छ । अबको केही वर्षभित्रमा भेरी नदी किनारमा आधुनिक तथा सुविधा सम्पन्न सहर निर्माणको काम सम्पन्न हुनेछ । सहर निर्माणका लागि भेरी नदीको वारीपारी रहेका बस्तीलाई जोड्न पुल निर्माणको काम सम्पन्न भएका छन् । नदी किनारको दुवैतर्फ सहर निर्माण हुने र त्यसलाई हरियाली सहरका रूपमा विकास गर्ने लक्ष्य सरकारले लिएको छ । अब यहाँका जनप्रतिनिधिले यो कामलाई प्राथमिकता दिएर कामलाई तीव्रता दिनुपर्दछ ।
बगरको रूपमा उजाड रहेका भेरी किनारका बस्तीहरू सहरमा परिणत भए स्थानीय जनताको मात्र नभइ समग्र सुर्खेतको समृद्धिमा समेत टेवा पुग्नेछ । भेरी किनारका बस्तीहरू अभाव र पीडामा बाँँच्नुपर्ने अवस्था अन्त्य हुनेछ । सहर निर्माणको प्रक्रियासँगै यहाँ भौतिक सुविधाहरू उपलब्ध हुनेछन् । जनताको आर्थिक अवस्थामा पनि सुधार आउनेछ । आधुनिक सहर निर्माणका लागि भेरीगंगा नगरपालिकामा निर्माण गर्ने भनिएको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम तत्काल सुरु गर्नुपर्ने, भेरी–बबई डाइभर्सन आयोजनाको काममा तीव्रता दिनुपर्ने, धुलियाविट–भेडाबारी सडकलाई कालोपत्रे गर्नुपर्ने र भेरीबेल्टमा निर्माणाधीन सडकहरू समयमा नै सम्पन्न गर्नेतर्फ जनप्रतिनिधि लाग्नुपर्ने स्थानीय बासिन्दाले सुझाव दिएका छन् ।
कृषिमा लगानी र बजारीकरण
यो नगरमा कृषिको पर्याप्त सम्भावना छ । मालारानी र सहारेलाई तरकारी उत्पादनको पकेट क्षेत्रको रूपमा विकास गर्न सकिन्छ । यसका लागि स्थानीय सरकारले किसानलाई अनुदान र सिँचाइको व्यवस्था गर्न आवश्यक छ । स्थानीयस्तरमा उत्पादन भएका वस्तुले बजार पाउन नसकेको अवस्था छ । यस्तै भण्डारणको समस्याका कारण तरकारीजन्य उत्पादन कुहिने गरेको छ । यसका लागि स्थानीय सरकारले नै बजारीकरणको योजना बनाएको खण्डमा किसानले लाभ लिन सक्नेछन् । अर्कोतर्फ पशुपालनलाई उत्प्रेणा दिनसके जिल्लामा यही नगरपालिकाले नै दुधका आपूर्ति गर्न सक्षम हुनेछ । धारापानीलाई पनि पशुपालन र फलफूलको पकेट क्षेत्रको रूपमा विकास गर्ने योजना जनप्रतिनिधिले बनाउन सक्नु पर्दछ ।
जल पर्यटनको सम्भावना
यो नगरपालिकाको मुख्य आयस्रोत पर्यटन हुनसक्छ । भेरी किनारमा रहेको नगर भएकाले यहाँ जल पर्यटनको पर्याप्त सम्भावना छ । यसका लागि नगरपालिकाले आवश्यक पूर्वाधारमा लगानी गर्न जरुरी छ । भेरीमा ¥याफ्टिङ्ग सञ्चालन गर्नसके पर्यटक आकर्षित हुनेछन् । हरेक वर्ष यहाँ लाग्ने शुभाघाट मेलाले पनि पर्यटक तानेको छ । यसलाई अझ व्यवस्थित गरेमा पर्यटनको संख्या दोब्बर हुनसक्छ । पर्यटनबाटै स्थानीयले राजगारी पाउनेछन् । यसबाट नगरको पनि राजस्व बढ्नेछ । यसका लागि नगरपालिकाको नेतृत्वले योजना बनाउन आवश्यक छ । अर्कोतर्फ सडक, बिजुली र मेहलकुना अस्पतालको सेवा विस्तारमा पनि अब ध्यान दिनुपर्दछ ।

प्रकाशित मितिः   २९ असार २०७४, बिहीबार ११:११