चौकुनेमा खानी, पूर्वाधारमा लगानी

चौकुने गाउँपालिमा आफैमा समृद्ध हुने तमाम आधार छन् । जनताको चाहना अनुसार यसको समग्र विकास गर्नका लागि गुरुयोजना आवश्यक छ । भौगोलिक रूपमा विकट भए पनि स्थानीय सरकारलाई दिएको अधिकारलाई प्रयोग गरी समग्र क्षेत्रको विकास गर्न सकिन्छ । चौकुने गाउँपालिकाभित्र प्राकृतिक स्रोत र साधनहरू प्रशस्त छन् । तिनको सदुपयोग गर्नसकेमा मात्रै यस गाउँपालिकाको मुहार फेर्न सम्भव छ । त्यसका लागि अब पूर्वाधारमा लगानी गर्नुपर्ने हुन्छ । समृद्ध चौकुने बनाउनका लागि गर्नुपर्ने प्रमुख कामहरू यहाँ चर्चा गरिएको छः
पूर्वाधारमा लगानी
सबैभन्दा पहिला अस्पतालको अभाव रहेको चौकुने गाउँपालिकाभित्र एक अस्पतालको आवश्यकता छ । कैलाली, अछाम जिल्लाकोसमेत पायकपर्ने यस गाउँपालिकाभित्र अस्पताल स्थापना पहिलो प्राथमिकता हो । यस्तै प्रत्येक वडामा सामुदायिक ग्रामीण सूचना केन्द्र स्थापना गरी कम्प्युटर शिक्षण, फोटोकपी, इन्टरनेट सेवा प्रवाह गरिने रोजगारी सिर्जना गर्न सकिन्छ । यस्तै सामुदायिक एफएम सञ्चालन र ल्याण्डलाइन टेलिफोन सेवाको सुरुवात गर्नुपर्ने देखिन्छ ।
खानेपानीको व्यवस्थापन
नजिकै कर्णाली रहेको यस गाउँपालिकामा खानेपानीको अभाव छ । साविकका गाविसहरूमा झ्यालेकाँडा, साझकाँडा, साउने, जुम्ल्याहमूल, धारापानी, लगाम, बेतान, बेतखोली, धाच्के, तामाधारा तथा नाउली जस्ता ठाउँमा भएका पानी मुहानलाई सदुपयोग गर्नसके समग्र गाउँपालिकामा स्वच्छ पिउने पानीको व्यवस्था गर्न सकिन्छ । धारा, कुवा, घैटो निर्माण, बोरिङ्ग, लिफ्टमार्फत् दुर्गम र नदीका किनारामा रहेका बस्तीहरूको विकास गर्न सकिन्छ ।
कृषि र पशुपालनको सम्भावना
बेतान, गुटु, लगाम र बिजौराको केही भागमा भैंसी, गाइ ,बाख्रापालनका लागि उपयुक्त जमिन र घाँसका लागि उत्तम देखिएको छ । पुच्मा, बागमारा, रेक्चा, खोप्री, कोइरालबास, बेतान र लगामको क्षेत्रहरू यसका लागि उपयुक्त भूगोल मानिन्छ । बंगुरपालन सम्भावना पनि छ । दुध तथा मासुको अभावलाई यसले बजार विकास गरी रोजगारी सिर्जना गर्न सकिन्छ । फलफूल र जटिबुटी, तरकारी, माछापालन जस्ता क्षेत्रलाई पकेट मानी हरेक वडाको विशेषतामा आधारित रहेर कृषिमा आधुनिकीकरण गरी किसानको जीवनमा परिवर्तन ल्याउन कृषि क्षेत्रमा क्रियाशील सहकारी र समूहसँग मिलेर परिणामुखी कार्य गर्न सकिन्छ । यसमा अबको नेतृत्वले ध्यान देओस् ।
सिँचाइ आयोजना निर्माण
सिँचाइ लागि लगामको तल्लो भेग धम्मु, बोला, बेतानको खारगाडी, गोवरा, जामुने, बिजौराको भुडेभावर, घाटगाउँको केवडी, कुमाला र घाटगाउँमा सौर्य वा जेनेटरबाट बोरिङ्ग वा लिफ्ट सिँचाइ सञ्चालन गर्न सकिने सम्भावना छ । गुटुका बसन्तपुर, साउने, भेरी लाग्ने, भावर, डाँडाखेत, रान, जुउनेरीताल, मोतीसेरा, भट्टेसरा, कोलगाडमा सिँचाइका योजना निर्माण गर्नका लागि पर्याप्त स्रोत भए पनि यसको उपयोग हुन सकिएको छैन । यसलाई योजनाबद्ध रूपमा अगाडि बढाउन आवश्यक छ ।
विद्युतीकरण र सडक विस्तार
गुटुखोला, तामाधाराखोला, नाउली, घोग्रेखोला, बेतखोली र हात्तीखवामा लघु जलविद्युतको सम्भावना छ । यसको विकास भए चौकुनेभरी उज्यालो बनाउन सकिन्छ । कारखाना सञ्चालन गर्न पनि सहज हुनेछ । लगामको धनराश, गुटुको सल्टाकुरामा वायु ऊर्जाको लागि उपयुक्त मानिएको छ । यस्तै बेतान कर्णाली जलविद्युतको विकासका लागि हातेमालो गरी विद्युतीकरण गर्न सकिने सम्भावना रहेको छ । यस्तै सडक अभावमा सास्ती भोग्दै आएका यहाँका नागरिकका लागि अबको नेतृत्वमा सडक विस्तार र मर्मतलाई पहिलो प्राथमिकता दिन जरुरी छ । सडकको स्तरोन्नति तथा सञ्चालन गर्न गुरुयोजना निर्माण गरी क्रमागत योजनामा समावेश गरेर कार्य थालनी गर्न आवश्यक छ । गुटुखोलादेखि लगामसम्म हाल दुई लेन र भविष्यमा चार लेनको बनाउन सकिन्छ । साविकका गाविसहरू अन्तर्गत रहेका सडकहरूको स्तरोन्नति आवश्यक छ । यस्तै कैलाली चिसापानीबाट यो गाउँपालिकासम्म जोड्ने सडक र दाङबाट डोटीसम्म जोड्ने सडक निर्माणलाई पनि अब प्राथमिकता दिन जरुरी छ ।
औद्योगिक विकास
एशियाको प्रख्यात मानिने चौकुने सिमेन्ट खानीको विकास तथा सञ्चालन गर्न सकिने हो भने त्यस क्षेत्रबाट रोजगारीका विदेशिने युवा जनशक्तिलाई स्वदेश मै रोजगारी सिर्जना गर्न सकिन्छ । यस देशमा अभाव भइरहेको सिमेन्ट आपूर्तिमा सहज हुने देखिन्छ । त्यसैगरी घाटगाउँको कुमालामा अत्याधुनिक उद्योग सञ्चालन गर्न सकिन्छ । यस गाउँपालिकाभित्र २९ हजार वन हेक्टर छ । यसको सदुपयोगका लागि फर्निचर तथा स–मिल सञ्चालन गरी कच्चा पदार्थको सदुपयोग गर्न सकिन्छ । बिजौराको मायातालमा दुना, टपरी उद्योग सञ्चालनको सम्भावना छ ।
शैक्षिक विकार र सहरीकरण
बिजौरा, मायाताल, घाटगाउँ, बेतान, लगाममा साना बजार विकास कार्यक्रम थालनी गर्न सकिन्छ । स्थानीय गुटु बजारलाई थप उच्चस्तरको सहरी विकासका लागि पूर्वाधार विकास सम्भावना छ । यसले चौकुनेलाई पूर्वाधार, पर्यटन, शैक्षिक तथा प्रशासनिक गाउँपालिकाको रूपमा विकास गरी स्मार्ट सीटीको रूपमा विकासको सम्भावना रहेको छ । यस्तै लगाम माविमा शिक्षा, व्यवस्थापन, मानविकी क्याम्पस, बिजौरा माविमा साइन्स क्याम्पस, तोस्रा माविमा वन विज्ञान क्याम्पस, गुटु माविमा कृषि क्याम्पसको सम्भावना रहेको छ । यसका लागि नीतिगत निर्णय भएका छन् ।
पर्यटन प्रवद्र्धन
घाटगाउँको भेरी दोभान, चौकुने, साल्मस्थित पञ्चपुरी मन्दिर, धनराश दरबार, बिजौराको कुण्डली, झालाको जिरागाडीको समग्र विकास गरी पर्यटकीय विकास गरेमा नागरिकको आय–आर्जनमा योगदान मिल्नेछ । यसका लागि सरकारी तहबाट आवश्यक अनुदानको व्यवस्था गरी त्यस क्षेत्रसम्म जाने पहँुच बाटो, पानी, बत्तीको आवश्यक छ । भेरी तथा कर्णाली नदीमा निजी संस्था, राजी समुदायसँग साझेदारीमा माछापालनको कार्यक्रम गर्न सकिन्छ । यसबाट पर्यटन विकास तथा माछा व्यवसायमा संग्लन नागरिकलाई रोजगारी सिर्जनामा योगदान मिल्नेछ ।
यसरी यस गाउँपालिकाको समग्र विकास गर्नका लागि शिक्षा, स्वास्थ्य, सिँचाइ, खानेपानी, उद्योग तथा सामुदायिक वनको विकास गर्न सकिने सम्भावना रहेको अवस्थामा एकीकृत स्रोत साधनको परिचालन र सदुपयोग गर्नसके चौकुने गाउँको विकास गर्न सकिन्छ । यस गाउँपालिकाभित्र रहेको स्रोत साधनको सदुपयोग गरी एकीकृत विकासका इच्छाशक्तिको आवश्यक छ । यसका लागि रहेक सम्भावनाको खाजी गर्न आवश्यक छ ।

प्रकाशित मितिः   २९ असार २०७४, बिहीबार ११:०९