सिम्ता विकासको ‘रोडम्याप’
यतिबेला सबैको ध्यान गाउँपालिका र नगरपालिकामा केन्द्रित भएको छ । अब राजनीतिक विचार र आस्थालाई सबैले आ–आफ्नो ठाउँमा राख्दै सिम्ता गाउँपालिकाको समृद्धि र विकासमा जुट्ने बेला आएको छ । सिम्ता भर्खरै मात्र विकासमा बामे सर्दैछ । भौतिक पूर्वाधार विकासको गति काम चलाउ मात्र छ । दिगो बन्न सकेको छैन् । प्राकृतिक स्रोत र साधनमा सम्पन्न भएर पनि सिम्ताले अपेक्षाकृत विकास गर्न सकेको छैन ।
यो गाउँपालिकामा साविकका घोरेटा, काफलकोट, आग्रीगाउँ, बजेडीचौर, राकम, काप्रीचौर, डाँडाखाली र खानीखोला गाविस समावेश छन् । २५ हजार आठ सय ४५ जनसंख्या रहेको यस गाउँपालिकामा नौ वडामा विभाजन गरिएको छ । सिम्ता सुर्खेतको पुरानो र परिचित नाम हो । शैक्षिक रूपमा पनि उर्वर भूमिमध्येमा दरिने सिम्ताले कहलिएका धेरै व्यक्ति जन्माएको छ । विकासका लागि आवश्यक स्थानीय स्रोत र साधन तथा थुप्रै आधारसमेत रहेको सिम्तालाई उत्कृष्ट र नमुना गाउँपालिका बनाउन सम्भव छ ।
अब जनप्रतिनिधिले गाउँपालिकाको समृद्धि र विकासका लागि योजनाबद्ध रूपमा अगाडि बढ्न जरुरी छ । समृद्ध सिम्ताका लागि के गर्न आवश्यक छ ? कुन–कुन पूर्वाधारलाई प्राथमिकता दिएमा विकासको गति तीव्र हुनसक्छ ? केही आधारहरू यहाँ प्रस्तुत गरिएको छ ।
शिक्षा, स्वास्थ्य र रोजगारी
शिक्षा स्वास्थ्य र रोजगारी मानव जीवनका लागि अत्यावश्यक छन् । यो गाउँपालिकामा एक वडा एक माध्यमिक विद्यालय, एक उच्च शिक्षा अध्ययन केन्द्र, एक व्यवसायिक सीप विकास तथा तालिम केन्द्र, प्रत्येक वडामा स्वास्थ्य केन्द्र आदिको विकास गर्नुपर्नेछ । सिम्ताको सबैभन्दा पुरानो भानु माध्यमिक विद्यालय हाल सिम्ता गाउँपालिकाको केन्द्रमै छ । सिम्तालाई शैक्षिक गन्तव्यका रूपमा विकास गर्नका लागि शैक्षिक पूर्वाधारहरूको विकास र शैक्षिक अध्ययन तथा अनुसन्धानको थलोका रूपमा विकास गर्न सकिन्छ । यस क्षेत्रमा उच्च शिक्षा हासिल गर्नका लागि अहिले राकममा एउटा मात्र क्याम्पस सञ्चालनमा छ । यसलाई स्तरोन्नति गरेर स्नातकोत्तरसम्मको अध्ययन गर्ने थलोका रूपमा विकास गर्न अहिलेको स्थानीय तहको प्रमुख जिम्मेवारी देखिन्छ ।
कृषि, खाद्यान्न र वन पैदावरको पकेट क्षेत्र
भेरी नदी किनारमा रहेका सबै साना ठूला फाँटहरूलाई अन्नबाली प्रवद्र्धन केन्द्र र सामुदायिक वन अन्तर्गतका सबै जंगलमा वन पैदावार र वन्यजन्तु संरक्षण, जडिबुटी प्रशोधन केन्द्र स्थापना गर्नसक्ने अवस्था छ । थुप्रै क्षेत्रहरू कृषि उत्पादनका लागि योग्य छन् । आधुनिक कृषि प्रणालीलाई भिœयाएर यस क्षेत्रलाई कृषि उत्पादनको पकेट क्षेत्रका रूपमा विस्तार गर्न सकिन्छ । डाँडाखाली, बजेडीचौर, खानीखोला र काफलकोटको माथिल्लो भागमा सुन्तला, अनार, जुनार, नास्पती जस्ता फलफूल खेतीलाई प्रोत्साहन गर्नुपर्दछ । यसले कृषकहरूलाई फलफूल खेतीमा व्यवसायिक बनाएर आत्मनिर्भर बनाउन सकिन्छ । त्यस्तै घोरेटा, राकम जस्ता क्षेत्रमा आधुनिक कृषि प्रणालीलाई भिœयाएर खाद्य संकटको समस्यालाई हल गर्न सकिन्छ । यसतर्फ जनप्रतिनिधिले ध्यान दिन आवश्यक छ ।
जल तथा धार्मिक पर्यटनको सम्भावना
यस क्षेत्रमा जल पर्यटनको राम्रो सम्भावना देखिन्छ । गाउँपालिकाको फेदिबाट अविरल बग्ने भेरी नदीमा जल पर्यटनको सम्भावना उच्च छ । सुर्खेत–जाजरकोटको सीमाना छेडाखोलादेखि गुर्भाकोट नगरपालिकासम्म ¥याफ्टिङ्गको सम्भावना छ । यसलाई गाउँपालिकाको कार्ययोजनामै समाहित गरेर तदारुकताका साथ अघि बढ्नसके स्वदेशी तथा विदेशी पर्यटकहरूले जल पर्यटनको भरपुर उपभोग गर्ने र यसले स्थानीय नागरिकको आर्थिकस्तरमा वृद्धि हुनुका साथै गाउँपालिकाको राजस्वमा समेत वृद्धि हुनेछ ।
पर्यटन नै सिम्ताको मुख्य आर्थिक आयको स्रोत हो । यसलाई प्राथमिकतामा राख्न जरुरी छ । यहाँ पूराना देउलीमा रहेका शिलाहरू, पाटीपौवा, मठमन्दिर, बजेडीचौरमा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र कोटको थुम्को, घोरेटामा रहेको मष्टा मन्दिर, विभिन्न पर्वहरूमा लाग्ने धार्मिक तथा ऐतिहासिक मेला, गर्रा नाच, सिँगारु नाच लोकदोहोरी, पञ्चेबाजा, विवाह, व्रतबन्ध, आदिवासी भेषभूषा जस्ता कार्यहरूको जगेर्ना गर्दै पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्नुपर्ने अवस्था छ । यसैगरी एक गाउ,ँ एक होमस्टे जस्ता कार्यक्रम सञ्चालन गरी आन्तरिक तथा बाह्य पर्यटनलाई प्रवद्र्धन गर्नसक्ने धेरै सम्भावना छन् । कोटको थुम्कोमा भ्यू–टावर निर्माण गरी उत्तरतर्फका सेताम्ये हिमालहरूको अवलोकन र दक्षिणतर्फका फाँटहरूलाई नियाल्न सकिन्छ । कोटको थुम्कोलाई धार्मिक पर्यटनका रूपमा प्रचार र विस्तार गरे आर्थिक अभावमा भौंतारिनुपर्ने अवस्था आउने छैन ।
भौतिक पूर्वाधार विकास
यस गाउँपालिकाको प्रत्येक वडा कार्यालयमा जोडिएका कच्ची बाटालाई स्तरोन्नति गर्ने कार्यलाई पहिलो प्राथमिकता दिनुपर्दछ । सबै वडालाई जोड्ने गरी सिम्ता करिडोर निर्माणको योजना बन्न जरुरी छ । उक्त करिडोरलाई जोड्न विभिन्न ठाउँमा वडास्तरमा जोड्ने परियोजनाहरू सञ्चालन गर्न सकिन्छ । यसैगरी हाल ट्रयाक खोलिएका सडकहरूलाई स्तरोन्नति गरी राजमार्ग कै रूपमा सञ्चालन गर्न जरुरी छ ।
जलविद्युत उत्पादन
भेरीनदीका सहायक नदीहरू (जुगइखोला र आलीखोला) लाई संरक्षण गर्ने र यसबाट स–साना जलविद्युत आयोजना निमाण गर्ने, पानीका मूलहरू संरक्षण गर्ने हो भने अन्धकारको युगलाई सहजै चिर्न सकिन्छ । त्यस्तै यी नदीबाट निस्किएका ढुङ्गा बालुवाको उचित प्रयोग गर्नुपर्ने देखिन्छ । यसैगरी एक घर एक धारा, एक घर एक चर्पीको व्यवस्था गरी स्वच्छ गाउँ स्वास्थ्य जीवनको अवधारणामा काम गर्नुपर्ने आवश्यकता छ ।
यी माथि उल्लेखित सबै काम अब गाउँपालिकाको नेतृत्वकर्ताका काँधमा आएका छन् । यी सबै कामलाई नियाल्दा नेतृत्वलाई अवसर र चुनौती दुवै छन् । युवा पलायन र बसाइँसराइँ यहाँको मुख्य समस्या हो । यसलाई रोक्नु निकै चुनौतीपूर्ण छ । निर्वाचित नेतृत्वले गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष अर्थात् वडा अध्यक्ष मात्र बन्ने होइन । अब सिम्ताको विकास र समृद्धिको ठोस मार्गचित्र पनि अगाडि सानुपर्छ । जतिसुकै साधन स्रोतले सम्पन्न होस्, पूर्वाधार विकास, स्थानीय साधन स्रोतको बहुआयमिक परिचालन र स्थानीय कानुनको तर्जुमा गर्न गतिशील नेतृत्व भएन भने गाउँपालिकाले विकासको गति लिन सक्दैन । यसका लागि निर्वाचित जनप्रतिनिधिले विशेष ध्यान दिनुपर्नेछ ।
साझा बिसौनी संवाददाता ।