सडक सञ्जालको पर्खाइमा लेकवेशी
साविकका पाँच गाविस गाभेर बनाइएको लेकवेशी नगरपालिका सम्भावनाको खानी हुँदाहुँदै पनि विकासमा पछि परेको छ । यसको प्रमुख कारण हो, सडकको पहुँच नहुनु । साटाखानी, नेटा, कल्याण, दशरथपुर र लेखफर्सा गाविस मिलेर बनेको लेकवेशी नगरपालिकाका सबै वडाहरूमा न सडक सञ्जाल पुगेको छ, न सहजरूपमा स्वास्थ्य, शिक्षा र विद्युत सुविधा नै । कृषि र पशुपालनमा हिसाबले उच्च सम्भावना बोकेको नगरपालिका भएता पनि सहज रूपमा सडक सञ्जालमा नजोडिनु लेकवेशीको दुर्भाग्य बन्न पुगेको छ ।
सडक नै पहिलो पूर्वाधार
लेकवेशी नगरपालिकालाई समृद्ध बनाउनका लागि आवश्यक पहिलो पूर्वाधार हो सडक । नगरपालिका सबै वडाहरूलाई सडक सञ्जालमा जोड्नु नवनिर्वाचित जनप्रतिनिधिहरूको प्रमुख चुनौती पनि हो । सडकको सहज पहुँच नहुँदा यहाँका स्रोत र साधनहरूको सदुपयोग हुन सकिरहेको छैन । शैक्षिक, व्यापारिक र व्यवसायिक हिसाबमा पनि सडक महŒवपूर्ण मानिन्छ तर सहज रूपमा निरन्तर यातायातका साधनहरू चल्न नसक्दा सम्भावनाका ढोकाहरू खुल्न सकेका छैनन् । लेकवेशी नगरबासी समेत रहेका स्थानीय शान्ति समिति सुर्खेतका संयोजक मोहन थापाले पनि जनप्रतिनिधिहरूले सबैभन्दा पहिला सडकलाई नै प्राथमिकता दिएर काम गर्नुपर्ने बताउँछन् । धुलियाविटदेखि भेडावारी सडकलाई पक्की बनाई चिङ्गाडखोलामा पक्की पुल निर्माण गर्नसके मात्र नगरमा उत्पादित भएका सामग्रीहरूलाई व्यापारिक केन्द्रसम्म ल्याइपु¥याउन सकिने उनको भनाइ छ । थापाले नगरपालिकाका सबै वडाहरूमा सिँचाइ र खानेपानीलाई पनि जोेड दिन आवश्यक रहेको बताए ।
पशुपालक र कृषि खेतीका दृष्टिकोणले यस नगरपालिका उर्वर भूमिका रूपमा रहे पनि उत्पादित वस्तुहरूको सहज रूपमा बजारीकरण हुन सकिरहेको छैन् । यस नगरपालिकामा पर्ने साविकका लेखफर्सा, दशरथपुर र कल्याण लगायतका गाविसहरू तरकारी खेती, फलफूल खेतीका हिसाबले उर्वर छन् । त्यसैगरी आँप खेतीका लागि पनि यस क्षेत्र उर्वर रहे पनि व्यवसायिक रूपमा सञ्चालन गरिएको छैन् । यस क्षेत्रमा उत्पादित वस्तुहरू बिक्रीका लागि बजारसम्म पु¥याउन यातायातको सुविधा छैन ।
साविकको दशरथपुर पूर्व गाविस अध्यक्ष तोयनाथ शर्माले पनि जनप्रतिनिधिहरूको ध्यान सडक सञ्जाललाई स्तरोन्नति गर्नतर्फ जानुपर्नेमा जोड दिन्छन् । ‘सहज रूपमा सडक सञ्जाल जबसम्म जोडिदैन्, तबसम्म न पर्यटन व्यवसाय सम्भव छ न कृषि उत्पादनको बजारीकरण त्यसैले यसैतर्फ ध्यान दिऔं ।’
कृषिमा जोड
लेकवेशीभित्र पर्ने अधिकांश क्षेत्र कृषि उत्पादनका लागि उर्वर भूमि हुन् । तर सिँचाइको प्रबन्ध नहुँदा कृषकहरूले लगानी अनुसारको प्रतिफल पाउन सकिरहेका छैनन् । ‘साटाखानी र नेटा सिँचाइ असुविधा भएका ठाउँहरू हुन्’ थापा भन्छन्, ‘सिँचाइ सुविधा सिर्जना गरी कृषिमा जोड दिनुपर्छ ।’ कृषिमा जोड दिइ आधुनिकीकरण गर्नसके मात्र यस नगरपालिकाको विकास र समृद्धि सम्भव रहेको बताउँदै थापाले कृषि उत्पादनको बजारीकरणका लागि औद्योगिक क्षेत्रहरू स्थापना गर्न जरुरी रहेको औंल्याए । दशरथपुरमा रहेको कृषि अनुसन्धान केन्द्र नार्कलाई व्यवस्थित गरी कृषि क्याम्पसका रूपमा विकास गर्नसके यस क्षेत्रबाट कृषिका क्षेत्रमा अब्बल जनशक्ति उत्पादन गर्न सकिने उनको भनाइ छ । सम्भावित पर्यटकीय स्थानहरूको पहिचान गरी पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नसके नगरपालिकालाई पर्यटनका हिसाबमा पनि समृद्ध बनाउन सकिने थापाले जनाए ।
पूर्व गाविस अध्यक्ष शर्माले थपे, ‘प्रदेशकै ठूलो कृषि अनुसन्धान केन्द्र हाम्रो नगरमा छ,
तर के गर्नु ओझेलमा परिरहेको छ यसलाई व्यवस्थित गर्न जरुरी छ ।’ जनप्रतिनिधिहरूलाई यस नगरपालिकाभित्र रहेका विकासका सम्भावनाहरूलाई कार्यान्वयनमा ल्याउन चुनौती रहेको उनी बताउँछन् । ‘अन्य स्थानीय तहभन्दा यो नगरपालिका पछाडि परेको नगरपालिका हो’ उनले भने, ‘सम्भावना त थुप्रै छ तर त्यसलाई कार्यान्वयन कसरी गर्ने चुनौती नै देख्छु ।’
थप सम्भावना
नगरबासी शुक्रबहादुर विकले पनि नगरको समृद्धिका लागि सडक, कृषि, शिक्षा र स्वास्थ्यलाई जोड दिन आवश्यक रहेको बताउँछन् । ‘यस नगरमा एउटा प्राविधिक शिक्षालय स्थापन हुन आवश्यक छ’ उनले थपे, ‘आफ्नै नगरमा दक्ष जनशक्ति उत्पादन गर्नका लागि नगरपालिकाले यसतर्फ पनि पहल कदमी चाल्नुपर्छ ।’ उनले बेरोजगार युवाहरूलाई सीपमूलक तालिमहरू प्रदान गरी स्वरोजगार बनाउनतर्फ पनि नगरपालिकाले ध्यान दिनुपर्ने बताए ।
समग्रमा लेकवेशी नगरपालिकाको विकासका लागि सडक सञ्जाललाई स्तरोन्नति गर्नु टड्कारो आवश्यकता हो । त्यसपछि शिक्षा र स्वास्थ्यलाई पनि जोड दिन आवश्यक छ । शिक्षाका हिसाबमा उच्च शिक्षा हासिलका लागि र प्राविधिक शिक्षाका लागि क्याम्पसहरू छैनन्, स्वास्थ्यतर्फ हेर्दा दशरथपुरमा एक प्राथमिक केन्द्र बाहेक अन्य प्रमुख केन्द्रहरू छैनन् यस्तो अवस्थामा नगर कार्यपालिकाले नगरभित्र एक सामुदायिक अस्पताल सञ्चालनका लागि पहल थाल्न सके नगरलाई स्वास्थ्य र शिक्षाका दृष्टिकोणले पनि अब्बल बनाउन सकिनेछ । नगरबासीको आर्थिक समृद्धिका लागि कृषिमा आधुनिकीकरण बाहेक अरु विकल्प छैनन् । कृषि पेसामा लागेका कृषकहरूलाई व्यवसायिकतामा जोड दिइ उत्पादित वस्तुहरूको बजारीकरणमा जोड दिनसके आर्थिक समृद्धि टाढा छैन । वन जंगलको मात्रा बढी भएको नगरपालिका भएकाले आर्थिक समृद्धिका लागि कृषिसँगै पशुपालन पनि अवसरका रूपमा रहेको छ । व्यावसायिक रूपमा बाख्रापालन, कुखुपालनमा, बंगुरपालन र भैंसीपालन गर्नसके कृषकहरूलाई समृद्ध बनाउन सकिन्छ ।
साझा बिसौनी संवाददाता ।