राजधानी वीरेन्द्रनगर

वर्षातको समय, वीरेन्द्रनगरको अवस्था सबैलाई जानकारी भएकै कुरा हो, अव्यवस्थित सहरको रूपमा परिचित वीरेनद्रनगर । विगत नियाल्दा ६ नं. प्रदेशको राजधानीका रूपमा हेरिएको सुर्खेत बजार अर्थात् वीरेन्द्रनगर मुख्य बजार स्थानान्तरणका घटनाहरू नभएका भने होइनन् । जसको मुख्य कारण नै हो अव्यवस्थितीकरण । भावी आवश्यकताका लागि वर्तमान समयमा व्यवस्थापन पक्षमा चालिएका कदमहरूले निर्धारण गर्नेछन्, वीरेन्द्रनगरको भविष्य । वर्तमान समयमा वीरेन्द्रनगर बजार क्षेत्र सामान्य समस्याहरूसँग नै जुधिरहेको छ । सामान्य समस्याहरूसँग जुधिरहेको समयमा भविष्यलाई कसरी कता निर्धारण गर्ने वीरेन्द्रनगरले । कसरी राजधानीको रूपमा परिचित हुने ? डर त्यो छ, कतै नामको मात्र राजधानी हुने त हैन वीरेन्द्रनगर ?


स्थानीय निकायको चुनावले खासगरी बजारक्षेत्र निकै ततायो । कोही नागरिक पार्टीको नारा लिएर भोट हाले त कोहीले व्यक्ति छनौटको कुरा पनि सुनाएका थिए । आखिरमा विगत कर्यौं वर्षदेखि विना प्रमुख चलेको स्थानीय निकायले नेतृत्व पायो, जनताले आफ्नो प्रतिनिधि आफै चुने । स्थानीय निकायको निर्वाचन पश्चात जनताद्वारा वीरेन्द्रनगरका लागि चुनिएका मेयर तथा उपमेयर र टोल–टोलमा समानुपातिक विकासका लागि चुनिएका वडा अध्यक्ष लगायतको समूहले के हामी नागरिकको भविष्यलाई सकारात्मक जीवनतिर डो¥याउन सफल हुनेछन् ? जहाँ हरेक नागरिक आलोचना तथा असन्तृष्टीको विचार बिर्सिएर मुस्कुराइरहेको होस् । के चुनावी घोषणा तथा प्रतिबद्धतापत्रमा प्रयोग गरिएका बुँदाहरू पूर्ण हुनेछन् ?
खानेपानी
पिउनेपानीको समस्या नगरले विगत केही वर्ष यता भोगिरहेकै छ । नदीनाला तथा खासगरी जमिनको पानीमा निर्भर वीरेन्द्रनगरले घर–घरमा धाराको सपना देखेकै थियो । अधिकांश मानिसहरू उपत्यकाभित्र कृषिमै निर्भर थिए । संरक्षित वनजंगल जसको कारण पनि समयमा सिँचाइको लागि पानीको उपलब्धताले नगरलाई कृषिको क्षेत्रमा आत्मनिर्भर बनाएको पक्कै थियो । खानेपानीमा सहजीकरण तथा सरसफाइलाई व्यवस्थितीकरणको नाराका साथ जिल्लामा स्थापित खानेपानी आयोजनाको प्रभावकारिता अहिले प्रष्ट छ । जिल्लामा अन्य जिल्लाबाट बसाइँसरी बढेको जनघनत्वसँग जुधिरहेको खानेपानी योजनाले दीर्घकालीन प्रस्ताव तथा योजना कोर्न नसकेको विषय पनि नागरिकसामु प्रष्ट भएको छ । कार्यक्रम, भाषण, प्रस्ताव त्यसपछि सञ्चारमाध्यममा खानेपानी समस्या निराकरणका योजनाहरू आइरहन्छन्, सायदै ती योजना पूरा हुनेछन् । पूरा तव हुनेछन्, जब ती योजनाहरूले समेत नगर तथा जिल्लाको आवश्यकता फेरि थेग्न सक्नेछैनन् । जिल्ला, विशेष गरी नगरमा खानेपानी समस्या रहनुको कारणहरू थुप्रै होलान् तर वर्तमान समय दीर्घकालीन प्रभावकारी योजनाको हो ।
पैदलमार्ग
बजार अव्यवस्थित नै छ । पैदलमार्गको अभाव भएसँगै पैदलमार्गी सडकमा आउनासाथ प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा यहाँका नागरिक, व्यापारी, सवारीचालक तथा सवारी धनी र विशेष गरी नगरलाई नकारात्मक असर गरिरहेकोछ । सो सम्बन्धित पक्षद्वारा जसरी वर्गीकरण गरिएता पनि वीरेन्द्रनगर बजारक्षेत्रमा व्यापारीहरूको मनोमानी तथा सम्बन्धित पक्षको लाचारीपनकै कारण सडकपेटी समेत मिचिएकोछ । पद तथा पावरको आधारमा मानिसहरू सडकपेटी मिचेरै घर बनाएका छन् । जसको कारण पैदल यात्रा गर्ने मानिसहरू सडकमा पैदल हिँड्न बाध्य रहन्छन् । प्रमुख पक्ष सुर्खेतमा बसाइँसरी आउने बढ्दो जनघनत्वसँगै आवश्यकता दर बढ्दो रूपमा नभएको पनि हो । तर नागरिकलाई नै नियम तथा कानुनमा बाध्न सकिएको भए पैदलमार्गको अभावले नागरिक सडमा आउने थिएनन् ।
पार्किङ्ग
सवारी साधन पार्किङ्ग । यस समस्यालाई मध्यनजर गर्दै सुर्खेतमा जिल्ला ट्राफिक कार्यलयले समेत प्रभावकारी भूमिका निर्वाह गरेको प्रष्ट देखिन्छ । व्यवसायी तथा भवन निर्माणकर्ताले बेवास्था गरे लगत्तै पैदलमार्गी सडकमा उत्रियता पनि सडकमा रहेको पार्किङ्ग समस्याले थप अव्यवस्थितीकरण झल्काइरहेको छ । जसो–कसो नागरिकलाई निममा उतार्न खोजिएता पनि वर्तमान योजना दीर्घकालीन रहेको छैन । नागरिक सम्पत्तिमा एकाधिकार गर्न नसकिएता पनि बजार क्षेत्रमा नेपाल सरकारको स्वामित्वमा रहेका जग्गाहरूलाई कुनै नागरिकलाई भाडामा उपलब्ध गराउनुभन्दा पार्किङ्गस्थलको रूपमा विकास गर्न सकिएमा पनि नगर व्यवस्थापन पक्ष दीर्घकालीन मजबुत रहने थियो ।
दिन प्रतिदिन उही जनघनत्व छ । बढिरहेको छ बढिरहेको छ । साघुरा स्थानहरू जहाँ एउटा मोटरसाइकल रोकेमा मात्र अर्को कार छिर्न सक्दैन, सो स्थानलाई ‘वान वे’ बाटोको रूपमा तत्काल व्यवस्थापन गर्न जरुरी छ । यी पक्षहरूमा सम्बन्धित निकायले निमानुसार तत्काल व्यवस्थापन गर्न सकिएमा पनि भविष्यमा आउने विवादमा कमी ल्याउन सकिन्छ ।
ढल निकास तथा फोहरमैला
वर्षातको समयमा प्रमुख रूपमा देखिएको ढल निकास तथा फोहरमैला व्यवस्थापन पक्ष । सम्बन्धित निकायद्वारा यस सम्बन्धमा अघि सारिएका विभिन्न योजनाहरू सह्रानीय रहेका छन् । जस्तै फोहरमैला रातीमा उठाइनु । तर सरकारको पहलमा फोहर उठाउनुमात्र समस्याको दीर्घकालीन समाधान होइन । कतिपय स्थानहरूको अवस्था यस्तो छ कि नालामा बगिरहेको पानी निकायको लागि स्थान नै छैन । अनि ? पानी फेरि बेवारिसे अवस्थामा सडकमा आउनु स्वभाविक नै भयो । र, सरकार फोहर उठाइरहेको छ नागरिक विना दायित्व फोहर उत्पादन गरिरहेको छन् ।
नागरिकको पनि दायित्व रहन्छ फोहर व्यवस्थापनमा । कुहिने र नकुहिने फोहरमैलाको उचिन व्यवस्थान, प्लाष्टिकको कमभन्दा कम प्रयोग तथा फोहर फ्याक्ने स्थान । सरकार, विभिन्न संघ–संस्था तथा व्यक्तिद्वारा यी पक्षहरूलाई लिएर धेरै जनचेतना जगाइसके, धेरै सिकाय उनीहरूले नागरिकका लागि । अवको समय नागरिकले आफ्नो व्यवहार परिवर्तन गर्ने समय हो । अझै कति अबुझ बन्दछौं हामी अब त परिवर्तन होऔं ।
क्षेत्र वर्गीकरण तथा वातावरणमैत्री
सुर्खेत जिल्ला विशेष गरी वीरेन्द्रनगरको कुरा, यहाँ व्यापार तथा विभिन्न नागरिक सेवाका लागि स्थापना गरिएका संस्थाहरू सेवाको रूपमा मापदण्ड पूरा गरेका त होन् तर स्थान छनौटको व्यवस्थापन पक्ष निकै फितलो रहेको छ । यहाँ विद्यालय नजिकै एक सय मिटरको दूरीमा रक्सी पसलहरू खोलिएका छन् । स्वास्थ्य सेवाका लागि स्थापित नर्सिंङ्ग होमहरूसँग के आफ्नै बगैंचा छ ? पार्किंङ्गको स्थान कति छ ? संस्था अपाङ्गमैत्री छ कि छैन ? उद्योग तथा कलकारखानाले उत्पादित फोहरलाई कसरी व्यवस्थापन गरिरहेका छन् । मानवबस्ती तथा उद्योगबीचको दूरी कति छ ? व्यवसाय तथा उद्योगले कतै ध्वनी प्रदुुषण त गरिरहेका छैनन् ? ध्वनी उत्पादन गर्ने उद्योग तथा कलकारखाना नजिकै रहेको विद्यालयको दूरी कति छ ? यी पक्षहरूमा वीरेन्द्रनगर ध्यान दिन सकिरहेको छैन । वर्तमान समयमा यस्ता पक्षहरूको असर कमै मात्रामा भएता पनि पूर्ण दीर्घकालीन व्यवस्थापन गर्न नसकिएमा यसले विवाद तथा ठूलै समस्या निम्त्याउने गर्छ ।
वडा सुधार तथा व्यवस्थितीकरण
मानवबस्ती रहेको वडा । बाटोघाटो पक्की, खानेपानी समस्याको सुधार, बिजुलीबत्ती जस्ता पक्षहरूमा मात्र वडा विकास छ भन्ने उदाहरण होइन । वीरेन्द्रनगरका केही वडाहरूमा पार्कको व्यवस्था छ । जसले हामी सकारात्मक मार्ग अपनाउँदैछौं भन्ने प्रष्ट पार्दछ । अबको समय भनेको टोल–टोलमा पुस्तकालय, युवा, बालबच्चा तथा वृद्धवृद्धामैत्री स्थानहरूको निर्माण, खेलकुदको लागि प्रयाप्त स्थानको विकास हो । यी पक्षहरू विकास भएमा समाजमा सकारात्मक सन्देशको प्रवाह हुनसक्छ, सहिष्णुता, मेलमेलाप तथा सहयोगको भावनालाई अग्रसरता यिनै पक्षहरूले गर्नेछन् ।
नागरिक स्वास्थ्य, आत्मनिर्भरता र बजार निरीक्षण
नगर लगायत जिल्ला अहिले परनिर्भरताको चरणमा रहेको छ । यो समस्या सुर्खेतको मात्र नभएर सारा नेपालकै हो । महिनौ महिनासम्मको अघोसित नाकाबन्दीले हामीलाई धेरै सिकायो तर हामी अब आफ्नो व्यवहार परिवर्तन गर्न सकिरहेका छैनौं । अझै पनि हामी अन्य जिल्ला तथा विशेष गरी छिमेकी मुलुक भारतमा व्यापारिक प्रयोजनका लागि मात्र उत्पादित वस्तुको उपयोगितामा जोड दिइरहेका छौं । नेपाली उत्पादनले बजार भाउ नपाउनुको कारण पनि यही नै हो, परनिर्भरता । सरोकारवा निकायले नागरिक स्वास्थ्यसँग जोडिएका पक्षहरूको नियमित अनुगमन, वस्तुको बजार भाउमा निगरानी राख्नु वर्तमान आवश्यकता हो । यो मौसममा जिल्लामा बिक्री भइरहने तरकारी तथा खाद्यान्न कत्तिको नागरिक स्वास्थ्यमैत्री रहेका छन्, नियमित रूपमा परीक्षण तथा अनुगमन वर्तमान आवश्यकता हो ।
व्यवसायीहरूद्वारा नागरिक ठगिएका पनि छन्, दर तथा भाउमा ठगी र गुणतस्तरमा ठगी । यसलाई रोकथामका लागि सम्भव भएसम्मका सबै पक्षहरूमा दरभाउ स्पष्ट पार्नुपर्ने रहन्छ । प्रतिस्पर्धाको जमाना रहेता पनि खाद्यवस्तु तथा तरकारीमा मनोमानी रूपमा व्यापारिक दर रहेको स्पष्ट छ । हरेक वर्ष बढ्दो महँगी व्यापारिक मनोमानी पनि हो । उदाहरणको लागि नेपाल सरकारद्वारा रक्सीमा कर बढाइदा दुई चार रूपैयाँ पेटीमा बढेको मात्र हुन्छ, व्यापारीद्वारा प्रतिगोटा पचाससम्म बढाउने गरिएको छ ।
माथि उल्लेखित समस्या तथा व्यवस्थापन गरिनुपर्ने पक्षहरू प्रमुख प्रतिनिधि पक्षहरू मात्र हुन् । विचार तथा व्यवस्थापन गरिनुपर्ने अन्य विविध पक्षहरू समानुसार व्यवस्थापन गर्न नसकिएमा सुर्खेत खासगरी वीरेन्द्रनगर बजारक्षेत्र नागरिकमैत्री राजधानी नहुने पक्का छ ।

प्रकाशित मितिः   २५ असार २०७४, आईतवार १४:२२