छाउगोठमा सुतेकी महिलालाई सर्पले टोक्दा मृत्यु

सुर्खेत, २३ असार ।
वर्षातको समय । घरबाहिर एक्लै सुत्ने उनको इच्छा नै थिएन । तर परिवारले महिनावारी भएको बेलामा घरभित्र सुत्दा देउता रिसाउने भन्दै घरबाहिर सुत्न लगाए । परिवारको दबाब र सामाजिक त्रासका कारण घरबाहिर रहेको छाउगोठमा सुत्न बाध्य उनको ज्यान नै गुम्यो ।
छाउगोठमा सुतेकै कारण दैलेखमा एक महिलाको ज्यान गएको छ । जिल्लाको चामुण्डा विन्द्रासैनी नगरपालिकामा छाउगोठमा सुतेकी स्थानीय एक महिलाको सर्पको टोकाइबाट ज्यान गएको हो । स्थानीय लैनचौर निवासी तुल्सी शाहीलाई बिहीवार राती छाउगोठमा सुतेको बेलामा सर्पले टोकेको थियो । मध्यरातमा सर्पले टोकेपछि परिवारले धामीझाँक्रीमार्फत् उपचारको प्रयास गरेका थिए । तर भरपर्दो उपचार नपाउँदा २२ वर्षीया तुल्सीको शुक्रवार मृत्यु भएको हो ।


महिनावारी भएको चार दिन भएको थियो । साँझको खाना खाएर गाउँमै रहेको मामाको घरमा रहेको छाउगोठमा सुतेकी तुल्सीलाई राती १० बजे सर्पले टोकेको थियो । त्यसपछि उनलाई उपचारका लागि अस्पताल लैजानुको साटो घरमै धामी बोलाएर झारफुक गरिएको थियो । सर्पले टोकेको करिब नौ घण्टापछि उपचारकै अभावमा तुल्सीको ज्यान गएको नगरपालिकाका मेयर सूर्यबहादुर शाहीले जानकारी दिए । उनका अनुसार स्वास्थ्य केन्द्र पनि टाढा भएको र एम्बुलेन्स पनि नहुँदा उपचार नपाएरै तुल्सीको मृत्यु भएको हो । घटनास्थलबाट जम्बुकाँधमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रसम्म पुग्न करिब एक घण्टा पैदल लाग्ने गर्दछ । तर आफन्तले घरमै धामी बोलाएर झारफुकको प्रयास गरेका थिए ।
जम्बुकाँध स्वास्थ्यचौकीमा कार्यरत अनमी कमला शाहीले उपचार अभावमै तुल्सीको मृत्यु भएको जानकारी दिए । ‘मैले यो घटना ढीला मात्र थाहा पाएँ, समयमा नै उपचार गर्न सकिएन’ उनले भने, ‘उपचारको प्रयास गर्न नपाउँदै मृत्युभयो, समयमा नै औषधि पाएको भए सायद ज्यान जोगाउन सकिन्थ्यो ।’ नगरपालिका भए पनि सो स्थानमा अहिले पनि छाउपडी प्रथा कायमै छ । घरभित्र पस्दा देउता रिसाउने र अनर्थ हुने अन्धविश्वासका कारण स्थानीयले महिनावारीको बेलामा महिलालाई सात दिनसम्म घरभित्र पस्न दिदैंनन् । यही अन्धविश्वासका कारण छाउगोठमा सुतेकी तुल्सीको अकालमै ज्यान गुमेको छ ।
छाउपडीविरुद्ध विभिन्न सरकारी तथा गैरसरकारी निकायले अभियान पनि सञ्चालन गर्दै आएका छन् । तर ती अभियानहरू प्रभावकारी हुन सकेका छैनन् । चामुण्डा विन्द्रासैनी नगरपालिकाका मेयर सूर्यबहादुर शाहीले छाउपडीकै कारण महिनावारीको समयमा महिलाहरू सास्ती भोग्न बाध्य भएको बताए । साथै उनले अब आफूहरूले छाउपडीविरुद्ध सचेतनामूलक अभियान सञ्चालन गर्ने जानकारी दिए । स्थानीय महिला, आमा समूह र धामीझाँक्रीहरूलाई समावेश गरेर अभियान सञ्चालन गर्ने उनको भनाइ छ । महिनावारी भएकै कारण महिलाले घरभित्र पस्न र सुत्न नपाउने संस्कार तोड्नका लागि नगरपालिकाले प्रयास गर्ने उनले उल्लेख गरे । छाउपडी प्रथाकै कारण महिला तथा किशोरीहरू छाउगोठमै बलात्कृत हुने, जंगली जनावर तथा सर्पबाट असुरक्षित हुने र मानसिक रूपमासमेत पीडित हुनुपर्ने समस्या रहेको छ । अहिलेपछि प्रदेश ६ र ७ का विभिन्न जिल्लामा छाउपडी प्रथा कायमै छ । सुर्खेतमा पनि छाउगोठमै सुत्दा धेरै महिलाहरू पीडित बनेका छन् । दाताको भरमा सञ्चालन हुने छाउपडीविरुद्धका अभियानहरू पछिल्लो समय हराएका छन् । बजेट अभावमा कार्यक्रम सञ्चालन गर्न नसकिएको भन्दै गैरसरकारी संस्थाहरू फिर्ता भएपछि ग्रामीण क्षेत्रमा पुनः छापउडी प्रथा ब्यूँतिएको छ ।

प्रकाशित मितिः   २४ असार २०७४, शनिबार १३:४०