रोप्ने समयमा बीऊ राख्दै कृषक

सुर्खेत, १५ असार ।
मध्य असारसम्म पनि सुर्खेत जिल्लामा ७ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न भएको छ । जबकी गत वर्ष यही अवधिमा २० प्रतिशत रोपाइँ सम्पन्न भइसकेको थियो । सिँचाइ सुविधा नहुँदा यहाँका कृषकहरूले समयमै रोपाइँ गर्न पाएका छैनन् । सिँचाइ नहुने क्षेत्रका कृषकहरू आकाशे पानीको पर्खाइमा छन् ।


जिल्लामा १४ हजार ६ सय हेक्टर जमिन धानखेतीका लागि योग्य छ । तर यसको ३२ प्रतिशत क्षेत्रफलमा मात्र सिँचाइ सुविधा रहेको जिल्ला कृषि विकास कार्यालय सुर्खेतले जानकारी दिएको छ । बाँकी ६८ प्रतिशत क्षेत्रफलमा आकाशे पानीको भरपर्नुपर्ने बाध्यता छ । जसले गर्दा कृषकहरूले हरेक वर्ष हैरानी खेप्दै आएका छन् । आकाशे पानीको भर पर्नुपर्दा कृषकहरूले समयमै खेती गर्न पाएका छैनन् । सरकारले कृषिलाई आधुनिकीकरण गर्ने र व्यवसायिक बनाउने बताउँदै आए पनि सिँचाइका लागि भने चासो नदिएको कृषकहरूको गुनासो छ । सधैं आकाशे पानीको भर परेर व्यवसायिक कृषि गर्न नसकिने उनीहरू बताउँछन् । विकास निर्माणका अन्य कामहरूलाई जस्तै सिँचाइलाई पनि प्राथमिकता दिनुपर्ने कृषकहरूको माग छ ।
सिँचाइ सुविधा नहुँदा कृषकहरूले लगानी अनुसारको प्रतिफल समेत पाउन नसकेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख कालिकाप्रसाद कोईरालाले अधिकांश क्षेत्रमा सिँचाइको उपयुक्त सुविधा नभएको र आकाशे पानीको भर पर्नुपर्ने भएकाले कृषकहरूले समयमै खेती गर्नसमेत नपाएको जनाए । असारको १५ भइसक्दासमेत कृषकहरूले रोपाइँ गर्न नपाएपछि चिन्तित बनेका छन् । रोपाइँ गर्नुपर्ने बेलामा कतिपय कृषकहरू बीऊ राख्दैछन् भने कतिपय स्थानमा बीऊ राख्न समेत बाँकी नै रहेको पाइएको छ ।
धान दिवस मनाइयो
विगतका वर्षहरूमा जस्तै यसवर्ष पनि कृषकहरूले धान दिवस एवम् रोपाइँ महोत्सव मनाएका छन् । दिवसकै अवसरमा बिहीवार सुर्खेतका विभिन्न स्थानमा सामूहिक रूपमा रोपाइँ महोत्सव गरिएको छ । यसवर्ष सुर्खेतमा कृषकले मात्र होइन जिल्लास्थित सरकारी कार्यालयका कर्मचारीदेखि विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले समेत रोपाइँ महोत्सव मनाएका छन् ।
जिल्ला कृषि विकास कार्यालय सुर्खेतको आयोजनामा वीरेन्द्रनगर–१० मा १४ औं धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ । उक्त महोत्सवमा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी, उपप्रमुख मोहनमाया ढकाल, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय र राजनीतिक दलका प्रतिनिधिहरूले रोपाइँ गरेका थिए ।
कार्यक्रममा बोल्दै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले सबै कृषकहरूमा धान दिवसको शुभकामना व्यक्त गरे ।
उनले मुलुकको आर्थिक समृद्धिका लागि अब कृषिमा आधुनिकीकरण जरुरी रहेको बताए । कृषि क्षेत्र राज्यको पनि प्राथमिकतामा रहेकाले अब यसलाई व्यवसायिक र आधुनिक बनाएर लैजानुपर्ने उनको भनाइ
थियो । नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले कृषिको आधुनिकीकरण गर्दै किसानलाई व्यवसायिक बनाउनसके कृषि क्षेत्रले युवाहरूका लागि स्वदेशमै रोजगारीको प्रशस्त अवसरहरू सिर्जना गर्ने विश्वास व्यक्त गरिन् । ‘हामीले गर्दै आएको यही खेतीलाई समय सुहाउँदो प्रविधिको उपयोग गरी आधुनिकीकरण गर्नसक्यौं र यसलाई व्यावसायिक बनाउनसक्यौं भने हाम्रा युवा जनशक्तिले खाडीमा गएर पसिना बगाउनुपर्ने छैन’ उनले भनिन् ।
नेकपा एमाले जिल्ला कमिटी सुर्खेतका उपाध्यक्ष अमृत बिसीले वीरेन्द्रनगरबासीहरू रोपाइँका लागि आकाशे पानीको भर पर्नुपर्ने अवस्था रहेको भन्दै सिँचाइ सुविधा उपलब्ध गराउन नगरपालिकाका जनप्रतिनिधिहरूको ध्यानाकर्षण
गराए । उनले कृषि प्रधान देश
भएर पनि नेपालका कृषकहरू
सिँचाइ सुविधाबाट वञ्चित हुनुपरेकाले यसतर्फ राज्यले ध्यान दिनुपर्ने र सिँचाइ सुविधा उपलब्ध गराउनुपर्ने बताए ।
जिल्ला कृषि विकास कार्यालय सुर्खेतका प्रमुख कालिकाप्रसाद कोइरालाले कार्यालयले कृषकहरूलाई सहुलियतमा धानको उन्नत बीऊ र मल उपलब्ध गराएको बताए । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० का अध्यक्ष रत्नबहादुर बुढाको अध्यक्षतामा रोपाइँ महोत्सव सम्पन्न भएको हो । असार १५ कृषकहरूको लागि उल्लाशमय उत्सव हो । दही चिउरा खाने दिनका साथै धान दिवस र रोपाइँ महोत्सवको रूपमा यो दिनलाई मनाउने गरिन्छ ।

प्रकाशित मितिः   १६ असार २०७४, शुक्रबार १४:३१