शिविरका सुत्केरीको बेहालः छाक टार्नै मुस्किल, पोषिलो पाएनन्
गीता थापा
सुर्खेत, २६ पुस ।
गत वर्षको साउन अन्तिम साता आएको बाढीपहिरोका कारण घरवारविहीन भएर विस्थापित शिविरमा बस्दै आएका गर्भवती तथा सुत्केरी महिलाहरूको विजोग भएको छ । सरकारले पुनस्र्थापनामा गरेको ढिलाइका कारण जिल्लाका विभिन्न अस्थायी शिविरमा पाल टाँगेर बस्दै आएका गर्भवती तथा सुत्केरी महिलाहरूको विजोग भएको हो ।
गर्भावस्था तथा सुत्केरी भएको बेलामा आराम तथा न्यानोको जरुरी भएपनि महिलाहरू चिसोमा मुटु कमाएर बस्न बाध्य भएका छन् । कतिपय महिलाहरू शिविरमा नै सुत्केरी भएकाले पनि थप समस्या भएको छ । दिन प्रतिदिन बढ्दै गएको चिसो र रातको समयमा त्रिपालबाट ओछ्यानमै चुहिने शीतका कारण सुत्केरी महिलाहरूलाई आफ्नो बच्चालाई चिसोबाट जोगाउन हम्मेहम्मे परेको छ । यस्तै चिसोका कारण सुत्केरी भएका महिला र नवजात शिशुको स्वास्थ्यमा समेत समस्या देखिन थालेको छ । आर्थिक अभावका कारण विस्थापितहरूले गर्भवती तथा सुत्केरी भएका महिलाहरूको बाँकी जीवन त्रिपालमुनी नै बित्न थालेका छन् ।
वीरेन्द्रनगर–८ ईत्रामकी कमला परियार घरजग्गा सबै खोलाले लगेपछि महिला प्रशिक्षण केन्द्रको अस्थायी शिविरमा विगत डेढ वर्षदेखि बस्दै आएकी छिन् । शिविरमा बस्दै आएकी कमला ६ महिना पहिले मात्र शिविरमै सुत्केरी भइन् । आफ्नो ६ महिने बच्चालाई काखमा च्यापेर घामको प्रतिक्षामा रहेकी कमलाको चिसोका कारण हात खुट्टा सुनिएका छन् । उनको नवजात शिशुको स्वास्थ्यमा पनि समस्या देखिएको छ । सुत्केरी अवस्थामा तातो कपडा र आगोको छेउमा बस्नुपर्ने हो, तर उनी कति खेर घाम लाग्छ भनेर प्रतिक्षा गरिरहेकी थिइन् । उनले भनिन्, ‘चिसोबाट बच्चालाई जोगाउन निकै सकस भएको छ, सुत्केरी भएको ६ महिना भयो त्रिपालमाथिबाट चुहिने शीतसँगै बस्नुपरेको छ ।’ शिविरमा बस्दाको पीडा सहन नसकेर आँखाबाट आँशु झार्दै उनले थपिन्, ‘६ महिनाको बच्चासँग यो चिसोमा रात काट्नै गाह्रो भएको छ, राहत पाएको एउटा कम्मल पनि ७ जनाको परिवारलाई पुग्दैन । आगो बाल्न दाउरा छैन, ओढ्नको लागि कपडा पनि छैनन् ।’ काखमा रहेको बच्चालाई चिसोले निमोनिया भएको भन्दै उनले चिसोबाट कसरी बचाउने भन्ने चिन्ताले सताउने गरेको बताइन् ।
सोही शिविरमा बस्दै आएकी पवित्रा नेपालीको अवस्था पनि उस्तै छ । उनको पनि गतवर्ष आएको बाढीले घरजग्गा सबै बगायो । त्यसपछिका दिनमा उनी पनि महिला प्रशिक्षण केन्द्रको अस्थायी शिविरमा बस्न बाध्य भइन् । चार महिना पहिले शिविरमै सुत्केरी भएकी उनको ज्यान फुर्तिलो र राम्रोसँग तङ्ग्रीन समेत पाएको छैन । सुत्केरी भएको बेलामा खाना र बस्नको ठेगान नभएकाले उनको शरीर कमजोर बन्दै गएको छ । पोषिलो खानेकुराको अभाव र त्यसमाथि पालबाट रातको समयमा शरीरमै चुहिने शीतका कारण चिसोले उनी थलिएकी छन् । ‘न त राम्रो लाउनु छ, न त मिठो खानु छ’ पवित्राले आफ्नो पीडा सुनाउँदै भनिन्, ‘हामी जस्ता दुःखीलाई त भगवानले पनि हेला गर्दा रहेछन्, चार महिनाको बच्चा त भर लाग्दो हुनुपर्ने हो । निमोनिया र चिसोले गर्दा बच्चाको हालत पनि राम्रो छैन ।’ उनले थपिन्, ‘चिसोले हात खुट्टा सुनिएर राम्रोसँग हिँड्न पनि सकिंदैन, हामीलाई त ज्यान जोगाउनै मुस्किल भयो हजुर ?’
महिला प्रशिक्षण केन्द्रमा रहेको अस्थायी शिविरका कमला र पवित्राले भोगिरहेको यो समस्या उनीहरूको मात्र होइन, जिल्लाका विभिन्न स्थानमा रहेका शिविरका महिलाहरूले भोगिरहेका छन् । यतिबेला जिल्लाका सबै शिविरमा रहेका सुत्केरी महिलाहरूको अवस्था दयनीय रहेको छ । एकातर्फ दैनिक छाक टार्नै मुस्किल छ भने अर्कोतर्फ चिसोमा न्यानो कपडाको अभावले गर्दा उनीहरू थप कष्ट बेहोर्न बाध्य छन् ।
साझा बिसौनी संवाददाता ।