परिवर्तन देख्नुछ आँखै अगाडि
दिनेश गौतम |
यत्र तत्र सर्वत्र तपाईंले, मैले र हामी सबैले देखेका छौं परिवर्तन समाजको, गति समाजको र विकास समाजको । हामीले आफनो परिवर्तन आफैंमा मूल्याङ्कन गर्न सकेका छौं । नेपाली समाज जुन हाम्रो मातृ समाज हो, त्यसैको परिवर्तनमा लट्पटिँदै लट्पटिँदै हामी यहाँसम्म आइपुगेका छौं ।
पहिले
पहिले गाउँमा के थिएन ? अहँ केही थिएन जो गौरव गर्न लायक होस् । हामी हुर्कदै गर्दा के–के देखेनौं ? बन्दुकदेखि बमसम्म, बच्चादेखि वृद्धसम्म । अभावहरू त हामीले सिक्नै पाएनौं किनभने जन्मै अभावमै भएको थियो । बाहिर संसारमा देखिँदा जे देख्छ एउटा बालकले, त्यही निरन्तर भइरह्यो भने के थप सिकाइ हुने भो र ? हामी अभावमा हुर्किएका, बम बारुदको त्रासमा खेलेका र डर डरैबाट सृजित एउटा कायर पुस्ता, जसको मस्तिष्क अझैं पनि त्यो त्रासबाट बाहिर निस्कन सकेको छैन । साँच्चै हो, अझैं पनि एउटा कपडा लाएको मान्छे लाइन मिलाएर हिँडिरहेका छन् भने मनमा थोरै भएपनि त्रास त भइहाल्छ ।
काठको टुक्रालाई आफ्नै बाल सखातिर तेर्साइ बन्दुकको इशारा दिँदै थियो एउटा बालक । ‘आर्मी आयो भने त मामाघर लान्छ’ भनेर खेल्न लागेको चौरबाटै भागेर घरको खाटमुनीसम्म लुक्नलाई तयार हुन्थ्यो बालक । जब साँझ खाना खाइसकेपछि भर्खर सिकेको क, ख, ग हेर्न बालक वर्णमालाको पाना फर्काउन थाल्थ्यो तब क्रान्तिकारीहरूले ढोका ढक्ढकाउँथे खानपिनको लागि भन्दै । के त्यसपछि उसले क, ख, ग हेरिरहन सक्दो हो ? अहँ सक्थेन, बरु सक्थ्यो कथित क्रान्तिकारीको बम र बारुदसँग सम्बन्धित कहानी सुन्न । निकै निरसलाग्दो वा सङ्कट, अभाव र जटिलताले एकैपटक घेरिएर बनेको बाहिरी वातावरण भोग्दै जन्मेको बालकले कतिसम्म सुरक्षित भविष्यको मूल्याङ्कन ग¥यो होला ? वडो असुरक्षित । र त्यसबेलाको बालक अहिलेको युवा हो । त्यसरी पहिलो नजरमै बन्दुक देखेको बालक अहिले आएर कलम समातेर देश बनाउने सपना देख्न सकेन भन्नु कतिसम्म जायज होला ?
अहिले
समय त सधैं एकनाश रहन्न पक्कै पनि । समय फेरियो र फेरियो अवस्था । हामीसँगै सँगैका पुस्ताहरूले नै अहिले एउटा सुन्दर नेपालको कल्पना गर्न सकेका छन् । हिलो पोखरीको संरक्षण गरेर कमल फुलाउन सकिन्छ भनेर सम्भावनाको चर्चा गर्दै हिँडेका छन् । यसले गर्दा विगत जे जस्तो भए पनि कुशल र दीर्घकालीन फलदायी हुने कर्मद्वारा एक सम्मुनत मुलुकको निर्माण गर्न सकिन्छ भन्नेमा सबैको एकमत छ । सबै यसको लागि तयार पनि छन् । सुरु मात्र नभएको हो, सुरु पनि होला नि ।
अब त्यो समय छैन । बन्दुकका खेलौना बनाउनु परेको छैन । पुरानो च्यातिएका झुत्रा कपडाबाट बनेको बललाई बमको रूपमा चौरमा फाल्नु परेको छैन । एकै खालको पोशाक लगाएका व्यक्तिहरू सडकमा हिँडे भने पनि डराउनुपर्ने कुनै आवश्यकता छैन । यावत प्रकारले स्थिति अत्यन्त सामान्य र सहज छ पहिलेको भन्दा ।
अब आफ्ना विचारहरू भन्न घरको करेसामै लुक्नपर्ने स्थिति छैन । यहाँ सबैलाई न्यायको प्रत्याभूति दिलाउन अदालत छन् ता कि त्यसबेलाका ‘जनअदालत’ अथवा ‘(अ) जनअदालत’ पूर्णरूपमा विस्थापित भएका छन् । मान्छेहरू न धेरै क्रान्तिकारी छन् न धेरै प्रतिगामी । यसका केही अवशेष भने बाँकी नै छन् । काजीहरू काजीकै रूपमा नरहे पनि साहु चाहिँ अझैँ बन्न पाइरहेका छन् । वर्गका कुरा चाहिँ खासै परिवर्तन छैन, सबै पहिलेको जस्तै हो । यसको स्वरूप मात्र परिवर्तन भयो । पहिले नेताहरू (काजीहरू र क्रान्तिकारीहरूको परिवर्तित स्वरूप क्रमश) गाउँलाई आफ्नो आम्दानीको स्रोत बनाउँथे, अहिले उनीहरूको कार्यक्षेत्र सहर भएको छ । सशस्त्र युद्ध सुरु भए लगत्तै धेरै जसो काजीहरू सहर छिरे, युद्ध सकिएपछि लभगभग क्रान्तिकारीहरू सहर छिरे ।
परिवर्तन एक्कासी हुने होइन तर परिवर्तनको न्यून गति पनि स्वीकार्य हुँदैन । नेपालमा विगत केही वर्षमा देखिएको सकारात्मक परिवर्तनको प्रशंसा गर्नैपर्छ । संसारले उदाहरणको रूपमा लिने मातृशिशु मृत्युदर घटाउने दरमा नेपाल विश्वकै उच्च कोटीमा छ । टेलिफोन सेवा तथा मोबाइल सेवामा भएको विस्तार संसारकै लागि उदाहरणीय छ । चरम अभाव र सङ्कट भए पनि मुहारमा मुस्कान र व्यवहारमा सन्तुष्टी पनि एउटा उदाहरण हो । अधिंकाश बच्चाहरू स्कुलको पहुँचसम्म पुग्न सकेका छन् । छोरीलाई पढाए पाप लाग्छ भन्नेहरू नै छोरालाई भन्दा बढी प्राथमिकता दिएर छोरीलाई स्कुलमा पढन पठाउनु पर्छ भनेर परामर्श दिँदै हिँडेका छन् । परिवर्तन देखिएकै छ समाजमा ।
भविष्य
भविष्यमा यही हुन्छ भनेर भन्न सकिने विषय होइन । यसमा त हामी पूर्वानुमान मात्र गर्नसक्ने हो । युवाहरूले निराशाहरू पन्छाएर देशको विकासको निमित्त सकारात्मक सोचको विकास गरी त्यसतर्फ तल्लिन हुनसक्ने हो भने हामीले चाहेको नेपाल वा देख्न खोजको नेपाल धेरै टाढा छैन । सामाजिक तथा सांस्कृतिक परिवर्तन त संसारसँग लगभग सँगैसँगै छ तर नेपाल चुकेको भौतिक परिवर्तनमा हो । विकास निर्माणको सवालमा हामीले गौरव गर्न लाएक कुनै पनि विषय छैन । अर्थात् आज संसारका जुनजुन देश हामी समृद्धि र विकासका सूचक हौं भनेका छन्, तिनीहरूले देखाउने आधार जम्मै त्यहाँको विकासका पूर्वाधारहरूमा भएको विकास हो । उनीहरूले प्रविधिको अत्याधुनिक प्रयोगबाट नै संसारलाई देखाउन सक्ने उदाहरण बन्न सकेका छन् । कृत्रिम नदी बनाउन सकेका छन्, गगनचुम्बी महल पनि बनाएका छन् । उनीहरूसँग भौतिक विकासको नाममा अब थप गर्नुपर्ने केही छैन, सबै पूरा भइसकेको छ । यसको ठीक विपरित यहाँ केही पनि भएको छैन, सबै गर्न बाँकी छ । विकासको मामलामा सबै पुगेको देशहरूलाई सबैभन्दा ठूलो चिन्ता भनेकै सुरक्षाको छ, हामीलाई सुरक्षाको मामलामा त्यति धेरै चिन्ता मान्नुपर्ने आवश्यकता छैन । अब नेपाल विकासका पूर्धाधारको तीव्र गतिमा विकास गर्दै, सूचना प्रविधिको युगलाई अङ्कमाल गर्दै, परिवर्तनकारी सोचहरूलाई प्रोत्साहन गर्दै सम्मुनतिको बाटोमा हिँड्न मात्र बाँकी छ ।
अन्त्यमा,
अगाडिका बाटाहरू जहिले पनि जटिल हुन्छन् । तर ती बाटोमा केही न केही त सङ्केत जरुर हुन्छन् जसले कहिल्यै त्यो बाटोमा नहिँडेकाहरूलाई बाटो पहिल्याउनलाई सङ्केत प्रदान गर्दछन् । हामीले हिँड्न खोजेको बाटोमा पनि केही न केही सङ्केत फेला पारेका छौं हामीले । जस्तो देश जति सम्मुनत र विकसित भए पनि जातीय तथा धार्मिक विभेद रहिरहेसम्म त्यसलाई समृद्धि मान्न कठिन छ । देश जति सम्पन्न भए पनि प्राकृतिक स्रोत र साधन त सबैको एकदिन पक्कै सकिन्छ । देश जति गरीब वा धनी भए पनि प्राकृतिक विपत्तिले त सबैलाई घेर्छ । हो यी यस्तै विषयबाट जोगाएर हिँडाउनुछ देशलाई । अब यो प्रगतिपथको सुरुवात हामी आफैंबाट होस् ।
साझा बिसौनी संवाददाता ।