घाँसखेतीले बदलियो जीवन

घरको आर्थिक अवस्था अत्यन्तै कमजोर थियो । साँझ बिहानको छाक टार्नै मुस्किल पथ्र्यो । जसका कारण रोजगारीका लागि उनका श्रीमान् जयबहादुर कामु मुग्लान् पसे । तर श्रीमान्ले समयमै पैसा नपठाउँदा घरव्यवहार चलाउन मुस्किल पर्दै गयो । श्रीमान्ले पठाएको पैसा पनि साहुलाई तिर्दैमा ठीक्क हुन्थ्यो । तर जब घाँस खेती गरेर पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उनले थाहा पाइन तबदेखि उनको सुखका दिन सुरु भए । कुनाथरी–३ की सेतुसरा कामुले अहिले डाले घाँस खेती गर्नुका साथै बाख्रा र भैंसीपालन गरी मनग्य आम्दानी गरिरहेकी छिन् । त्यति मात्र होइन मुग्लान गएका श्रीमान् पनि घर फर्किएर सेतुसरासँगै व्यवसायमा लागेका छन् ।
तीन वर्षअघि सुन्दर नेपाल संस्थाले उद्यममार्फत् महिलाको आयआर्जनमा वृद्धि गर्न कार्यक्रम सञ्चालन गरेपछि सेतुसराको जीवनले नयाँ मोड लिएको हो । कुनाथरीको वडा नं. ३ मा समूहहरू गठन गर्ने क्रममा कामु नै त्यसको अध्यक्ष बनिन् । उनको अध्यक्षतामा २५ जना सदस्य रहने गरी सफलता महिला समूह गठन गरियो । संस्थाले समूह गठन गरी सकेपछि समूह–समूहमा मासिक रूपमा पैसा बचत गर्ने संस्कार समेत स्थापित भयो । समूहका सबै सदस्यहरू आ–आफ्नो घरमा गइ सरसल्लाह गरी समूहमा पैसा उठाने र बचत गर्ने निर्णय गरे । त्यसपछि हेफर इन्टरनेशनल नेपालको आर्थिक सहयोग र सुन्दर नेपाल संस्थाको सहजीकरणमा सञ्चालित साना किसान उद्यमी सुदृढीकरण परियोजना सञ्चालन भएपछि सेतुसरासहित यहाँका महिलाहरूको जीवनले आर्थिक समृद्धिको बाटो समात्यो ।
उक्त कार्यक्रम सञ्चालन भएपछि यहाँका महिलाहरूले पहिलो पटक संस्थागत रूपमा  ४ दिने आधारशीला तालिम लिने अवसर पाए । यसरी ‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने मूल मन्त्रका साथ गठन भएको समूहले नै महिलाहरूलाई आफ्नो लागि आफै केही गर्नुपर्छ भन्ने भावना जगायो । संस्थाले नै डाले तथा भुईं घा“स व्यवस्थापन तालिम, समूह व्यवस्थापन तालिमका साथै  अवलोकण भ्रमण गर्ने अवसर दिएपछि महिलाहरूलाई थप हौसला मिल्यो । महिलाहरूको सहभागितामा गठन गरिएको समूह उनीहरूको दुःख र पीडा बिसाउने चौतारी मात्र होइन समृद्ध जीवनको बाटो समेत बन्यो । 
संस्थाले दिएको विभिन्न व्यवस्थापन तालिमहरू लिएर बाहिरी जिल्लामा अवलोकन भ्रमण गरे पश्चात् आफूहरूले घा“सको महŒव विभिन्न घाँसका बीउहरू लगाउन सुरु गरेको कामुले बताइन् । उनले १३ रोपनी जग्गामा संस्थाबाट प्राप्त भएको डाले तथा भुइँ घा“स रोपेकी छिन् । यसरी सानो खाली जग्गाबाट घाँस लगाउन सुरु गरेकी कामुले घासबाट राम्रो भएको देखि हाल १३ रोपनी बारीभरी घाँस लगाएकी छिन्, आफ्नो बारीमा प्रशस्त घाँस भएकै कारण समूहबाट तीस हजार रूपैयाँ ऋण गरी ५ वटा माउ बाख्रा पाल्न सुरु गरिन् । ५ वटा बाख्राबाट बाख्रापालन व्यवसाय सुरु गरेकी कामुले त्यस पश्चात् केही रूपैयाँ लगानी गरी बाख्राको खोर, भकारो सुधार गरिन् । समूहबाट ३० हजार रूपैयाँ लिएर बाख्रापालन सुरु गरेकी सेतुसरा कामुले एक वर्षभित्र ६ वटा खसी बिक्री गरी नगद ८० हजार आम्दानी गर्न सफल भएको जानकारी दिइन् । जब उनले एक वर्षमा ८० हजार मुनाफा गरिन तब उनले भैंसीको दुध पनि बिक्री गर्न सुरु गरिन । यसरी भैंसीको दुध बिक्रीबाट कामुले वर्षमा ६० हजार नगद आम्दानी गरेको बताइन् । 
कुनाथरी गाविसमा सुन्दर नेपाल संस्थाको सहजीकरणमा सञ्चालित साना किसान उद्यमी सुदृढीकरण परियोजना लागू भए पश्चात् आफूले गाउँ–घरमै बाख्रापालन, भैंसीपालन र कुखुरापालन सुरु गरी आम्दानी गर्न सुरु गरे पश्चात् सुखको दिन सुरु भएको उनले बताइन् । विभिन्न व्यवसाय गरी आम्दानी हुन थालेपछि रोजगारीकै लागि उनका श्रीमान् विदेशिन समेत परेको छैन । 
सेतुसराले सोचेकै थिइनन् कि आफ्नो जीवनमा पनि खुशीका दिनहरू आउनेछन् । तर ढिलै भए पनि अहिले ती दिनहरू आएको भन्दै उनी खुशी हुन्छिन् । विगत सम्झिदै उनी भन्छिन्, ‘बचपनदेखि नै मैले निकै दुःख पाएँ, विवाह गरेपछि पनि सुरुवातमा त दुःख नै भयो तर अहिले सबै परिवार खुशीसाथ बसिरहेका छौं ।’ उनीहरूको जग्गामा बाह्रै महिना घाँस खेती हुन्छ । हाल उनको बारीमा भटमासे, बकाइनो, मेन्दुला, किम्बु, नेपियर, मलाठो, सुम्बासेटेरीया, बदामे, ल्यावल्याबे, दबदबे, इपिल, सित्तलचिनी जस्ता घा“सको बिरुवाहरू रहेका छन् । आफूले आफ्नो  बारीको डिल, काल्नामा थुप्रै पोषणयुक्त घा“सका बिरुवाहरू लगाइ उक्त पोषणयुक्त घाँसहरू आफ्नो  बाख्रा, भैंसी र गाईलाई खुवाउने गरेको हँुदा आफ्नो  बाख्रा, भैंसी र गाईहरूको  शारीरिक विकासमा छिटो–छिटो शारीरिक वृद्धि भइ, भैंसीले पनि पहिलेको तुलनामा अहिले दुध बढी दिने गरेको गरेको उनले जनाइन् । कामुले खुशी हुँदै भनिन्, ‘आफ्नै बारीमा पर्याप्त घा“स भएकै कारणले अहिले आफ्नो समयको बचत भएको छ र समय बचतकै कारण आफूलाई समूहको कामसहित सामूहिक काम गर्न पर्याप्त समय मिलेको छ ।’ 
सेतुसराले गरेको घाँसखेती देखेर गाउँका अन्य महिलाहरूले पनि सिको गर्न थालेका छन् । घाँसखेती सँगसँगै पशुपालन गरे आम्दानीका लागि अन्य विकल्प खोज्नुनपर्ने भएपछि यहाँका अरु महिलाहरू पनि यसतर्फ आकर्षित भएका हुन् । डाले घाँस र भुइँ घाँसले आफूहरूलाई सुरक्षित पनि बनाएको उनी बताउँछिन् । ‘प्रायः घाँस काट्ने काम महिलाहरूले नै गर्नुपर्छ, रुखमा चढ्दा लडेर मृत्यु हुनेदेखि अपाङ्ग हुने गरेका छन्’ उनले भनिन्, ‘तर अहिले त्यो समस्या छैन, घाँसका लागि टढा जंगलमा जानु पनि पर्दैन, लडिएला भनेर चिन्ता पनि गर्नुपर्दैन ।’ सेतुसराको कामले उनका श्रीमान् जयबहादुर पनि खुशी छन् । आम्दानीका लागि अन्य विकल्प नहुँदा मुग्लान गएर परिश्रम गर्दै आएका उनी हिजोआज घरमा श्रीमतीसँगै काममा व्यस्त हुन्छन् । ‘विदेश गएर कमाएको पैसाले पनि पुग्दैनथियो’ उनले भने, ‘अहिले व्यवसायबाट यहीको आम्दानीले खर्च धान्नुका साथै बचत समेत गर्न थालेका छौं ।’ (मिलन श्रेष्ठ)
प्रकाशित मितिः   ४ माघ २०७२, सोमबार ११:२९