चिसोले मर्नेेको संख्या बढ्दै

साझा बिसौनी संवाददाता
मुगु, ३ माघ । 
दुर्गम हिमाली जिल्ला मुगुका गाउँमा ठन्डीसँगै फैलिएको मौसमी रुघाखोकीले दुई सातायता १२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वृद्धवृद्धा बढी छन् । धैनकोट गाविसमा मात्र ६ जनाको ज्यान गएको छ । धैनकोट गाविसका धर्मराज जैसीले दिएको जानकारीअनुसार मृत्यु हुनेमा वडा नम्बर ४ का सर्जन बुढा, सोही वडाका नन्दप्रसाद जैसी, वडा नम्बर ३ का धर्मदत्त जैसी, वडा नम्बर ९ का सर्पलाल मल्ल र वडा नम्बर १ का कन्नसिंह नेपाली छन् ।
पछिल्ला दुई सातामा ज्यान गुमाउनेहरू ३८ वर्षदेखि ६५ वर्षका छन् । चिसोसँगै रुघाखोकी र ज्वरोले सदरमुकाम गमगढी आसपासका गाविस कार्कीवाडा, रुघा र रोवाका बासिन्दाको ज्यान लिएको छ । स्थानीय लडी सुनारले दिएको जानकारीअनुसार कार्कीबाडा ५ का ५० वर्षीय चाउरा थामीको चिसो र रुघाखोकीले गाउँमै मृत्यु भएको छ । वडा नम्बर ६ का ९० वर्षीय मक्क भाम र ५६ वर्षीय लोकबहादुर बुढाको पनि चिसो बढेपछि दमकै कारण मृत्यु भयो । जैसीका अनुसार रुघाखोकीपछि बेस्सरी टाउको दुख्ने, नाकबाट पानी बग्ने, हनहनी ज्वरो आउने र हातखुट्टा काम्ने गरेपछि तीनचार दिनमै बिरामीको मृत्यु हुने गरेको छ । श्रीनगर गाविसका धनबहादुर मल्लका अनुसार उक्त गाविस वडा नम्बर ४ का ४६ वर्षीय थम्ब मल्लले पनि चिसो बढेसँगै फैलिएको रुघाखोकीका कारण ज्यान गुमाएका छन् । उनको मुगु जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मल्लले बताए । 
स्थानीय श्रीबहादुर राउतले दिएको जानकारीअनुसार गम्था गाविस ८ दलितबस्तीमा दुईजनाको मृत्यु भएको छ । धनकोटका जैसीले भने, ‘विशेषगरी रुघाखोकीले बुढापाकालाई प्रभावित पारेको छ । रुघा लागेपछि स्थानीयले झारफुक र घरेलु उपचारतर्फ बढी ध्यान दिन्छन् । त्यसैले मान्छेको ज्यान जाने गरेको छ ।’ सदरमुकाम गमगढी आसपासका क्षेत्रमा पनि मौसमी रुघाखोकीको प्रकोप बढिरहेको छ । एक सातायता सदरमुकाम आसपासका गाविसमा चारजनाको ज्यान गइसकेको स्थानीयको दाबी छ । जिल्ला स्वास्थ्य कार्यालयले पानी नपर्नुका साथै सुख्खा र चिसोका कारण मौसमी रुघाखोकीको प्रकोप देखिएको उल्लेख गरेको छ । जिल्ला स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख थलराज डीसीले चिसोसँगै रुघाखोकी फैलिए पनि महामारीका रूपमा नदेखिएको दाबी गरे । उनले भने, ‘जिल्लाभर चिसोसँगै रुघाखोकी फैलिएको छ तर यसैका कारण ज्यान गएको भन्ने संस्थागत जानकारी आएको छैन ।’ उनले प्रकोप फैलनसक्ने सम्भावना देखिएकाले जिल्ला स्वास्थ्य कार्यालयबाट आवश्यक औषधि स्वास्थ्यचौकीमा पठाइसकेको जानकारी दिए ।
निमित्त कार्यालय प्रमुख डीसीले प्रकोप फैलिएको ठाउँमा रहेका स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीसँग नियमित सम्पर्क भइरहेको र रुघाखोकीले ज्यान गएको भन्ने खबर नआएको दाबी गरे । चिसो र सुख्खा मौसमका कारण फैलनसक्ने महामारी रोक्न जिल्लास्तरमा ‘¥यापिड रेस्पोन्स टिम’ तयारी अवस्थामा राखिएको डीसीले बताए । 
अचेल जिल्ला अस्पतालमा दैनिक ४५ जना बिरामी उपचारका लागि आउने गरेका र तीमध्ये २५ जना रुघाखोकी र दमका हुने अस्पतालले जनाएको छ । बिरामीमध्ये अधिकांश बालबालिका र वृद्धवृद्धा छन् । दमका बिरामीलाई अस्पतालमा भर्ना गरेर अक्सिजन दिई दुईतीन दिनपछि घर पठाउने गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रकाशित मितिः   ४ माघ २०७२, सोमबार ११:३७