पुनर्निर्माण हुँदै ध्वस्त प्रहरीचौकी, भाडामा बस्दै आएका प्रहरी खुशी

साझा बिसौनी संवाददाता
सुर्खेत, ६ माघ ।
पूर्वी सुर्खेतको गुमीमा रहेको प्रहरीचौकी द्वन्द्वकालमा तत्कालिन विद्रोही माओवादीले २०५६ सालमा ध्वस्त बनाइदिए । चौकी ध्वस्त भएपछि प्रहरीहरू सदरमुकाममा रहेको जिल्ला प्रहरी कार्यालयमा फिर्ता भए । करिब सात वर्षसम्म सो क्षेत्रका बासिन्दाले गाउँमा प्रहरी नै देख्न पाएनन् । 
तर शान्ति स्थापनापछि २०६३ सालमा पुनः सो स्थानमा चौकी स्थापना भयो । गाउँमा चौकी स्थापना भएपनि आफ्नै भवन नहुँदा त्यहाँ कार्यरत प्रहरीहरू भने भाडाको घरमा बस्न बाध्य भए । सानो घरमा कोचाकोच गरेर रात बिताउँदै आएका प्रहरीले चौकीमा थुनुवा राख्ने ठाउँ समेत नहुँदा निकै सास्ती भोग्नु प¥यो । आफ्नै भवन नहुँदा जनतालाई सुरक्षा दिन खटिएका प्रहरीहरूले आफैलाई नै सुरक्षित महशुस गर्न सकेनन् । सरकारको आदेश पालना गर्दै जेनतेन आफ्नो पीडा लुकाएर जनताको सुरक्षामा खटिएका उनीहरू बुधवार भने निकै खुशी देखिन्थे । वर्षौंदेखि सदरमुकामदेखि टाढा रहेको गाउँमा भाडामा घरमा कष्टकर रूपमा बस्दै आएका उनीहरू बुधवारबाट सुविधा सम्पन्न आफ्नै भवन पाएपछि हर्षित भएका हुन् । 
दुई तलाको प्रहरी कार्यालय, प्रहरी ब्यारेक, सुविधायुक्त हिरासत कक्ष, महिला प्रहरीहरूका लागि छुट्टै कार्यालयको व्यवस्था, भान्सा र शौचालयसहितको आधुनिक भवन पाएपछि गुमी प्रहरीचौकीमा कार्यरत प्रहरीहरूले विगतका सबै दुःख र पीडाहरू भुलेका छन् । चौकी पुनस्र्थापना भएको करिब १० वर्षसम्म भाडामा बस्दै आएका प्रहरीहरू अब भने आफ्नै भवनमा बस्न पाउने भएपछि खुशी भएका हुन् । शान्ति तथा पुनर्निर्माण मन्त्रालयले करिब ८१ लाख रूपैयाँको लागतमा प्रहरीचौकीको भवन निर्माण गरिदिएपछि प्रहरी मात्र होइन, स्थानीय बासिन्दाहरू समेत हर्षित भएका छन् । गुमी प्रहरीचौकीमा कार्यरत प्रहरी मात्र होइन, द्वन्द्वकालमा ध्वस्त भएका जिल्लाका अन्य प्रहरीचौकीहरू समेत धमाधम पुनर्निर्माण हुन थालेपछि प्रहरीहरूले समेत आफूलाई सुरक्षित महशुस गर्न थालेका हुन् । द्वन्द्वको क्रममा सुर्खेतमा विभिन्न स्थानमा रहेका १६ वटा प्रहरीचौकीहरू ध्वस्त भएका थिए । ति मध्ये हालसम्म चार वटा चौकीको भवन पुनर्निर्माण गरिएको छ । बाँकी भवनहरू पनि निर्माण हुनेक्रम जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । केही स्थानमा स्थानीय बासिन्दाले नै चौकीको भवन निर्माण गरी दिएका छन् ।
गुमीमा निर्माण भएको प्रहरीचौकी भवनको बुधवार उद्घाटन गर्दै मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव महानिरीक्षक केशव अधिकारीले आफ्नै भवन नहुँदा सुरक्षामा खटिएका प्रहरी आफै असुरक्षित रहेको बताए । उनका अनुसार द्वन्द्वमा सबैभन्दा बढी प्रभावित मध्यपश्चिम क्षेत्रमा अहिले पनि एक सय २१ वटा प्रहरीचौकी भाडाको घरमा बस्दै आएका छन् । भाडाको घरमा प्रहरीले कष्टकर जीवन बिताउनु परेको बताउँदै अधिकारीले भने, ‘द्वन्द्वमा ध्वस्त भएका चौकीको अवस्था नाजुक छ, प्रहरीहरू आफै सुरक्षित छैनन् । यस्तो अवस्थामा उनीहरूले जनतालाई कसरी सुरक्षा देलान् ? तर पछिल्लो समय चौकीका आफ्नै भवन बन्नेक्रम सुरु भएकाले केही राहत मिलेको छ ।’ ध्वस्त चौकीहरू पुनर्निर्माण हुन थालेको भन्दै उनले अब प्रहरीको कार्यक्षमतामा पनि वृद्धि हुने विश्वास व्यक्त गरे । स्थानीय बासिन्दाले चौकी निर्माण र जग्गा प्रदान गर्न थालेको बताउँदै अधिकारीले जनता र प्रहरी मिलेमा अपराध नियन्त्रणमा सफलता मिल्ने बताए । साथै उनले सुरक्षामा खटिएका प्रहरीलाई समेत आचरण विपरित कार्य गरेमा कडा कारबाही गर्ने चेतावनी दिएका छन् । सो अवसरमा सुर्खेतका प्रहरी प्रमुख एसपी वीरेन्द्र श्रेष्ठले जिल्लामा ध्वस्त भएका अन्य प्रहरीचौकीका भवनहरू पनि निर्माणको चरणमा रहेको जानकारी दिए । 
गाउँमा सुविधायुक्त प्रहरी भवन बनेपछि स्थानीय बासिन्दाले समेत अब शान्ति सुरक्षा कायम हुने अपेक्षा गरेका छन् । गुमीका स्थानीय बासिन्दा पदमबहादुर गुरूङ्गले अपराध नियन्त्रणमा प्रहरीसँग मिलेर काम गर्ने बताए । साथै उनले अब चौकीमा प्रहरीको जनशक्ति थप गर्न समेत आग्रह गरे । यस्तै अर्का स्थानीय बासिन्दा यामबहादुर गुरूङ्गले प्रहरीलाई सहयोग गर्न आफूहरू तयार रहेको बताए । गाउँमा आधुनिक प्रहरी भवन बनेकोमा खुशी हुँदै उनले अब गाउँ सुरक्षित हुने विश्वास गरे । यस्तै स्थानीय बासिन्दाले जनसंख्याको आधारमा गाउँमा प्रहरीको जनशक्ति बढाउन माग गरेका छन् । सो अवसरमा चौकीलाई जग्गा प्रदान गर्ने र भवन निर्माणमा सहयोग गर्ने व्यक्तिहरूलाई सम्मान गरिएको थियो । 
प्रकाशित मितिः   ८ माघ २०७२, शुक्रबार १०:१५