‘एसएलसी पास हुँदा संसार जिते जस्तै भयो’
संगीता वली बाल मजदुर सरोकार केन्द्र (सीवीन) नेपाल सुर्खेतकी जिल्ला बाल संरक्षण अधिकृत हुन् । उनी जिल्लामा मनोविमर्शकर्ताको रूपमा पनि परिचित छिन् । उनले लामो समयदेखि मनोविमर्शकर्ताको रूपमा आफूलाई स्थापित गरेकी छन् । वि.सं. २०४६ असार २१ गते बुबा वीरबहादुर वली र आमा पवित्रा वलीको कान्छी छोरीको रूपमा रतुमा जन्मिएकी उनले आफ्नो बाल्यकालको सम्झना हाम्रा सहकर्मी मुना हमालसँग यसरी साटेकी छिन् :
मेरो जन्म वीरेन्द्रनगर–१५ (साविकको रतु गाविस) मा भएको हो । म गोठमा जन्मिएको रे । आमाले मलाई गोठमा जन्माउनुभएको भनेर भन्नुहुन्थ्यो । हामी चार भाइबहिनी छौं । दुई बहिनी र दुई भाइ । बुबा नेपाल आर्मी हुनुहुन्थ्यो । सानोमा हामी बुबाको सरुवा जहाँ हुन्थ्यो बुबासँगै त्यही नै जान्थ्यौं । म जन्मिएको केही समयपछि हामी पोखरा गयौं । पाँच वर्षको उमेरसम्म मैले पोखरामा नै बिताएँ । पोखरामा बस्दाको याद अहिले पनि आउँछ । त्यसबेलामा मेरो दिदी र म मात्र थियौं । हामीलाई सबैले माया गर्नुहुन्थ्यो । ब्यारेकमा कार्यरत आर्मीहरूको छोराछोरीलाई डे केयर सेन्टर थियो । म त्यही पढ्थें । दिदी ठूली भएको कारणले अर्को स्कुल पढ्न जानुहुन्थ्यो । त्यहाँ लिटो दिन्थे । सानोमा त धेरै मिठो लाग्थ्यो । मैले दिदीको लागि बचाएर घरमा लिएर आउँथें । म सानैदेखि सोझो थिएँ । खासै बोल्दिनथें । गल्ती पनि गर्थें । कहिलेकाहीं गल्ती गरे भने निराश भइहाल्थें । त्यसकारण बुबाआमाले धेरै नै माया गर्नुहुन्थ्यो ।
पछि अलि ठूलो भएपछि दिदीसँगै पढ्न स्कुल पढ्न जान थालें । दिदी धेरै बाठी हुनुहुन्थ्यो । हामी विद्यालयबाट फर्किंदा बदाम चोरेर खान्थ्यौं । बदाम त खुब मनपथ्र्यो । स्कुल बिदा भएको बेलामा दाउरा खोजेर ल्याएर आमालाई सहयोग पनि गर्दथ्यौं । बुबाको जागिर अवधि सकिएपछि हामी पोखराबाट वीरेन्द्रनगर आयौं । पोखरामा छँदा जेठो भाइ जन्मिसकेको थियो । वीरेन्द्रनगरमा बस्न थालेपछि भाइलाई हेर्नुपथ्र्यो । म बिहान साँझ सधैं पूजा गर्थें । त्यसबाहेक आमा र बुबालाई घरको काममा सघाउने गर्थें । मैले जन सेवा मावि घु्रसामा कक्षा १ देखि पढेको हुँ । मैले त्यहाँ कक्षा १० सम्म पढें । सुरुमा त म स्कुल जाँदा खासै पढाइमा ध्यान जाँदैनथ्यो । होमवर्क प्रायः गर्थिनथें । त्यस्तै चार÷पाँच कक्षा पढ्ने समयसम्म । आजभोलि सम्झियो भने रमाइलो लाग्छ । म प्रायः होमवर्क गर्ने तर कक्षामा सरले होमवर्क गरेका जति उठेर देखाउन आउँ भन्दा सबैभन्दा अघि उठ्थें । होमवर्क देखाउने विद्यार्थी सबै सरको वरिपरि जम्मा हुन्थे । म पुरानो कपी लिएर सरको नजिक हुन्थें । आधा विद्यार्थीहरूले होमवर्क देखाइसकेपछि बेन्चमा गएर बस्थें । सरले थाहा पाउनुहुन्थेन् । पछि पाँच कक्षा पढ्न थालेपछि सरलाई ढाँट्ने बानी हटाएँ । पाँच कक्षामा पढ्न अरु ठाउँबाट पनि धेरै साथीहरू आए । प्रतिस्पर्धा गर्नुपर्छ उनीहरूसँग जस्तो लाग्थ्यो । मेहेनत गरेर पढ्नुपर्छ, राम्रो नम्बर ल्याएर पास हुनुपर्छ भन्ने सोच आउँथ्यो । त्यसपछि मेरो पढाइ राम्रो हुँदै गयो । बालाराम सर हुनुहुन्थ्यो । उहाँले अंग्रेजी विषय पढाउनुहुन्थ्यो । मलाई ग्रामर राम्रोसँग आउँथ्यो । मैले नै पढाउँथे, साथीहरूलाई । सामाजिक, नेपाली, जनसंख्या विषयहरू प्रायः कक्षामा साथीहरूलाई पढाउ भनेर सरले भन्ने गर्नुहुथ्यो ।
स्कलुमा पढ्दा चुङ्गी खेल खुब खेल्थ्यौं । इन्टरवल हुनेबित्तिकै साथीहरू जम्मा भएर खेल्न थालिहाल्ने । खेल्दा–खेल्दा प्रायः पाँचौं घण्टी पढाइ छुटिहाथ्यो । एक दिन सरले खुट्टाको पैतलामा लठ्ठीले पिटेको याद अझै पनि आउँछ । टिम्मुर खान हामी काँक्रेविहार पुग्थ्यौं । हाफटाइममै जाँदा त पाँच घण्टी पढाइ सकिसकेको हुन्थ्यो । ६ कक्षा पढ्ने बेलादेखि स्काउट, नेपाल जुनियर रेडक्रस सर्कलमा आवद्ध भएर सामाजिक क्षेत्रमा पनि काम गरें । स्काउटबाट काँक्रेविहार, मंगलगढी आएर क्याप बनाउने गथ्र्यौं । स्काउटमा ८ तहसम्म पुग्न सफल भएको थिएँ । रेडक्रसबाट आँखा शिविरमा जाने स्वयम्सेवक भएर सहयोग गर्ने गथ्र्यौं ।
म सानो छँदा विद्यालयमा हुँदा अतिरिक्त क्रियाकलापमा भाग लिन्थें । चित्रकला प्रतियोगिता, सांस्कतिक कार्यक्रममा भाग लिएर पुरस्कार पाउँथे । त्यति बेलामा धेरै खुशी लाग्थ्यों । कक्षा आठ नौ पढ्ने समयमा आवाज संस्थाबाट हामीलाई किशोरी शिक्षा दिन जाने गर्थें । बाल यौन दुव्र्यवहार सम्बन्धी, बाल शोषण सम्बन्धी जनचेतनामूलक सडक नाटक खेल्थ्यिौं । म पीडित बालिकाको भूमिका सडक नाटकमा खेल्ने गर्थें ।
सडक नाटक खेल्नका लागि सुर्खेतको पश्चिम क्षेत्र, पूर्वी क्षेत्रको धेरै जसो ठाउँ र बर्दिया, दैलेख जाने गर्थें । त्यसबाट पारिश्रमिक पनि पाउँथे । त्यसले कापी कलम किन्थें । सानोमा नर्स बन्छु, बिरामीको सेवा गर्छु भन्ने लाग्थ्यो । पछि समाजमा हुने गरेका विकृतिहरू थाहा पाउँदै गएपछि समाज परिवर्तन गर्छु, समाजिक क्षेत्रमा नै काम गर्छु भन्ने लाग्थ्यो । बाल्यकालको सबैभन्दा खुशीको क्षण एसएलसीमा पास हुँदा हो । गाउँमा प्रायः एक दुई विषय लागेर धेरै पटक फेल भएर पास भएका थिए । मैले नियमित पास गर्दा सबैभन्दा ठूलो काम गरेको र संसारै जिते जस्तो लागेको थियो । अहिले पनि गर्वको महसुस हुन्छ । समग्रमा बाल्यकाल रमाइलोसँग नै बित्यो ।
साझा बिसौनी संवाददाता ।