‘नबोलेरै विवाह भयो’
कहिलेकाहीं मान्छेको जीवनमा नसोचेको कुराहरू भइदिन्छन् । एउटा कुरा मनमा सोच्यो तर, वास्तविक जीवनमा भने उल्टो भइदिन्छ । भनिन्छ नि, जीवन एउटा बगेको खोला हो निरन्तर अघि बढिरहन्छ । त्यो कहिले फर्केर आउँदैन । हरिहरनाथ योगीको जीवनमा पनि उनले नसोचेकै कुरा भइदियो । उनलाई थाहा थिएन
उनको एक्कासी विवाहको कुरा चल्यो । उनलाई थाहा थिएन केटी हेर्न जाँदा मगनी एकै चोटी हुन्छ । तर भइदियो यस्तै उनी केटी हेर्न दाङ गएकै दिनमा दुवैको मगनी भएको थियो । दुवैको एकआपसमा भेटघाट चिनजानको त परै जाओस् बोलचाल समेत भएको थिएन एक्कासी विवाह बन्धनमा बाधिन पुगे ।
पिता काशीनाथ योगी र माता देवकुमारी योगीको कोखबाट २०२६ सालमा सुर्खेतमा जन्मिएका हरिहरनाथ योगीको बाल्यकाल सामान्य तरिकाले बितेको थियो । उनको सामान्य परिवार भएकाले बाल्यकाल धेरै सुखद् पनि भएन धेरै दुःखद् पनि भएन । मध्यमस्तरमा नै उनको बाल्यकाल बितेको थियो । उनी बाल्यकालमा साथीहरूसँग मिल्ने स्वभावका थिए । उनको बाल्यकालको सोच भविष्यमा उच्च तहको कर्मचारी हुने थियो । तर, उनको त्यो सोच भने पूरा हुन सकेन । उनले जति सोचेका थिए त्यति उनी सफल पनि हुन सकेनन् ।
हुन त सबै सबैले देखेको सपना र सोचेको कुरा पूरा नहुन पनि सक्छ । सबै–सबैको सपना साकार हुँदैन । यसमध्ये योगी पनि आफ्नो बाल्यकालको सपना पूरा नभएका व्यक्ति हुन् । उनको सोचाइ उच्च तहको कर्मचारी हुने थियो तर, उनी शिक्षक बन्न पुगे । उनले प्राथमिक तहको पढाइ भैरव उच्च माविमा नै पढेका थिए । मावि तहमा पढ्दापढ्दै उनी सामाजिक सेवामा लाग्न थाले । उनले भने, ‘मेरो भविष्यको सोचाइ उच्च तहको कर्मचारी बन्ने थियो, तर जीवनको बाटो नै अन्तै मोडियो ।’ उनी मावि तहमा पढ्दा रेडक्रस तथा अन्य क्लबमा आवद्ध भएर समाज सेवामा लागे पछि उनको मन पनि उतै मोडियो । सबैको चाहना पूरा हुँदो रहेनछ, उनले भने, ‘मेरो चाहना पनि बाल्यकालमा नै सीमित भयो भविष्यको बाटो नै मोडियो ।’
उनले वीरेन्द्र बहुमुखी क्यापसबाट व्यवस्थापन विषयमा स्नातकोत्तर पास गरेका थिए । पछि उनले नेपालगन्जबाट शिक्षा सङ्कायबाट स्नातकोत्तर गरे । यसरी पढाइ सँगसँगै आफ्नो जीवनको लक्ष्यलाई नै उनले शिक्षा क्षेत्रमा मोडे । उनलाई सामाजिक क्षेत्रमा काम गर्दा जुन आनन्द आउँछ त्यो सुख र आनन्द सायद अन्य क्षेत्रमा लागेको भए उनले पाउने थिएनन् । उनी भन्छन्, ‘मेरो अबको लक्ष्य भनेकै सामाजिक क्षेत्रमा लाग्ने रहेको छ ।’ उनी अहिले त्रिपुरेश्वर उच्च माविमा अध्यापन गराउँदै आइरहेका छन् । यति मात्र होइन उनी जनहितकारी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष र राष्ट्रिय बैंकको केन्द्रीय सदस्य समेत रहेका छन् । यसै क्षेत्रमार्फत् उनी सामाजिक क्षेत्रमा आफूले केही गर्ने सोच पनि बनाएका छन् ।
उनी स्नातकमा पढ्दै थिए । घरको उनको विवाहको कुरा गाइगुँइ हुन थालेको थियो । उनको नातेदार पर्ने व्यक्तिहरू दाङमा भएका कारण आफन्तले केटी हेर्न दाङ बोलाएका थिए । योगीका पिताले नै उनलाई अब विवाह गर्नुपर्छ केटी हेर्न हिँड् भने पनि उनी केही नबोली दाङ गएका थिए । उनले भने, ‘उतिबेला बाबुआमाले भनेको कुरा नाइनास्ती गर्न सकिदैनथ्यो जे भने पनि मान्नुपर्ने भएकाले म चुप लागेर बुबाको पछि गएँ ।’ उनी केटी हेर्न दाङ गए तर, फर्किदा केटीसँग मगनी गरेर फर्के । पहिला कहिल्यै नदेखेको केटी फेरि एकै चोटी भेट हुँदा के बोल्ने उनलाई केही थाहा थिएन । त्यसैले पनि उनीहरूबीच कुराकानी नभएरै मगनी भएको थियो । केटा–केटी भन्दा पनि दुवै पक्षका बाबुआमाले नै विवाहको फैसला गरेका थिए ।
योगीसँग मग्नी भएको केटी अरु कोही नभएर पवित्रा योगी थिइन् । उनलाई पनि विवाहको बारेमा केही थाहा थिएन । उनले भनिन्, ‘मेरो विवाहको कुरा चलेको रहेछ मलाई केही थाहा थिएन, एक्कासी केटा पक्षबाट मलाई हेर्न आउँदा मात्र थाहा पाएँ एकै चोटी मगनी नै भयो ।’ उनीहरू दुवै जनामा चिनजान र बोलचाल थिएन । मगनी हुँदा पवित्रा पनि स्नातक तहमा नै पढ्दै थिइन् । पवित्रा पनि विवाहको बारेमा अनभिज्ञ नै थिइन् । छोरी भएपछि विहे गरेर अर्काेको घरमा जानै पर्ने र बाबुआमाले जहाँ दिन्छन् त्यही विवाह गर्नुपर्छ भन्ने मान्यता र संस्कारले गर्दा उनी बोल्न सकिनन् । उनले भनिन्, ‘पहिले अहिलेको जस्तो कहाँ थियो र बाबाआमाको कुरा काटेर हिँड्ने त्यसैले पनि बाबुआमाले रोजेको केटासँग विवाहको लागि राजी
भए ।’ दुवै जनाको घरपरिवारबाट राजीसुखीका साथ २०५२ सालमा उनीहरूको मागी विवाह भयो ।
पिता खिमनारायण योगी र माता ईश्वरी योगीको कोखबाट २०२७ साल दाङमा जन्मिएकी पवित्रा योगीको बाल्यकाल सुखमयसँग बितेको थियो । उनी बाल्यकालमा निडर स्वभावकी थिइन् । सबैसँग बोल्ने र मिलनसार पनि थिइन् । उनले आफ्नो पढाइ दाङमा नै सकेकी
थिइन् । विवाह पछिका दिनमा पवित्रा आफ्नो जन्मघर छोडेर सुर्खेत कर्मघरमा आइन् । माइतीमा ६ जनाको परिवारमा त्यसमाथि विद्यार्थी जीवन बिताउँदै आएकी पवित्रालाई घरमा आउँदा १५ जनाको परिवारसँग घुलमिल हुनु र उनीहरूको मन जित्नु चुनौती थियो । उनले भनिन्, ‘माइतीमा सानो परिवार थियो, घरमा ठूलो परिवार हुँदा मलाई सुरुसुरुमा त निकै गाह्रो पनि भएको थियो पछि बानी नै परे ।’ एक त विवाह पछि हरेक छोरीलाई माइतीघर छोड्दाको पीडा हुन्छ त्यसैमा झन् पराइ घरलाई आफ्नो ठान्नुपर्ने सबै नयाँ नाता सम्बन्ध जोड्नुपर्ने, माइतीघरसँगको नातालाई कम गर्दै घरसँगको नातालाई बलियो बनाउनुपर्ने चुनौती पवित्राले मात्र भोग्नु परेन यो चुनौती हरेक छोरीले भोग्दै आएको चुनौती हो ।
जति सुकै अप्ठेरा र चुनौतीहरू आइपरे पनि पवित्रा कहिल्यै विचलित भइनन् । उनी सधैं आफ्नो कामप्रति र घरपरिवारप्रतिको आफ्नो दायित्व सम्झेर लागिन् । सबै–सबै छोरीले घरपरिवारको दायित्व पूर्ण रूपमा निभाउन सक्दैनन् तर, पवित्राले निभाउन सकिन् । सबै घरपरिवारको मन पनि जित्न सफल भइन् । छोटो समयमा सबैको माया ममता पनि पाइन् । उनी अहिले श्रीमान्, एक छोरा एक छोरीको साथमा घरपरिवार सबैको ख्याल गर्दै ग्रामीण विकास बैंकमा काम गरिरहेकी छिन् । उनले भनिन्, ‘घरपरिवार साथमा जागिर पनि सम्मालेको छु, यसमा मेरो श्रीमान्को पूर्ण रूपमा साथ र सहयोग पनि छ ।’ सुखीसाथ जीवन बिताइरहेका यो जोडीको कहिले काहीं सामान्य झगडा पनि हुने गर्छ । सामान्य रूपमा झगडा गरे पनि झगडालाई ठूलो रूप भने दिएका छैनन् । उनीहरू भन्छन्, ‘श्रीमान् श्रीमती भएपछि कहिले काहीं झगडा भइहाल्छ नि, श्रीमान् श्रीमतीको झगडा परालको आगो जस्तै हो एकै छिन दन्किन्छ एकै छिनमा सेलाइहाल्छ ।’
यो जोडी एकआपसमा जति नै झगडा गरे पनि एकअर्काेको प्रशंसा भने खुवै गर्छन् । योगीलाई पवित्राको सहयोगी भावना राख्ने, मिलनसार, समस्यालाई छिटो बुझ्ने र मनमा केही कुरा गुम्साएर नराख्ने बानी मन पर्ने गर्छ । त्यस्तै पवित्रालाई पनि योगीको नरिसाउने बानी मनपर्ने गर्छ । उनीहरू दुवै जना आ–आफ्नो काममा व्यस्त हुने गर्छन् । काममा व्यस्त हुँदाहुँदै पनि एकअर्काेको काममा भने फुर्सदको समयमा सघाउने
गर्छन् । एकअर्काेको काम सघाउनमा नि योगीले भन्दा धेरै पवित्राले योगीको काममा सहयोग गर्ने गर्छिन् । उनीहरूका अनुसार दाम्पत्य जीवन सुखमय बनाउनको लागि एकअर्काेमा विश्वास हुन जरुरी छ । एकअर्काेको भावनालाई बुझ्ने कोसिस गर्ने हो भने दाम्पत्य जीवनलाई सधैं सुखमय बनाउन सकिन्छ । उनीहरू भन्छन्, ‘जब एकअर्काेको भावना नै बुझ्दैनन् भने त्यो सम्बन्ध कहिल्यै दिगो हुन सक्दैन ।’ एकअर्काेबीचको दूरीलाई सधैं नजिक बनाइ राख्न र दिगोपना दिनको लागि सबैभन्दा बलियो आधार नै विश्वास र समझदारी हो ।
उनीहरूका अनुसार विवाह र प्रेममा फरक रहेको छ । विवाह भनेको वैधानिक हुन्छ । प्रेम भनेको वैधानिक नहुन पनि
सक्छ । उनीहरू नवविवाहित जोडीलाई पहिला एकअर्काेको भावना मिल्ने नमिल्ने बुझेर मात्र विवाह गर्न सुझाव दिन्छन् । विवाह गर्नुअघि नै एकअर्काेको बानी व्यवहार बुझेर मात्र विवाह गर्नुपर्छ । उनीहरू भन्छन्, ‘हतारमा विवाह गरेर पछि पछुताउनु भन्दा बेलैमा बुद्धि पु¥याउनुपर्छ ।’ उनीहरूका अनुसार दाम्पत्य जीवनलाई सुखमय बनाउन परिवारको साथ र सहयोग पनि उतिकै आवश्यक छ । एकअर्काेले दुवैको घरपरिवारलाई सम्मान र आदर गर्ने हो भने दाम्पत्य जीवन सुखमय र दिगो बनाउन सकिन्छ ।
(प्रस्तुतीः गीता थापा)
साझा बिसौनी संवाददाता ।