प्रशंसनीय पहल
सहरी क्षेत्रमा ट्राफिक व्यवस्थापन मुख्य चुनौती बन्दै आएको छ । सवारी साधनहरूको चाप दिन प्रतिदिन बढ्दै जाने गरे पनि सडकको जीर्ण अवस्था, जनचेतनाको अभाव लगायतका कारणहरूले गर्दा ट्राफिक व्यवस्थापनमा समस्या उत्पन्न हुने गरेको हो । सुर्खेतमा पनि ट्राफिक व्यवस्थापनको समस्या विद्यमान छ । सडक दुर्घटनाहरू भइरहेका छन् । दुर्घटनाबाट ज्यान गुमाउने र अङ्गभङ्ग हुनेहरूको संख्या बढिरहेको छ । ट्राफिकले काम त गरिरहेको छ तर प्रभावकारी हुन भने सकिरहेको छैन । जिल्लामा ट्राफिक नियमको उल्लङ्घन बढ्नुमा जनचेतनाको कमी नै प्रमुख कारण रहेको निश्कर्ष ट्राफिक प्रहरीले निकालेको छ । ट्राफिक नियम सम्बन्धी शिक्षा प्रदान गर्न जनचेतना टोली समेत गठन गरी परिचालन गरिएको छ । जुन स्रहानीय कार्य हो । यसले आम नागरिकहरूलाई ट्राफिक नियम लगायतका बारेमा जानकारी दिनेछ । जसले ट्राफिक व्यवस्थापनमा सहज त हुने नै छ दुर्घटना समेत न्यूनीकरण हुने अपेक्षा गर्न सकिन्छ । वैज्ञानिक ट्राफिक व्यवस्थापन भए मात्र सहरको सडकको दीर्घकालीन व्यवस्थापन हुन्छ । र यसका लागि सबैभन्दा पहिला सबै नागरिकमा यसका बारेमा ज्ञान हुन जरुरी हुन्छ । ट्राफिक नियम सम्बन्धी ज्ञान नभएर पनि कतिपयले यसलाई मिचिरहेका हुन्छन् र कारबाहीको भागीदार बन्दछन् । ज्ञान भएमा त्यसलाई मिच्ने आँट कसैले गर्दैन र गरिहालेमा ऊ कारबाहीको भागीदार बन्नै पर्दछ ।
साँघुरा सडकको समस्या तत्काल समाधान हुने सङ्केत छैन । त्यसैले जनचेतना अभिवृद्धि नै तत्कालीन विकल्प हो । राम्रो चौडा सडक भएपछि ट्राफिक जाम कम हुन्छ र सहजै सवारी चलाउन सकिन्छ । तर यसरी सवारी साधनको संख्या बढ्दै गएपछि एकदिन फेरि यस्तो अवस्था आउँछ कि फेरि सडकको माग आपूर्तिभन्दा कम हुनजान्छ, अनि ट्राफिक समस्या सुरु हुन्छ । त्यसैले सडक चौडा पार्नु भनेको अस्थायी समाधान मात्र हो । ट्राफिक व्यवस्थापन गर्न सार्वजनिक बसको सुविधा विस्तार गर्नुपर्छ । अहिलेका सार्वजनिक साधनहरू सेवाभन्दा व्यावसायिक छन् । पैसा कमाउने उद्देश्यबाट सञ्चालित सवारीमा ठेलमठेल हुने, झुन्डिएरै जानुपर्ने जस्ता कारण यात्रा गर्न निकै असहज अवस्था छ । एक अध्ययनले नेपालको सार्वजनिक यातायात सेवा खस्कँदो रहेको देखाएको छ । सार्वजनिक सवारीमा हुने चालक र सहचालकको व्यवहार र अटेसमटेस हुने गरी यात्रु चढाउनाले सर्वसाधारण निजी सवारीप्रति आकर्षित भएका हुन । महŒवपूर्ण कुरा साना सवारी दिनानु दिन बढ्दैछन । यही गतिमा जाने हो भने सडक जति चौडा बनाए पनि ट्राफिक व्यवस्थापन गर्न मुस्किल हुँदै जानेछ । त्यसैले साना सवारीको विकल्प ठूला सवारी हुन । साना सवारी विस्थापित गरी ठूला सार्वजनिक सवारी ल्याउनसके ट्राफिक व्यवस्थापनले फड्को मार्नेछ । साना सवारी विस्थापित गर्दा त्यहाँ काम गर्नेलाई वैकल्पिक रोजगारीको विकल्प सँगसँगै ल्याउनुपर्छ । ठूला सवारी प्रयोग बढेसँगै सडकमा गुड्ने साधन पात्लिनेछ ।
ट्राफिक व्यवस्थापन गर्न गर्नुपर्ने थुप्रै कामहरू छन् । अनेक विकल्पहरू पनि छन् । तिनको पहिचान गर्दै अघि बढेमा यसले सार्थकता ग्रहण गर्नेछ । त्यसकारण ती विकल्पहरूको पहिचान र आत्मसाथका सँगसँगै जनेचतना अभिवृद्धिको कार्ययोजना पनि बनाएर सँगसँगै लैजान भने छोड्नु हुँदैन । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले थालेको यो अभियान यसकारण पनि प्रशंसा योग्य छ । यद्यपि यसले निरन्तरता पाउन भने जरुरी छ । जनचेतना अभिवृद्धिका साथसाथै नियम मिच्नेलाई कानुन बमोजिम कारबाहीको प्रक्रिया पनि अघि बढाउन पर्दछ ।
साझा बिसौनी संवाददाता ।