‘सरकारी कार्यालयमा सधैं छापा हान्नुपर्छ’

सेवाग्राहीको काममा ढिलासुस्ती गरेको, समयमै कार्यालयमा हाजिर नभएको, सरकारी पोशाक र  परिचयपत्र बिना नै कार्यालयमा आएको गुनासोका आधारमा राष्ट्रिय सतर्कता केन्द्रले केही दिन पहिले सुर्खेतका सरकारी कार्यालयहरूमा छापा मारेको छ । केन्द्रको टोलीले छापा मारेपछि सरकारी कर्मचारीहरूको भागाभाग नै भएको छ । केन्द्रको यो काम तपाईंलाई कस्तो लाग्यो ? भनेर  सहकर्मी गीता थापाले सोधेकी थिइन् । प्रस्तुत छ, उनीहरूको प्रतिक्रिया जस्ताको त्यस्तै ः
सलिना बस्नेत 
वीरेन्द्रनगर–१३
राष्ट्रिय सतर्कता केन्द्रले सुर्खेतमा रहेका सरकारी कार्यालयहरूमा गरेको छड्के चेकजाँच एकदमै राम्रो हो । हुन पनि सरकारी कार्यालयहरूमा कुनै पनि कामको लागि गयो भने एक दिन वा एक छिनमा हुने काम दिनहुँ लगाइदिन्छन् । कहिले कार्यालयमा कर्मचारी नै हुँदैनन् । कहिले कर्मचारी बिदामा बसेको छ भन्ने कहिले के भन्ने यस्तैकारणले गर्दा सरकारी कार्यालयहरूमा सेवाग्राहीहरूले राम्रोसँग सेवा लिन पाइरहेका छैनन् । सरकारी कार्यालयमा कर्मचारीहरू काम कम गर्ने र आर्थिक लाभ लिने मात्र रहेका छन् । सेवाग्राहीको काम भनेको बेला र समयमा कहिल्यै पनि हुँदैन ।
टेकनारायण चालिसे 
गढी–४
राष्ट्रिय सतर्कता केन्द्रले सुर्खेतमा रहेका सरकारी कार्यालयहरूमा एक्कासी छापा मार्नु भनेको एकदम राम्रो कुरा हो । किनभने पहिले नै सूचना दिएर अनुसन्धान गर्दा त्यो अनुसन्धान प्रभावकारी हुन सक्दैन । त्यसकारण पनि अनुसन्धान भनेको सूचना विना नै गर्नु राम्रो हुन्छ यसो गर्दा भेटाउन नसकिएको गल्ती पनि भेटाउन सकिन्छ । सरकारी कार्यालयहरूले सेवाग्राहीलाई गुणस्तर सेवा नदिएको, काममा ढिलासुस्ती गरेको, समयमा कार्यालयमा उपस्थिति नभएको, पोशाक नलगाएको र परिचय कार्ड नलगाएको भन्दै एक्कासी कार्यालयहरूमा छापा मार्नु भनेको राम्रो हो । तर, केन्द्रले छापा मारिसकेर भेटाएको गल्तीलाई किन छोड्यो यो कुरा चाहिँ गल्ती हो । कार्यालयमा भेटाएका गल्ती गर्ने व्यक्तिहरूलाई सजायको दायरामा किन केन्द्रले ल्याउन सकेन यो भने केन्द्रको कमजोरी हो ।
शोभा सापकोटा 
लेखफर्सा–७
राष्ट्रिय सतर्कता केन्द्रले सुर्खेतमा रहेका सरकारी कार्यालयहरूमा गरेको अनुसन्धान एकदमै राम्रो लाग्यो । केन्द्रले गरेको अनुसन्धानबाट सुर्खेतका सरकारी कार्यालयका ४१ जना कर्मचारीहरू कार्यालयमा अनुपस्थिति रहेको खुलासा हुनु भनेको दुःखद् कुरा पनि हो । अधिकांश कर्मचारीले सरकारी पोशाक नलगाएको, हाजिर खाली छोडेको, हाजिर लगाएर बाहिर गएको र कार्यालयमा ढिला आएको भन्ने विभिन्न सञ्चार माध्यमबाट बाहिर आउनु भनेको लाज मर्दाे कुरा हो । सरकारी कार्यालयहरूमा काम गर्ने सरकारी मानो खाने, जनताको करबाट तलब खाने अनि तीनै जनताको काममा ढिलासुस्ती गर्नै यस्ता कर्मचारीहरूलाई त सजाय दिनुपर्छ । केन्द्रले गरेको अनुसन्धानपछि केन्द्रले कार्यालयहरूमा अनुपस्थिति भएका कर्मचारीलाई सरकारी नीति र निमयभित्र रहेर कारबाही गर्न जरुरी छ । तब अनुसन्धान गरेको सार्थकता हुनेछ ।
पिमकली ढकाल 
वीरेन्द्रनगर–११
सुर्खेतका सरकारी कार्यालयहरूमा सेवाग्राहीहरूको काममा ढिला सुस्ती गरेको भन्दै राष्ट्रिय सतर्कता केन्द्रले गरेको अनुगमन एकदमै राम्रो हो । केन्द्रले सुर्खेतमा सायद यस्तो अनुसन्धान यसअघि गरेको थिएन होला । यसपटक अनुसन्धान गरेको कुरा राम्रो पक्ष हो । तर, केन्द्रले यस्तो अनुसन्धान एक वर्षमा एक चोटी मात्र गरेर हुँदैन । यस्तो अनुसन्धान पटक–पटक गर्दा सरकारी कार्यालयका कर्मचारीहरू पनि सचेत भएर आफ्नो कामप्रति जिम्मेवार भएर लाग्न सक्छन् । त्यसैले यस्तो अनुसन्धानलाई महिना–महिनामा गर्न जरुरी छ ।
किमसरा खत्री 
डाँडाखाली–९
राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयमा यसरी एक्कासी छापा मार्नुभन्दा पनि दुई चार दिन अगाडि नै सूचना गरेर अनुसन्धान गरेको भए राम्रो हुने थियो । केन्द्रले कार्यालयमा अनुसन्धान गर्नु यो राम्रो पक्ष हो । फेरि गल्ती सरकारी कार्यालयका ठूला तह र पदमा रहेका व्यक्तिहरूको पनि हो । हामी जहिले पनि सरकारी, गैरसरकारी होस् वा अन्य कुनै कार्यालयहरूमा होस् पहिला ठूलाको भन्दा साना तहमा काम गर्ने कर्मचारीहरूको कमी कमजोरी हेर्छौं वा खोज्न लाग्छौं । अबका दिनमा केन्द्रले अनुसन्धान गर्दा पहिला ठूला तहका कर्मचारीहरूलाई अनुसन्धान गरेर कारबाही गर्न सक्यो भने साना तहका कर्मचारीहरू आफै कामप्रति बफादार बन्न सक्छन् ।
पूर्ण आचार्य 
लेखफर्सा–६ 
राष्ट्रिय सतर्कता केन्द्रले सुर्खेतका सरकारी कार्यालयहरूमा गरेको छापा एकदमै राम्रो हो । सबैभन्दा पहिला त सरकारी कार्यालयमा काम गर्ने कर्मचारीहरूले आफूले सरकारी मानो खाएको र जनताको करबाट आर्थिक रूपमा सहयोग भएको कुरा भुल्नु हुँदैन । अर्काे कुरा सरकारले जति सरकारी कर्मचारीप्रति जिम्मेवार भएर लागेको छ त्यत्तिकै सरकारी कर्मचारीहरूले पनि सरकारको नीति नियमभित्र रहेर र जनताको कामप्रति जिम्मेवार भएर लाग्न सक्नुपर्छ । फेरि केन्द्रले यस्तो अनुसन्धान एक पटक मात्र गरेर हुँदैन यस्तो अनुसन्धान पटक–पटक गर्न जरुरी छ । अनुसन्धान गरिसकेपछि गल्ती गर्नेहरूलाई त्यसै छोड्दा यस्ता गल्तीहरू बारम्बार दोहोरिन सक्छ । ताकी एउटालाई दिएको सजायले अर्काे कर्मचारीले गल्ती गर्ने काम नगरोस् यसो गर्दा अनुसन्धान प्रभावकारी हुनसक्छ ।
कमानसिंह क्षेत्री 
अवलचिङ–३
एकदमै राम्रो लाग्यो । राष्ट्रिय सतर्कता केन्द्रले पहिला सचेत गराउने र पछि गल्ती भेटाएमा कारबाही गर्ने गरेको भए अझ राम्रो हुने थियो । सरकारी काम कहिले जाला घाम भन्ने प्रवृति सरकारी कार्यालयका कर्मचारीहरूमा रहेको छ । सबै–सबैमा नहोला तर, अधिकांश कर्मचारीहरू कार्यालयमा आउने हाजिर लगाएर फर्कने गरेका पनि छन् । जुन कुरा अनुसन्धानपछि सबैलाई अवगत भएकै कुरा हो । यस्ता सरकारी कर्मचारीहरूलाई कारबाही गर्न जरुरी छ । आफूले पाएको जिम्मेवारी राम्रोसँग पूरा गर्ने कर्मचारीहरूको दायित्व हो भन्ने कुरा कहिल्यै पनि भुल्नु हुँदैन । त्यसैले सधैं कर्मचारीहरू आफ्नो पेशाप्रति वफादार भएर लाग्न जरुरी छ ।
त्रिभुवन आचार्य 
वीरेन्द्रनगर–१२ 
सरकारी कर्मचारी हौं भन्दैमा राज्यले बनाएको नीति र नियमलाई बिर्सनु हुँदैन । फेरि राष्ट्रिय सतर्कता केन्द्रले पनि यस्तो अनुसन्धान महिनाको एक पटक भए पनि गर्न जरुरी छ यसो गर्दा सरकारी कार्यालयमा जाने सेवाग्राहीहरूलाई सहज रूपमा सेवा पाउन सहज वातावरण बनाउन सकिन्छ । अर्काे कुरा सरकारी कर्मचारी पनि ठूला तहमा भएका कर्मचारीहरूलाई पनि विशेष अनुसन्धान गर्न जरुरी छ । यसो गर्दा राज्यले बनाएको नीति र नियमलाई उच्च तहमा रहेका कर्मचारीहरूले पालन गर्न सकेको खण्डमा सानो तहका कर्मचारीहरू आफै सचेत भएर आफ्नो कामप्रति जिम्मेवारी भएर लाग्न सक्छन् । ठूलो तहका कर्मचारीले नै सानो तहका कर्मचारीलाई कामको निर्देशन दिने भएको हुँदा कसरी आफ्नो कार्यालयलाई अरुको भन्दा उत्कृष्ट तथा सेवाग्राहीहरूलाई नियमित रूपमा सेवा दिने भन्ने कुराको सबै कर्मचारी सचेत हुन सक्छन् ।
केशरी विक 
मेहेलकुना–७
राष्ट्रिय सतर्कता केन्द्रले सुर्खेतका सरकारी कार्यालयहरूमा छापा मारेको कसरा एकदमै राम्रो पक्ष हो । सरकारी कार्यालयहरूमा सेवाग्राहीहरूले राम्रोसँग सेवा नपाएको कुरा पनि सत्य नै । आफ्नो काम लिएर सेवाग्राहीहरू कति टाढा–टाढाबाट आएका हुन्छन् । उनीहरूको लापरबाहीका कारण होटेलमा बसेर खर्च गरेर धेरै दिनसम्म बस्नुपर्ने हुन्छ । यो समस्या सेवाग्राहीहरूले भोग्दै आइरहेको हुँदा सतर्कता केन्द्रले छड्के चेक गरेर एकदमै राम्रो गरेको छ । अझ भन्नुपर्दा कार्यालयमा नियमित उपस्थित नहुने कर्मचारीलाई त सजाय पनि दिनुपर्ने हो । सरकारी मानो खाइसकेपछि त राज्यको नीति र नियमभित्र रहेर काम गर्न सक्नुपर्छ । केन्द्रले यस्तो अनुसन्धान एक पटक मात्र होइन पटक–पटक गर्न जरुरी छ ।
प्रकाशित मितिः   २६ जेष्ठ २०७३, बुधबार ११:३३