यतिसम्म वेहाल ! क्षेत्रीय अस्पताल ?

दिनेश गौतम
मिती ः २०७२ पौष २२ गते ।
स्थान ः क्षेत्रीय अस्पताल सुर्खेत । 
समय ः दिउँसो १२ः३० बजे ।
‘औषधि दिन प¥यो बाबु’ एउटी बुढी महिलाले झ्यालबाट भित्र हेर्दै भनिन् । 
‘कुन ?’ भित्रबाट एउटा रुखोे बोली सुनियो । 
‘ह्या । छैन यो औषधि ।’
‘डाउटरले त यहीं पाइन्छ भन्यार पठायाछन् त ।’
‘पाइन्छ भनेर हुन्छ ? मैले छैन भनेपछि छैन छैन ।’
‘डाक्टरले यहीँ पठाया त म के गरुँ ? पैसा छैनन् त केही किनम त ।’
ती बुढी महिलाले झ्याल बाहिरबाट यो भनिरहँदा भित्रबाट अर्काे आवाज आयो,
‘रूपैयाँ होलान् त पैसा नभए ।’ अनि त्यो मान्छे आफै हाँस्यो ।
‘मेडिकलमा पाइन्छ औषधि ।’
यो जतिको अपमान एउटी वृद्ध बिरामी महिलामाथि के हुन सक्दछ ?
‘मेडिकलमा कसरी जाने त । पैसा लाग्दैन भनेर पो अस्पतालमा आयाको हुँ त । काँबाट ल्याम पैसा ।’ ती वृद्ध महिलाले फेरि भनिन् । 
पौष २२ गते दिउँसो साढे १२ बजे मध्यपश्चिम क्षेत्रीय अस्पताल कालागाउँको कोठा नम्बर १ मा रहेका औषधि वितरण गर्ने एक व्यक्तिसँग सुर्खेतको कुनै दुर्गम गाउँबाट आएकी करिब ६० वर्षीया महिलाले डाक्टरले लेखिदिएको औषधि माग्दा भएको संवाद हो यो । (प्रमाण स्वरूप मसँग त्यस संवादको अडियो रेकर्ड सुरक्षित छ ) । कोठा नं. १ को झ्यालको सिधैं माथि ‘असहाय, अपाङ्ग तथा वृद्धहरूको लागि निःशुल्क औषधि वितरण कक्ष’ भनेर लेखिएको छ । त्यो कोठामा औषधि बाँड्न बसेका व्यक्तिको नाम म जान्दिन । करिब १५ मिनेट मैले उनले त्यहाँ गरेको व्यवहार हेरेको छु । उनले त्यहीं कोठाबाट पाइने भनिएको औषधि माग्न लाइन लागेकी एउटी बुढी महिलाप्रति बोलेको अपमानजनक व्यवहार हेरेको छु, सुनेको छु र रेकर्ड पनि गरेको छु । रेडक्रसका सिद्धान्त म जान्दिन तर मैले बुझेसम्म संसारमा सबैभन्दा बढी देशमा पुग्न सकेको र कामले चर्चा पाएको रेडक्रसकै टोपी लगाएका ती सायद रेडक्रससँग सम्बन्धित हुनपर्छ । रेडक्रससँग सम्बन्धित होलान नहोलान, तर उनले त्यहाँ देखाएका व्यवहार अत्यन्त आलोचना योग्य थिए । 
उनले यसरी ती बिरामी बुढी महिलालाई थर्काए मानौं ती महिला ती व्यक्तिको घरमा भिख माग्न आइरहेकी छिन् । लामो लाइन बसेर डाक्टरसम्म पुग्न सकेकी रहिछन्, चेक गराइन् । डाक्टरले औषधि लेख्दिएछन् र भनेछन्, ‘त्यो कोठामा जानु’ । तर जब उनी त्यहाँ गइन्, त्यसबेला त्यो व्यक्तिको ठाडो व्यवहारले उनी कति ग्रसित भइन्, त्यसको प्रत्यक्ष दृश्य हेरेको छु मैले । 
उनीहरू बीचको हरेक संवाद सुनेको छु । उसले हप्काए पश्चात निराशमुद्रामा रहेकी उनी रुन मात्र सकेकी थिइनन् । टाउको र पेट दुखेको भन्दै आवाज रोकिँदै रोकिँदै बोलिरहेकी थिइन् । जब मैले उनीसँग कुरा गर्न खोज्दै थिएँ, उनी कुरा गर्न नसक्ने स्थितिमा थिइन् । यसको कारण उनको बिरामी अवस्था हुन सक्थ्यो तर त्योभन्दा ठूला कारण सरकारी अस्पताललाई आफ्नै किराना पसल ठान्ने व्यक्तिहरूको अपमानपूर्ण व्यवहार थियो  । ती महिला त्यसपछि कतै गएर वेस्मारी रोइहोलिन् । मैले यतिमात्र अनुमान गर्न सकें ।
मैले ती महिलासँग केही कुरा बुझ्न खोज्दै थिएँ बाहिर, ती व्यक्ति भित्रैबाट मै विरुद्ध गर्जिए र भने, ओ भाइ धेरै नउचाल त । हालत खराब गराउँछन् ।’
मैले सुने पनि नसुनेको जस्तै गरें । उनी फेरि भित्र गुन्गुनाएँ ।
‘त्यत्रो चेक गरेको देख्दैनन्, औषधिमा मात्र लाग्छन् आँखा ।’
मैले ३ पटक सम्म ‘दाइ यो उहाँले खोजेको औषधिको नाम के हो ?’ भनेर सोधें । उनले दुइपटक सम्म जवाफ दिएनन् । तेस्रो पटक ‘थाहा छैन मलाई’ भने । 
उनलाई थाहा नभएकै औषधि यहाँ छैन भनिदिए होलान, त्यहाँको कमजोर थियो औषधि त्यहिँ पाइन्छ भनेर औषधिको नाम लेखेर पठाउने डाक्टर कि त्यहाँ औषधि बाँड्न बसेका व्यक्ति, स्वयम् उनी नै जानुन् यो कुरा । 
‘यहीँ गएर लिनु भन्नु भाथ्यो, म कहाँ गएर किनम, पैसा पनि छैन । बिरामले टाउको दुख्याछ, पेट पोल्याछ । अब त्यतिकै फर्कन प¥यो, त्यति टाढाबाट आएको ।’
उनले रुन्चे स्वरमा भनिन । 
उनले मलाई उनलाई नउचाल्न भने ।
मैले प्रष्ट पार्न खोजें, ‘अरु हैन दाइ यो औषधि यहाँ छैन र भन्न खोज्या ?’
उनले भने, ‘भा भए अरुलाई दिने, यिनलाई नदिने भन्ने हुन्थ्यो र ।’
उनले औषधि सकिएको छ  भन्नसक्थे सजिलैसँग । तर उनले जसरी भने, त्यो एउटा सभ्य र सेवा दिन बसेको व्यक्तिलाई बोल्न सक्दैन । 
धेरै जसो सरकारी कार्यालयको हालत जे हुन्छ त्यही थियो मध्यपश्चिम क्षेत्रीय अस्पताल कालागाउँ सुर्खेतको अवस्था । अन्य सरकारी कार्यालयहरूमा बिरामी आउँदैनन्, सेवाग्राही आउँछन् । अस्पतालमा त स्वास्थ्यको समस्या लिएर बिरामी आउँछन्, कर्मचारीको तितो बोलीको गोली लिएर फर्किन्छन् । त्यहाँभन्दा बढी उनीहरूले पाउने केही हुँदैन ।
सरकारले सरकारी स्वास्थ्य संस्थाबाट विभिन्न किसिमका औषधिहरू निःशुल्क बाँड्ने प्रबन्ध मिलाएको 
छ । कमसेकम सामान्य किसिमका औषधिहरू गरीब सर्वसाधारणको हातमा सहजै पुग्न सकोस् भनेर सरकारले यतिसम्म त गर्न सकेको छ तर औषधि लिन गएका बिरामीहरू हप्की खाएर फर्किन्छन् । सरकारको निःशुल्क औषधि 
वितरण फ्लेक्स र विज्ञापनमा मात्र अनुभव गर्न सक्छन् गरीब जनता ।
सरकारी अस्पतालमा भएको यो निकै अपमानजनक व्यवहार हेरिसकेपछि उनीजस्तै बिरामी, म, तपाईं अनि सबैलाई लाग्दो हो, अबदेखि यहाँ आउन नपरोस् । गरीबको त के हैसियत छ र महंगा महंगा मेडिकल र नर्सिङ्ग होममा औषधि गर्न जानलाई, जे होला सरकारी अस्पतालमा होला भन्छन्, त्यही जान्छन् । त्यहाँ ‘जागिर’ गर्नेहरूले क्षेत्रीय अस्पताललाई नै आफ्नो निजी क्लिनिक भए सरह त्यहाँ सेवा लिन पुगेकाहरूलाई व्यवहार गर्छन् । हो, गरीबको धेरै आफ्ना हुँदैनन्, आफ्नो हुनपर्ने सरकार र यसका निकायहरूमा रहेका व्यक्तिहरू झनै पराइ बनाइदिन्छन् गरीबलाई । कस्तो विडम्बना ।
गुरुप्रसाद मैनालीको एउटा कथा छ, ‘पापको परिणाम’ । जसमा जन्मैबाट गरीब बनेका घलेहरू कान्तोपाध्यनामक मुखियाबाट थिचोमिचोमा पर्छन् । उसको अन्यायको चिरफार गर्ने सरकार छ भनेका हुन्छन्, सरकार उनीहरूकै विरुद्धमा उभिन्छ । अन्त्यमा उनीहरूको घर उठीबास हुन्छ । निर्दोष भएर पनि जेल जानुपर्छ । सरकार छ भनेर गयो, सरकारी निकायहरू कुम फर्काएर बस्छन् । अवस्था त्यस्तै छ, निःशुल्क पाउने सेवा सुविधा लिन कि त आफै हप्की दप्की दिन सक्नुपर्छ, होइन भने त्यहाँ नगए पनि हुन्छ । 
अब जवाफ दिने त सरकार नै होला नि, कहिलेसम्म यस्तै बेहाल ! क्षेत्रीय अस्पताल ?
प्रकाशित मितिः   ११ माघ २०७२, सोमबार १०:०७