गोलभेडा बालीमा पोष्टहार्भेष्ट प्रविधि

परिचयः
पोष्ट हार्भेष्ट क्रियाकलाप भन्नाले बाली उत्पादन पश्चात् उत्पादित वस्तुलाई बिक्री स्थलसम्म पु¥याउँदा थप नोक्सानी हुनबाट बचाइ राख्ने तथा बजारयोग्य गुणस्तरीय उपजका लागि गरिने कार्यहरू (सफाइ गर्ने, केलाउने, ग्रेडिङ प्याकिङ, चिस्याउने, ढुवानी) लाई जनाउँछ । पोष्ट हार्भेष्ट नोक्सानीले समग्रमा उपभोक्ताको लागि उपभोग्य सामग्रीको कमी हुन्छ । भने उत्पादन र व्यापारीलाई ठूलो आर्थिक नोक्सानी हुन्छ । यसले गर्दा उत्पादनमा लागेको लगानी, समय र पैसाको क्षति हुन्छ । बाली टिपे लगत्तै नोक्सानी सुरु हुन्छ । तसर्थ यस अन्तर्गत गरिने क्रियाकलापले वस्तुको ताजापन तथा गुणस्तरको निर्धारण गर्दछ । नेपालमा तरकारी बालीमा सरदर २५ देखि ३० प्रतिशत पोष्ट हार्भेष्ट क्षति भएको पाइन्छ । पोष्ट हार्भेष्ट प्रविधिको मुख्य उद्देश्य क्षति कम गर्ने र गुणस्तर कायम राख्दै उपभोग्यको माग पूरा गर्नु र उत्पादनलाई राम्रो मूल्य दिलाउनु हो ।
पोष्ट हार्भेष्ट नोक्सानीका मुख्य कारणहरूः 
तरकारी बालीहरूको पोष्ट हार्भेष्ट नोक्सानी विभिन्न कारणहरू जस्तैः कुहिने, पहेंलिने र ओइलाउने, कमसल ढुवानी तथा भण्डारण, प्रतिकूल तथा बजारको अभाव आदिले हुन्छ । 
आन्तरिक कारण ः 
सहजै थाहा नपाउने अन्य कारणहरू जसले वस्तुको गुणस्तरमा (बासना वा गन्ध, सतहको कडापन, खस्रोपन, नरमपन) नोक्सानी गराएको हुन्छ । गोलभेडाको टुप्पो कुहिने, फलभित्र बीऊ उम्रने, फल फुट्ने आदि । 
यान्त्रिक कारण ः 
नोक्सानी हुनुका अन्य कारणमा लापरवाहीपूर्वक टिप्नु, ठीकसँग प्याक नगर्नु, सामान चढाउँदा र ओराल्दा काटिनु, टुक्रिनु, प्वाल पर्नु, फुट्नु, चिरिनु, आकार–प्रकार बिग्रनु तथा बाह्य सतहमा कोरिनु आदि हुन् । 
पोष्ट हार्भेष्ट नोक्सानी कम गर्ने उपायहरूः 
 उपयुक्त जातहरू छनौट गरी सही वातावरणमा फलाउने, भौतिक नोक्सानी (घाउ तथा चोटपटक) बाट बचाउने, प्रतिकूल मौसमी अवस्थाबाट बचाउने । तापक्रम व्यवस्थापन, चिस्यान व्यवस्थापन, रोगकिरा व्यवस्थापन, उपयुक्त समयमा र तरिकाले फल टिप्ने, उपयुक्त तरिकाले प्याकिङ गर्ने, ढुवानीमा सावधानी अपनाउने, पाक्ने र टिप्ने अवस्थाको ख्याल गर्ने र भण्डारणको उपयुक्त व्यवस्था मिलाउने । 
पोष्ट हार्भेष्टसँग सम्बन्धित समस्या र रोगहरूः 
अधिक चिसोपनाबाट हुने असर ः 
पाकेको गोलभेडाले बढी चिसोपन सहन सक्छ । तर काँचो गोलभेडा बढी चिसो तापक्रममा भण्डारण गरेमा छिट्टै बिग्रन्छ । बढी चिसो भएमा फलमा रङ चढ्दैन, चिसोको घाउ आउँछ र कुहिन्छ । 
अधिक तातोपनाको असर ः 
३२ डिग्री सेन्टिग्रेड भन्दा बढीको तापक्रममा फलहरूमा रङ चढ्दैन र छिट्टै बिग्रन्छ । 
फल सड्ने (ब्याक्टेरियल सफ्ट रट) ः
चोट लागेको ठाउँमा जीवाणु प्रवेश गरी फल सड्ने समस्या हुन्छ । 
फल टिपाई ः 
यदि बजार नजिकै छ भने फलहरू गुलाबी वा हल्का रातो अवस्थामा टिप्ने, यदि प्रशोधनका लागि हो भने पूरा पाकिसकेको अवस्थामा टिप्ने । टाढाको बजारमा लग्नका लागि हो भने परिपक्क हरियो वा ब्रेकर वा टर्निङ अवस्थामा टिप्ने । ढिलो गरी पकाउनका लागि फल टिप्दा भेट्नासँगै र चाँडो पकाउनका लागि फल टिप्दा भेट्नु हटाएर टिप्नुपर्छ । गोलभेडा टिप्दा शीत ओभाएपछि वा बेलुकातिर टिप्नुपर्छ । 
सफाइः 
गोलभेडा टिपिसकेपछि कुहिएका, नराम्रा, कीरा लागेका फलहरू हटाउने । फलमा टाँसिएके फोहोर तथा माटो पानीले धोइ सफा गर्ने र छहारीमा राखी पानी सुक्न दिने । 
ग्रेडिङः 
फलहरूको आकार अनुसार ठूला, मझौला र साना गरी तीन समूहमा फलहरूलाई वर्गीकरण गर्ने । रङको आधारमा पनि ग्रेडिङ गर्न सकिन्छ । 
प्याकिङ ः 
अलग ग्रेडका फलहरूलाई हलग हलग प्याक गर्ने । प्याकिङको लागि प्लाष्टिक क्रेट, काठको बाकस, टोकरी वा काजगको कार्टुन प्रयोग गर्न सकिन्छ । डोकोहरू प्रयोग गर्दा सोली आकारको भन्दा लगभग तलमाथि बराबर व्यास भएको राम्रो हुन्छ । काजगको कार्टुन बाहेक अन्यमा प्याकिङ गर्दा पिध र वरिपरि कागज पत्रिका राख्ने । क्रेटमा प्याक गर्दा करिब ४ इन्च भरिने गरी राख्ने । बाहिरी बजारको लागि १५ केजी तौल हुने गरी कार्डबोड वा काठको बाकसमा प्याकिङ गर्ने । 
ढुवानी ः
प्याकिङ गरेको फललाई समयमा नै ढुवानी गरी बजारमा पठाउने । सामान सरक्षित तरिकाले ढुवानी गर्नुपर्छ अन्यथा सामान बजारमा पुग्दा बिग्रन वा नोक्सान हुनसक्छ । 
प्रकाशित मितिः   १३ माघ २०७२, बुधबार १०:२२