बीस वर्षपछि आज स्थानीय तहको निर्वाचन, आफ्ना प्रतिनिधि छान्दै जनता

सुर्खेत, ३० वैशाख ।
करिब २० वर्षपछि आज (आइतवार) स्थानीय तहको निर्वाचन हुँदैछ । २०५४ पछि पहिलो पटक आज स्थानीय निर्वाचन हुन लागेको हो । यो निर्वाचनबाट जनताले पहिलो पटक स्थानीय सरकारको गठन गर्न लागेका हुन् । मतदानबाट गाउँपालिका र नगरपालिकाको नेतृत्व चयन हुन लागेको हो । संघीयतामा देश गए सँगै सिंहदरबारको अधिकारलाई वडा तहमा स्थानान्तरण हुन लागेकाले यो निर्वाचनलाई महŒवका साथ हेरिएको छ । यसअघि संविधानसभामा मतदान गरेका मतदाताले यसपालिको निर्वाचनमा भने आफ्नो वडा, गाउँ र नगर सञ्चालन गर्ने अगुवा चुन्न लागेका हुन् ।
बिहान सात बजेबाट मतदान सुरु हुनेछ । यस्तै बेलुकी पाँच बजेभित्र लाइनमा बसेका मतदातालेसमेत भोट हाल्न पाउनेछन् । मुख्य निर्वाचन अधिकृत कैलाशप्रसाद सुवेदीका अनुसार मतदान सम्पन्न भएपछि मतपेटिकाहरू सम्बन्धित नगर र गाउँपालिकामा रहेका निर्वाचन अधिकृतका कार्यालयमा राखिनेछ । मतगणना पनि सम्बन्धित स्थानमा नै हुने उनले जानकारी दिए । उनले भने, ‘मतदाता परिचयपत्र वितरण कार्य उत्साहपूर्ण सम्पन्न भयो, अब मतदान पनि उत्साहपूर्ण नै हुनेछ । ’
यस्तै मतदाताले लाइनमा बसेको चार मिनेटभित्रै भोट हाल्न पाउने भएका छन् । यसअघिका निर्वाचनमा घण्टौंसम्म लाइनमा बस्न बाध्य मतदाताका लागि यसपटक सहज व्यवस्थापन गरिएको हो । गर्मी मौसम र घण्टौं पैदल हिँडेर आएका मतदाताले लाइनमा पालो कुर्न नपरोस् भनेर सुर्खेतमा यस्तो व्यवस्था गरिएको हो ।
मुख्य निर्वाचन अधिकृत सुवेदीले लाइनमा लागेको बढीमा चार मिनेटभित्र हरेक मतदाताले भोट खसाल्न सक्ने गरी मतदान केन्द्रमा व्यवस्थापन गरिएको बताए । ‘मतदाताहरू टाढाबाट हिँडेर आउनुपर्ने बाध्यता छ, गर्मीको बेलामा लाइनमा कुर्नुपर्दा असहज हुन्छ’ उनले भने, ‘मतदाताको सहजताका लागि सबै मतदान केन्द्रमा हामीले यस्तो सुविधाको व्यवस्थापन गरेका छौं, एउटा मतदाताले लाइनमा बसेको चार मिनेट भित्रमा भोट खसाल्न पाउनेछ ।’ त्यसका लागि हरेक बुथमा आवश्यक व्यवस्थापन गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सुर्खेतमा दुई सय ४० वटा मतदान केन्द्र छन् । यद्यपि भौगोलिक विकटताका कारण अधिकांश मतदाताले मतदान केन्द्रमा पुग्न कम्तीमा एक घण्टा पैदल हिँड्नुपर्ने बाध्यता छ । यही बाध्यतालाई मध्यनजर गर्दै सहज रूपमा मतदान गर्ने व्यवस्था मिलाइएको हो । यसपालीको मतपत्र लामो भएको र एक जनाले सात जनालाई मतदान गर्नुपर्ने भएकाले पनि केही समय लाग्ने सुवेदीको भनाइ छ । यद्यपि आफूहरूले लाइनमा बस्नुपर्ने बाध्यतालाई समाधान गर्नका लागि चार मिनेटभित्रमा पालो दिने गरी मतदान स्थलको व्यवस्थापन गरेको उनले जानकारी दिए । जिल्लामा सबैभन्दा बढी ५० हजार ६ सय ४० मतदाता रहेको वीरेन्द्रनगरमा ६० वटा मतदान केन्द्र तोकिएको छ । १६ वटा वडा रहेको वीरेन्द्रनगरमा पनि मतदाताले लाइनमा बस्नुपर्ने अवस्था नआउने सुवेदीले जानकारी दिए ।
एउटा बुथमा एक पटकमा तीन जनालाई मत खसाल्ने व्यवस्थापन गरिएको छ । यस्तै प्रवेश गर्ने र बाहिरिने छुट्टाछुट्टै बाटाहरू निर्माण गरिएका छन् । भेरीगंगा नगरपालिकाका निर्वाचन अधिकृत जंगबहादुर डांगीले भने, ‘यो नगरमा २३ हजार मतदाता छन्, जसका लागि ३० वटा मतदान केन्द्र तोकिएको छ । नगरपालिका भए पनि मतदातालाई केन्द्रसम्म आउन कम्तीमा एक घण्टा हिँड्नुपर्ने अवस्था छ, तर लाइनमा लागेपछि
उहाँहरूले धेरैबेर कुर्नुपर्ने छैन ।’ उनका अनुसार लाइनमा बसेको बढीमा तीन मिनेटभित्रमा मतदाताले भोट खसाल्ने पालो पाउनेछन् । यसका लागि आउने र जाने मार्ग अलग बनाइएको छ । यस्तै एक पटकमा महिला, पुरुष र अपाङ्गगता भएका व्यक्तिलाई तीन वटा मार्गबाट प्रवेश दिइने उनले जानकारी दिए । सबै मतदान केन्द्रमा यही व्यवस्थापन भएकाले विगतमा जस्तो मतदाताले लाइनमा बस्नु नपर्ने उनको दाबी छ ।
पाँच नगरपालिका र चार गाउँपालिका रहेको सुर्खेतमा एक लाख ८४ हजार तीन सय ९९ जना मतदाता छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चुनाव विथोल्ने धम्की दिए पनि चुनाव शान्तिपूर्ण हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले भने, ‘त्रसित हुनुपर्ने अवस्था छैन, हामीले मतदान केन्द्रमा भरपर्दो सुरक्षा व्यवस्था मिलाएका छौं । कुनै स्थानमा अप्रिय घटना भइहालेमा, त्यहाँ तत्काल थप फोर्स परिचालन हुनेगरी सुरक्षा योजना बनाएका छौं ।’ प्रहरीका अनुसार एउटा बुथमा कम्तीमा सात जना सुरक्षाकर्मी रहेका छन् । तीन जना नेपाल प्रहरी र चार जना म्यादी प्रहरी हरेक बुथमा हुनेछन् । यस्तै बुथको बाहिरी घेरामा सशस्त्र प्रहरी र नेपाली सेनाले समेत सघाउने प्रशासनले जानकारी दिएको छ । सुर्खेतको सुरक्षा अवस्था नियन्त्रणमै रहेको भन्दै स्थानीय प्रशासनले ढुक्कसँग मतदान गर्न आग्रह गरेको छ ।

प्रकाशित मितिः   ३१ बैशाख २०७४, आईतवार १६:११