‘सरकार धेरै समय टिक्दैन’

सुर्खेत: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुषपकमल दाहालले नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकार लामो समय नटिक्ने बताएका छन् । बिहीवार सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले अवैध र अप्राकृतिक ढंगले सरकार जन्मेकाले यसको अन्त्य पनि चाँडै हुने बताएका हुन् ।

‘लोकतन्त्र, वर्तमान संविधान र जनताको भावनाविपरीत सरकार बनेको छ’ उनले भने, ‘यो लामो समय जाँदैन ।’ उनले सरकारविरुद्ध प्रतिपक्षी दलहरू मात्रै नभएर सत्तामा रहेका दलहरू नै विरोधमा उत्रिएको भनाइ राखे । ‘कांग्रेसका नेताहरूले सार्वजनिक रूपमा बोलिरहेका छन्, एमालेभित्र निकै उकुसमुकुस छ’ उनले भने ।
सरकार धेरै समय नटिक्ने बताएका दाहालले माओवादीको ध्यान अहिले सरकारतर्फ नभइ जनतातर्फ केन्द्रित रहेको उनले दावी गरे । ‘सरकार ढाल्नका लागि सक्रिय भूमिकामा छैनौँ । विपक्षी भूमिका नै अहिलेलाई ठीक छ,’ अध्यक्ष प्रचण्डले भने ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशमार्फत् देश चलाउन खोजेको आरोप लगाए । ‘अहिलेको सरकार अध्यादेशबाट शासन गर्ने प्रयत्न गरिराखेको छ’ उनले भने, ‘यसको सशक्त प्रतिकार गरेपछि सरकार बाध्य भएर १८ गतेका लागि संसद् आह्वान गर्न बाध्य भएको हो ।’ उनले अहिलेको सरकारले भष्टाचारीलाई बचाउने, राम्रो काम गरेका संरचना र कर्मचारीहरूलाई दुःख दिने काम गरिरहेको आरोप पनि लगाएका छन् ।

प्रकाशित मितिः   ११ माघ २०८१, शुक्रबार १०:४६