कृषिमा नयाँ योजना

उत्पादनदेखि बजारीकरणसम्मका योजनासहित कर्णाली प्रदेश सरकारले कृषिका नयाँ कार्यक्रम ल्याएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटेर नयाँ कार्यक्रम ल्याइएको हो । यो वर्षदेखि कृषिका कार्यक्रमलाई करिडोर केन्द्रित गर्न लागिएको छ । प्रदेशको खाद्यान्न उत्पादनको प्रचुर सम्भावना रहेका क्षेत्रहरू पहिचान गरी कार्यक्रम सञ्चालन गर्न लागिएको हो । उत्पादनदेखि बजारीकरणका लागि कृषिका कार्यक्रमलाई सडकदेखि करिडोरसम्म जोडेर सञ्चालन गर्न लागिएको छ । करिडोर केन्द्रित कार्यक्रम सञ्चालन गरिने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । पाइलट प्रोजेक्टका रूपमा कार्यक्रम सञ्चालन गर्न लागिएको छ । जसमा किसानको उत्पादनदेखि बजारीकरणमा सहयोग पु¥याउने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

उत्पादनको प्रचुर सम्भावना रहेका क्षेत्रहरू शारदा करिडोर, भेरी करिडोर, हिमा करिडोर, तिला करिडोर, कर्णाली करिडोरलाई खाद्यान्न करिडोरका रूपमा विकास गर्न लागिएको प्रदेश सरकारले जनाएको छ । स्थानीय, प्रदेश, संघ सरकार र विकास साझेदार संघसंस्थासँग मिलेर कार्यक्रम सञ्चालन गर्न लागिएको हो । प्रदेश तथा जिल्लाहरूबाट सञ्चालित कार्यक्रमहरूलाई करिडोर केन्द्रित गरेर कार्यक्रम सञ्चालन गर्न लागिएको हो । सञ्चालन भइरहेका तथा नयाँ सञ्चालन हुने कार्यक्रमलाई करिडोरका कार्यक्रममा केन्द्रित गरिनेछ, जसले कृषकको उत्पादन बढ्ने र बजारीकरणमा सहज पुग्ने अपेक्षा गरिएको छ । अर्गानिक कृषिमा वृद्धि, कृषि क्वारेन्टाइन, माटो परीक्षण, प्राङ्गारिक मल उत्पादन, घुम्ती कृषि प्राविधिक, प्रविधि प्रसार, पोषण सुधार, कृषि, पशु र जडिबुटी बिमा, सिँचाइसहित किसानको जीवनस्तर सुधारमा प्राथमिकता दिइने मन्त्रालयले जनाएको छ ।

यसैबीच प्रदेश सरकारले यो वर्ष किसान पाठशाला पनि सञ्चालन गर्ने भएको छ । सरकारले कर्णालीका सबै स्थानीय तहहरूमा किसान पाठशाला सञ्चालन गर्ने भएको हो । स्थानीयस्तरमा गुणस्तरीय प्राङ्गारिक मल उत्पादनको प्रविधि प्रसारका लागि ‘एक पालिका एक किसान पाठशाला’ सञ्चालन गरिने भएको हो । किसानको पहुँच अभिवृद्धि गर्न प्राङ्गारिक मल तथा जैविक विषादी उत्पादन, ढुवानी तथा बिक्री मूल्यमा अनुदान दिने नीति सरकारको छ । किसानलाई कार्यस्थलमा प्राविधिक सहयोग उपलब्ध गराउन घुम्ती कृषि प्राविधिक सहयोग कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम अघि सारेको सरकारले प्रदेशको प्रवेश गर्ने प्रमुख नाका बबइमा कृषि क्वारेन्टाइन राख्ने छ । सरकारले कृषि, पशु र जडिबुटी बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन लागेको छ । प्राकृतिक प्रकोपबाट कृषि बाली र पशु चौपायामा हुने क्षतिको जोखिम न्यूनिकरण गरी युवाहरूको कृषि तथा पशुपालन व्यवसायमा आकर्षण बढाउन बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन लागिएको हो ।

प्रकाशित मितिः   १३ मंसिर २०८१, बिहीबार ०६:०३