सन्दर्भः विश्वव्यापी उद्यमशीलता सप्ताह

यसकारण उद्यमीले आफूभन्दा बढी अरुलाई योगदान गर्छन्

विश्वव्यापी उद्यमशीलता सप्ताह हरेक वर्ष नोभेम्बरमा मनाइने गरिन्छ । यस वर्ष नोभेम्बर १८ देखि २४ अर्थात् मंसिर ३ देखि ९ सम्म विश्वभर मनाइरहेका छन् । यो उद्यमशीलताको सप्ताहव्यापी उत्सव हो । यसको उद्देश्य उद्यमीहरूको रूपमा मानिसहरूलाई उनीहरूको क्षमता ‍र समाजको आवश्यकताअनुसार उद्यमशीलतामा प्रेरित गर्ने हो । यसको अवसरमा संसारभर विभिन्न कार्यक्रमहरू सञ्चालन गरिन्छ । सन् २००८ बाट सुरु भएको यस सप्ताह हाल एक सय ७० भन्दा बढी देशमा बनाउने गरिन्छ । आजको यस आलेखमा नेपालमा उद्यमशीलताको सबलता, चुनौती अवसर तथा उद्यमशीलताले कसरी उद्यमीलाई मात्रै होइन, अरुलाई योगदान गर्छ भन्ने विषयमा चर्चा गरिनेछ ।

पछिल्लो समयमा उद्यमशीलताका बारेमा धेरैले बोलेको सुन्नमा आउँछ । खासगरी नेतादेखि लिएर सर्वसाधारण जनताहरू सबैले बोलेको पाइन्छ । उद्यमशीलता विकसित, अल्पविकसित र अतिकम विकसित सबै राष्ट्र सबैमा चासोको रूपमा हेरिन्छ । त्यसैले त यसको क्षेत्र धेरै व्यापक रहेको छ । पछिल्लो समयमा नेपालमा उद्यमशीलताको विकास तीव्र गतिमा बढ्दै गएको पाइन्छ ।

नेपालमा उद्यमशीलताको विकास वर्तमानमा तीव्र गतिमा बढ्दै गरेको पाइन्छ । यसले वर्तमानमा नेपालको रैथाने सीप प्रवर्धमानमा समेत टेवा पु¥याउँदै आएको छ । तथ्यांकले के देखाउँछ भने नेपालमा युवाहरूको जनसंख्या एकदमै ज्यादा रहेको छ । उद्यमशीलताको लागि यो सबल पक्ष हो । यसका साथै यो आधुनिक समयमा युवाहरूमा बढ्दै गइरहेको नवप्रर्वतनको आइडिया पनि उद्यमशीलताको सबल पक्ष हो । नेपाल कृषिप्रधान देश हो र हाल आएर कृषि क्षेत्रमा नवप्रर्वतन गरिएको छ । कृषिमा नवप्रर्वतन जस्तैः गोडमेलमा आधुनिक प्रविधिको प्रयोग, थोपा सिँचाइ प्रविधिको प्रयोग बढ्दो छ । त्यस्तै उद्यमशीलतालाई प्रवद्र्धन नेपालमा राष्ट्रिय स्टार्टअप उद्यम नीति २०८१ लागू गरिएको छ । यसैगरी औद्योगिक ऐन २०६७, राष्ट्रिय सहकारी नीति, २०६९ श्रम तथा रोजगार नीति, २०६२ राष्ट्रिय लघु वित्त नीति, २०६४ लगायत स्पट कानुनी प्रबन्ध गरेको छ । साथै राष्ट्रिय प्राथमिकता प्राप्त उद्योग रूपमा यी उद्योगहरू रहेका छन् । जस्तैः घरेलु उद्योग, ऊर्जामूलक उद्योग, कृषि तथा वन पैदावारमा आधारित उद्योग, पूर्वाधार उद्योग, निर्यातमूलक उद्योग आदि रहेका छन् ।

नेपालमा उद्यमशीलताको प्रमुख समस्या भनेको विधमान नेपालका औद्योगिक नीतिका प्रावधानहरूका प्रभावकारी कार्यावन्यन नभएको देखिन्छ । यद्यपि, अझैपनि उद्यमसँग सम्बन्धित थुप्रै कानुन निर्मान हुनै बाँकि रहेका छन् । उदाहरणको लागि सर्वप्रथम यात्री मोटरसाइकल विद्युतीय सवारी साधनको रूपमा आफ्नो उत्पादन सुरुआत ग¥यो । बिस्तारै उक्त मोटरसाइकलले राम्रो बजार बनाउँदै गइरहेको थियो । तर पछि बिस्तारै सवारीसाधन चेकजाँचका क्रममा उक्त मोटरसाइकललाइ दिनहुँ जसो समस्या आउँन थाल्यो । यसको कारण थियो नेपालमा निर्मित सवारीसाधनको दर्ताको लागि कुनै प्रावधान थिएन । यसरी एउटा भर्खरै बन्दै गरेको स्टार्टअपको कोपिला निमोट्ने काम सरकारले गरिरहेको हुन्छ । तसर्थ यो पनि भन्न सकिन्छ कि सरकारको उदासिनता पनि उद्यमशीलाताको समस्याको रूपमा रहन्छ । युवाहरूको सीप विकास नभएको, युवाहरूको लागि प्रयाप्त रूपमा अध्ययन, अनुशन्धान र विकासको लागि उपयुक्त प्लाटफर्ममा कमि रहेको छ । व्यक्तिहरूमा अझै पनि परम्परागत सोच तथा दृष्टिकोण हाबी रहेको छ । जसले गर्दा हाम्रो नेपाली समाजमा नयाँ उद्यमी जन्माउन अप्ठेरो स्थिति देखिएको छ ।

औद्योगिक उत्पादनमा गुणस्तर, स्वस्थ तथा स्वीकार्यता कायम गर्नु, उद्योग, व्यवसायमा हुने अनियमित विद्युत कटौती हुने अझ विशेष गरी कर्णाली प्रदेशको उदाहरण लिएर हेर्ने हो भने यस प्रदेशमा बत्तिको कारणले नै कतिपय उद्योगहरू सञ्चालन नभएर यतिकै रहेको छन् ।

औद्योगिक क्षेत्रमा पूर्वाधारको विकास बढाउँदै जानु जस्तै यसमा फेरि मलाई कर्णाली प्रदेशकै उदाहरण छ । सुर्खेत चौकुनेमा कुनै समयदेखि सिमेन्ट उद्योग खोल्ने चर्चा चलिरहेको हो । तर सिमेन्ट उद्योगको लागि आवश्यक पर्ने पूर्वाधारको विकासमा सरकारको ध्यान कहिले पुगेन । यसका अलावा सञ्चालित उद्योगहरूलाई उत्पादन तथा उत्पादकत्वको दृष्टिले प्रतिस्पर्धी बनाउनु, अस्तित्वमा रहेको उद्योगलाई धरासायी हुनबाट बचाउनु, संकटमा रहेका उद्योग व्यवसायलाई पुनस्र्थापना तथा सुधारोन्मुख गर्नु, नयाँ प्रविधिको विकास तथा प्रयोग गर्नु, विधमान नेपालका औद्योगिक नीतिका प्रावधानहरूलाई स्वतन्त्र र स्पष्ट रूपमा कार्यावन्यन गर्नु, उद्यमशीलताको विकास निमित्त लगानी नीतिमा समेत परिमार्जन गर्न आवश्यक देखिन्छ । आर्थिक उदारीकरण तथा विश्वव्यापीकरणले ल्याएको प्रतिस्पर्धात्मक वातावरणको सामना गर्नुपर्ने प्रमुख चुनौती रहेको छ । त्यसैगरी उद्यमशीलताका क्षमता र योजना हुँदाहुँदै पनि त्यसका लागि वित्तीय पहुँच पुग्न नसक्नु पनि उद्यमशीलताका लागि मुख्य अवरोध रहेको छ । अर्कोतर्फ व्यवसाय एवम् उद्यम दर्ता गर्दाबखत हुने कानुनी झन्झट पनि चुनौतिपूर्ण छ ।

स्वदेशी तथा विदेशी लगानीका लागि अनुकूल वातावरण सिर्जना हुँदै जानु, गैरआवासीय नेपालीहरूको उद्यमशीलता विकासमा परिचालन गर्ने सम्भावना बढिरहेको, पूर्वाधार निर्माण र विकासमा सरकारको लगानी बढ्दै गएको सूचना तथा सञ्चारजस्ता आधुनिक प्रविधिको विकास र विस्तारका कारणले यस क्षेत्रमा समेत नेपाली उद्यमशीलताको सम्भावना बढ्दो देखिएको छ । त्यस्तै बिस्तारै शिक्षित र सीपयुक्त जनशक्ति स्वदेशमै तयार हुँदै गएको हुनाले यी सम्पूर्ण उद्यमशीलता विकासका लागि अवसरहरू हुन् । तुलनात्मक लाभका क्षेत्रहरू जस्तैः ऊर्जा, पर्यटन र कृषिमा समेत उद्यमशीलताको लागि अवसर थुप्रो रहेको छ । नेपालमा विशेष गरी पर्यटन, कृषि, जैविक खेती, नवीकरणीय ऊर्जा, सूचना प्रविधि र सफ्टवेयरको विकास, ई–कमर्स र अनलाइन सेवा, माइक्रो हाइड्रो, सौर्य ऊर्जा उत्पादन तथा सेवा र स्थानीय शिल्प कौशल संकलनजस्ता क्षेत्रमा उद्यमशीलता विकासका अवसर छन् । उद्यमशीलता विकासका लागि निजी तथा गैर सरकारी क्षेत्रसँग सहकार्य र समन्वयन गर्ने प्रसस्त अवसर रहेको छ । उद्यमशीलताले आर्थिक प्रगति प्रवद्र्धन गर्दछ । यसले मुलुकको आर्थिक गतिविधिहरूलाई चलायमान बनाउनुका साथै जनतालाई उद्यमी मालिक बन्न प्रोत्साहित गर्दछ ।

नेपालमा उद्यमशीलतालाई पछिल्लो समयमा गहनता साथ लिने गरिएको छ । उद्यमशीलताले व्यक्तिलाई स्वतन्त्रतापूर्वक उपलब्ध उत्पादनका साधन छनोट गर्ने अवसर प्रदान गर्दछ । यसरी व्यक्तिले विवेकपूर्ण भइ उपलब्ध उत्पादनका साधनहरूमध्ये आफूलाई उपयुक्त साधनको छनोट गर्दछन् । यसरी नेपालमा पनि जुनसुकै व्यक्ति आफू स्वतन्त्र रहि उद्यम गर्न सक्दछन् । यसले एकातर्फ व्यावसायिक उन्नतिमा सहयोग पु¥याएको छ । अर्कातर्फ आर्थिक वृद्धिमा मद्दत गरेको छ । उद्यमशीलताले धनको सिर्जना (क्रिएसन अफ वेल्थ) गर्दछ । यसले जागिरबाट प्राप्त हुने केही निश्चित रकम भन्दा धेरै रकम आर्जन गर्ने शक्ती प्रदान गर्दछ । जस्तैः नेपालका सफल उद्यमी चन्द्र ढकाल कुनै समय जागिर गर्नु हुन्थ्यो । तर उहाँले उद्यमशीलतालाई अङ्गालेपछि आज उहाँ नेपालकै एक सफल तथा धनी व्यक्ति हुनुहुन्छ । त्यस्तै विद्युतीय भुक्तानी कम्पनी ई–सेवाका सस्थापक असगर अली र पठाओका संस्थापक तथा प्रबन्ध निर्देशक असिममान सिंह बस्न्यात लगायत सबैले शुन्यबाटै सुरुवात गरेका हुन् ।

त्यसैगरी आजभोली नेपाली युवाहरूमा जागिर खानुभन्दा बरु स्वरोजगार भइ आयआर्जन गर्न बढी रुचाउँछन् । यसले युवाहरूको आर्थिक उदारीकरणप्रतिको भारण वृद्धि भएको पाइन्छ । नेपालमा युवा उद्यमीको बारेमा नै बढी कुरा हुने गरेको पाइन्छ । किनभने पनि युवाहरूमा हुने ज्ञान, सीप र सिर्जनशीलता बढी हुने गरेको भएरै होला । नेपालमा उद्यमशीलताको प्रभावले गर्दा कतिपय युवाहरू विदेश नगइ स्वदेशमा सीप तथा पेसा अँगालेका छन् । नेपालमा उद्यमशीलताले सामाजिक, आर्थिक रूपान्तरणका साथै रोजगारी सिर्जना, गरिबी निवारण र सीमान्तकृत समुदायको सशक्तीकरणमा योगदान पु¥याउन महŒवपूर्ण भूमिका खेलेको छ ।

अर्केतर्फ नेपालमा उद्यमशीलतालाई प्रवर्द्धन गर्न बैंक तथा वित्तीय संस्थाहरूले स्टार्टअप उद्यममा न्यूनतम् व्याजदरमा ऋण सहायता प्रदान गर्दै आएका छन् । नेपालमा उद्यमशीलता प्रवद्र्धनको सबैभन्दा राम्रो फड्को मारेको क्षेत्र नै आइटी क्षेत्र रहेको देखिन्छ । जसले मुलुकमा आइटी क्षेत्रमा हुने आयतलाई कम गरी निर्यात प्रवद्र्धनमा जोड दिएको छ । नेपालमा उद्यमशीलतालाई प्रवद्र्धन गर्न मेक इन नेपाल स्वदेशी समिट, लगानी सम्मेलन लगायतका प्रयास गरिदै आइएको छ  ।

अहिलेको हाम्रो मुलुकको प्रमुख समस्या नै नीतिहरूको कार्यान्यवनमा रहेको देखिन्छ । नेपालमा हुने अस्थिर राजनीतिक परिवर्तनले पनि नेपालमा उद्यमशीलताको विकासमा कठिनाइ थपेको देखिन्छ । हाम्रो देशमा उद्यमी, लगानीकर्तालाई फरक ढङ्गले हेर्ने प्रचलन रहिआएको छ । निजी क्षेत्रलाई फगत स्रोत, साधन दुरूपयोग गर्ने त हुन भन्ने नजरले हेरिँदै आइएको छ । यद्यपि, सरकारले केही वर्ष पहिले निजी क्षेत्रको सहकार्यमा ईलम प्रशिक्षण केन्द्रको स्थापना गरेको थिये तर वर्तमानमा उक्त सीप विकास केन्द्रको अवस्था के छ सरकार आफैलाई जानकारी छैन् । वर्तमानमा परम्परागत तथा रैथाने पेसा, व्यवसाय र उद्यम पनि हराउँदै गइरहेको छ, जसले गर्दा हाम्रो पहिचान र अस्थित्व नै संकटमा भएको देखिन्छ ।

यसर्थ उद्यमीहरूले समाजमा रहेका मानिसहरूको समस्या समाधानका लागि नवीन विचारको सिर्जना गर्दछन् । उक्त कामप्रतिको उतेप्रेरणाको लागि उनीहरूले निश्चित नाफा लिन्छन् नै । तर हामीले उनीहरूको नाफातर्फ मात्रै ध्यान लिइरहेका हुन्छौँ । उद्यमीहरूले समाजको र अरु मानिसहरूको समस्या समाधान गरेर आफूहरूले नाफा कमाउँछन् । भने आफै बुझ्नुस् समस्याको समाधान ठूलो हो कि नाफा ? पक्कै पनि कसैको समस्याको समाधान नै ठूलो कुरा हो । समस्या समाधान गरेवापत्को उत्प्रेरणाको रूपमा उद्यमीहरूले नाफा लिन्छन् । अर्को कुरा उद्यमीहरूले रोजगारी सिर्जनासमेत गरेका हुन्छन् । बेरोजगारी आफैमा एक समस्या हो । यसको समाधानका लागि पनि उद्यमीहरूको योगदान भयो नै । अर्कोतर्फ राज्यलाई निरन्तर राजश्व तिरिरहेका हुन्छन् । यसर्थ मलाइ लाग्छ उद्यमीहरूले आफ्नोभन्दा बढी भलो अरुको गरिरहेका हुन्छन् । उनीहरू सधैँ अरुको समस्या समाधान गर्नमा नवीन विचारको सिर्जना गर्न खोजिरहेका हुन्छन् ।

 

(ओकेन्द्र नाथ योगी- लेखक ऋति फाउण्डेसनमा अनुसन्धान प्रशिक्षार्थीको रूपमा आवद्ध छन् ।)

प्रकाशित मितिः   ६ मंसिर २०८१, बिहीबार ०६:०५