कर्णालीमा चाडपर्व लक्षित सुरक्षा योजना तयार
सुर्खेत: कर्णाली प्रदेशमा दसैँ, तिहार र छठ पर्वका लागि सुरक्षा योजना बनाइएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशका दश वटै जिल्लामा लागू गर्नका लागि सुरक्षा योजना बनाइएको हो ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी जनक भट्टराईका अनुसार सुरक्षा योजनाअन्तर्गत प्रदेशभर चार हजारभन्दा बढी प्रहरी परिचालन गरिने भएको छ । ‘चाडपर्वमा हुनसक्ने सम्भावित घटना र अपराधिक क्रियाकलाप नियन्त्रण गर्न सुरक्षा रणनीति तयार गरेका छौँ,’ भट्टराईले भने, ‘चाडपर्वको समय बढी घटना तथा दुर्घटना हुने गरेका छन् । हामीले त्यो नियन्त्रण गर्ने रणनीति तयार गरेका छौँ । त्यसका लागि सामान्य समयको भन्दा थप चार हजारभन्दा बढी प्रहरी परिचालन गरेका छौँ ।’ उनका अनुसार दसैँ–तिहारमा हुने जुवा, तास र मदिरा सेवनलाई पनि नियन्त्रण गर्नेगरी रणनीति तयार गरिएको छ भने विगतका वर्षमा चाडपर्वको अवधिमा हुने आपराधिक गतिविधिलाई पनि विश्लेषण गरिएको छ ।
डीआईजी भट्टराईले दसैँ, तिहार र छठका लागि भारतबाट फर्किएका नागरिकको सुरक्षाका लागि पनि विशेष योजना तयार पारिएको बताए । ‘यो अवधिमा आवागमन धेरै हुने भएकोले ट्राफिक व्यवस्थापनमा पनि हामीले जोड दिएका छौँ,’ उनले भने, ‘प्रदेश प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजनामा सीमा सुरक्षा, चोरी–तस्करी, ठगी, लुटपाटको विषयमा समेत रणनीति तयार पारेको छ । प्रदेशका दश वटै जिल्लामा गरेर ४३ हजार ५१ प्रहरी जनशक्ति परिचालन गरिनेछ । उक्त जनशक्तिमध्ये चार हजार ९९ जना जनपद प्रहरी जनशक्ति र दुई सय ५२ जना ट्राफिक जनशक्ति परिचालन गरिनेछ ।
यात्रु सुरक्षा योजना
यात्रुलाई सहज रूपमा गन्तव्यमा पु¥याउनका लागि ठाउँ–ठाउँमा चेकिङ्ग थप्ने, यात्रु सहायता कक्ष राख्ने, अनुगमनलाई कडाइ पारिने योजना रहेको प्रदेश ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ । प्रहरी निरीक्षक तथा सूचना अधिकारी हरी विसीका अनुसार प्रदेशका विभिन्न ठाउँमा चाडपर्व लक्षित २३ वटा यात्रु सहायता कक्ष राख्ने काम भइरहेको छ । ती कक्षहरूमा ६० जना ट्राफिक प्रहरी रहनेछन् । सात स्थानमा रि–फ्रेस सेण्टर राखिने छ । लामा दुरीका सवारी साधनहरू उक्त ठाउँमा रोकेर केही समय आराम गर्न पाउँनेछन् ।
मापसे, लापसे चेकिङ्गलाई थप कडाइ गरिएको छ भने जाजरकोटमा टाइमकार्ड लागु गरिएको विसीले जानकारी दिए । यद्यपि, जनशक्ति भने न्यून छ । प्रदेशभर दुई सय ७४ जना मात्रै ट्राफिक प्रहरी छन् । उनका अनुसार कर्णालीमा जम्मा एक सय ६८ जना ट्राफिकको दरबन्दी रहेको छ । बाँकी काजमा खटाइएका हुन् । चाडपर्वलाई लक्षित गरेर अहिले २५ जनालाई काजमा थप गरिएको छ ।
मुख्य सडक नै जोखियुक्त
कर्णालीका सुर्खेत–जुम्ला, सुर्खेत–दैलेख, छिञ्चु–जाजरकोट, सल्यान–रुकुम र मध्यपहाडी राजमार्ग मुख्य सडक हुन् । कर्णाली आफैमा सडक सुरक्षाको दृष्टिले ज्यादै समवेदनशील र जोखिमयुक्त छन् । वर्षौंदेखि राज्यबाट प्रताडित तथा यातायातबाट विमुख कर्णालीवासीका लागि २०६३ सालदेखि सञ्चालमा आएको कर्णाली राजमार्गले जति गौरव महशुस गराएको छ, उत्तिकै सास्ती पनि दिँदै आएको छ । कर्णाली राजमार्गलाई कतिपयले त मृत्यु मार्गको उपमा दिने गरेका छन् । पछिल्लो समय प्रहरीले भने विभिन्न सचेतनामुलक कार्यक्रम गर्दै आएको छ । तथापि त्यसको मनोवैज्ञानिक प्रभाव भने परेको देखिँदैन । संघीयता अनुरूपका मापदण्ड, ऐन कानुन निर्माण नहुँदा रुट परमिट निर्धारणका कामसमेत अन्योलमा छन् ।
लावरबाहीले हुन्छ धेरै दुर्घटना
पछिल्लो समय मानवीय त्रुटिका कारण चाडपर्वमा धेरै सवारी दुर्घटना हुनेगरेका छन् । चाडपर्वका बेला यात्रुको चाप बढेपछि लामो दूरीका सवारीसाधन पनि नरोकी सञ्चालन हुँदा झनै ठूलो दुर्घटना हुनेगरेको हो । प्रहरीका अनुसार सवारीसाधनको नियमित परीक्षण र मर्मत सम्भार नहुँदा गाडी दुर्घटना हुने गरेको छ । अरूबेला पाँच दिनमा एक दिन पालो पाउने सवारीसाधनले चाडपर्वका बेला हरेक दिन गुड्नुपर्छ । त्यसकारण गाडीको इन्जिन र मेसिनरी सामानहरूमा क्षति पुग्छ । यो वर्ष भने सुरक्षा योजना अनुरूप नै प्रहरी परिचालन गर्ने र सोहीबमोजिम नियमन र कारबाही गर्ने प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । मानवीय त्रुटीका कारण दुर्घटना हुनेगरेको प्रहरीको भनाइ छ ।
प्रकाशित मितिः १७ आश्विन २०८१, बिहीबार ०५:०५
साझा बिसौनी ।