नयाँ वर्षको भय

राजकुमार शर्मा वीरेन्द्रनगर, सुर्खेत

पोहोर साल जस्तैगरी
हरियो घुम्टोमा सजियो वसन्त
अर्धमृत रूखहरूमा सास भर्दै
जीवनको रङ्ग छर्दै
हाँगाहाँगामा नयाँ पात छर्केर
हटारु फर्के जस्तैगरी
टुप्लुक्क आयो बसन्त फर्केर
घरको दैलै अगाडि

हरियो बिस्कुन छरिएका हाँगाहरूमा
उफ्री–उफ्री नाच्दै
आफ्नै संसार अलाप्छन् चराहरू
हरिया पहेंला घुम्टोमा बेरिएर
मोनालिसा झै
मुस्कुराउछन् चुत्रा ऐंसेलु
रसभर्नलाई तोरी पोखिए जस्तै
तछाडमछाड गर्छन् काफल र किम्बुहरू
जिन्दगीको उत्तरार्धमा
उमंगबिहिन मुद्रामा
केसरीको होली खेल्छन्
अन्नका बोटहरू

ऋतुराज भन्दै
उमङ्गसाथ मानिसहरू भित्राउँछन् बसन्तलाई
सयौँ कुखुरा खसी, बोका र राँगाहरू सहिद पार्छन्
नयाँ वर्षको खुशी बाँड्ने नाउँमा
र कामना गर्छन्
एक त्यान्द्रो मुस्कानका साथ
प्रगति, सु–स्वास्थ्य र दीर्घायूको

दीर्घायूको कामनागर्दै
शुभकामना बाँड्दाबाँड्दै
पत्तै पाउँदैनन् उनीहरू
नयाँ वर्षले नै कपट गर्दै
मृतुकुण्डमा गत्याएको

अरू झैं
खुशी हुन सक्दिन
जोरजोरले मुटु धड्कन्छ
यसलाई भयानक शत्रु ठान्छु म
किनकि
यसैले त बाध्यपार्छ
भित्तामा तुर्लुङ्ग झुण्ड्याएर
आत्महत्या गराइरहेको भित्तेपात्रोको
अन्त्यष्टी गर्न

नयाँ अर्को भित्रेपात्रोको आत्महत्या गराउन

त्यसभन्दा बढी यसले
थमाउछ काँधमाथि
थेग्नै गाह्रो पर्ने जिम्मेवारीका टापुहरू
र अनायास
थपिदिन्छ उमेरको खुड्किलो
घटाइदिन्छ मृत्युसँगको खड्किलो
कपिदिन्छ छरपस्टै
बुढेशकालका अमिट रेखाहरू अनुहारभरी
त्यो भन्दा बढी त
गलत्याइदिन्छ मृत्युकुण्डमा

प्रकाशित मितिः   २ बैशाख २०७४, शनिबार १७:५०