यार्सा खोज्दाखोज्दै जान्छ ज्यान
सुर्खेत: कर्णालीका हिमाली क्षेत्रमा यार्सागुम्बा टिप्न जाँदा बर्सेनि मानिसहरूको मृत्यु हुने गरेको छ । उच्च भूभागमा हिमपहिरोले पुरिएर र लेक लागेर मानिसहरूको मृत्यु हुने गरेको हो । सामान्य सावधानीका उपायसमेत नअपनाउँदा नागरिकले ज्यान गुुमाउने गरेका छन् ।
यार्सा पाइने ठाउँमा लेक लाग्छ भन्ने थाहा भएपनि तयारी केही नहुँदा मानिसहरूको मृत्यु हुने गरेको हो । पछिल्लो समय बर्सेनि रूपमा नागरिकले ज्यान गुमाइरहेका छन् । प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्यांक हेर्दा त्यो संख्या हरेक वर्ष बढ्दो क्रममा छ । आर्थिक वर्ष २०७८÷०७९ मा यार्सागुम्बा टिप्न जाँदा एक जनाको मृत्यु भएको थियो । उक्त वर्ष मुगु जिल्लाका एक पुरुषको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्यांकमा छ । आर्थिक वर्ष २०७९÷०८० मा पनि यार्सागुम्बा टिप्न जाँदा एक जनाको मृत्यु भयो । उक्त वर्षपनि मुगु जिल्लाका एक पुरुषको मृत्यु भएको हो ।
यसैगरी आर्थिक वर्ष २०८०÷०८१ मा यार्सागुम्बा टिप्न जाँदा ज्यान गुमाउनेको संख्या धेरै छ । उक्त वर्ष १२ जनाले ज्यान गुमाएका थिए भने १९ जना बिरामी परेका थिए । उक्त वर्ष मुगुका ६ जना पुरुष र डोल्पाका तीन महिला र तीन पुरुषले ज्यान गुमाएका थिए । श्वासप्रश्वासमा समस्या भएर धेरैको ज्यान जाने गरेको हो । प्रहरीको तथ्यांक अनुसार बर्सेनि रूपमा यार्सागुम्बा टिप्न जाँदा नागरिकको मृत्यु हुने दर बढिरहेको छ । सावधानी नअपनाउँदा नागरिकले ज्यान गुमाउने गरेको पाइएको छ ।
कर्णालीका हिमाली जिल्लामा यार्सा संकलन गर्ने गरिएको छ । हिमाली जिल्ला डोल्पा र मुगुमा धेरै यार्सा संकलन हुन्छ । डोल्पाका १४ नाका र मुगुको दुई वटा नाकाबाट सर्वसाधारणलाई यार्सा टिप्नका लागि खुल्ला गरिन्छ । डोल्पाको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको माथिल्लो डोल्पा, रिग्मो, साल्दाङ्, धो, त्रिपुराकोट, तोइजुम, खालीवन, सुलिगाड, भिजेर, सुम्दुवा, छेप्का, पलमलगायत १४ वटा पाटनक्षेत्र र मुगुको डोल्फु र किम्री पोष्टबाट धेरै जसो यार्सा संकलन गर्ने गरिएको हो । वैशाख र जेठमा यार्सा संकलन हुन्छ ।
यार्सा टिप्न तछाडमछाड
यार्साको आम्दानी लोभलाग्दो भएपनि संकलन गर्न भने सजिलो छैन । कतिपयको यही मृत्यु हुन्छ, कतिपय वीचबाटोमै लुटिन्छन् । भौगोलिक विकटतासँग पौठेजोरी खेल्दै ज्यानको बाजी थापेर यार्सा संकलन गर्ने गर्छन् । ज्यान जोगाउन भने निकै मुश्किल हुने गर्छ । अझै कतिपय नागरिक बिरामी परेर बीचबाटै फर्कनुपर्ने, लेक लागेर मृत्यु हुने गरेको छ । कोही बिरामी भएर बीचमै फर्कनुपर्ने बाध्यता हुन्छ भने कसैको त लेक लागेर ज्यानै जान्छ । यी जोखिम भएपनि समग्रमा यार्साको आम्दानी भने राम्रो देखिन्छ । जसले गर्दा पनि यार्सा संकलनका लागि पाटन जानेहरू तछाडमछाड गर्छन् । यार्साबाटै आफ्नो वर्षदिनको खर्च जोहो गर्नेहरू पनि छन् । बर्षौंदेखि यार्सा संकलन गर्दै आएका व्यक्ति र परिवारले न्युनतम् लाखदेखि करोडसम्म कमाउने गर्छन् ।
कहाँ पुग्छ यहाँको यार्सा ?
बहुमूल्य जडिबुटी यार्सा स्वदेशमा उपयोग हुन नसक्दा विदेशिने गरेको छ । स्वदेशमा जडिबुटीको प्रवद्र्धन गर्न नसक्दा नेपाली यार्सा अधिकांश अवैधरूपमा विदेशिने गर्छ । यार्सा हाल चीन, भारतलगायतका देशमा निर्यात हुन्छ । सीमा जोडिएका विशेष गरेर चीनको छोङछाओ, तोङछोङ, स्याछाओलगायतका सहरमा यसको माग निकै बढेको व्यापारीहरू बताउँछन् । त्यहाँका स्थानीयले सिँगै यार्सा वा त्यसबाट बनेका विभिन्न ‘डायटरी सप्लिमेन्ट’ का क्याप्सुल एकअर्कालाई उपहार दिन्छन् । चीनले यार्साबाट चुरोटदेखि ह्विस्की र विभिन्न औषधिहरू उत्पादन गरी बजारमा पठाउने गरेको छ ।
कति पाउँछन् यार्साको मूल्य ?
जोखिम मोलेर संकलन गरेको यार्साको मूल्य भने आकर्षक रहेपनि यहाँका नागरिकले न्युन मूल्यमा बेच्नुपर्ने बाध्यता छ । यार्सा निर्यात गर्ने एजेण्डले ठूलो मात्रामा कमिसन लिने हुँदा संकलनकर्ताको हातमा भने मूल्य न्युनमात्र पर्छ । भर्खर टिपेको र ढुसी नपरेको एउटा यार्साको सामान्यतया मूल्य तीन सय पर्छ । किलोमा कम्तीमा २० लाखदेखि ३० लाख रूपैयाँसम्म । तर, यो मूल्य पनि निकै कम हो । चीनमा यसको एक किलो यार्साको मूल्य एक करोडको हाराहारीमा पुग्छ । यार्सा लैजाने व्यापारीहरूले आफूखुसी मूल्य तोक्छन् । वर्षैंपिच्छे नेपाल सरकारले यार्साको मूल्य तोकेपनि त्यो मूल्य यहाँका संकलकले पाउँदैनन् ।
प्रकाशित मितिः ११ आश्विन २०८१, शुक्रबार १०:४६
साझा बिसौनी ।