उत्तरी जलाधार क्षेत्रको गुरुयोजना बनाइँदै

 

सुर्खेत: वीरेन्द्रनगरको उत्तरी जलाधार क्षेत्रको गुरुयोजना निर्माण गर्न लागिएको छ । प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगरको उत्तरी जलाधार क्षेत्रको संरक्षण र सम्वद्र्धन गर्न गुरुयोजना निर्माण गर्न लागिएको हो ।

प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटेर गुरुयोजना निर्माणको योजना ल्याएको हो । यो वर्ष उत्तरी जलाधार क्षेत्रको प्रि–फिजिविलिटी अध्ययनको काम गरिने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ । यो वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर योजना ल्याइएको मन्त्रालयका सचिव डा. केदार बरालले बताए । उनका अनुसार यो वर्ष गुरुयोजना निर्माण गरिनेछ ।

आउँदो वर्षबाट अन्य आयोजना निर्माणका काम अघि बढाइने छ । बाढी, पहिरो, विपद् व्यवस्थापन, नदी खोलाको सिमाङ्कन गर्न र पानीका मुहानको पहिचान गर्नका लागि जलाधार संरक्षण योजना बनाइएको हो । अहिले गुरुयोजना निर्माण गर्न लागिएको बरालले जानकारी दिए । चालु आर्थिक वर्षमा अध्ययनका काम गरिने उनले बताए ।

गुरुयोजना निर्माणको काम भू तथा जलाधार व्यवस्थापन कार्यालय सुर्खेतले गर्नेछ । सरकारले चालु आर्थिक वर्षबाट उक्त योजना कार्यान्वयन गर्न लागेको हो । जलाधार कार्यालयले वीरेन्द्रनगर नगरपालिकाका वडा नं. १, ४, ५ ७ र १२ माथिल्लो भागलाई समेटेर गुरुयोजना निर्माण गर्न लागेको हो । वीरेन्द्रनगरको उत्तरी क्षेत्रमा प्रि–फिजिविलिटी अध्ययनका काम सुरु गर्न लागिएको कार्यालयका प्रमुख शिखर चपाइँले बताए । चालु आर्थिक वर्षमा गुरुयोजना निर्माणका लागि प्रदेश सरकारले १३ लाख बजेट विनियोजन गरेको छ । गरिने अध्ययनले कति जल संरक्षण गर्ने, कति पानीका मुहानको संरक्षण गर्ने, पानीका मुहान कहाँ–कहाँ छन् पत्ता लगाउने, ती मुहानको व्यवस्थापन र उपयोग कसरी गर्न सकिन्छ भनेर निर्धारण गर्नेछ । खाली जमिनमा वृक्षारोपणका कामसमेत गरिनेछ । विशेष गरेर वीरेन्द्रनगरको निकास खोलामा पानी बगेर आउने उत्तरतर्फको क्षेत्रलाई समेटेर गुरुयोजना निर्माण गर्न लागिएको हो ।

 

उपत्यकाको खानेपानीका स्रोत

बढ्दो जनसंख्यालाई मध्यनजर गर्दै कर्णाली प्रदेश सरकारले जलाधार क्षेत्रको संरक्षण गर्न नयाँ कार्यक्रम ल्याएको हो । पानीका मुहानको परिचान गर्ने र तीनको संरक्षण र व्यवस्थापन कसरी गर्न सकिन्छ भनेर योजना निर्माण गर्न लागिएको हो । उपत्यकाका मुख्य उत्तरी क्षेत्रका खानेपानीका स्रोत नेवारे खोला, खोर्के खोला, झुप्रा खोला, खरी खोला, बोरी खोला र इत्राम खोला, आँपडाँडी खोला, सोलीघोप्टे खोलालाई समेटेर गुरुयोजना निर्माण गर्नेछ । राजधानीमा खानेपानीको खपत बढिरहेको भएपनि पछिल्लो समय खानेपानीका मुहान सुक्दै गहिरहेका छन् । जलाधार क्षेत्रको संरक्षणका लागि प्रदेश सरकारले नयाँ कार्यक्रम कार्यानवयन गर्ने भएको छ । यो वर्ष गुरुयोजना निर्माण गरिने र गुरुयोजनाले औंल्याएका क्षेत्रमा कार्यक्रम कार्यान्वयन गरिने जनाइएको छ ।

 

विपद् न्युनिकरण गर्न जलाधार व्यवस्थापन

विपद् व्यवस्थापनको न्यूनिकरण गर्न प्रदेश सरकारले जलाधार व्यवस्थापनको कार्यक्रम ल्याएको छ । वन क्षेत्रमा प्राकृतिक पुनरुत्पादन संरक्षण कार्य गर्ने र खाली भू—भाग, प्रति, सार्वजनिक क्षेत्र, नदी र खोला किनारा एवम् सडक किनारामा वृक्षारोपण गरी त्यसको संरक्षण गर्न लागिएको हो । विशेष गरेर वीरेन्द्रनगरको उत्तरी क्षेत्रमा जलाधार संरक्षणका कार्यक्रम गरिनेछ । पानी पुनर्भरण संरचना निर्माण र एकीकृत भू संरक्षणका कार्यक्रम गर्न लागिएको हो ।

बढ्दो जनसंख्या वृद्धिसँगै तीव्र सहरीकरण भएका क्षेत्रहरूमा दूरदर्शी तवरबाट सहरी विकास योजना तयार पारी कार्यान्वयन गर्न लागिएको प्रदेश सरकारले जनाएको छ । जसमा ढलको पानी शुद्धिकरण गरी खोला र नदी क्षेत्र बाहेकको खाली क्षेत्रमा निकासको व्यवस्था गर्ने, खोला र नदीको बहाव क्षेत्र कायम राख्दै खोलाको दुवै किनारामा घाँस, झाडी र रूखहरू भएको तीन तहको वृक्षारोपण, सडक किनारामा खोला किनाराजस्तै तीन तहको वृक्षारोपणलाई सडक निर्माण गर्ने गरी योजना निर्माण गर्न लागिएको छ ।

प्रकाशित मितिः   ५ आश्विन २०८१, शनिबार ०५:०५