स्थानीय तहको नेतृत्वमा महिला ‘शून्य’ हुने चिन्ता
सुर्खेत, २७ चैत ।
स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलहरूले अभियानलाई तीव्र बनाएका छन् । चुनावको मिति नजिकिंदै जाँदा पुरुष उम्मेदवारको मात्र चर्चा हुन थालेपछि प्रमुख पदमा महिलाको उपस्थिति नै नहुने अर्थात् शून्य हुने खतरा बढ्दै गएको छ । दलभित्रै स्थानीय तहको प्रमुख पद हत्याउन पुरुषहरूबीच नै करसत भएको र महिलालाई केवल दोस्रो पदमा सीमित गर्न थालिएको भन्दै महिला संगठनहरूले चिन्ता गरेका हुन् ।
सुर्खेतमा अहिले पाँच नगरपालिका र चार गाउँपालिका गरी नौ वटा स्थानीय तह छन् । नौ वटै स्थानीय तहको प्रमुख पदमा महिलाले उम्मेदवारी दिन पाउने सम्भावना टर्दै गएको छ । जिल्लाका प्रमुख दलहरूले अहिलेसम्म सबै नगर र गाउँपालिकाको प्रमुख पदमा पुरुषलाई नै उम्मेदवारको रूपमा चर्चा चलाएका छन् । महिलाहरूलाई केवल उप–प्रमुख र वडा सदस्यसम्म मात्र उम्मेदवार बनाउने मनस्थितिमा दलहरू देखिन्छन् । जिल्लाका सबै दलहरूले प्रमुख पदमा पुरुषको मात्र बहस र चर्चा चलाएपछि अब स्थानीय तहको प्रमुख पदमा महिलाको नेतृत्व शून्य हुने खतरा बढ्दै गएको हो ।
जिल्लामा मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएका मुख्य दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले नगर र गाउँपालिकाको प्रमुखमा मात्र होइन, वडा अध्यक्षमा समेत पुरुष उम्मेदवारलाई अगाडि बढाउने तयारी गरेका छन् । अहिलेसम्मको अवस्था हेर्दा अन्य साना दलहरूले पनि महिलालाई प्रमुख पदमा उम्मेदवार बनाउने स्थिति देखिदैंन । प्रमुख पदमा उम्मेदवार नै बन्न नपाउने अवस्था आएपछि राजनीतिक दलका महिला संगठनहरूले चिन्ता व्यक्त गरेका हुन् । ‘पार्टीभित्र धेरै प्रयास ग¥यौं, अब प्रमुख पदमा महिलाले टिकट पाउने अवस्था देखिएन’ एमाले निकट अखिल नेपाल महिला संघका जिल्ला अध्यक्ष मोहनमाया ढकालले भनिन्, ‘अहिले पनि दलहरूमा पुरुषवादी चिन्तन हावी छ, पार्टीमा योग्य र क्षमतावान महिलाहरूको कुनै कमी छैन । तर हामीलाई उप–प्रमुखमा मात्र सीमित गरिदैंछ, अब त वडाको अध्यक्ष पाउन पनि मुस्किल भयो ।’
महिलाको नेतृत्व बढाउनका लागि आफूहरूले दलभित्र प्रयास जारी राखेको उनको भनाइ छ । साथै उनले जिल्लाका नौ वटा तहमध्ये कम्तीमा दुई वा एउटामा भए पनि महिलालाई प्रमुख पदमा उम्मेदवार बनाउनका लागि पार्टीभित्र पहल गरिरहेको जानकारी दिइन् । यद्यपि उनको दल एमालेले सबै तहमा पुरुष उम्मेदवारलाई नै प्रमुख पदमा अगाडि सार्ने गरी चर्चा चलाएको छ । ‘संविधानको बाध्यकारी व्यवस्था बाहेक, अन्य पदमा महिलालाई उम्मेदवार बनाउनेतर्फ दलहरू लचिलो छैनन्’ माओवादी केन्द्र निकट अनेमसंघ क्रान्तिकारी प्रदेश नम्बर ६ का संयोजक हरिमाया शर्माले भनिन्, ‘हामीसँग पार्टीमा योगदान गरेका र क्षमतावान महिलाहरू छन्, तर मुख्य पदमा उनीहरूको नाम नै आउँदैन । महिलाले नगर र गाउँपालिकाको प्रमुख पाउने सम्भावना देखिएन, अब हाम्रो प्रयास वडा अध्यक्षमा भए पनि टिकट लिनेमा केन्द्रित हुनेछ ।’ उनले जिल्लाका कुनै पनि दलले महिलालाई उम्मेदवार बनाउने सम्भावना नदेखिएकाले अब प्रमुख पदमा महिलाको नेतृत्व शून्य हुने भन्दै चिन्ता व्यक्त गरिन् ।
अहिले पनि जिल्लाका अधिकांश स्थानीय संरचनाहरू विव्यस, स्वास्थ्यचौकी, सामुदायिक वन, सहकारी र उपभोक्ता समूहमा महिलाहरूले नै नेतृत्व गरिरहेका छन् । दलका अधिकांश कमिटी पनि महिलाले नै धानेका छन् । तर स्थानीय चुनावमा टिकटका लागि आफूहरूलाई उपेक्षा गरिएको भन्दै महिला नेतृहरूले असन्तुष्टी व्यक्त गरेका हुन् । कांग्रेस निकट नेपाल महिला संघ क्षेत्र नम्बर २ का सभापति शान्ति सिंहले दलहरूले महिलालाई केवल आन्दोलन र संगठन विस्तारमा प्रयोग गरेको गुनासो गरिन् । उनले भनिन्, ‘पार्टीभित्र वडा अध्यक्षमा समेत आउन नदिने अवस्था छ, अब महिलाले मेयर र प्रमुखको पद कसरी पाउलान् ? भाषण र विधानले मात्र नहुने रहेछ, स्थानीय तहमा महिला नेतृत्व फेरि पनि कमजोर हुनेभयो ।’ पार्टीभित्र पहिलेदेखि नै वकालत र माग गरेको भए पनि दोस्रो पदमा नै महिलाले चित्त बुझाउनुपर्ने अवस्था आएको उनको भनाइ छ ।
जिल्लाका प्रमुख दलहरूले प्रमुख पदमा महिला उम्मेदवारको चर्चा नै नगरेपछि महिला संगठनहरूले असन्तुष्टी जनाएका हुन् । उनीहरूले जिल्लामा कम्तीमा एउटा नगर वा गाउँपालिकाको प्रमुख पदमा महिलालाई मात्र प्रतिस्पर्धा गराउनका लागि दलको नेतृत्वसँग अन्तिम पहल गर्ने बताएका छन् । अहिलेकै अवस्थामा प्रमुख पदमा महिलाको नेतृत्व शून्य हुने खतरा बढेको भन्दै महिला संगठनहरूले वडा अध्यक्षमा टिकट दिन पनि नेतृत्वले आनाकानी गरिरहेको गुनासो पोखेका छन् ।
साझा बिसौनी संवाददाता ।