‘बाँदर धपाएरै बाल्यकाल बित्यो’
बेगेन्द्रराज शर्मा मध्यपश्मिाञ्चल विकास क्षेत्रका क्षेत्रीय प्रशासक हुन् । उनी वि.सं. २०२४ साउन २७ गते बाग्लुङमा जन्मिए । आमा चन्द्राकलादेवी शर्मा र स्व. बुबा टीकाराम शर्माका कान्छा छोरा हुन् । वि.सं. २०५१ सालमा शाखा अधिकृतबाट सरकारी सेवामा प्रवेश गरेका उनी २०५९ सालमा उप–सचिव, २०६५ सालमा सह–सचिव र २०७३ सालको नेपाल सरकारको निर्णयबाट विशिष्ट श्रेणीको सचिव भएर सरकारी सेवामा छन् । उनले प्रशासन (सिंहदबारदेखि झुपडीसम्म) किताब समेत प्रकाशन गरेका छन् । पढाइमा अब्बल उनले लामो समयसम्म अध्यापन समेत गरे । सार्वजनिक प्रशासन, कर्मचारी व्यवस्थापन, बौद्धिक सम्पति व्यवस्थापन, उद्योग, वाणिज्य, आपूर्ति, सार्वजनिक संस्थान व्यवस्थापन, वित्तीय अनुशासन, वाणिज्य कानुन, औद्योगिक प्रबद्र्धन, प्रशासन सुधार, मानवस्रोत व्यवस्थापन आदि विषयहरूमा अध्ययन र अध्यापनमा अब्बल शर्माले आफ्नो बाल्यकालको सम्झना हाम्रा सहकर्मी मुना हमालसँग
यसरी साटेका छन्ः
मेरो जन्म धौलागिरी अञ्चलको बाग्लुङ्गको तत्तकालीन कुस्मीसेरा गाविसको वडा नम्बर १ टुनिबोट गाउँमा भएको हो । हाल जैमेनी नगरपालिका भएको छ । त्यो कालिगण्डीको किनार भन्दा थोरै माथि पर्छ । पौड््याल मात्र थर भएकाहरूको बस्ती थियो त्यहाँ । त्यो गाउँ दक्षिण पूर्व फर्किएको गाउँ छ । पारिलो घाम लाग्छ । गाउँ एकदमै रमाइलो थियो । मेरो एक जान दाजु, एक जना भाइ र १ बहिनी हुनुहुन्छ । बुबा इन्डियन रेलवैको कर्मचारी हुनुहुन्थ्यो । ३६ वर्ष जागिर गर्नुभयो । दार्जिलिङ सिलगुढी क्षेत्रमा काम गर्नुहुन्थ्यो । बुबाले कमाएर पठाउने आमाले घर धान्ने गर्नुहुन्थ्यो । हामीलाई गाउँमा साहुघरे भन्थे । बुबाले कमाएर पठाउने र घरमा आमाले त्यसको लगानी गर्ने । विभिन्न क्षेत्रमा जग्गा जमिन प्रशस्त थियो । धरातलीय यथार्थको कारणले कारण पनि पढाइ–लेखाइ बढी भन्दा पनि घरमा आफन्तलाई सघाउनुपर्ने दायित्व थियो । मेरो बाल्यकाल यसरी नै बितेको थियो । अहिले म नेपाल सरकारको सचिव भए पनि त्यसबेलामा यो स्थानसम्म आइपुग्छु जस्तो त लाग्थेन तर आफूले गरेको मेहेनत र संघर्षले मलाई निश्चित स्थानमा पु¥याउँछ भन्ने लाग्थ्यो ।
बुबाले कमाएर घरमा पैसा पठाउनुहुन्थ्यो । म भन्दा माथि दाइ हुनुहुन्थ्यो । दिदीको विवाह भएको मलाई याद छैन । आमा, दाजु म र बहिनी चार जनाको परिवारका साथ हामी बस्ने गर्दथ्यौं । बुबा जागिरका शिलशिलामा बाहिर बस्नुहुन्थ्यो । बुबा एक वा दुई वर्षमा एक पटक घर आउनुहुन्थ्यो । सानो छँदा बुबाको अभाव खट्किन्थ्यो । उहाँको प्रतिक्षामा हामी बस्थ्यौं । बल्ल–बल्ल घर आउनुहुन्थ्यो । हामीलाई कपडा ल्याइदिनुहुन्थ्यो । गाउँमा धेरै लाहुरेहरू थिए । उनीहरू घर आउँदा बुबाको केही खबर ल्याएका छन् की भनेर आश लाग्थ्यो । चिठ्ठी आएको छ की भनेर आश लाग्थ्यो । अहिले त बुबा बित्नुभएको चार वर्ष भयो आमा अझै पनि हुनुहुन्छ ।
हाम्रो घर भन्दा माथि सालघारी जंगल छ । त्यस जंगलभन्दा माथि खनियापाटामा हाम्रो करिब १३ मुरी कोदो फल्ने खेतीबारी थियो । त्यही अनुसारको मकै गहुँ फल्थ्यो । मेरो बाल्यकालको अधिकांश समय त्यही बित्यो । म वर्षको आधा भन्दा बढी समय त्यही बिताउने गर्थें, मकै बारीमा बाँदर धपाएर । गाइ वस्तु पनि त्यही गोठ बनाएर पालेका थियौं । जेठको महिनादेखि भदौसम्म बाँदर धपाउनुपथ्र्यो । जेठ असारमा विद्यालयहरू बन्द नै हुन्थे । बिहान उठेर बाँदर धपाउन जाने र साँझ घर फर्किने गर्थें । गोठमा एक्लै खाना पकाएर खाने गर्थें । खाना खाँदै गर्दा बारीमा बाँदर आएर मकै खान थाले भने खान लागेको भाग छोडेर बाँदर लखेट्न जाँदा कुकुर आएर खाना खाइदिएर भोकै बसेको सम्झना पनि छ । अहिले सम्झदा रमाइलो लाग्छ । दिउँसोमा म विद्यालयमा जाँदा दाजु, आमाले हेर्नुहुन्थ्यो । म विद्यालय बिदा भइसकेपछि बादँर धपाउन जान्थें । पछि बाँदरले दुःख दिएपछि मैले कुकुर पालें । एक दिन कुकुर बाँधेर घाँस काट्न गएको थिएँ, घुमन्ते कुकुर आएर बाँधेको कुकुरलाई टोकेछ । कुकुरलाई टोकेको देखेपछि छुट्याउँदा आफैले पालेको कुकुरले झुक्किएर टोक्यो । रगतै खुट्टा ल्याएर घरमा आएँ । आमाले उपचार गरिदिनुभयो ।
पछि कक्षा ४ देखि ७ सम्म अमलाचौर पृथ्वी निमाविमा पढें । हाम्रो ठाउँ अलि भिरालो छ । डेढ घण्टा उकालो हिँडेर पढ्न जानुपथ्र्यो पढ्न । हाम्रो जग्गा भएको खनियापाटा हुँदै विद्यालय जानुपथ्र्यो । बिहानै खाना खाएर विद्यालय जाँदा गोठमा घाँस हाल्ने, स्कुल बिदा भइसकेपछि गोठमा आएर घाँस काट्ने, गाइवस्तुलाई हाल्ने र बाँदर धपाउने अनि साँझ घर फकिन्थें । आमाले मकैको खाजा बनाएर गोठमा राखिदिनुहुन्थ्यो । आएर खान्थें । साँझ सबैले खाना खाएर सबै सुतिसकेपछि बल्ल मेरो होमवर्क गर्ने पालो आउँथ्यो । टुक्की बाल्ने चलन थियो । पछि बुबाले लालटिन ल्याइदिनुभयो । आमा पिंढीमा सुत्नुहुन्थ्यो म राती बत्ती बालेर पढ्थें । मैले घरमा गर्नुपर्ने सबै काम गर्थें । काम गर्ने मान्छेहरू पनि हाम्रो घरमा नपाइने । सबै काम हामीले गर्नुपर्ने बाध्यता थियो । घाँस काट्ने, खाना पकाउने, चुल्हो लिप्ने, भाँडा माझ्ने, ढिक्की कुट्ने, जाँतो पिस्ने सबै काम गर्ने गर्थें । गाइ, भैंसी गोरु पालेका थियौं । धेरै भारी भोक्नुपथ्र्यो । खेताला त्यसबेला पाइदैन्थ्यो । सबै काम आफै गर्नुपथ्र्यो ।
मैले कक्षा १ देखि ३ सम्म गाउँकै जैमेनी प्राथमिक विद्यालय टुनिवोटमा पढेको हुँ । त्यहाँ पढेको त त्यति याद हुँदैन् । मैले अमलाचौरमा पढ्दाखेरीको याद आउँछ । डेढ घण्टा हिँडेर पढ्नु जानुपथ्र्यो । मलाई बाल्यकालमा धेरै पटक चोटहरू पनि लागेको छ । घाँस काट्न जाँदा दायाँ हातको बुढी औंला धन्नै छिन्निएको थियो । सालको रुखमा चढेर घाँस काट्दै थिएँ । आँसी धेरै लाग्ने थियो । घाँसको डालो काटिएर मेरो बुढी औंलाको हण्डीले मात्र छिनिनबाट जोगिएको थियो । सालको रुख धेरै अग्लो थियो । त्यसबेलामा मैले धैर्य नगरेको भए सायद म त्यही रुखबाट खस्थें होला । धैर्यता गुमाउनु हुँदैन भन्ने मलाई लाग्थ्यो । एक पटक खेतमा रातीको समयमा पानी लगाउन जाने बेलामा सर्पले टोकेर धन्नै मरेको थिएँ । घरमा आउने बेलासम्म सबै शरीर सुनिएर अब त बाँच्ने आश छैन भनेको थिएँ । पछि गाउँमा विष निकाल्ने एक जना मान्छेले सञ्चो गराउनुभयो । एक पटक विद्यालयमा लडेर खुट्टा समेत मर्कियो । म सँगै विद्यालय जाने एक जना चिन्तामणी पौडेल दाइ हुनुहुन्थ्यो । उहाँ र म एउटै कक्षामा पढ्थियौं । पृथ्वी निमाविमा पढ्ने बेला हो । पछि दाइले बोकेर आँधा बाटोसम्म ल्याउनुभयो । त्यस दिन बुबा इण्डियाबाट घर आउनुभएको रहेछ आधा बाटोबाट बुबाले बोकेर घर लैजानुभयो ।
धेरै समय घरकै काम सघाउने र पढ्नमै बित्यो । मलाई धेरै पढ्न मन थियो । लगाव थियो तर पढ्न कठिन थियो । १ देखि ३ सम्म गुन्द्री ओछाएर पढेका हौं । ४ देखि ७ सम्म राम्रो विद्यालय थियो तर घरदेखि टाढा थियो । मेरो पढाइ राम्रो थियो । सरहरूले रुचाउनुहुन्थ्यो । मलाई सबैभन्दा बढी अंग्रेजी पढ्न मन लाग्थ्यो । सानैमा एक पटक खैनी खाँदाको रमाइलो सम्झना छ । एक जना काइला दाइ हुनुहुन्थ्यो । उहाँले मलाई आँ गर भनेर मुखमा खैनी हालिदिनुभयो । म रोएँ, त्यसपछि कहिल्यै खैनी खाएको छैन ।
बरु आमाले राखेको सिक्का चोर्ने काम गरें । १ रूपैयाँमा बिस्कुट आउँथ्यो । मैले पैसा चोर्नुको कारण त्यसबेलामा खाजा बिस्कुट पाइन्थ्यो । मैले बिस्कुट किन्नको लागि सिक्का चोर्ने गर्थें । दाइले पैसा माग्ने मैले सिक्का चोरेर चिन्तामणी दाइलाई खुरुखुरु दिन्थें । आमाले खर्च गर्नको लागि पैसा त दिनुहुन्थ्यो दाइले जम्मै मागेर लैजानुहुन्थ्यो । उहाँले मागेपछि मैले चोरेर दिन्थें । एउटा प्याकेटमा १९ वटा बिस्कुट हुन्थे । आधा–आधा बाँड्थ्यौं । ८ कक्षादेखि १० सम्म म पर्वत गएर पढें । कालीगण्डकीको पुल तरेर जानुपथ्र्यो । खलेबासमा भवानी विद्यापीठ व्यवसायिक माध्यमिक विद्यालयमा पढेको हुँ । त्यहाँ जान पनि डेढ घण्टा
लाग्थ्यो । भीरको बाटो थियो । पर्वत जिल्लाको कुस्मामा गएर डेरा लिएर बसेर २०४० सालमा एसलसी पास गरें ।
मेरो आमाले मलाई हुर्काउँदा घाँसको भारी माथि राखेर हुर्काउनु भएको हो । आमाले धेरै दुःख गर्नुभयो । अहिले आमा ८३ वर्षको पुग्नुभयो । खनियापाटा भन्दा माथि हाम्रो खेत थियो । २ दिन लाग्थ्यो खेत रोप्न । उनीहरूलाई खाजा खुवाउनुपर्ने । म मकै कुरेर बस्थें । आमाले खेतलालाई नास्ता खुवाएर आफूले खाएर मलाई साँझ आउँदा ल्याइदिनुहुन्थ्यो । मैले बाल्यकालमा बहिनीलाई पनि हेर्थें । आमा काम गर्न जाँदा आमा नआउनजेलसम्म अर्को हजुरआमाको घरमा गएर बस्थे । मेरो बुबा जागिर गर्दा शिलगुढी हुँदा आमालाई पनि लिएर जानुभएको रहेछ । त्यहाँ पञ्जावीहरूले इण्डियन, पूर्वेलीहरूले आफ्ना छोराछोरीलाई पढाएको देख्दा आमालाई पनि छोराछोरीलाई पढाउनुपर्छ भन्ने छाप बसेको थियो । बुबाले पढ्नुपर्छ भनेर पैसा पठाउने र आमाले जति दुःख भए पनि पढाउँछु भन्नुहुन्थ्यो । म यो स्थानसम्म आइपुग्नमा मेरो आमाको
मार्गदर्शन छ ।
मैले एसएलसी गरेर पछि पर्वत जिल्लाको बहुमुखी क्यापसमा पढें । त्यस लगत्तै मैले विकट ठाउँहरूमा पढाउन गएँ । पढाउन जाँदा मलाई राम्रो सुविधा थियो । फेरि विकट ठाउँमा अंग्रेजी पढाउन गएँ । तर म त्यहाँ लोभिएन । जागिर छोडेर काठमाडौं पढ्न गएँ । २०४७ सालमा मास्टर्स पढ्न काठमाडौं गएँ । पद्मकन्या क्याम्पसमा पढाउन सुरु गरें । होलिभिजन उच्च मावि, शंकरदेव क्याम्पस, एफडब्लू मेनेजमेन्ट एकेडेमीमा पढाएँ । मरो उद्देश्य विश्वविद्यालयको पोफ्रेसर हुने थियो । पछि २०५१ सालमा लहलहैमा शाखा अधिकृतमा प्रवेश गरे । २०५९ सालमा उप–सचिव, २०६५ खुल्लाबाट सह–सचिव र २०७३ सालमा सचिव भएँ । २०६५ सालसम्म पढाउँदै थिएँ । पछि पदिय जिम्मेवारी बढे पछि पढाउन छोडें ।
साझा बिसौनी संवाददाता ।