प्रभावकारी हुन नसकेका कार्यक्रम

प्रदेश सरकारको ‘प्रदेश प्रमुख सामाजिक सशक्तीकरण कार्यक्रम’ प्रभावकारी बन्न सकेको छैन । गत आर्थिक वर्ष २०८०÷०८१ बाट सुरु भएको उक्त कार्यक्रम प्रभावकारी नभएको हो । विकृतिपूर्ण सामाजिक तथा सांस्कृतिक मान्यताको अन्त्य गर्ने उद्देश्यले कार्यक्रम सुरु गरिएको भएपनि कार्यान्वयन भने हुन सकेको छैन । लैङ्गिक हिंसामा परेका महिला तथा बालबालिकाको उद्धार, संरक्षण र पुनस्र्थापनाका लागि प्रदेशस्तरमा दीर्घकालीन पुनस्थापना केन्द्र स्थापनाका कार्यक्रम राखिएको थियो । गत आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटेर कार्यक्रम ल्याइएको हो । उक्त वर्ष कार्यक्रम कार्यान्वयनका लागि ११ लाख बजेट विनियोजन गरिएको थियो । कार्यक्रम कार्यान्वयनको कार्यविधि नबन्दा कार्यक्रम कार्यान्वयन हुन सकेको थिएन ।

गत वर्ष कार्यविधि नबन्दा कार्यक्रम कार्यान्वयन हुन सकेको थिएन भने यो वर्ष उक्त कार्यक्रम कार्यान्वयनका लागि बजेट विनियोजन नै गरिएको छैन । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा भने उक्त कार्यक्रमलाई निरन्तरता दिने जनाइएको छ । यो वर्ष बजेट विनियोजन नहुँदा कार्यक्रम कार्यान्वयनमा अन्योलता छाएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यो वर्ष प्रदेश प्रमुख सामाजिक सशक्तीकरण कार्यक्रम कार्यान्वयनका लागि बजेट विनियेजन नहुँदा कार्यक्रम कार्यान्वयनमा अन्योलता देखिएको हो । यसैगरी प्रदेशको सामाजिक विकास मन्त्रालयले बालविवाह न्यूनिकरणका लागि स्थानीय तहसँग मिलेर कार्यक्रम कार्यान्वयन गर्ने भएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत बालबालिका लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखिएको मन्त्रालयले जनाएको छ । छोरीको जीवन सुरक्षाका लागि कर्णाली प्रदेश सरकारले सञ्चालन गरिरहेको ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रम परिमार्जन गरेर कार्यान्वयन गर्ने तयारी गरेको छ । सो कार्यक्रम आर्थिक वर्ष २०७६/०७७ मा सुरु गरिएको हो । २०७८/७९ बाट भने छोरीको बैंक खातामा पैसा जम्मा हुन छोडेको छ तर पनि आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा समेत उक्त योजनालाई परिमार्जनसहित कार्यान्वयन गर्ने कुरा उल्लेख गरिएको छ ।

कर्णाली प्रदेशका कतिपय ठाउँमा महिलाहरू महिनावारी भएका बेला घर बाहिर बस्छन् । उनीहरूको बसाइँ असुरक्षित मात्र नभइ स्वास्थ्यसमेत उत्तिकै जोखिममा पर्छ । प्रदेशका सुर्खेत, दैलेख, कालीकोटलगायतका जिल्लाका केही ठाउँमा रजस्वला भएका महिलाले पाँच दिनसम्म घरभन्दा पर टहरा तथा गोठहरूमा बस्नुपर्ने कुसंस्कार कायमै छ । सरकारी तथा गैर–सरकारी निकायले त्यसको न्यूनीकरणका लागि विभिन्न अभियान चलाउँदै आएका छन् । ती अभियानको प्रभाव भने निकै कम देखिएको छ । महिनावारी भएका बेला गोठहरूमा बस्नुपर्ने चलन अझै कायम रहेको हो ।

प्रकाशित मितिः   २० भाद्र २०८१, बिहीबार ०५:०३