प्राचिन एसियामा व्यक्तिगत स्वतन्त्रताः एक ऐतिहासिक अन्वेषण
स्वतन्त्रता शब्दकै उत्पत्ति र विकास पश्चिमा मुलुकमा भएको भन्ने मान्यता विकासित भएको पाइन्छ । विशेष गरी प्राचिन युरोपियन ग्रीसमा यस्त अवधारणाको विकास भएको भन्ने विश्वास गरिन्छ । त्यस्तै खाले पूर्वीय दर्शनको उत्पत्ति र विकासको इतिहास कमै मात्र पाइन्छ । यसबाहेक, पूर्वीय समाज र सामाजिक संरचनाहरू व्यक्तिगत अधिकारको संरक्षण र विकासमा त्यति ध्यान दिँदैनन् भन्ने छ । साथै यस्ता संरचनाहरू राज्यसत्ताविरुद्ध लागेर व्यक्तिका हक अधिकार स्थापित गर्न सक्दैनन् भन्ने पाइन्छ । तर के यही पूर्ण सत्य हो त ?
प्राचिन पूर्वीय (धेरैजसो एसियाली) देशमा अनुशासन र अधिकारको कठोर अभ्यासले व्यक्तिगत स्वतन्त्रताको अवधारणा ओझेलमा परेको पाइन्छ । जसका कारण एशियाली मुलुकमा व्यक्तिगत स्वतन्त्रता हुँदै नभएको वा व्यक्तिमाथि राज्यमात्र हावी भएको हो कि भन्ने देखिन्छ । यद्यपि, यसले एसियाली महाद्वीपको विविध दार्शनिक, धार्मिक र राजनीतिक परिदृश्यलाई बेवास्ता गरेको छ । हुनसक्छ यहाँ व्यक्तिगत स्वतन्त्रताको रक्षा गर्ने संस्थाहरूको स्थापना र विकास पर्याप्त मात्रामा हुन सकेन तर व्यक्तिगत स्वतन्त्रता वा मुक्तिको अधिकार नै नभएको भने होइन । महŒवपूर्ण सवाल यो हो कि प्राचिन एशियाली मुलुकहरूले राज्यमा शान्ति सुरक्षा र अमन चयन कायम गर्ने क्रममा अनुशासन र नियन्त्रणलाई मात्रै ध्यान दिएर व्यक्तिगत स्वतन्त्रता विरुद्ध एक भएका थिए त ?
पूर्वीय समाज र चिन्तनहरूमा व्यक्तिगत स्वतन्त्रता सम्बन्धी सवाललाई व्यापक रूपमा गलत बुझिएको छ । आफ्नै नैतिकताको निर्णयमा स्वायत्तताको अभाव छ भन्ने हिसाबले अर्थ लगाइन्छ । यद्यपि, निर्णय क्षमतामा रहेका कमीकमजोरीको दोष राज्य र शासकलाई दिएर व्यक्तिगत स्वतन्त्रता थिएन भन्न कति सुहाउँछ ? गहिरो अन्वेषणले फरक वास्तविकता रहेको देखाउँछ ।
प्राचिन चीनको सबैभन्दा प्रभावशाली दर्शनहरूमध्ये एक कन्फ्युसियसवादले सामाजिक सद्भाव, सुव्यवस्था र मर्यादित सम्बन्ध प्रवर्द्धनलाई निकै जोड दिएको थियो । यसरी निर्मित समाजमा कर्तव्यको ज्यादा महŒव, अख्तियारको सम्मान तथा सामाजिक स्थिरता कायम राख्न परिवार र राज्यको भूमिकाका कारण चिनियाँ दर्शनले व्यक्तिगत स्वतन्त्रतालाई पूर्ण रूपमा बेवास्ता गरेको हो कि भन्ने धारणा विकास भएको पाइन्छ । यद्यपि, कन्फ्युसियन विचारले व्यक्तिको भूमिकालाई पूर्ण रूपमा बेवास्ता गर्दैन । कन्फ्युसियस आफैले पनि व्यक्तिगत सद्गुण र नैतिक आत्म–उत्पादनको महत्वबारे वकालत गरेका छन् । उनका अनुसार हरेक व्यक्तिलाई आफ्नो चरित्र र नैतिक समझको विकास गर्ने जिम्मेवारी छ । यसरी व्यक्तिको व्यक्तित्व विकासमा निजकै भूमिका महŒवपूर्ण ठानिनुलाई व्यक्तिगत स्वतन्त्रतासँग जोडेर हेर्न सकिन्छ ।
लाओ जुद्वारा समर्थित ताओवादले कन्फ्युसियसवाद पर्याप्त व्यक्तिवादी नभएको भन्दै व्यक्तिगत स्वतन्त्रतालाई अझ बढी मुखरित गरेको छ । जसले न्यूनतम् सरकारी हस्तक्षेप (वु– वेई) सहित व्यक्तिको स्वतन्त्रतालाई वकालत गर्छ । लाओ जु का अनुसार कुनैपनि व्यक्ति प्राकृतिक शान्ति र सद्भावपूर्ण जीवन बाँच्न पाउनुपर्छ । ताओवादको मुलभूत कुरा नै यही हो । उनका अनुसार अधिकतम कानुनी दमनले सामाजिक अशान्ति र गरिबी निम्त्याउँछ । यसरी उनको दृष्टिकोण व्यापक व्यक्तिवादी थियो भन्ने देखिन्छ, जसले व्यक्तिको खुसी र आधारभूत आवश्यकता पूर्तिलाई प्राथमिकता दिनुपर्छ भन्ने प्रस्ताव राखेको थियो । व्यक्तिगत स्वतन्त्रता र खुशीमा बाधा पु¥याउने सामाजिक संस्थाहरूलाई घटाउनुपर्छ वा खारेज गर्नुपर्छ भन्ने उनको मान्यता थियो । ‘जति धेरै कानुन र प्रतिबन्ध छन्, जनता त्यति नै गरिब बन्छन्’ भन्ने उनको दाबीले अधिनायकवादी शासनको विरोध र अधिक व्यक्तिगत स्वतन्त्रताको वकालत बुझ्न कठीन छैन ।
त्यसैगरी, नेपालमा जन्मेका बुद्धले घटना हुनुको पछाडि अलौकिकतालाई दोष दिने सिद्धान्तलाई अस्वीकार गर्दै प्रत्येक कार्यको पछाडि समय, प्रकृति र ईश्वरको हात रहेको विचारमाथि प्रश्न उठाए । यसरी आफ्ना कामको परिणामका लागि पनि अरुलाई दोष दिने पद्धतिले व्यक्ति जवाफदेही नहुने भन्दै व्यक्तिको भूमिकालाई थप प्रभावकारी बनाउनुपर्ने बताए । हरेक घटनाको पछाडि मानिसको हात रहेको र पर्याप्त समय र ज्ञानपछि अज्ञातको जवाफ पाउन सकिने उनको विश्वास थियो । बौद्ध धर्मले जोड दिने व्यक्तिको सद्प्रयास र व्यक्तिगत ज्ञानको खोजीको अवधारणाले व्यक्तिगत स्वतन्त्रतामानै जोड दिएको झल्काउँछ । बुद्धले जहिल्यै आफ्ना अनुयायीहरूलाई अख्तियारमाथि प्रश्न गर्न, आफ्नो लागि सोच्न र मुक्तिको मार्ग आफै खोज्न प्रेरित गरिरहे । यसरी व्यक्तिगत जिम्मेवारीबोध र स्वायत्तताले व्यक्तिगत स्वतन्त्रताकै व्यापक विषयवस्तुलाई प्रतिध्वनित गर्छ ।
व्यक्तिगत स्वतन्त्रताको अर्को महŒवपूर्ण पक्ष भनेको व्यक्ति र उसको योग्यतामा जोड दिनु हो । कन्फ्युसियसवादमा दृढता र कडा परिश्रम मार्फत जो कोही पनि सामाजिक अवरोधहरू छिचोलेर समाजको उच्च स्तरमा पुग्न सक्छ भनिएको छ । यहाँ, व्यक्तिवादको अवधारणा पश्चिममा भन्दा केही भिन्न छ । कन्फ्युसियन व्यक्तिवादले अरूसँग सम्बन्ध कायम राख्दै व्यक्तिले कसरी आफ्नो लक्ष्य प्राप्त गर्छ भन्ने कुरामा बढी ध्यान दिन्छ । यसले अरूबाट आफूलाई नछोडिकनै निजत्वको भावनाको कदर गर्छ । मिङको उत्तरार्ध र छिङ राजवंशको प्रारम्भिक कालका एक प्रमुख कन्फ्युसियन विद्वान ह्वाङ जोङ्सी निरंकुश शासनको मुखर आलोचक थिए । आफ्नो कृति ‘वेटिङ फर द डन’ मा उनले शासकको पूर्ण शक्तिको विरुद्धमा तर्क गर्नुका साथै शासकको अधिकारलाई कानून र जनइच्छा अनुसार नियन्त्रण गरिनुपर्ने प्रस्ताव अघि सारेका छन् । यसका साथै उनले शासनमा जनसहभागिता हुनुपर्ने तथा राजनीतिक मामिलामा व्यक्तिहरूनै बढी जिम्मेवार र उत्तरदायी हुनुपर्ने बताएका छन् । जोंसीको उक्त प्रस्तावले विद्यमान निरंकुश संरचनाहरूलाई चुनौती दिनुका साथै व्यक्तिको राजनीतिक स्वतन्त्रतालाई प्रवद्र्धधन गरेको प्रमाणित हुन्छ ।
प्राचीन एशियामा परम्परागत सिद्धान्तहरूलाई चुनौती दिने तथा बौद्धिक स्वतन्त्रतालाई जोड दिने आन्दोलन वा अभियानहरू पनि भएका छन् । जसले मानिसहरूलाई जीवनका विविध आयामहरूमा घोत्लिन र आफ्नै खुशीको पछि लाग्न प्रेरित गर्यो । प्राचिन भारतले वेदमा आधारित परम्परागत हिन्दु सिद्धान्तलाई पछ्यायो । वर्णाश्रम र जातीय व्यवस्थाको अभ्यासले भारतीय समाजको जनजीवन निर्धारण ग¥यो । जहाँ पूर्वजन्म र पुनर्जन्मलाई जीवन जीउने प्रधान आधार मान्न थालियो। चार्वाक अर्थात् लोकायताले यस सिद्धान्त वा मृत्युपछिको जीवनको अवधारणालाई अस्वीकार गर्यो । यस दर्शनका विचारकहरूले प्रत्यक्ष बोध (प्रत्यक्षा) नै ज्ञान प्राप्त गर्ने एकमात्र वैध स्रोत भएको बताए । यस दर्शनले बाह्य शक्तिहरूको हस्तक्षेप बिना नै आफ्नो खुशी र आनन्द प्राप्त गर्न व्यक्तिगत स्वायत्तताको महत्त्वलाई जोड दिन्छ । यसरी परम्परादेखि पुस्तान्तरण हुँदै आएको अन्धविश्वासमाथि आलोचनात्मक चेत निर्माण गरी अनुभवजन्य प्रमाणलाई बढावा दिएर यस दर्शनले उतिबेलैदेखि बौद्धिक स्वतन्त्रता र व्यक्तिगत स्वच्छन्दतामा योगदान पुर्याएको छ ।
व्यक्तिगत स्वतन्त्रता धार्मिक तथा सामाजिक सद्भावसहित विभिन्न रूपहरूमा प्रकट हुन्छ । यस सम्बन्धमा भारतीय दर्शनलाई व्यापक रूपमा दुई समूहमा राखेर हेर्न सकिन्छ । जसमध्ये पहिलो हो– हेटेरोडक्स अर्थात् नास्तिक समुदाय र अर्को हो– अर्थोडक्स अर्थात् आस्तिक समुदाय । आस्तिक समुदायले वेदको वैधतालाई स्वीकार गर्छन् भने नास्तिकहरूले त्यसलाई नकार्छन् । नास्तिकहरू परम्परागत विश्वासलाई चुनौती दिनुका साथै बौद्धिक स्वतन्त्रता र विचारको विविधतालाई बढावा दिन्छन् । यस श्रेणीभित्र मुख्यतया चार्वाक र बौद्ध दर्शन पर्छन् । यी र यस्ता विविध दार्शनिक परम्पराहरूको सह–अस्तित्वले पूर्वीय समाजमा स्वतन्त्र विचारहरूको सम्मान गरिन्थ्यो भन्ने देखाउँछ ।
यसका अतिरिक्त, मुगल सम्राट अकबर धार्मिक सहिष्णुता र बहुलवादका समर्थक हुन् । उनको विश्वव्यापी शान्ति नीति (सुलह–ए–कुल) ले विभिन्न धार्मिक समुदायहरूबीच सहिष्णुता र संवादको संस्कृतिलाई बढावा दिएको पाइन्छ । उक्त नीतिले विभिन्न धार्मिक समूहहरूको शान्तिपूर्ण सह–अस्तित्व मात्र प्रवर्द्धन गर्दैन बरु बौद्धिक र आध्यात्मिक स्वतन्त्रता फष्टाउन सक्ने वातावरण पनि निर्माण गरेको थियो । अकबरको अड्डा वा अदालत सांस्कृतिक र बौद्धिक आदानप्रदानको केन्द्र जस्तै थियो । जसले विभिन्न पृष्ठभूमिका विद्वानहरू, कलाकारहरू र विचारकहरूलाई स्थान दिन्थ्यो । राजा अकबर व्यक्तिको धार्मिक स्वतन्त्रता वा कुनैपनि धर्म छान्न र मान्न पाउने अधिकारबाट कसैलाई पनि वञ्चित गर्न नहुने कुरामा स्पष्ट थिए । धर्म मानेकै कारण कसैलाई पनि सजायँ गर्न नहुने कुरामा उनको जोड थियो ।
एशियाको इतिहास यति अनुपम र बिराट छ कि त्यो कुनै सानो अध्ययनले समेट्न सक्दैन । यस लेखमा प्रस्तुत उदाहरण र खोजले एशियाली मुलुकमा व्यक्तिगत अभिव्यक्ति र स्वतन्त्रतालाई मात्र केलाउन खोजेको छ । जसरी एउटा झिल्कोले ठूलो प्रज्वलन गर्न सक्छ, त्यसरी नै यी दर्शन र व्यक्तिहरूले एशियाली समाजहरूमा अख्तियारमाथि प्रश्न उठाउन र आफ्नै सिद्धान्तहरू स्थापित गर्न जबरजस्त शक्ति खडा गर्छन् ।
आधुनिक एशियामा पनि व्यक्तिगत स्वतन्त्रताका केही विचारकहरू प्रसिद्ध छन् । भारतका एक समाज सुधारक डा. भीमराव रामजी अम्बेडकर भारतीय संविधानका मुख्य वास्तुकार समेत हुन् । सामाजिक न्याय र व्यक्तिगत स्वतन्त्रताको वकालत गर्न उनले बौद्ध धर्मका सिद्धान्तहरूको सहारा लिएका छन् । प्रमुख रूपमा उनले व्यक्तिगत स्वतन्त्रता र समानताको बाधक रहेको जातीय व्यवस्थाको खुलेरै आलोचना गरे । आफू पनि एक दलित समुदायको सदस्य भएको र व्यापक सामाजिक विभेद भोगेका कारण जातीय व्यवस्थाले व्यक्तिलाई पेशा छनौट गर्न र व्यक्तिगत आकांक्षा पूरा गर्नबाट रोक्ने उनको ठम्याई थियो । हिन्दुवादबाट प्रभावित राजनीतिक विचारधारा (जसलाई भारतीय राष्ट्रवाद पनि भनिन्छ) ले सामाजिक रूपमा सीमान्तकृत समुदाय विशेष गरी दलितहरूलाई बहिष्करणमा पा¥यो । जसले ठूलो समुदायलाई निराश तुल्यायो । भारतीय समाजलाई विभेद मुक्त बनाई समानता कायम गर्न उनले बौद्ध धर्मको पुनरुत्थान गर्नुपर्ने कुराको वकालत गरे । बौद्ध दर्शनको अनुशरणबाट नै वर्तमान सामाजिक व्यवस्थालाई मानव हित तथा आधुनिक परिवर्तन अनुकुल बनाउन सकिने उनको दाबी थियो । यद्यपि, अम्बेडकरले उक्त धर्म परिवर्तनभित्र तार्किकता, नैतिकता र व्यक्तिगत स्वायत्ततालाई ख्याल गर्नुपर्ने बताएका थिए । यसरी जात व्यवस्थाको उन्मूलनका लागि स्वतन्त्रता र समानताका सिद्धान्तलाई प्रवद्र्धधन गर्दै अम्बेडकरले व्यक्तिगत स्वतन्त्रता र सामाजिक न्याय स्थापना गरी भारतीय समाजको पुनर्निर्माण गर्न खोजे ।
यस्तै नेपालका प्रथम निर्वाचित प्रधानमन्त्री बीपी कोइरालाका अभिव्यक्ति र प्रवचनहरूमा पनि व्यक्तिगत स्वतन्त्रतालाई प्रमुख स्थान दिइएको पाइन्छ । उनले तत्कालीन वंशीय राजा र राणा शासनलाई चुनौती दिँदै देशको लोकतान्त्रिक सामाजिक आर्थिक विकासको नेतृत्व गरे । उनका साहित्यिक कृतिहरूमार्फत् समेत व्यक्तिगत मुक्तिको वकालत गरिएका छन् । कोइरालाका अनुसार नयाँ युगका नयाँ मानवले समाज र सामाजिक रूपमा निर्मित नियम र संरचना विरुद्ध विद्रोह गर्छन् । उनले भनेका छन्, मानिसहरू व्यक्तिगत रूपमै धेरै महत्वपूर्ण छन् न कि समाजको एक सदस्य भएका नाताले । उनका उपन्यासहरूमा परम्परागत मूल्यभन्दा बढी व्यक्तिगत छनौट र पहिचानको स्वतन्त्रताको खोजीले स्थान पाएका छन् । बिपी कोइरालाका जीवनीकार चटर्जीका अनुसार उनले मानिसका दुई आयामबारे महशुस गरेका छन् । पहिलो मानिसको सामाजिक वृत्ति हो, जसले उनीहरूलाई समाजको सदस्य बन्न सघाउँछ । अर्को वृत्ति हो– क्रान्ति, जसले उनीहरूलाई समाजका सबै नियम नमान्न प्रेरित गर्छ। अतः मानिस एकैसाथ सामाजिक र असामाजिक हुन्छ । नियम पालक र विद्रोही बन्छ ।
यसैगरी सन् १९९० को दशकमा कम्युनिष्ट नेता मदन भण्डारीले नेपालको राजनीतिक आयाम बदल्न नयाँ प्रस्ताव प्रस्तुत गरे । परम्परागत अधिनायकवादी शासनलाई लोकतान्त्रिक ढाँचामा बदल्ने लक्ष्यसहित उनले जनताको बहुदलीय जनवाद (जबज) को सिद्धान्त अघि सारे। उनी समकालीन नेपाली राजनीतिका यस्ता पात्र हुन् जो कहिल्यै कुनै हिंसात्मक संघर्ष वा विद्रोहमा संलग्न भएनन् । न त कहिल्यै पक्राउ नै परे । परिणामतः उनको अहिंसात्मक दृष्टिकोण पनि प्रख्यात छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा उनको नेतृत्वले वैचारिक छलफलहरूलाई प्रोत्साहित गर्दै वाम आन्दोलनलाई लोकतान्त्रीकरण गर्नुका साथै पार्टीलाई सीमान्त चरमपन्थी समूहबाट समावेशी र प्रगतिशील संगठनमा रूपान्तरण गरी व्यक्तिगत स्वतन्त्रताप्रति आफ्नो प्रतिबद्धता प्रदर्शन ग¥यो । अल्पसंख्यकहरूको कुरा सुन्न र त्यसलाई सम्मान गर्नुपर्नेमा उनको जोड थियो । उनले देश र जनताको सर्वोत्तम हितलाई प्राथमिकतामा राखी अनुकूल माक्र्सवादी सिद्धान्तहरूको प्रयोगमा विशेष ध्यान दिएका थिए ।
नेपालमा व्यक्तिगत अधिकारको संरक्षण र प्रवद्र्धधन गर्न वकालत गर्नेमध्येका अर्का प्रमुख व्यक्तित्व हुन्, डा. भोलानाथ चालिसे। उनले व्यक्तिगत स्वतन्त्रता र मानव अधिकारको संरक्षण गर्ने लोकतान्त्रिक ढाँचाको परिकल्पना गरे । व्यक्तिगत स्वतन्त्रता र स्वायत्ततालाई प्राथमिकता दिने संस्था र नीति निर्माण गर्नुपर्ने उनको जोड थियो । चालिसेले लोकतन्त्र राजनीतिक सहभागितामा मात्र नभइ व्यक्तिगत अधिकार र स्वतन्त्रताको संरक्षण र प्रवद्र्धन सुनिश्चित गर्ने कुरामा विश्वास राख्थे । उनको सुधार योजनामा नागरिकहरूलाई स्वतन्त्रतापूर्वक अभिव्यक्त हुने अवसर प्रदान गर्नुका साथै शासनमा अर्थपूर्ण सहभागिता हुनुपर्ने कुरालाई विशेष महत्व दिइएको छ ।
अन्त्यमा, पश्चिमेली देशमा जस्तै पूर्वेली देशमा व्यक्तिगत स्वतन्त्रतालाई किन महŒव दिइएन भन्ने कुरा नै मुख्य सवाल हो । यसको मुख्य कारण पूर्वीय समाजहरूमा व्यक्तिगत स्वतन्त्रता विभिन्न दार्शनिक, धार्मिक र राजनीतिक ढाँचाकै अभिन्न अङ्गको रूपमा रहे। वास्तवमा, एशियाली समाजमा स्वतन्त्रताको अवधारणा र मर्म विशिष्ट खालको थियो र स्वतन्त्रताका समर्थकहरू पनि थिए । अतः पूर्वीय समाजमा व्यक्तिगत स्वतन्त्रताको अवधारणा अन्यत्रबाट आयात गर्नुपर्ने वा सिक्नुपर्ने विषय होइन । बरु यहाँको सामाजिक उत्खनन् गर्नु जरुरी छ ।
स्वतन्त्रता आफैमा एक स्वतन्त्र शासकीय प्रवन्ध हो। भनिन्छ अधिनायकवाद आफ्नै कारणले ढल्छ । जीवन जीउन असहज परिस्थितिको निर्माण हुनासाथ मानिसहरू विद्रोही बन्छन् । र उनीहरूको विद्रोहले रुढीबादलाई ढाल्छ र भावी पुस्ताको भलाई गर्छ । यस्ता धेरै उदाहरणहरू छन् । अर्कोतर्फ पश्चिमी देशले विकास गरेका मानकहरूका आधारमा पूर्वीय देशमा व्यक्तिगत स्वतन्त्रतालाई दाँज्नु पनि हाम्रो गल्ली हो । पश्चिमा मुलुकमा व्यक्तिवादिताको अर्थ अक्सर समाजमा कसैको योगदानलाई विचार नगरी स्वतन्त्र हुन खोज्नु हो । पूर्वीय समाजहरूले व्यक्तिगत स्वतन्त्रतालाई सामाजिक उत्तरदायित्वसँग सन्तुलन गर्ने व्यक्तिवादको अर्को रूपलाई अँगालेका छन् । तसर्थ, व्यक्तिगत स्वतन्त्रतासम्बन्धी एसियाली समाजहरूको योगदानलाई ऐतिहासिक कथनहरूले मान्यता दिनु आवश्यक छ ।
(लेखक ऋति फाउन्डेसनमा अनुसन्धान सहायकको रूपमा आवद्ध छिन् ।)
प्रकाशित मितिः ३० श्रावण २०८१, बुधबार ०५:०४
आशंसा मुल्मी ।