‘गाग्री होइन, विकास बोक्दैछौं’
सुर्खेत, १९ चैत ।
‘उमरे छउञ्जेल गाग्रीमै पानी बोकेर ल्याएँ, कति रात त सुत्न पनि पाइनँ’ आफूले विगतमा भोगेको पीडा सुनाउँदै उनले भनिन्, ‘खडेरीको बेलामा त दुई घण्टा टाढा जानुपथ्र्यो, छिमेकका सबै महिलाहरू पानीको पालो कुर्दै रातभर मुहानमै नाचेर बिताउँथ्यौं । हरेक दिन बिहान उज्यालो नहुँदै गाग्री बोकेर निस्कनुपर्ने बाध्यता थियो, पानीको जोहो गर्दागर्दै मेरो त उमेर नै ढल्कियो ।’
सुर्खेतको पुरानो सदरमुकाम गढी निवासी ६० वर्षीया दुर्गा चालिसेले यसरी नै आफ्नो जीवन धकेलिन । कैयौं रातहरू राम्रोसँग सुत्न पाइनन् । खानेपानीकै लागि उनले बिहान उज्यालो नहुँदै गाग्री बाकेर मुहानमा कुद्नुपथ्र्यो । पानीको पालो नपाएको दिन घरको सबै काम छुट्थ्यो, छोराछोरी भोकै स्कुल जान्थे । आफू स्वयम्ले पनि पानीको जाहो गर्दागर्दै धेरै रहर मार्नुप¥यो उनले । ‘१२ वर्षपछि खोलो पनि फर्किन्छ भन्थे, पुर्खाले त्यसै भनेका रहेनछन्’ घर अगाडि पानीको धारा आएपछि खुशी हुँदै दुर्गाले भनिन्, ‘आँगनमै धारामा पानी भर्न पाइएला भन्ने त मैले सोचेकी पनि थिइनँ, तर समय आउने रहेछ । हाम्रा दिन आए, अब गाग्री बोकेर पानी खोज्दै जानुपर्ने बाध्यता टरेको छ ।’
गोठीकाँडा निवासी ५६ वर्षीया विष्णुकुमारी खत्रीले चाहेर पनि पूरै रात निदाउन पाइनन् । गाउँमा खानेपानीको समस्याले गर्दा बिहान उज्यालो नहुँदै उनी मुहानमा पुग्थिन् । तीन घण्टासम्म समय खर्चेर उनले एक गाग्री पानीको जोहो गर्थिन । गाग्री डोकोमा लिएर उकाली र ओराली गर्ने उनको दैनिकी नै बन्यो । कैयौं रहरहरू मारेर उनले आफ्नो अधिकांश उमेर पानी बोकेरै बिताइन् । बुढेसकालमा भने उनको दैलोमै धारा आएको छ । ‘उमेर छउञ्जेल डोकोमा पानी निकै बोकियो, सायद भगवानले मेरो पीडा बुझेछन्’ उनले भनिन्, ‘बुढेसकालले छोएपछि पानी बोक्न नसक्ने भएकी थिएँ, अहिले त आँगनमै धारा आएको छ । चाहेको बेलामा धारा खोलेर पानी भर्छु, गाग्री बोकेर उकालोमा हिँड्नुपर्ने अवस्था छैन ।’ आँगनमै धारा आएपछि उनको दिनचर्या पनि बदलिएको छ । पानीको जोहो गर्दै आएको समय उनले अन्यत्र खर्च गर्न थालेकी छन् ।
सुर्खेत उपत्यकादेखि माथि अग्लो स्थानमा रहेको गढी र लेखगाउँमा पछिल्लो समय खानेपानीको समस्या टरेको छ । वर्षौंपछि गाउँमा खानेपानी आयोजनाको निर्माण सम्पन्न भएपछि घरमै धारा जडान भएका छन् । जसको परिणाम खानेपानीका लागि धाउनुपर्ने बाध्यता टरेको हो । गढीमा ११ किलोमिटर टाढाबाट खानेपानी ल्याइएको छ । यस्तै लेखगाउँमा भने लिफ्टिङ्ग गरेर पानी बस्तीमा ल्याइएको छ । उक्त पानी अग्लो स्थानमा रिजर्भ ट्यांकीमा जम्मा गरिन्छ । सोही पानी स्थानीयलाई वितरण गर्ने गरिएको छ । यूएनडीपीको आर्थिक सहयोग र स्थानीय उपभोक्ताहरूको जनश्रमदानबाट आयोजना सम्पन्न भएका हुन् । दुवै आयोजना उपभोक्तालाई हस्तान्तरण भइसकेका छन् । गाउँमा खानेपानी सुविधा उपलब्ध भएपछि सबैभन्दा बढी लाभान्वित महिलाहरू बनेका छन् । भान्साको जिम्मेवारी महिलाहरूको हुने हुँदा पानीको जोहो उनीहरूले नै गर्दै आएका थिए । पानीको संकट उनीहरूले बढी व्यहोर्नु परेको थियो ।
लेखगाउँमा खानेपानी सुविधा उपलब्ध भएपछि स्थानीय सुनिता लामिछानेले भनिन्, ‘खानेपानी नहुँदा हाम्रो त बेहाल नै थियो, भान्सासँग जोडिएकाले पनि महिलाहरूले पानी बोकेरै आफ्नो आधा जीवन गुजारे । गाउँका महिलाहरूको काम भनेकै पानी बोक्ने थियो, विकास र सशक्तीकरण त पत्तो नै भएन ।’ गाउँमा खानेपानी आएपछि आफूहरूका दिन फेरिएको उनको भनाइ छ । पहिला खानेपानीका लागि दौड्ने स्थानीय महिलाहरू हिजोआज गाउँमा हुने विकास निर्माण र सामाजिक काममा जुट्न थालेका छन् । ‘पानीले त हाम्रो भविष्य नै उज्यालो बनायो, गाग्री बोक्ने हामी अहिले सामाजिक जागरणको भारी बोक्न थालेका छौं’ उनले थपिन्, ‘बचत भएको समय आयआर्जनमा खर्च गरेका छौं, महिलाहरू तरकारी खेतीमा जुटेका छन् ।’ खानेपानी उपलब्ध भएपछि तरकारीलाई पनि सिँचाइ गर्न पुगेको र पशुपंक्षीलाई समेत सजिलो भएको स्थानीयको भनाइ छ ।
आँगनमै पानी उपलब्ध भएपछि महिलाहरूको समय बचत भएको छ । जसले गर्दा उनीहरूले बालबच्चालाई समय दिने र स्कुल पठाउने गरेका छन् । महिला र बालबालिकाहरू बढी हर्षित बनेका छन् । कारण यसअघि अधिकांशका बालबालिकाहरू खाली समयमा पानीको खोजीमा धाउने गर्दथे । त्यसले गर्दा उनीहरूको पढाइ छुट्थ्यो । यूएनडीपीका कार्यक्रम अधिकृत दिपक केसीले आफूहरूको सानो सहयोगले महिलाहरूले गाग्री र डोकोबाट मुक्ति पाएको बताए । यस्तै बालबालिकाहरू पनि नियमित स्कुल जान पाएको भन्दै खुशी व्यक्त गरे । देशमा शासन व्यवस्था फेरिए पनि आफ्ना दिन उस्तै रहेको गुनासो गर्दै आएका यहाँका महिलाहरूले खानेपानी पाएपछि भने आफ्ना दिन पनि फेरिएको भन्दै खुशी व्यक्त गरेका हुन् ।
साझा बिसौनी संवाददाता ।