त्यो बालापन, बुबाआमाको माया र यो परदेश
जीवनको गन्तव्य कता हो भनि ठेगान नभएकै बेला म घरकुटी र चिँ..मुसी..चिँ.. खेलिरहेको त्यो बालापन खोजिरहें । जसरी आमाले मेरो हात समातेर ताते–ताते भन्दै हिँड्न सिकाउनु भयो, ठीक त्यसरी नै ती मूलपनी र भिरपनीमा घाँसदाउरा गर्दै छोराको उज्वल भविश्यको कामना गर्ने आमाको अनुहारमा खुशी छर्नकै लागि आज कामलाई भगवान् र समयलाई इष्टदेव मान्ने संसारमा दुःखलाई सथी बनाएर म त्यही ताते–ताते खोजिरहेछु ।
घरमा बिहान उठ्ने समयमा ३÷४ पटक बाबाको ‘ए…कन्छा’ नसुनी नउठ्ने म आज मोबाइलले घण्टी हान्ने बित्तिकै बाबाले भनेको त्यो कान्छाको आवाज एकाएक मेरा कानमा गुञ्जायमान हुन्छन् । सिरक च्यापेर सुत्न मन लागेपनी जुरुक्क उठेर उज्यालोको दियो किन्ने सपनामा लाग्नुपर्छ कर्मक्षेत्रतिर ।
प्रायः जसो बिदाको दिनमा कोठा छोड्न मन लाग्दैन, जसरी बाबा बजार गएपछि मलाई (रातो मिठाइ) जुलबी ल्याइदिने आशामा हातका औंला चालिरहन्छु । समय बित्दै जान्छ, दिउँसको खानापछि घाम ढल्कने समयमा घरको छतमा गइ नजिकैको समुन्द्रछेउ जहाँ एकाएक प्रेम जोडीहरू हातमा हात कसेर ओहोर दोहोर गर्दै रमाइरहेका हुन्छन् । समुन्द्री छाल पनि हावाकै कारण होला वरवर आउँछ । गाडीहरू पनि धेरै नै संख्यामा जाने आउने क्रममै हुन्छन् । आउँछन् एक हुल मालचरी तर मेरो रातो मिठाइ आएन । त्यतिकैमा फोनको घण्टी बज्छ र म झस्याङ्ग हुन्छु । अहो, म त कल्पनामा रमाइरहेको रहेछु । मेरो बाल्यकाल त हराइसकेको रहेछ । फोनमा बाबा आमासँग कुरा गरिसकेपछि सम्झन्छु, घरमा अलिकति काममा पनि सघाउन नमान्ने म सायद कन्छो भएर होला आज कसैको इसाराको भरमा उफ्रिरहेछु, आहाराका लागि फट्यांग्रो उफ्रेसरी ।
फेरि मलाई बालापनको अज्ञानता छोड्दैन, खै कहाँ गयो त्यो टायरको गाडी ? अनि गाडीमा त बस्नु पो पर्छ तर टायरको गाडी सँगसँगै दौडदाको मजा कता हरायो ? आफैसँग प्रस्न गर्छु । त्यो गाडी सँगसँगै दोडिदाको मजा सुविधायुक्त कारमा नपाइदोरहेछ है ? अनि मोहोनामा मारेको डुबुल्की पनि त यहाँका आति रमणीय भनाउँदा नुहाउने स्थानमा कहाँ पाइदोरै’छ र ? अनि अर्को कुरा घरमा कोही आफन्त आउँदा केही खानेकुरा ल्याइदिएको बेलाको उमंग र दोबाटोसम्म छोड्न जाँदा धेरथोर पैसा दिइ चकलेट खानु है बाबु भन्नेबेलाको खुशी कता हरायो ? आज म पैसा खर्चेर पनि किन्न सकिरहेको छैन कता गयो त्यो खुशी र उमंग ? खोजें, खोजिरहें बस बिहान घामको झुल्कोसँगै ड्युटी जाँदा साँझ फर्कदा त्यही एउटा झिनो आशा उज्यालोको दियो किन्ने सपना मात्र ।
मेलापातमा आफूलाई कसैले खान दिएको खाजा पोल्टामा पोकोपारी मेरा लागि घरसम्म ल्याइदिने आमा र आफू खाली खुट्टा हिँडेर मलाई जुत्तामा सजाउने बाबाले मलाई सानो छँदा सोध्नुहुन्थ्यो, ‘बाबु ठूलो भएर हामीलाई पाल्छस् ?’ म मलिन ओठ लाउँदै आमाको छेउमै गइ भन्ने गर्थें ‘जति कमाउँला, त्यसैमा रमाउँला । एक रोटी मात्र कमाएछु भने पनि त्यसैलाई बाँडेर खाउँला ।’ तर आज सिंगै रोटी खान पुग्दा पनि छेउमै बसेर खानुभयो कि नाई सोध्न पाएको छैन । सञ्चो बिसञ्चो के छ ? सोध्न नपाउँदा मनमा पिरको आँधी र अनुहारमा मलिनता भन्दा अरु के नै बाँकी रहन्छ र ? धर्तीले टाढा भयो भन्दैमा माया मार्यो नभन्नु आमा, उज्यालोको दियो किन्ने प्रयासमा घरभन्दा धेरै पर त्यही दियोको खोजीमा छु । घरको आवस्था बुझेको छोराले कहिल्यै त्यसो गर्दैन, हजुरहरूको विश्वासको धुरी कहिल्यै ढाल्न दिनेछैन र आशाको डोरी कहिल्यै चुँडिन दिनेछैन अनि भरोसाको दियोमा सदाबाहर तेल थपिरहनेछु । मलाई आशिष दिनुस् कि हजुरहरूको आशीर्वादले सधैं–सधैं बाँच्नसकँु, हजुरहरूको मायाले सधैं–सधैं हाँस्नसकँु ।
अन्तमा, म कोरिया भए पनि नेपालबाट मलाई प्रतक्ष्य र अप्रतक्ष्य रूपमा मन, वचन र कर्मले साथ दिने, सहयोग र मार्ग निर्देशन गर्नुहुने आदरणीय काकालाई हार्दिक कृतज्ञता र आउँदै गरेको नयाँ वर्ष २०७४ सालको सुभकामनासहित बिदा हुन्छु । टीकापुर कैलाली, हाल दक्षिण कोरिया
साझा बिसौनी संवाददाता ।