आँपले गुलजार रामघाट

सुर्खेत: पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिका वडा नं. १३ रामघाटस्थित हरेकका घरघरमा आँपको बगैँचा छन् । जहाँसम्म नजर पुग्छ, त्यहाँसम्म आँपकै बगैँचा देखिन्छ । यो समय नै आँपको हो । बोटहरूमा लटरम्म फलेका आँपले रामघाट क्षेत्र नै गुलजार भएको छ ।

बिघौँ–बिघा जमिनमा आँपकै बगैँचा छन् । जसले राम्रो आम्दानी पनि दिएको छ । स्थानीय रूपबहादुर भण्डारीले आँप खेतीबाट बर्सेनि आम्दानी लिन्छन् । साढे दुई बिघा क्षेत्रमा उनको बगैँचा छ । आँप बिक्री गरी यसवर्ष मात्रै चार लाखभन्दा बढी कमाउन सफल भएका छन् । आँप खेतीबाट राम्रो आम्दानी भएपछि भण्डारी उत्साहित छन् । ‘एक वर्षमै चार लाखको आँप उत्पादन हुन्छ भन्ने विश्वासै थिएन तर उत्पादन बढेपछि उत्साहित भएको छु’, उनले भने, ‘अब थप एक बिघा जग्गामा आँपको बोट लगाउने सोच बनाएको छु ।’ आँप खेतीबाट राम्रो आम्दानी हुन थालेपछि क्षेत्र विस्तार गर्न लागेका हुन् ।

विगत दुई दशकदेखि व्यावसायिक रूपमा आँप खेती गर्दै आएका भण्डारीले आँप खेतीकै कमाईबाट पक्की घर बनाउनुका साथै कुटानीपिसानी गर्ने मिलसमेत खरिद गरेका छन् । ‘आँपको बगैँचा लगाइएको साढे दुई बिघा जग्गामा अन्न लगाउँदै आएको थिएँ’, भण्डारीले भने, ‘अन्नबालीमा लगानीअनुसारको फाइदा हुँदैन्थ्यो, त्यसैले अन्नबाली लगाउने खेतमै आँपको बगैँचा लगाएको छु, अहिले आँप खेतीबाटै बर्सेनि राम्रै आम्दानी भइरहेको छ, यसबाट सन्तुष्ट छु ।’ भण्डारीले यसवर्ष आँप राम्रै फलेको बताए । बोटबाटै प्रतिकिलो ५० रूपैयाँमा आँप बिक्री भइरहेको उनको भनाइ छ ।

भेरीगंगा नगरपालिका–१३ कै कृषक बालकृष्ण विसीले पनि यसवर्ष आँप खेतीबाट करिब दुई लाख कमाइ भएको सुनाए । विगत एक दशकदेखि व्यावसायिक रूपमा आँप खेती गर्दै आएका विसीले एक बिघा क्षेत्रमा आँप खेती गरिरहेका छन् । आम्दानी राम्रो देखेपछि उनी थप उत्साहित बनेका छन् ।

सोही वडाका मोहन वलीले यसवर्ष आँप राम्रै फलेको बताए । हावाहुरी र असिनाले कलिला फल झारेर गर्ने नोक्सान यो वर्ष भएन । जसले गर्दा आँप उत्पादन बढेको उनले सुनाए । आँपको बजार मूल्य समेत चित्त बुझ्दो रहेको भन्दै बिसीले भने, ‘प्रतिकिलो ५० रूपैयाँमा घरबाट आँप बिक्री हुने गरेको छ । बजार मूल्य राम्रो छ ।’

मोहन, बालकृष्ण र रूपबहादुर मात्र होइन्, भेरीगंगाका किसानले आँप खेतीलाई मनग्य आम्दानी गर्ने माध्यम बनाएका छन् । कृषक सबैको घर आँप बिक्रीबाटै चल्छ । यहाँको आँप पोखरा, बुटवल, रूकुम, सल्यान, जाजरकोट वीरेन्द्रनगरसहित विभिन्न सहरका साथै भारतलगायतका अन्य छिमेकी मूलुकमा निर्यात हुँदै आएको छ ।

 

 

फलफूल उत्पादन बढाउन अनुदान

कर्णाली प्रदेश सरकारले पनि पछिल्लो समय फलफूल खेतीलाई प्रोत्साहन गर्दै आएको छ । फलफूल उत्पादन बढाउन अनुदानका कार्यक्रम सञ्चालन गरिएको कृषि विकास निर्देशनालयका निमित्त निर्देशक चित्रबहादुर रोकायले बताए । जसअनुसार कृषकहरूलाई आँपका बिरुवा वितरणमा अनुदान दिने गरिएको छ ।

निर्देशनालयले चालु आर्थिक वर्षमा समेत कृषकलाई फलफूलका बिरुवा वितरण गरेको छ । कृषकको आयआर्जनमा वृद्धि गराउने उद्देश्यले ५० प्रतिशत अनुदानमा विभिन्न जातका फलफूलका बिरुवा वितरण गरिएको हो । निर्देशनालयको ५० प्रतिशत अनुदान र कृषकको ५० प्रतिशत लगानीमा बिरुवा उपलब्ध गराइएको निर्देशक रोकायले जानकारी दिए । ‘समूह, सहकारी र व्यावसायिक रूपमा खेती गर्ने कृषकलाई बिरुवा वितरण गरिएको छ,’ निर्देशक रोकायले भने, ‘यसका लागि कृषकले कुन जातको कति संख्यामा बिरुवा लैजाने हो अग्रिम नाम लेखाएर रकम जम्मा गर्नुपर्छ ।’

यो वर्ष अनुदानका लागि ५७ कृषक छनोटमा परेका छन् । निर्देशनालले यसअघि आवेदन खुल्ला गरेको थियो । उनीहरू त्यसैबाट छनोटमा परेका हुन् । उक्त कार्यक्रमका लागि निर्देशनालयले चालु आर्थिक वर्षमा आठ लाख बजेट छुट्टाएको छ ।

 

प्रकाशित मितिः   २३ असार २०८१, शनिबार १०:००