कांग्रेस र राजनीति
यतिबेला नेपाली कांग्रेस गाउँ पसेको छ । उसका लागि यो महामेला नै बनेको छ । कारण करिब ६ वर्षको अन्तरालमा कांग्रेसले नयाँ नेतृत्वका लागि तयारी गरिरहेको छ । अब उसले नयाँ नेतृत्व पाउनेछ । त्यसका लागि कार्यकर्ताहरूले मतदान गरिरहेका छन् । नेताहरू पुनः कार्यकर्ताहरूबाट अनुमोदित हुनका लागि प्रयासरत छन् भने कार्यकर्ताहरूले समेत आफ्नो नेता छान्ने अभियानमा जुटेका छन् । यतिबेला महाधिवेशन र केन्द्रीय नेतृत्वको निर्वाचनको पूर्वाभ्यासस्वरूप मुलुकको सबैभन्दा पुरानो दल नेपाली कांग्रेसभित्र गाउँ र नगर अधिवेशनहरू सम्पन्न भएका छन् । अब क्षेत्रीय र जिल्ला अधिवेशनहरू पनि हुँदैछन् । पार्टीका सदस्यहरूले यसमा मतदान गरेका छन् । उनीहरू विभिन्न गुट र उपगुट पनि देखापरेका छन्, तर ती गुट र उपगुट कुन सिद्धान्तका लागि या पक्ष विपक्षमा भइरहेका छन् कसैलाई कुनै जानकारी छैन । त्यसको स्पष्ट अर्थ हो–कांग्रेसको हरेक तहमा व्यक्तित्वको टकराव छ, र त्यो टकरावमा नीति र सिद्धान्त कहींकतै देखा पर्दैन । अर्थात् व्यक्तिवादले सिद्धान्त र नीतिलाई नराम्रोसँग परास्त गरेको छ । यो अस्वभाविक होइन । वास्तवमा २०४६ सालको जनआन्दोलनपछि कांग्रेस सत्ताको राजनीतिमा आयो र संस्थापनको रूपमा देखिन थाल्यो । पूरानो सङ्घर्ष र नीति सिद्धान्तमा आधारित राजनीतिबाट ऊ विमुख हुन थाल्यो ।
पार्टीमा आन्तरिक राजनीतिको न्यूनता या अनुपस्थितिले व्यक्तिवादी प्रवृत्ति हावी हुन थाल्यो । पार्टीभित्रको आन्तरिक प्रजातन्त्रको अभाव र दलभित्र व्यक्तिवादी राजनीति हावी हुँदा एकातिर राजनीतिक संस्कार र मूल्यमान्यता कमजोर हुन्छन् भने अर्कोतिर त्यसले चाकडी, चाप्लुसी तथा नातावाद र गुटवादमा आधारित राजनीतिलाई प्रोत्साहित गर्छ नै । कांग्रेसभित्र सदस्यतालाई लिएर सधैं किचलो हुने गर्छ । तर ती सदस्यहरू के का आधारमा बनेका छन् भन्नेबारे कुनै बहस हुन नसके पनि के निश्चित छ भने कांग्रेसको नीति र सिद्धान्तबाट आकर्षित भएर तिनीहरू सदस्य बनेका हैनन् । होला केही दुर्लभ अवस्थामा पार्टीभित्रका ऐतिहासिक व्यक्तित्वहरूलाई सम्झेर उनीहरूले पार्टीको सदस्यता लिएका हुन सक्छन् । तर अधिकांशले पार्टीको संस्थापन हैसियत या सत्तासँग जोडिएको हैसियतका कारण सदस्यता ग्रहण गरेका हुन् । त्यसैले उनीहरूको राजनीति भोलिका दिनमा जनमुखी र सङ्घर्षका आधारमा नभएर नेतामुखी र सत्तामुखी हुनेछ । वास्तवमा २०६३ पछि कांग्रेसले आफ्नो सिद्धान्त छोडेर एमाओवादीको एजेण्डा अपनाएकाले पनि उसको राजनीतिक हैसियत पहिलो पार्टीको भन्दा एमाओवादी पार्टीको अनुयायीका रूपमा स्थापित हुन गएको छ ।
कांग्रेसको अर्को महिना हुने आशन्न महाधिवेशनले उसको ऐतिहासिक हैसियत या मान्यता फर्कने कुनै सम्भावना देखिँदैन वास्तवमा । नेतृत्वले कार्यकर्तालाई प्रेरित गर्न असफल भएको छ । उत्तरदायित्वको राजनीतिलाई पूर्णरूपमा त्यागेकाले प्रजातन्त्रको मूल मर्म र मौलिक मान्यतालाई बिसाएको देखिन्छ उसले । कांग्रेसले उसको इतिहाससँग सामिप्य राख्ने कोशिस गरेन भने वर्तमान र भविष्य दुवै उसका रहने छैनन् । नेपाली राजनीतिमा कांग्रेस मूल धारमा नै रहेको छ । यद्यपि बेला–बेलामा पार्टीको आन्तरिक लोकतन्त्रको बारेमा बहस हुने गरेको छ । प्रजातन्त्रलाई मूलमन्त्र मानेको कांग्रेसको आन्तरिक पार्टीमा भने प्रजातन्त्रको अभ्यास कम हुने गरेको आरोप समेत लाग्ने गरेको छ । यस्तो अवस्थामा आउँदो महाधिवेशनबाट कस्तो नेतृत्व आउँला भन्ने चासो बढेको छ । कार्यकर्ताहरूले नयाँ नेतृत्व चयन गर्ने तयारी गरिरहँदा गाउँतहसम्म देखा परेका गुट तथा उपगुटहरूले पार्टीको आन्तरिक एकतामा कस्तो असर पार्ला । अर्कोतर्फ कांग्रेसको आन्तरिक कमजोरीले समग्र देशको राजनीतिलाई कहाँ लैजाला भन्ने पनि चिन्ता देखा परेको छ ।
साझा बिसौनी संवाददाता ।