‘मेरो उम्मेदवारी फिर्ता हुँदैन’

आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचन नजिकिदैं जाँदा सर्वत्र उम्मेदवारहरूको चर्चा सुरु भएको छ । यसैक्रममा वीरेन्द्रनगर नगरपालिकाको नगरप्रमुख (मेयर) पदका लागि वीरेन्द्रनगर–८ निवासी गेहेन्द्रप्रसाद दहालले स्वतन्त्र रूपमा उम्मेदवारी घोषणा गरेका छन् । शैक्षिक क्षेत्रमा उनी चर्चित व्यक्ति हुन् । २०२६ सालमा जन्मिएका दहाल २७ वर्ष लामो शिक्षण पेसाबाट राजनीतिमा आएका छन् । विद्यालयको प्रधानाध्यापकको भूमिकामा होस् वा अन्य भूमिकामा उनले आफ्नो कुशलता प्रदर्शन गरी धेरैको मन जित्न सफल भएका छन् । नेपाल जेसीजको राष्ट्रिय अध्यक्ष भइ अन्तर्राष्ट्रिय अवार्ड पाउन सफल उनी अन्य विभिन्न संघ–संस्थाको नेतृत्वमा समेत रहिसकेका छन् । नेतृत्व विकास सम्बन्धी अन्तर्राष्ट्रिय प्रशिक्षकसमेत रहेका दहालको उम्मेदवारी घोषणा यतिबेला वीरेन्द्रनगरमा चर्चाको विषय बनेको छ । यसै सन्दर्भमा रहेर हामीले उनीसँग कुराकानी गरेका छौं । प्रस्तुत छ, उक्त कुराकानीको सम्पादित अंशः

दुई दशकभन्दा लामो शिक्षण पेसाबाट एकाएक राजनीतिमा हामफाल्नु भयो, के कुराले प्रेरित गर्‍यो ?
अहिलेसम्म मैले जुन–जुन क्षेत्रमा बसेर काम गरें त्यहाँ मैले जहिले पनि विधि, प्रक्रिया र प्रणालीलाई प्राथमिकता दिएँ । र, त्यसरी काम गर्दा मैले जुन सफलता, आत्मसन्तुष्टी, समाजको माया र विश्वास आर्जन गरें । कम्तीमा मर्नुभन्दा अगाडि जीवनमा मैले अरुका लागि केही गर्नसकें, मानवहृदयका लागि केही गर्न सकें र समाजका लागि केही दिन सकें भनेर आफूलाई भाग्यशाली महसुस गर्ने काम गर्नुपर्छ भन्ने लागेर म समाजसेवाको जिम्मेवारीमा आफूलाई पूर्ण रूपमा समर्पित गरेको हुँ ।
वीरेन्द्रनगर नगरपालिकाको मेयर बन्ने मात्रै तपाईंको लक्ष्य हो कि दीर्घकालीन राजनीति गर्ने सोच छ ?
आफू आफ्नो खुट्टामा टेक्ने भइसकेपछि आफ्नो विवेकलाई प्रयोग गर्ने र त्यही अनुसारको व्यवहार अगाडि बढाउनुपर्दछ । मेरो प्राथमिकता पनि त्यही हो । त्यसैगरी यसअघि मैले जुन क्षेत्रमा जिम्मेवारी पाएँ र त्यो क्षेत्रमा मैले गरेका कामहरू कहिल्यै पनि पश्चाताप गर्नुपर्ने भएनन् । त्यसकारण, जुन मेयरको उम्मेदवारी प्रस्तुत गरेको छु यो मैले पद र पैसा प्राप्तीका लागि गरेको होइन । वीरेन्द्रनगर म जन्मिएको माटो हो । जन्मभूमि भनेको मेरो आमा हुन् । मैले मलाई जन्मदिने आमालाई जत्ति माया गर्छु, जति हेरविचार गर्छु त्यसैगरी म मेरो जन्मभूमि वीरेन्द्रनगरलाई पनि माया गर्छु । आफ्नो माटोको रक्षा गर्नु मेरो पनि कर्तव्य हो । त्यही कर्तव्य पूरा गर्नु नै मेरो उम्मेदवारीको अभिष्ट हो ।
नेपालमा बहुदल आएको २७ वर्ष भइसकेको छ तर सुर्खेतको अवस्था अहिले पनि अपेक्षाकृत रूपमा सुधार हुन सकिरहेको छैन । यसको मुहार फेर्ने सोच कसैमा आएन । यसअघि पनि पटक–पटक निर्वाचन भए । अहिलेसम्म जति पनि चुनावहरू भएका छन् त्यहाँबाट व्यक्तिले जित्ने परिपाटी बन्यो । व्यक्तिले जिते, उनीहरू बने तर हाम्रो समाज, हाम्रा वीरेन्द्रनगरबासीहरू जहाँको त्यहीं रहे । जनता हारिरहे । त्यसैले मेरो प्रमुख उद्देश्य भनेको वीरेन्द्रनगरलाई समृद्ध बनाउने, यहाँ नागरिकलाई सम्पन्न बनाउने नै हो । आफू जन्मिएको माटोप्रतिको जिम्मेवारी पूरा गर्ने प्रयासमा म लागेको हुँ । समृद्ध वीरेन्द्रनगर बनाउनु नै मेरो मुख्य अभिष्ट हो । यो अभिष्ट पूरा भइसके पछाडि अरु राष्ट्रिय दायित्वहरू आएछन् भने त्यो भोलिको कुरा हो । भविष्यमा हुने कुरामा मैले ठूलो अपेक्षा राखेको छैन । वीरेन्द्रनगरलाई पाँच वर्षभित्रमा पूर्ण रूपमा समृद्ध बनाउने नै मेरो मिसन, भिजन र लक्ष्य हो यसका लागि म सर्वश्व लगानी गर्छु । यदि बनाउन सकिनँ भने म अगाडिको राजनीति गर्दिनँ ।
तपाईंको उम्मेदवारी घोषणा अलि हतारमै भएन र ?
मलाई लाग्छ, मैले जीवनमा कुनै पनि निर्णय गर्दा हतारमा गरेको छैन । र, आज जुन निर्णय गरें त्यो पनि हतारमा होइन । उपयुक्त समयमा यो निर्णय गरेको छु भन्ने मलाई लाग्छ । मैले २७ वर्ष लामो शिक्षण पेसा छोड्ने बेलामा पनि म वीरेन्द्रनगर नगरपालिकाको मेयरको उम्मेदवार बन्छु भने घोषणा गरेको थिएँ, त्यतिबेलादेखि नै सिंगो समाजलाई म मेयरको उम्मेदवार हुँ भन्ने थाहा छ । म प्रष्ट पार्न चाहन्छु, मैले पदको लोभ गरेर उम्मेदवार बनेको होइन । पदको लोभ भएको भए म विद्यालयको प्रधानाध्यापकको स्थायी पद छोड्ने नै थिइनँ । स्थायी रूपमा म ६० वर्ष हुँदासम्म त्यो पदमा रहेर काम गर्न पाउँथे । मैले त्यो पद त्यागेर आएको छु । चाहेको भए आनन्दसँग जागिर गरेर बस्न सक्थें । तर हाम्रो समाज र यो वीरेन्द्रनगरको अहिले जुन कारुणिक अवस्था छ, यो अवस्था परिवर्तन गर्नका लागि म मेयरको उम्मेदवार बन्दै छु । यहीको बासिन्दा र एक चेतनशील व्यक्ति हुनुको नाताले वीरेन्द्रनगरको अव्यवस्थित अवस्थालाई व्यवस्थित गर्ने सोचका साथ म उम्मेदवार बन्दै छु । समाजप्रतिको मोह, माटोप्रतिको जिम्मेवारी र वीरेन्द्रनगरलाई समृद्ध बनाउने सपनाले मलाई अगाढि बढ्न प्रेरित ग¥यो । त्यसैले सोच र विचारका साथ म अघि बढेको हुँ ।


कतिपयले तपाईंको उम्मेदवारी घोषणालाई ‘बार्गेनिङ्ग’को रूपमा टिप्पणी गरिरहेका छन् नि ?

म सबैमा के प्रष्ट पार्न चाहन्छु भने, मैले आगो र माटोको कमस खाएको छु, मेरो उम्मेदवारी फिर्ता हुँदैन । त्यो कसम तोडें भने मैले बाँच्नुको अर्थ हुँदैन त्यसैले मेरो उम्मेदवारी फिर्ता हुने कल्पना पनि नगर्नुस् । तर मेरो अभिष्ट भनेकै त्यो जिम्मेवारीमा बसेर यो नगर बनाउनेबाहेक अरु केही पनि छैन । यसका लागि मैले त्यो पद जित्नैपर्छ । मप्रति यहाँका नागरिकहरूको विश्वास छ । मेरो विगतका काम हेरेर उहाँहरूले पत्याउनुभएको छ । २०३६ सालमा सुर्खेतमा पञ्चायत ढालेर बहुदलले जितेको स्थान हो यो । त्यसैले यहाँका नागरिकको चेतनाको स्तर धेरै माथि छ । त्यो चेतनास्तर भएका यहाँका नागरिकले न्यायिक निर्णय गर्नुहुन्छ भन्ने मलाई विश्वास छ । जनता नै न्यायाधीश हो । उहाँहरूले यसअघिका निर्वाचनमा गरेका फैसलाले उहाँहरूलाई निराश बनाएको छ, मेरो पक्षमा हुने फैसलाले निराश बनाउने छैन यो मेरो प्रतिबद्धता हो । जनताको विश्वासका आधारमा अघि बढेको छु त्यसैले मलाई बार्गेनिङ्ग गर्नुछैन ।
नेपाली कांग्रेस पार्टीको सदस्यता परित्याग गरेको घोषणा गर्नुभयो, तर मेयरको टिकट पाएमा पार्टीमै फर्किने सम्भावना कत्तिको रहन्छ ?
म के निवेदन गर्न चाहन्छु भने, नेपाली कांग्रेस होस् वा नेकपा एमाले होस् या त राष्ट्रिय प्रजातन्त्र पार्टी होस् वा अन्य कुनै पनि पार्टीले मलाई स्वीकार्छ भने, म योग्य छु भन्ने ठान्छ र समाजले पनि मलाई स्वीकार्छ भने जुनसुकै दलमा पनि आवद्ध हुन मलाइ आपत्ति छैन । किनभने यो दलीय व्यवस्था भएको मुलुकमा स्वतन्त्र रूपमा उम्मेदवार बन्न निकै चुनौतीपूर्ण छ भन्ने कुरा मैले राम्रोसँग बुझेको छु । म शिक्षण पेसाबाट राजनीतिमा आएको व्यक्ति हुँ । मसँग कुनै निश्चित संगठन छैन र सम्पत्ति पनि छैन । संगठन र सम्पत्ति विना निर्वाचन जित्नु कठिन छ, त्यो कुरा मलाई राम्रोसँग थाहा छ । त्यसैले स्वतन्त्र रूपमा जुन उम्मेदवारी प्रस्तुत गरेको छु यो मेरो आफ्नो परीक्षण हो । समाजले मलाई कसरी हेर्छ, मप्रति उहाँहरूको विश्वास कत्तिको छ, मेरो अहिलेसम्मको सामाजिक मूल्यांकन के हो भनेर जान्नको लागि पनि मैले उम्मेदवारी घोषणा गरेको छु । तर दलीय व्यवस्था भएको मुलुकमा दलसँग आवद्ध भएर जाने कुरामा पनि आपत्ति छैन । किनभने दलले होइन दलबाट प्रतिनिधित्व गर्ने व्यक्ति, उसको विचार र योजनाले नगरपालिका समृद्ध बनाउने हो ।
वीरेन्द्रनगरबासीलाई तपाईंलाई नगरपालिकाको मेयरमा किन जिताउने ?
राजनीतिको अर्थ समाजसेवा हो । म राजनीतिलाई स्वार्थविनाको समाजसेवा बनाउन चाहन्छु । त्यही समाजसेवा गर्नका लागि अघि सरेको हुँ । मसँग दुई दशकभन्दा लामो शिक्षण अनुभव छ । सोही क्रममा मैले हाम्रो समाज, समाजमा बस्ने नागरिकहरूको अपेक्षा, चिन्तन लगायतका कुराहरूलाई नजिकबाट बुझेको छु । १७ वर्षसम्म विद्यालयको प्रधानाध्यापक बनेर सफल नेतृत्व गरिसकेको छु । विभिन्न सामाजिक संघ–संस्थाहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नेतृत्व गरेको अनुभव मसँग छ । प्रशासनिक कार्यअनुभव पनि मसँग छ । शैक्षिक योग्यतामा पनि कमी छैन । वीरेन्द्रनगरको समग्र विकास र समृद्धिको योजना मसँग छ । अब यसको कार्यान्वयनका लागि म पदमा पुग्न जरुरी छ । त्यसैले वीरेन्द्रनरबासीले मलाई जिताउन जरुरी छ । म व्यक्तिले जित्ने होइन, यो समाजलाई जिताउन चाहन्छु । जीवन छोटो छ, समय बिताउने र गफ गर्न म राजनीतिमा आएको होइन । अरुलाई बिगारेर आफू बन्न नभइ नगरपालिका र नगरबासीलाई बनाउने समाजसेवामा आफूलाई समर्पण गरेको छु । त्यसकारण पनि वीरेन्द्रनगरबासीले मलाई जिताउनुहुन्छ भन्ने अपेक्षा गरेको छु ।
यदि तपाईं मेयर बनेमा वीरेन्द्रनगरलाई कस्तो बनाउने परिकल्पना गर्नुभएको छ ?
तपाईं हामी सबैले देखेकै छौं वीरेन्द्रनगरको अहिलेको अवस्था कस्तो छ भनेर । प्रदेश नम्बर ६ को राजधानी प्रस्ताव गरिरहँदा हामीले हाम्रो पूर्वाधारको अवस्था राम्रोसँग अध्ययन गर्न जरुरी छ । सदरमुकाम वीरेन्द्रनगर बजार क्षेत्रकै सडकहरू जीर्ण अवस्थामा छन् । फोहोर व्यवस्थापन हुन सकिरहेको छैन । खानेपानीको अभाव छ । सुकुम्बासी समस्या कायमै छ । बाढीपीडितहरू अहिलेसम्म पनि अस्थायी त्रिपालमुनी बसिरहेका छन् । नगरपालिकाकै सबै क्षेत्रमा हालसम्म बिजुली बत्ती पुग्नसकेको छैन । वीरेन्द्रनगर नगरपालिका र उपत्यका नगरविकास समिति अन्तर्गत रहेका सरकारी जमिनलाई आफ्नो पैतृक सम्पत्ति जस्तो गरेर भागवण्डा गरिएको छ । यी सबै समस्याका समाधान गर्नु मेरो प्राथमिकता हुनेछ । वीरेन्द्रनगर नगरपालिकालाई उपमहानगरपालिका बनाउने मेरो लक्ष्य हो । वीरेन्द्रनगरलाई सुविधा सम्पन्न र मुलुककै नमुना नगर बनाउने सोच र योजना मसँग छ ।
तपाईंले भने जस्तै वीरेन्द्रनगर बनाउन त्यति सजिलो छ र ?
पक्कै पनि सजिलो छैन । तर असम्भव पनि छैन । संविधानले अहिले स्थानीय तहलाई थुप्रै अधिकार दिएको छ । त्यो अधिकारको उपयोग गर्नसक्ने, सक्षम र योग्य नेतृत्व नगरपालिकालाई चाहिएको छ । वीरेन्द्रनगरलाई समृद्ध बनाउन सकिने थुप्रै सम्भावनाहरू पनि छन् । काँक्रेविहार, बुलबुले, देउतीबज्यै जस्ता पर्यटकीय स्थलहरू हामीसँग छन् । तिनको संरक्षण र प्रचार–प्रसारमा मात्रै ध्यान दिने हो भने आन्तरिक तथा बाह्य पर्यटकहरूको ओइरो लाग्नेछ र आम्दानीको स्रोत बढ्नेछ । औद्योगिक विकासका लागि अन्तर्राष्ट्रिय लगानी भिœयाउन सकिने पर्याप्त आधारहरू छन् । गुरुयोजना बनाएर त्यसलाई कार्यान्वयन गर्ने हो भने पाँच वर्षभित्रमा वीरेन्द्रनगरलाई साँच्चिकै नमुना, सुन्दर र समृद्ध बनाउन सकिन्छ । त्यो विश्वास मसँग छ ।


युवाहरू, जो मुलुकका भविष्य हुन् । उनीहरूका समस्या सम्बोधन कसरी गर्नुहुन्छ ?
पक्कै पनि युवाहरूको समस्या मेरो प्राथमिक योजना हो । किनभने मैले युवाहरूका समस्यालाई निकै नजिकबाट नियालेको छु, बुझेको छु । हजारौं युवाहरू आवद्ध रहेको नेपाल जेसीज जस्तो संस्थाको राष्ट्रिय नेतृत्व मैले गरिसकेको छु । अबको राजनीति युवाहरूमा केन्द्रित हुनुपर्छ भन्ने मान्यता राख्दछु । किनभने युवाहरूको भविष्य धेरै बाँकी छ । युवाहरूको विचार नै मेरो विचार हो । म नगरपालिकालाई युवाहरूको दृष्टिकोणबाट नै सञ्चालन गर्न चाहन्छु । युवाहरूको भविष्यलाई केन्द्रमा राखेर प्रौढहरूको अनुभव र विशेषज्ञतालाई पनि नगरपालिकाको विकासमा जोड्नु मेरो उद्देश्य हो ।
अन्त्यमा, केही भन्न चाहनुहुन्छ ?
अब हुने स्थानीय तहको निर्वाचनमा पार्टीको विचार हेरेर मतदान गर्नुभन्दा संविधानले दिएको अधिकारलाई उपयोगमा ल्याउन सक्ने योग्य व्यक्ति छनौट गर्न म नगरबासीहरूमा आग्रह गर्दछु ।