विपन्नलाई शिक्षा दिने आवासीय विद्यालय

 

 

जुम्ला: वरिपरि घना जंगल, बिचमा सुन्दर चोत्रा गाउँ । अनि गाउँ छिचोल्दै अघि बढेको छ, डोल्पा हुँदै मनाङ–मुस्ताङ जोडिने सडक । भोजपत्र, निगालो र कोणधारी वनले घेरिएको शान्त र सुन्दर चोत्रा गाउँको बिचमा विद्यार्थी पढ्न तल्लिन छन् । विगत एक वर्ष अघिसम्म सुनसान हुने चोत्रा गाउँको हिमाली रम्बा आवासीय विद्यालयमा अहिले विद्यार्थी भरिभराउ छन् । पहिले वर्षभरि मुस्किलले पाँच जना विद्यार्थी पढ्ने यो विद्यालयमा अहिले कक्षा १ देखि ५ सम्म ४३ जना विद्यार्थीले अध्ययन गरिरहेका छन् ।

संघीयता कार्यान्वयनमा आएपछि स्थानीय तहमा केही असल अभ्यास पनि भइरहेका छन् । जुम्लाको गुठिचौर–१ चोत्रा गाउँको हिमाली रम्बा आवासीय विद्यालय यसको एक उदाहरण हो । शिक्षामा विपन्न र टुहुरा बालबालिकाको पहुँच सुनिश्चित गर्ने उद्देश्य राखेर आवासीय विद्यालय सञ्चालनमा ल्याइएको छ । जुम्लाको दुर्गम मानिने गुठिचौर–१ र २ का ९ विभिन्न गाउँका विपन्न तथा टुहुरा बालबालिकाले यो विद्यालयमा अध्ययन गर्न पाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अंगत रोकायाले बताए ।

गुठिचौर गाउँपालिकाको सिरानमा पर्ने दुई वटा वडामा नौ वटा गाउँ छन् । जुम्ला खलंगाबाट निकै टाढा रहेका गुठिचौर–१ र २ नम्बर वडाका बस्तीको जीविका पशुपालन र जडिबुटिले धानिएको छ । गाउँमा जडिबुटि संकलनको समय आउँदा विपन्न र टुहुरा बालबालिका गोठालो लाग्थे । ‘लालनपालन गरिदिने आश्वासनमा बालबालिकालाई घरायसी काममा लगाइन्थ्यो । उनीहरू अहिले गाउँकै हिमाली रम्बा आवासीय विद्यालयमा पढिरहेका छन्’ विव्यस अध्यक्ष रोकायाले भने ।

विपन्न र टुहुरा बालवालिकालाई शिक्षाको पहुँचमा ल्याउन आवासीय विद्यालय सञ्चालनमा ल्याइएको हो । २०३२ सालमा स्थापना भएको यो विद्यालयले शैक्षिक गुणस्तको लय समात्न पाँच दशक लाग्यो । अहिले वडा पालिका, अभिभावक, विद्यार्थी सबैको चासोमा विद्यालय चलायमान देखिएको प्रधानाध्यापक जयबहादुर थापाले जानकारी दिए । ‘दुर्गम यो क्षेत्रमा शिक्षाको अवस्था नाजुक छ, शिक्षाकै कारण यहाँका नागरिक धेरै अवसरबाट वञ्चित भएको महशुस भएपछि विद्यालयलाई व्यवस्थित बनाउने र बालबालिकालाई औपचारिक शिक्षामा जोड्ने चेत पलाएको छ’ प्रअ थापाले भने ।

अशिक्षा र गरिबीको भारीले थिचिएका स्थानीय विगत सम्झदा मन दुख्ने बताउँछन् । विकट भौगोलिक अवस्था, प्रतिकूल मौसम, विपन्नता र प्राकृतिक विपद्जन्य घटनाका कारण यो भेकका थुप्रै बालबालिका पढाइबाट वञ्चित हुँदै आएका थिए । तर वडा पालिकाले विद्यालय आवासीय बनाइदिएपछि शिक्षा आर्जनमा अविभावक र विद्यार्थीको मन लगाएका छन् ।

हिमाली जिल्ला जुम्लाका धेरैजसो पालिकाहरूले स्थानीय शिक्षा योजना बनाएका छैनन् । गुठिचौर–१ चोत्रामा पिछडिएको समुदायका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन गत वर्षबाट आवासीय विद्यालय सञ्चालनमा ल्याइएको छ । जीर्ण भवन भत्काएर पालिकाको ५० लाख बजेटमा चार कोठे भवन, शौचालय, भान्सा निर्माण भइरहेको छ भने भाडाको घरबाटै आवासीय विद्यालय सञ्चालन भइरहेको गुठिचौर–१ का अध्यक्ष अर्जुन कुमार महताराले बताए । ‘तत्कालिन व्यवस्थापनमा वडाले आवश्यक सहयोग गरेको छ, यहाँको मुख्य समस्या समाधान गर्न तत्कालै स्थानीय टेकबहादुर महताराको घर भाडामा लिएर आवासीय विद्यालय सञ्चालन गर्न सफल भयौँ’ वडा अध्यक्ष महताराले भने, ‘चुनौति धेरै थियो, तर जहाँ इच्छा, त्यहाँ उपाय ।’

निर्वाचनका बेला शिक्षा क्षेत्रमा काम गर्ने बचन दिएको स्मरण गर्दै वडा अध्यक्ष महताराले पहिलो परिवर्तन शिक्षाबाटै सुरु गरिएको बताए । स्थानीय तहले नै २३ जना विपन्न र टुहुरा बालबालिकालाई गास, बास र कपाससहितको सम्पूर्ण रेखदेख गरिरहेको उनले जानकारी दिए । पाँच दशक अघि स्थापना भएको विद्यालयले गत वर्ष मात्रै आफ्नो पहिलो वार्षिक उत्सव मनाएको छ । यसबाटै यो क्षेत्रमा शिक्षाको इतिहास कस्तो थियो भनेर झल्किन्छ ।

२०७९ सालको निर्वाचनपछि वडाले छात्रबाससहितको स्कुल बनाउने गरी कार्यविधि बनाइ त्यसको सफल कार्यान्वयन गराएको छ । बन्द हुने स्थितिमा पुगेको विद्यालय अहिले यो क्षेत्रका विपन्न र टुहुरा बालबालिकाका लागि शैक्षिक गन्तव्य बन्न सफल भएको छ । यद्यपि, यसको दिगोपना र व्यवस्थापनमा भने सरोकारवालाले ध्यान दिन आवश्यक छ । विद्यालयले विपन्न र टुहुरा बालबालिकाको दिगो व्यवस्थापनमा कठिनाइ आइरहेकोले सबैलाई सहयोगको अपिलसमेत गरेको छ ।

 

 

प्रकाशित मितिः   २७ जेष्ठ २०८१, आईतवार १४:५७