अझैं दर्जन बढी शिक्षक काजमा

सुर्खेत, १३ चैत ।
गाउँमा दरबन्दी भए पनि अधिकांश शिक्षकहरू शक्ति र पहुँचको भरमा सदरमुकाममा बस्दै आएका छन् । जिल्ला शिक्षा कार्यालयले तत्काल आफ्नो दरबन्दी भएकै स्थानमा फिर्ता हुन निर्देशन दिँदासमेत शिक्षकहरूले अटेर गरेका हुन् । अहिले पनि गाउँमा दरबन्दी भएका जिल्लाका दर्जन भन्दा बढी शिक्षकले सदरमुकाम वीरेन्द्रनगरकै विद्यालयमा हाजिर लगाइरहेका छन् ।
शिक्षा कार्यालयले केही महिना अघि जिल्लालाई शिक्षक काजमुक्त बनाउने घोषणा गरेको थियो । सोही घोषणा अनुसार कार्यालयले सदरमुकाममा बस्दै आएका शिक्षकलाई तत्काल दरबन्दी भएको विद्यालयमा फर्कन निर्देशन दियो । कार्यालयको उक्त निर्देशन लत्याउँदै केही शिक्षकहरूले अहिले पनि सदरमुकाम भित्रकै विद्यालयमा हाजिर लगाउँदै आएका हुन् । पहुँचको
भरमा शिक्षकहरूले सदरमुकाम नछोडेपछि गाउँमा शिक्षकको
अभाव छ । यता सदरमुकाममा भने दरबन्दी भन्दा बढी शिक्षक हुँदा विद्यालयमा व्यवस्थापन गर्न हम्मेहम्मे भइरहेको छ ।
शिक्षा कार्यालयका अनुसार अहिले जिल्लामा १४ जना शिक्षक काजमा छन् । उनीहरू सबैको दरबन्दी गाउँमा छ । तर ती शिक्षकहरूले भने सदरमुकाम छोड्न मानेका छैनन् । जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहले कार्यालयमा हाजिर भएलगत्तै जिल्लालाई नै शिक्षक काजमुक्त बनाउने अभियान थालेका थिए । सोही अभियान अन्तर्गत हालसम्म सदरमुकाममा बस्दै आएका २० जना शिक्षक गाउँमा रहेको आफ्नै दरबन्दीमा फर्किएका छन् । यसअघि उनीहरू पहुँचको भरमा सदरमुकामका सुविधायुक्त विद्यालयमा काजमा थिए । शिक्षा कार्यालयका सूचना अधिकारी भोजप्रसाद लम्सालका अनुसार अझैं १४ जना शिक्षक काजमा छन् । उनले भने, ‘हामीले निर्देशन दिएपछि २० जना गाउँ फिर्ता भएका छन्, अहिले पनि केही शिक्षकले अटेर गरेका छन् । उनीहरूको दरबन्दी पनि गाउँमै छ, तर सदरमुकाममा हाजिर लगाइरहेका छन् ।’
पहुँच र शक्तिको आडमा शिक्षकहरू सदरमुकाममै बस्दा गाउँका विद्यालयमा शिक्षकको अभाव हुने गरेको शिक्षा कार्यालयको भनाइ छ । यसले गाउँका विद्यालयमा शैक्षिक गुणस्तर खस्कदै गएको भन्दै कार्यालयले चिन्तासमेत व्यक्त गरेको हो । सदरमुकाम बाहिर दरबन्दी भएका शिक्षक शिवप्रसाद उपाध्याय, खुमाकुमारी गौतम, नन्दादेवी अर्याल, गौमाया फौंजा, चेतकुमारी गौली, शकुन्तला ढकाल र डिलसरा विकले सदरमुकामका विद्यालयमा हाजिर लगाइरहेका छन् । उनीहरूले गाउँ जान मानेका छैनन् । यस्तै अनिता खड्का, दुर्गा केसी, जानकी ढकाल, मीना रावल, निर्मला खड्का र जगतकुमारी बडुवालको दरबन्दी पनि गाउँकै विद्यालयमा छ । यद्यपि उनीहरूले पनि शिक्षा कार्यालयको निर्देशन अटेर गर्दै सदरमुकाममै हाजिर लगाइरहेका छन् । काजमा रहेका शिक्षकहरूमध्ये कोही आफै शिक्षकका नेता हुन् भने कोही राजनीतिक दलका नेताका आफन्त रहेको स्रोतले जानकारी दिएको छ । राजनीतिक दल, शिक्षक संगठन र उच्च तहका कर्मचारीहरूकै दबाब र भनसुनको आधारमा शिक्षकहरू दरबन्दीमा नगएर सदरमुकाममा बस्दै आएका हुन् ।
जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहले कुनै पनि हालतमा जिल्लालाई शिक्षक काजमुक्त बनाएरै छोड्ने बताए । उनले भने, ‘हामी अभियानमा धेरै सफल भइसक्यौं, अब बाँकी शिक्षकलाई पनि काजमुक्त गर्नेछौं । जसले हाम्रो निर्देशन अटेर गर्छन्, उनीहरूले सजाय भोग्नुपर्नेछ ।’ उनले काजमा रहेका शिक्षकहरू दरबन्दी भएको विद्यालयमा फिर्ता नभए त्यहाँ नयाँ शिक्षक नियुक्त हुने जानकारी दिए । काजले गर्दा जिल्लाको शैक्षिक गुणस्तरमा नै असर पुगेको भन्दै उनले अब दरबन्दी भएको विद्यालयमा नजाने शिक्षकले सजाय भोग्नुपर्ने चेतावनी दिए । ‘दरबन्दी गाउँमा छ, शिक्षकलाई सदरमुकाम प्यारो भयो’ उनले थपे, ‘अब हामी यसो हुन दिँदैनौं, काजमा रहेका सबैलाई दरबन्दीमा फिर्ता गर्नेछौं । जसले अटेर गर्छन्, उनीहरूले त्यसको परिणाम भोग्नेछन् ।’ नियम सबैले मान्नुपर्ने भन्दै उनले अब पहुँच र शक्तिको भरमा कसैले पनि पदको दुरूपयोग र सुविधा भोग गर्न नसक्ने बताए ।
यता नेपाल शिक्षक महासंघले पनि शिक्षक काजमुक्त अभियानलाई आफूहरूले साथ दिने जनाएको छ । महासंघ सुर्खेतका सचिव कृष्णबहादुर थापाले भने, ‘जिल्लाको शैक्षिक गुणस्तर सुधारमा हामी प्रतिबद्ध छौं, शिक्षकलाई दरबन्दीमै फर्काउने अभियानमा हाम्रो साथ र सहयोग रहनेछ ।’ शिक्षक संगठनहरूकै दबाबमा काजमुक्त अभियान प्रभावकारी नभएको भन्ने आरोप अस्वीकार गर्दै उनले जिल्लाको शैक्षिक गुणस्तर सुधारका लागि सहकार्य गर्न तयार रहेको उल्लेख गरे । जिल्लालाई शिक्षक काजमुक्त बनाउने अभियान सफल पार्न आफूहरूले सहयोग गर्ने उनको भनाइ छ । शिक्षक काजमुक्त बनाउन सकेमा मात्र जिल्लाको समग्र शैक्षिक गुणस्तर वृद्धिमा टेवा पुग्ने निश्कर्ष शिक्षा कार्यालयको छ ।

प्रकाशित मितिः   १४ चैत्र २०७३, सोमबार १६:०६