प्रत्यक्ष निर्वाचनमा युवाहरूको उम्मेदवारी

 

वर्तमान समाजमा महिला तथा युवाहरूको राज्य संयन्त्रका सबै तहमा सहभागिताको सुनिश्चितताको लागि विभिन्न संगठनलगायत उनीहरू आफैले पनि वकालत गर्दै आएका छन् । फलस्वरूप पछिल्लो समय संविधान सभा निर्वाचनमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित र युवाहरूको संलग्नतामा वृद्धि भएको छ । निर्वाचन प्रणालीमा समानुपातिक निर्वाचन प्रणाली लागू गरी समावेशी सहभागिता सुनिश्चित भएको भएपनि प्रत्यक्ष निर्वाचनमा भने युवाहरूलाई नजरअन्दाज गर्ने गरिएको छ ।

नेपालमा २०७९ मा भएको स्थानीय निर्वाचन र आम निर्वाचनमा युवा सहभागितामा उल्लेखनीय वृद्धि भएको थियो । उक्त निर्वाचनबाट धेरै युवाहरू निर्वाचित भए र ४५ वर्ष मुनिका ६३ सांसद प्रतिनिधित्व संसदमा छ । वि.सं. २०७४ को निर्वाचनको तुलनामा यो वृद्धि उल्लेखनीय हो । २०७४ सालको निर्वाचनबाट २७५ सदस्यीय प्रतिनिधि सभाका लागि ४५ निर्वाचित युवा सांसदहरू निर्वाचित भएका थिए । यो वृद्धिले नेपालको राजनीतिक परिदृश्यलाई आकार दिन युवाहरूको बढ्दो प्रभावको रूपमा लिन सकिन्छ । राजनीतिक विषयको बढ्दो सचेतना, सामाजिक सञ्जालमार्फत् राजनीतिक सचेतनामा भएको बढोत्तरी र परिवर्तनको लागि युवा पुस्ताको चाहनासहित धेरै कारणहरूले गर्दा राजनीतिमा युवा सहभागिता बढिरहेको छ । युवा मतदाताहरूले स्थापित ठूला नेताहरू विरुद्ध ‘नो, नट अगेन’ अभियान चलाएर देशको राजनीतिक विकासमा प्रभाव पार्ने आफ्नो मनसायलाई संकेत गरेर आफ्नो उत्साह बढाइरहेका छन् । निर्वाचनले नेपालको राजनीतिक क्षेत्रमा प्रमुख युवा नेताहरूको उदयको बाटो पनि प्रशस्त गरेको छ ।

नेपालको संविधानअनुसार संघीय संसद् र प्रदेशसभाका उम्मेदवार हुन कम्तिमा २५ वर्ष उमेर पुरा भएको हुनुपर्दछ । त्यस्तै स्थानीय तहको उम्मेदवार हुन कम्तीमा २१ वर्ष उमेर पुरा भएको हुनुपर्दछ । नेपालमा आम निर्वाचनमा मत दिन भने १८ वर्ष पूरा भएको हुनुपर्दछ । यस आलेखमा युवा भनेर उम्मेदवार हुन योग्य उमेर पुरा भएको र ४० वर्ष मुनिका व्यक्तिहरूलाई मानिएको छ ।

 

  • संघीय सांसदमा कर्णालीका युवाहरूको उम्मेदवारी

प्रतिनिधि सभा सदस्य निर्वाचन–२०७९ मा कर्णालीबाट उमेरको दृष्टिकोणले हेर्ने हो भने ४० वर्ष मुनिको उमेर समूहका उम्मेदवारहरू मध्ये नेपाली कांग्रेस र नेकपा (एमाले)बाट एक जना पनि थिएनन् भने नेकपा (माओवादी केन्द्र) बाट एक, राष्ट्रिय स्वतन्त्र पार्टीबाट तीन, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट तीन, स्वतन्त्रबाट तीन र अन्य पार्टीबाट पाँच गरी जम्मा १५ जनाको उम्मेदवारी दर्ता भएको देखिन्छ । त्यस्तै ४१ देखि ६० उमेर समूहमा नेपाली कांग्रेसबाट दुई जना, माओवादी केन्द्रबाट चार जना, एमालेबाट १०, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ३, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ६, स्वतन्त्रबाट सात र अन्य पार्टीबाट ११ गरि जम्मा ४३ जनाको उम्मेदवारी दर्ता भएको देखिन्छ । त्यस्तै ६१ भन्दा माथिका उमेर समुहमा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीबाट कुनै पनि उम्मेदवार दर्ता भएनन् भने नेपाली कांग्रेसबाट दुई जना, नेकपा एमालेबाट दुई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट तीन, स्वतन्त्रबाट तीन र अन्य पार्टीबाट ६ जना गरि जम्मा १६ जनाको उम्मेदवारी दर्ता भएको देखिन्छ ।

यसरी हेर्दा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०७९ मा प्रत्यक्ष निर्वाचनमा ४० वर्ष मुनिको उमेर समूहका उम्मेदवार २०.३ प्रतिशत, ४१ देखि ६० वर्षका ५८.१ प्रतिशत र ६१ वर्ष भन्दा माथिको उम्मेदवार २१.६ प्रतिशत रहेका थिए ।

 

  • प्रदेशसभा सदस्यमा युवाहरूको उम्मेदवारी

कर्णाली प्रदेशसभा सदस्य निर्वाचन–२०७९ मा प्रत्यक्षतर्फको निर्वाचनतर्फ ४० वर्ष मुनिको उमेर समूहका उम्मेदवारहरूमध्ये माओवादी केन्द्रबाट एक जना पनि उम्मेदवार थिएनन् भने नेपाली कांग्रेसबाट एक जना, नेकपा एमालेबाट दुई जना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ६ जना, स्वतन्त्रबाट तीन र अन्य पार्टीबाट सात गरी जम्मा १९ जनाको उम्मेदवारी दर्ता भएको थियो । त्यस्तै ४१ देखि ६० उमेर समूहमा नेपाली कांग्रेसबाट आठ जना, माओवादी केन्द्रबाट १० जना, नेकपा एमालेबाट १८ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट १२ जना, स्वतन्त्रबाट सात र अन्य पार्टीबाट १९ गरि जम्मा ७४ जनाको उम्मेदवारी दर्ता भएको थियो । त्यस्तै ६१ भन्दा माथिका उमेर समूहमा माओवादी केन्द्रबाट कुनै पनि उम्मेदवारी दर्ता भएन भने नेपाली कांग्रेसबाट तीन जना, नेकपा एमालेबाट चार जना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पाँच जना, स्वतन्त्रबाट पाँच र अन्य पार्टीबाट ६ जना गरी जम्मा २३ जनाको उम्मेदवारी दर्ता भएको देखिन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेशको निर्वाचनमा भाग नै लिएन ।

कर्णाली प्रदेश सभा सदस्य निर्वाचन–२०७९ मा प्रत्यक्षतर्फ कुल उम्मेदवारमध्ये ४० वर्ष मुनिको उमेर समुहका १६.४ प्रतिशत, ४१ देखि ६० उमेर समूहका ६३.८ प्रतिशत र ६१ भन्दामाथिका १९.८ प्रतिशत रहेको देखिन्छ ।

 

स्थानीय तहको निर्वाचनमा युवाहरूको उम्मेदवारी

१‍. पालिका प्रमुख/अध्यक्षतर्फ

स्थानीय तह निर्वाचन–२०७९ मा कर्णाली प्रदेशमा स्थानीय तहका प्रमुख तथा अध्यक्षका लागि भएको उम्मेदवारीलाई उमेरको दृष्टिकोणले हेर्ने हो भने ४० वर्ष मुनिको उमेर समूहका उम्मेदवारहरूमध्ये माओवादी केन्द्रबाट १७ जना, नेपाली कांग्रेसबाट २० जना र नेकपा एमालेबाट १६ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट १६, स्वतन्त्रबाट २५ र अन्य पार्टीबाट ३७ गरी जम्मा एक सय ३१ जनाको उम्मेदवारी दर्ता भएको देखिन्छ ।

त्यस्तै ४१ देखि ६० उमेर समूहमा नेपाली कांग्रेसबाट ४० जना, माओवादी केन्द्रबाट ३३ जना, नेकपा एमालेबाट ४७ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २५ जना, स्वतन्त्रबाट २६ र अन्य पार्टीबाट ३६ गरी जम्मा २२२ जनाको उम्मेदवारी दर्ता भएको थियो । ६१ भन्दा माथिका उमेर समूहमा माओवादी केन्द्रबाट तीन, नेपाली कांग्रेसबाट चार, नेकपा एमालेबाट चार, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट १० र स्वतन्त्रबाट पाँच र अन्य पार्टीबाट १० जना गरी जम्मा ३६ जनाको उम्मेदवारी दर्ता भएको देखिन्छ ।

यस निर्वाचनमा स्थानीय तहको प्रमुख पदमा उम्मेदवारी उमेद्वारी दर्ता गराउनेमा ४० वर्ष मुनिको उमेर समूहका ३३.७ प्रतिशत, ४१ देखि ६० उमेर समूहका ५७.१ प्रतिशत र ६१ भन्दा माथिका उमेर समूहका ९.३ प्रतिशत रहेका थिए ।

 

२. पालिका उपप्रमुख/उपाध्यक्षतर्फ

स्थानीय तह निर्वाचन–२०७९ मा कर्णाली प्रदेशमा स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षका लागी भएको उम्मेदवारीलाई उमेरको दृष्टिकोणले हेर्ने हो भने ४० वर्ष मुनिको उमेर समूहका उम्मेदवारहरूमध्ये माओवादी केन्द्रबाट ३३ जना, नेपाली कांग्रेसबाट ३५ जना, नेकपा एमालेबाट ३३ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २३ जना, स्वतन्त्रबाट २० जना र अन्य पार्टीबाट ५० जना गरी जम्मा १९४ जनाको उम्मेदवारी दर्ता भएको देखिन्छ । त्यस्तै ४१ देखि ६० उमेर समूहमा नेपाली कांग्रेसबाट २० जना, माओवादी केन्द्रबाट १७ जना, नेकपा एमालेबाट ३७ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २२ जना, स्वतन्त्रबाट १६ जना र अन्य पार्टीबाट २५ जना गरि जम्मा एक सय ४० जनाको उम्मेदवारी दर्ता भएको थियो । त्यस्तै ६१ भन्दा माथिका उमेर समूहमा माओवादी केन्द्रबाट एक जना, नेपाली कांग्रेसबाट एक जना, नेकपा एमालेबाट दुई जना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट तीन जना, स्वतन्त्रबाट ६ र अन्य पार्टीबाट दुई जना गरी जम्मा १५ जनाको उम्मेदवारी दर्ता भएको थियो ।

यस निर्वाचनमा कर्णाली प्रदेशका स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षका लागि भएको उम्मेदवारीलाई उमेरको दृष्टिकोणले हेर्दा ४० वर्ष मुनिको उमेर समूहका उम्मेदवारहरू ५५.६ प्रतिशत रहेका थिए भने ४१ देखि ६० उमेर समूहका ४०.१ प्रतिशत र ६१ भन्दा माथिका ४.३ प्रतिशत उम्मेदवार रहेको देखिन्छ । यो तथ्यांकले के देखाउँछ भन्ने स्थानीय तहको उपप्रमुख पदमा युवा उम्मेदवारी धेरै नै हुने गरेको छ ।

 

निष्कर्ष

प्रत्यक्ष निर्वाचनमा युवाहरूको प्रतिनिधित्व बढाउनको लागि समाज राज्य र व्यक्ति स्वयम् नै लाग्नु पर्छ । राजनीतिक दलदेखि नीति निर्माताहरूले समावेशितालाई मध्यनजर गर्दै उम्मेदवारी दिनु पर्छ । प्रत्यक्ष निर्वाचनमा युवाहरूको प्रतिनिधित्व बढाएमा यसले नीति निर्माणमा यी समुदायको अर्थपुर्ण सहभागितालाई योगदान गर्दछ । नेपालमा एकै व्यक्ति पटकपटक चुनाव लड्ने र युवाहरूले आम निर्वाचनमा मौका नै नपाउने परिस्थिति छ । यसले युवाहरूलाई राजनीतिमा निरुत्साहित गर्दछ । युवाहरूले नेपाली राजनीतिक प्रणालीलाई नयाँ दिशा दिन सक्छन् र नेपाली जनताको आवश्यकताहरूलाई पूरा गर्न सक्छन् भन्ने आशा सबैमा जगाउनको लागि समेत प्रत्यक्ष निर्वाचन प्रणालीमा युवा सहभागिता बढाउन आवश्यक छ ।

राजनीतिक प्रणालीलाई प्रतिनिधिमूलक बनाउन राज्य सञ्चालन प्रक्रियामा समाजका सबै समावेश हुनुपर्छ । जब युवाहरू राजनैतिक प्रक्रियाबाट वञ्चित वा बहिष्कृत हुन्छन्, तब मुलुकका मुलधारमा रहेका व्यक्तिहरूलाई पायक पर्ने निर्णयमा कमी आउँछ र उनीहरूको आवाजको सुनुवाई हुँदैन । राजनीतिमा युवाहरूको प्रभावकारी हस्तक्षेप हुनको लागि समेत आम निर्वाचनमा युवाहरूलाई प्रोत्साहन गर्न जरुरी छ ।

(यो आलेख ऋति फाउन्डेसनको पछिल्लो अध्ययन ‘प्रत्यक्ष निर्वाचनमा महिला, युवा एवम् सिमान्तकृत समुदायको प्रतिनिधित्वः कर्णाली प्रदेशको एक अध्ययन’ को आधारमा तयार गरिएको हो । प्रत्यक्ष निर्वाचनमा महिला सहभागिताबारे तयार पारिएको आलेख गत हप्ता प्रकाशित भएको छ भने सिमान्तकृत समुदायको सहभागीताको बारेमा तयार गरिएका आलेख आगामी हप्ता प्रकाशन हुनेछ ।)

प्रकाशित मितिः   २५ जेष्ठ २०८१, शुक्रबार ०५:०४