जो खाली खुट्टा पढ्न जान्थे
माहादेव पन्थ सुर्खेत जिल्लाका प्रमुख जिल्ला अधिकारी हुन् । वि.सं. २०२५ माघ १ गते आमा मनकुमारी पन्थ र बुबा बुद्धिप्रसाद पन्थका साइला छोराको रूपमा गुल्मीको बलेटकसार गाविसमा उनको जन्म भएको थियो । वि.सं. २०५५ सालमा शाखा अधिकृतबाट सरकारी सेवामा प्रवेश गरेका पन्थ २०६८ सालदेखि प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा रहेर काम गरिरहेका छन् । शिक्षित परिवारमा जन्मिएका पन्थ आफ्नो बाल्यकाल रमाइलोसँग बितेको बताउँछन् । उनले हाम्रा सहकर्मी मुना हमालसँग आफ्नो बाल्यकालको सम्झना यसरी साटेका छन्ः
मेरो बाल्यकाल गाउँघरमा बित्यो । कृषक परिवारमा जन्मिएँ, हाम्रो ठूलो परिवार भएको कारणले रमाइलो लाग्थ्यो । हामी ६ दाजुभाइ थियौं । बुबा पूजापाठमा ध्यान दिनुहुन्थ्यो । परिवार शिक्षित थियो । त्यस कारण पनि हाम्रो समय धेरै पढाइमा नै बित्यो । घरमा पढ्नुपर्छ र असल व्यक्ति बन्नुपर्छ भन्नुहुन्थ्यो । सरकारी जागिर खानुपर्छ भन्नुहुन्थ्यो । पढ्ने वातावरण राम्रो भएको कारणले पनि पढाइमा बढी ध्यान जान्थ्यो । अनुशासनमा रहनुपर्छ भनेर घरमा सिकाउनुहुन्थ्यो । त्यसकारण पनि नराम्रो काममा भने लागिनँ ।
मैले प्रारम्भिक शिक्षा प्रावि बलेटकसारबाट सुरु गरेको हुँ । कक्षा १ मा पढ्न गएको याद अझै पनि आउँछ । घरबाट विद्यालय जान त्यस्तै ४५ मिनेट जति लाग्थ्यो । हिँडेर दाइहरूसँग पढ्न गएको थिएँ । जुत्ता चप्पल लगाउने जमाना थिएन । त्यस बेलामा खाली खुट्टा जुत्ता चप्पल नलगाएर म पढ्न गएको सम्झना छ । पढाइ बाहेक अन्य खेलहरूमा पनि रुचि थियो । घरमै दाजुभाइ धेरै भएको कारणले खेल्नका लागि छिमेकी साथीहरूसँग त्यति गइएन् । घरवरिपरिका साथीहरूसँग भने कहिले काहीं खेलियो । डण्डीबियो, कपर्दी, भलिबल खेल्न मनपथ्र्यो । विद्यालय बिदाको समयमा बुबाआमालाई घरको काम सघाउने गर्दथ्यौं । गाईगोरु लिएर गोठालोमा जाने, खेतबारीमा काम गर्ने हाम्रो काम हुन्थ्यो । कृषक परिवार हो हाम्रो । उखु खेती गरेका थियौं । अहिले पनि छ उखु खेती । कहिलेकाहीं पढाइ बाहेक आमाबुबालाई सघाउने गरियो । पढ्नुपर्छ भनेर पनि बुबाआमाले काममा त्यति लगाउनु हुँदैन्थ्यो ।
बिहान खाना खाएर विद्यालय जान र साँझ आएर खाजा खाएर होमवर्क गरेर मात्र घरको काम गर्थें । होमवर्क नगरेको कारणले शिक्षकबाट कहिले पनि सजाए भोग्नुपरेन । आफ्नो प्रमुख काम सम्झेर पढ्ने गर्थें । म पढाइमा राम्रो थिएँ । कक्षामा पहिलो, दोस्रो र तेस्रोमध्ये केही न केही स्थानमा आइहाल्थें । म मेहेनत गरेर पढ्थें । मेरो दाजुभाइ पनि पढाइमा राम्रो हुनुहुन्थ्यो । पढाइमा राम्रो हुनको लागि विद्यार्थी स्वयम्ले मेहेनत र लगनशील अनि अनुशासित हुनुपर्छ । बाटो हिँड्ने आफैले हो बाटो बताउने परिवार हो र विद्यालयले गाइड मात्र गर्ने हो । मैले पनि त्यसैगरी पढें ।
३ कक्षासम्म प्रावि बलेटकसारमा पढेपछि ४ कक्षादेखि आदर्श माविमा पढ्न सुरु गरें । घरदेखि विद्यालय पुग्न त्यस्तै डेढ घण्टा लाग्थ्यो । विद्यालय जाँदा खोला तर्नुपथ्र्यो । विद्यालय जाँदा ओरालो हिँडेर जानुपथ्र्यो भने आउँदा उकालो हिँड्नुपर्दथ्यो । हामीलाई खोला तार्नका लागि कहिलेकाहीं बुबा जानुहुन्थ्यो । यसरी विद्यालय जान्थ्यौं । मेरो साथीहरू कहिले काहीं उकालो ओरालो हिँड्न झन्झट मानेर बाटोबाट नै खेलेर फर्किन्थे । मैले भने कहिल्यै त्यसो गरिनँ ।
बुबाले घरमा जहिले पनि राम्रो अक्षर लेख्नुपर्छ भन्नुहुन्थ्यो । त्यसकारण पनि मेरो अक्षर राम्रा छन् । बुबालाई केही लेखेर दिनुप¥यो भने अक्षरमा राम्रो छ की छैन् भनेर ध्यान दिनुपथ्र्यो । अझै पनि बुबालाई केही लेखेर दिनुप¥यो भने अक्षरमा ध्यान दिनुपर्छ । नराम्रो अक्षर भइहाल्योकि भन्ने डर लाग्छ । स्कुलमा पनि मेरो राम्रो अक्षर भनेर सरहरूले प्रशंसा गर्नुहुन्थ्यो । सरले मैले लेखेको पाठहरू अरु कक्षामा लगेर उदाहरणको रूपमा देखाउनुहुन्थ्यो । माहादेवले कति राम्रो अक्षर लेख्छ तिमीहरू पनि आफ्नो अक्षर राम्रो बनाउने प्रयास गर भनेर भन्नुहुन्थ्यो । त्यस बेलामा खुशी लाग्थ्यो । पढाइमा अझ मेहेनत गरेर पढ्न मन लाग्थ्यो । म विद्यालयमा हुने अतिरिक्त क्रियाकलापहरूमा भाग लिने गर्थें । कविताको अन्ताक्षरी, निबन्ध प्रतियोगिताहरूमा भाग लगिन्थ्यो । नारद गोतामे सर हुनुहुन्थ्यो । उहाँले कसरी कविता लेख्ने भनेर सिकाउनुहुन्थ्यो । बाल्यकाल विशेष गरेर पढाइमा नै बित्यो । ठूलो परिवार भएकोले रमाइलो भयो । अहिले पनि हामी दाजुभाइ बुबाआमासँगै छौं । छुट्टिएर बसेका छैनौं ।
साझा बिसौनी संवाददाता ।