सहकारीमा पल्र्स अनुगमन प्रणाली

सुर्खेतमा स्थापित लगभग ६०० सहकारी संस्थाहरूमध्ये धेरै सहकारी संस्थाहरू अझै पनि आन्तरिक रूपमा पल्र्स विश्लेषण नगर्ने र सोका लागि अन्तिम लेखापरीक्षकको भरपर्ने गरेको पाउँछौं । केही लेखापरीक्षकले पल्र्स विश्लेषण गरिदिए पनि व्यवस्थापनलाई सूचकहरूको जानकारी नगराउने गरेको म आफैले धेरै नै देखेको छु । स्थापित लेखापरीक्षकमध्ये धेरै लेखापरीक्षकले अझै पनि पल्र्स विश्लेषण नगरिदिने हुनाले सञ्चालक तथा व्यवस्थापन पक्षलाई नाफा घाटाको बारे जानकारी भएता पनि आदर्श कारोबारको बारेमा जानकारी हुँदैन । यस्तो पद्धतिले क्षणिकरूपमा सहकारी संस्था नाफामा गएको देखिए पनि दीर्घकालीन रूपमा सहकारीले सुधार गर्नुपर्ने सूचकहरूको समयमै जानकारी नहुँदा पछि भवितब्य पर्दा पछुताउनु शिवाय केही हुँदैन । तसर्थ रोग लागेर उपचार गरौंला भन्नुभन्दा रोग लाग्नै नदिन वेश भनेझै यस पल्र्स अनुगमन प्रणालीले सहकारीलाई रोग लाग्नै दिँदैन । धेरै सहकारीकर्मीहरूले पल्र्स विश्लेषण बचत तथा ऋण सहकारी संस्थाहरूले मात्र गर्ने हो भनि भ्रम पालिरहनुभएको छ खासमा यो बचत तथा ऋणको कारोबार गर्ने हरेक सहकारी संस्थाले गर्नुपर्ने विश्लेषण हो । यही सन्दर्भलाई जोड्दै सहकारी क्षेत्रको एक मुख्य कडी लेखा प्रणाली अन्तर्गत रहेर पल्र्स विश्लेषणलाई आधार बनाएर केही लेख लेख्ने जमर्को गरेको छु ।
सामान्यतया हामीलाई केही बिराम लाग्यो भने चिकित्सकले हातको नाडीको पल्स विश्लेषण गरेर स्वास्थ्यस्थिति कस्तो छ भनि सिफारिस गर्दछन् र नाडीको पल्सले हामीलाई भविष्यमा हुने भवितव्यको लागि वर्तमानमै सचेत बनाए जस्तै सहकारीमा प्रयोग हुने पल्र्स प्रणालीले सहकारीका सञ्चालहरूलाई भविष्यमा आउने चुनौती रोक्नका लागि वर्तमानमै धेरै सुझावहरू दिने गर्दछ । पल्र्स अनुगमन प्रणाली (PEARLS Monitoring System)० का जन्मदाता Dave Richardson लाई मानिन्छ उनले सुरुवाती चरणमा ग्वाटेमालाका बचत तथा ऋण सहकारी संस्थाहरूका लागि यस प्रणालीको सन् १९८० मा प्रतिपादन गरेका थिए, जसलाई विश्व कर्जा परिषद् (WOCCU- World Council of Credit Union) ले विश्वव्यापी प्रयोगमा सन् १९९० देखि ल्याएको हो । नेपालमा सन् १९९८ मा एशियाली ऋण महासंघ (AACCU- Association of Asian Confederation of Credit Unions) को प्राविधिक सहयोगमा नेफ्सकुनद्वारा यो प्रणाली लागू गरिएको हो । सुरुवाती चरणमा नेफ्सकुनद्वारा आफ्ना सदस्यहरूको वित्तीय अनुगमन गर्न यस प्रणालीको प्रयोग गरेको भएता पनि सहकारी विभागको २०६५ भाद्रको परिपत्रमार्फत् बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरूले अनिवार्य रूपमा पल्र्स अनुगमन प्रणाली लागू गर्नुपर्ने व्यवस्था गरिएपछि यस प्रणालीले अझ व्यापकता पाएको हो ।
यो एक वित्तीय अनुपात वा सूचांकहरूको समूह हो जसले विभिन्न वित्तीय संस्थाहरूबीच विशिष्टीकरण वा तुलना गर्न मद्दत गर्दछ । पल्र्स एउटा वित्तीय क्षमता सुपरीवेक्षण गर्ने पद्दति हो जुन बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूको व्यवस्थापनलाई मार्ग निर्देशन गर्न विकास गरिएको हो । पल्र्स अनुगमन प्रणालीलाई एक सुपरीवेक्षक औजारको रूपमा लिन सकिन्छ जसको सहायताद्वारा सहकारीहरूको तह निर्धारण गर्न र तुलना गर्न सकिन्छ । यसको मद्दतबाट दुई भिन्न प्रकृतिका सहकारी संस्थाहरूको तुलना गर्न सकिन्छ ।
PEARLS को ढाँचा
पल्र्स अनुगमन प्रणालीका लागि वित्तीय संस्थाको वासलातलाई विभिन्न पाँच भागमा विभाजन गरिन्छ ।
१. आर्जन गर्ने सम्पत्तिः
(क) ऋण लगानी
(ख) तरल लगानी
(ग) वित्तीय लगानी
(घ) गैर वित्तीय लगानी
२. आर्जन नगर्ने सम्पत्तिः
(क) तरल सम्पत्ति
(ख) पाउनुपर्ने हिसाब
(ग) स्थिर सम्पत्ति
(घ) अन्य सम्पत्ति
३. सशुल्क दायित्वः
(क) सदस्यको निक्षेप
(ख) लिएको ऋण,
४. निःशुल्क दायित्वः
(क) तिर्नुपर्ने हिसाब
(ख) तिर्नुपर्ने कर दायित्व
(ग) अन्य दायित्व
५. पूँजीः
(क) सदस्यहरूको शेयर पूँजी
(ख) संस्थागत पूँजी
त्यसैगरी यस प्रणालीका लागि आय विवरण वा नाफा नोक्सान विवरणलाई पनि निम्नानुसार ५ क्षेत्रमा वर्गीकरण गरिन्छ ।
१. ब्याज आम्दानीः
(क) ऋण लगानीबाट
(ख) तरल लगानीबाट
(ग) वित्तीय लगानीबाट
२. गैर ब्याज आम्दानी ः
(क) गैरवित्तीय लगानीबाट
(ख) अन्य आम्दानी
३. वित्तीय खर्चः
(क) निक्षेपमा
(ख) बाह्य ऋणमा
(ग) शेयर पूँजीमा
४. सञ्चालन खर्चः
(क) वित्तीय खर्च र ऋण सुरक्षण खर्च बाहेकका खर्चहरू
५. खुद बचत(नाफा)
पल्र्स अनुगमन प्रणलीका विश्वव्यापी रूपमा ४६ वटा स्थापित सूचकहरू रहेका छन् जसको मद्दतले वित्तीय संस्थाका विभिन्न आर्थिक अवस्थाबारे जानकारी लिन सकिन्छ । समग्रमा भन्नुपर्दा पल्र्स एक गतिशील अनुगमन प्रणाली हो जुन निरन्तर रूपमा विश्व ऋण परिषद्द्वारा अद्यावधिक गरिदैं आएको छ, जसले सहकारीको आजको मात्र नभइ भोलिको समेत आवश्यकता पूरा गर्न मद्दत गर्दछ । पल्र्सका विश्वव्यापी ४६ वटा स्थापित सूचकहरूमध्ये नेपालमा धेरै प्रयोगमा आउने १५ देखि २२ वटा सूचकहरू रहेका छन् । जसले सहकारी संस्थाको समग्र वित्तीयस्थितिलाई एकै स्थानमा लक्ष्य र नतिजासहित देखाउने हुनाले यो आजको समयमा अत्यन्त प्रभावकारी मानिएको छ ।
PEARLS को अर्थ
पल्र्स PEARLS कुनै एउटा अक्षर नभइ यसका ६ वटा अक्षरहरूले वित्तीय अवस्था सम्बन्धी ६ वटा क्षेत्रको प्रतिनिधित्व गर्दछन् ।
P= Protection Indicators सुरक्षणसँग सम्बन्धित सूचकहरू
सम्पत्तिहरूको पर्याप्त मात्रामा सुरक्षा हुनु खासगरी यस सूचांकमा सुरक्षण भन्नाले संस्थाले लगानी गरेको कर्जा कति सुरक्षित छ भन्ने कुरा बुझ्नुपर्दछ । धेरै संघ–संस्थाहरूले भाखा नाघेको ऋणको लागि सुरक्षणको व्यवस्था गर्न सचेत हुँदैनन् तसर्थ यस सूचकले संस्थाको सम्पत्तिमा कस्तो सुरक्षण गरिएको छ र निक्षेपको जोखिमस्थिति कस्तो छ भनि स्पष्ट पार्दछ । यस शीर्षक अन्तर्गत ६ वटा सूचकहरू रहेका हुन्छन् र प्रत्येक सूचकले संस्थाले लगानी गरेको कर्जाको जोखिमताको मूल्यांकन गर्दछन् ।
E= Effective Financial Structure प्रभावकारी वित्तीय संरचना
यस सूचकले सम्पत्ति, दायित्व र पूँजीको मात्राको मापन गर्दछ । संघ–संस्थाको वित्तीय संरचना एकमात्र महŒवपूर्ण तत्व हो जसले संस्थाको वृद्धिको सम्भावना, कमाइ गर्ने क्षमताको विश्लेषण गर्दछ । यस शीर्षक अन्तर्गत सम्पत्तिलाई उत्पादक र अनुत्पादनक क्षेत्रमा वर्गीकरण गरी हेरिन्छ जसले आदर्श वित्तीय संरचनाको सिफारिश गरी समग्र वितीय सबलताको निर्धारण गर्न सहयोग गर्दछ । यस शीर्षक अन्तर्गत ९ वटा सूचकहरू रहेकाछन् ।
A= Asset Quality सम्पत्तिको गुणस्तर
यस अन्तर्गत सम्पत्तिलाई आय–आर्जन गर्ने र आय–आर्जन नगर्ने सम्पत्ति गरी दुई भागमा विभाजन गरी विश्लेषण गरिन्छ । आय–आर्जन गर्ने सम्पत्तिको मात्रा कसरी बढाउने तथा आर्जन नगर्ने सम्पत्तिले संस्थामा नकारात्मक प्रभाव पार्ने भएको हुँदा त्यस्ता सम्पत्ति कसरी घटाउने भन्ने सम्बन्धमा व्यवस्थापनलाई जानकारी दिन्छ । यस सूचकको विश्लेषणद्वारा व्यवस्थापनले आर्जन नगर्ने सम्पत्तिलाई तोकिएको परिमाणात्मक मानकमा राख्न सहयोग पुग्दछ । यस अन्र्तगत तीन वटा सूचकहरू रहेकाछन् ।
R=Rate of Return & Costs प्रतिफल र खर्चको दर
यस सूचकले संस्थाले वासलातभित्रको पूँजी तथा दायित्वहरूमा तिर्नुपर्ने लागतको मापन गर्दछ । प्रतिफल मापन गर्ने सूचकले लगानीमा प्रतिफल तथा लागतबाट वित्तीय संस्थाले बजारदर अनुसार सम्पत्ति, दायित्व तथा पूँजीहरूमा लागत व्यहोरिरहेको छ छैन, कमाइ गरिरहेको छ छैन भन्ने कुराको मापन गरी व्यवस्थापनलाई जानकारी गराउँदछ । समग्र रूपमा भन्नु पर्दा यस सूचांकले संस्थाको कार्यगत क्षमताको मात्रा मापन गर्दछ । यस अन्र्तगत १३ वटा सूचकहरू रहेका छन् ।
L= Liquidity तरलता
तरलता भन्ने वित्तिकै संस्थामा रहेको नगद, बैंक, छोटो समयको लगानी भन्ने सम्झनुपर्दछ । यस सूचांकले संस्थालाई आफ्नो नगदलाई प्रभावकारी ढङ्गबाट व्यवस्थित गरिएको छ कि छैन भनेर देखाउँदछ, ताकी सदस्यहरूको निक्षेप फिर्ताको आवश्यकता तत्कालै पूरा गर्न सकियोस र संस्थाको साखमा थप वृद्धि होस् । साथै यस सूचांकले यस कुरामा सचेत पनि बनाउँदछ कि तरलता को नाममा धेरै रकम राख्दा निष्क्रिय नगदको रूपमा राखिएमा संस्थाको कमाइ गर्ने सम्पत्ति निष्क्रिय हुन्छ र आम्दानीमा गिरावट आउँछ तसर्थ यस सूचांकले संस्थामा राख्नुपर्ने तरलताको आदर्श मानकलाई पक्षपोषण गरी व्यवस्थापनलाई सचेत बनाउँदछ । यस शीर्षकमा तीन वटा सूचकहरू रहेका छन् ।
S= Sign of Growth वृद्धिका संकेतका सूचकहरू
वृद्धिका संकेत भन्नले सहकारी संस्थाको आर्थिक क्रियाकलापमा वृद्धिको संकेतको मापन भन्ने बुझ्नुपर्दछ । यस सूचकले सम्पत्तिमा वृद्धि, सदस्य संख्यामा वृद्धि, निक्षेपमा वृद्धि आदि कुरा मापन गर्दछ । प्रत्येक सूचकको वृद्धिदर आ–आफ्नो मानक भएको हुँदा सो बराबरको वृद्धि छ कि छैन विश्लेषण गरी निश्कर्षमा पुग्न सकिन्छ । यसको नतिजाले हामीलाई हाम्रो संस्थाको सदस्य सन्तुष्टी दर कति रहेछ भनि पत्ता लगाउन मद्दत गर्दछ ।
सन्दर्भ सामग्रीः विश्व कर्जा परिषद्, नेफ्सकुन, सहकारी विभागका बेबसाइट, केन्द्रीय सहकारी प्रशिक्षण केन्द्रबाट प्रकाशित सामग्री ।
(लेखक जलेश्वर बहुउद्देश्यीय सहकारी संस्था लि., वीरेन्द्रनगर–१८
(हाल ३), सुर्खेतमा कार्यरत छन् ।)

प्रकाशित मितिः   १४ चैत्र २०७३, सोमबार १५:०२