लगानी सुनिश्चित
जलविद्युत उत्पादनमा कर्णाली प्रचुर सम्भावना भएको प्रदेश हो । अध्ययनअनुसार कर्णाली प्रदेशको कूल ऊर्जा क्षमता (कर्णाली, भेरी, तीलालगायत नदी करिडोरमा) १८ हजार मेगावाट बराबरको रहेको अनुमान छ । हालसम्म यसको आठ दशमलव ५५ मेगावाट मात्र उत्पादन भएको छ । धेरै जलविद्युत आयोजना निर्माणको प्रक्रियामा छन् । केही विवादका कारण अल्झिएका छन् । साना तथा ठूला थुप्रै आयोजना निर्माण हुने क्रममा छन् । सम्भावना भएको क्षमतामा विद्युत उत्पादन गर्न सक्ने हो भने कर्णाली प्रदेशको मात्र नभई मुलुककै विद्युत विकास र आर्थिक समृद्धिमा समेत योगदान पुग्ने अपेक्षा गर्न सकिन्छ । त्यसका लागि केही सकारात्मक संकेत पनि देखिन थालेका छन् । जलदुल्ला जलविद्युत आयोजना त्यस्तै एक उदाहरण हो ।
एक सय ६ मेगावाट क्षमताको जगदुल्ला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन (क्रण सम्झौता) भएको छ । विद्युत विकास विभागले डोल्पा जिल्लामा निर्माण गर्न लागेको आयोजनाको तीन निजी र दुई सरकारी संस्थाले लगानी गर्नेगरी सम्झौता भएको हो । आयोजनामा नबिल बंैक लिमिटेडको अगुवाईमा लक्ष्मी सनराइज र एभरेष्ट बंैक तथा सरकारी वित्तीय संस्था कर्मचारी सञ्चय कोष र हाइड्रो इलोक्ट्रिसिटी इन्भेष्टमेन्ट कम्पनी लिमिटेडबीच सम्झौता गरिएको छ । आयोजनाका लागि नबिल बंैकले चार अर्ब ४० करोड अर्ब, सञ्चय कोष र एचआइडिसिएलले चार÷चार अर्ब, लक्ष्मी सनराइजले दुई अर्ब र एभरेष्ट बंैकले एक अर्ब ५० करोड रूपैयाँ क्रृण लगानी गर्नेछन् । कूल २३ अर्ब रूपैयाँ लागतमध्ये १६ अर्ब ऋण र सात अर्ब रूपैयाँ स्वपुँजीबाट जुटाउने योजना रहेको छ । डोल्पा जिल्लाको जगदुल्ला र मुड्केचुला गाउँपालिकामा आयोजना निर्माण हुनेछ । जगदुल्ला गाउँपालिका वडा नं. १ हुरीकोटमा बाँध निर्माण गरी ६ दशमलव एक किलोमिटर लामो सुरुङमार्गमार्फत् लगिएको पानी मुड्केचुला गाउँपालिका–४ इलमा निर्माण हुने विद्युत गृहमा पानी खसालेर बिजुली निकालिनेछ । अहिलेसम्म आयोजनाको विस्तृत इन्जिनियरिङ, वातावणीय अध्ययन, परीक्षण सुरुङ निर्माण, विद्युत खरिद सम्झौता (पिपिए) लगायतका काम सकिएको आयोजनाले जनाएको छ ।
पहिलो पटक लगानी जुटेर निर्माणमा जान लागेको कर्णाली प्रदेशकै सबैभन्दा ठूलो आयोजना हो । आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा ‘नेपालको पानी जनताको लगानी’ शीर्षकमा समेटिएको जगदुल्लाले दैनिक एक करोड २० लाख रूपैयाँ बराबर आम्दानी गर्नेछ । यसबाट राज्यलाई २९ करोड रूपैयाँ बराबरको राजस्व प्राप्त हुने अपेक्षा गरिएको छ । आयोजनाको निर्माणपछि वार्षिकरूपमा चार अर्ब ८० लाख रूपैयाँ बराबरको आम्दानी हुने प्रक्षेपण गरिएको छ ।
प्रकाशित मितिः ७ जेष्ठ २०८१, सोमबार १५:१३
सम्पादकीय ।