हिमाली बस्तीमा प्रभावकारी आवासीय विद्यालय
सुर्खेत: वरपर आँखा डुलाउँदा टल्किरहेका हिमाल देखिन्छन् । छेवैमा छायाँनाथ हिमाल छ । हरिया पहाडले घेरिएको स्थानमा छ नेपाल राष्ट्रिय माध्यमिक आवासीय विद्यालय । माथिबाट हेर्दा उपत्यका जस्तो लाग्छ । यो हो केजाङ । मुगुम कार्मारोङ गाउँपालिका ३ केजाङमै नेपाल राष्ट्रिय माध्यमिक आवासीय विद्यालय सञ्चालन भइरहेको छ ।
पूर्वतिर छायाँनाथ हिमाल, पश्चिममा मुगुम कार्मारोङ गाउँपालिका, उत्तरतर्फ चरन क्षेत्र र दक्षीणतर्फ मुगु कर्णाली नदी बगिरहेको छ । हिउँ पग्लिएपछि उपत्यका जस्तो परिदृष्य देखिन्छ । मुगु जिल्लाको उत्तरी भेगमा मानव बसोबास भएको माथिल्लो गाउँ हो यो । यहाँ पुग्न सदरमुकाम गमगडीबाट दुई दिन पैदल हिँड्नुपर्छ ।
यो ठाउँ धार्मिक र पर्यटकीय रूपले महŒवपूर्ण मानिन्छ । छायाँनाथ धाममा पर्यटकहरू आउने गर्छन् । विशेष गरेर साउन र भदौमा आन्तरिक पर्यटक अलि धेरै आउँछन् । पर्यटनमा मात्र होइन, केजाङमा केही वर्षयता अर्को नौलो उपलब्धी देखिन्छ । त्यो हो, शिक्षामा आएको परिवर्तन । केही वर्ष पहिले नेपाल राष्ट्रिय माध्यमिक आवासीय विद्यालयमा १८ जना विद्यार्थी हुन्थे । अहिले तीन सय ३५ जना नियमित विद्यार्थी छन् । तीन सय ३५ जना छात्राबासमा बस्छन् । अंग्रेजी र नेपाली भाषामा विविध ज्ञानमात्रै होइन, कला र संस्कृतिसँगै मातृभाषा पनि पढ्छन् ।
मुगुम कार्मारोङ गाउँपालिका ३ का लुन्दुक तामाङको परिवारलाई सन्तानलाई शिक्षादिक्षा दिनुपर्छ भन्ने थाहा नभएको होइन । तर, पनि चिन्ता थियो, पढाउने कहाँ ? नजिक राम्रो विद्यालय छैन, टाढा सहर लैजान सकिँदैन । उनीहरूले त्यो चिन्ताको समाधान भेटे, नेपाल राष्ट्रिय माध्यमिक आवासीय विद्यालय । अहिले अभिभावकलाई वरदान सावित भइरहेको छ । गाउँपालिकाका ६ वटा वडाका १२ विद्यालय समायोजन गरेर आवासीय विद्यालय सञ्चालन भइरहेको छ ।
कसरी फेरियो त विद्यालय ? कारण हो, विद्यालयको व्यवस्थापन र स्थानीयको इच्छाशक्ति । ‘विद्यालय राम्ररी चल्न व्यवस्थापन मजबुत हुनुपर्छ । प्रशासन राम्रो भएर काम हुन सक्यो भने अरु कुरामा सुधार हुँदै जाने रहेछ,’ गत ११ वर्षदेखि केजाङमा रहेको नेपाल राष्ट्रिय माध्यमिक आवासीय विद्यालयमा पढाइरहेका शिक्षक कुशलबहादुर शाही भन्छन् । विद्यालयमा आएको परिवर्तनको राम्ररी अनुभव गरेका उनी भन्छन््, ‘चाह्यो भने त हुनेरहेछ । गाउँलेहरू पनि अहिले निकै सकारात्मक छन् । आफ्नै गाउँठाउँमा आफ्ना सन्तानले राम्रो शिक्षा पाए भने त्योभन्दा खुसी अरु के हुन्छ ? अझ बाहिर छोराछोरी पढाउन नसक्ने विपन्न वर्गका अभिभावकलाई केजाङमा रहेको विद्यालयले धेरै राहत दिएको छ ।’
२०२१ सालमा विद्यालय स्थापना भएको थियो । त्यो बेला प्राथमिक तहसम्म पढाइ हुन्थ्यो । २०७७ सालबाट निम्न माध्यमिक विद्यालयमा स्तरोन्नती भयो । २०८० सालबाट माध्यमिक विद्यालयका रूपमा सञ्चालनमा रहेको छ ।
मुगु जिल्लाका सबै स्थानीय तह तथा हुम्ला र जुम्लाबाट समेत उक्त आवासीय विद्यालयमा विद्यार्थी पढ्न आउँछन् । हिमाली जिल्लाका प्रायः बालबालिका केजाङमा पढ्न पुगेका छन् । यसैले केजाङमा रहेको आवासीय विद्यालयमा छात्रावासको सुविधा पनि आवश्यकताले जन्माएको हो ।
भौगोलिक विकटताका कारण एउटा गाउँबाट अर्को गाउँ पुग्न दिनभर नै लाग्छ । बीचमा अरु विद्यालय पनि छैनन् । २०७६ मा छात्रावास सुरु भयो । विद्यार्थीलाई विद्यालयमै राख्ने, खाना खुवाउने पढाउने गरिन्छ । छात्रावासमा तीन सय ३५ जना राखिएको छ । अहिले खाना पकाउने सहयोगी सात जना, छात्रबासमा कामकाज गर्ने तीन जना, शिक्षक १२ जना लगायतले आवासीय विद्यालय सञ्चालन गरिरहेका छन् ।
यहाँ अध्ययन गर्ने तीन सय ३५ जना बालबालिकालाई सरकारले हिमाली छात्रावासको सुविधा दिएको छ । सुरुको वर्ष २०७६ मा कक्षा ४ र ५ लाई आवासीय विद्यालयको रूपमा सञ्चालन गरिएको थियो । त्यसपछि हरेक वर्ष कक्षा थप्दै २०८१ बाट कक्षा १० सम्म आवासीय कक्षा सञ्चालन गरिएको छ ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले मासिक चार हजार नगद पाउँछन् । संघीय सरकारले आवासीय सुविधा पनि उपलब्ध गराएको छ । प्रदेश सरकारले भने विद्यालयका भवन निर्माणमा सहयोग गरिरहेको छ ।
पाँच जिल्लामा आवासीय विद्यालय
कर्णाली प्रदेश सरकारले आवासीय विद्यालयको अवधारणा अघि बढाएको छ । दुर्गम हिमाली जिल्लामा घण्टौँ हिँडेर आउने बालबालिकालाई आवासीय विद्यालयको अवधारणा अनुसार काम अघि बढाइएको हो । साविक कर्णालीका पाँच जिल्लामा आवासीय विद्यालय भवन निर्माण गर्न लागिएको छ । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ मा नमुना आवासीय विद्यालय बनाउने योजना ल्याएको हो । सोही वर्षबाट साविक कर्णालीका पाँच जिल्लामा नमुना आवासीय विद्यालय छनोट गरी पूर्वाधार निर्माण सुरु गरिएको थियो ।
नमुना आवासीय विद्यालयका लागि पूर्वाधार निर्माण गर्न चार वर्षदेखि काम सुरु गरिएको छ । सुरुको आर्थिक वर्ष २०७७/०७८ मा पाँच जिल्लाका पाँच विद्यालयमा एक÷एक करोड बजेट भवन निर्माणका लागि बजेट दिइएको थियो । उक्त भवनको निरन्तरताका लागि २०७८/७९ मा ८०/८० लाख रूपैयाँका दरले दिइयो । तेस्रो वर्ष २०७९/०८० मा भवनको निरन्तरताका लागि ५० लाख र चालु आर्थिक वर्ष २०८०/०८१ मा पनि ५० लाख रूपैयाँ प्रतिविद्यालय भवनको निरन्तरताका लागि दिइएको छ ।
प्रदेश सरकारले भौगोलिक रूपमा विकट हिमाली क्षेत्रमा सामुदायिक विद्यालयतर्फ विद्यार्थीको आकर्षण बढाउन र सहज रूपमा पठनपाठनको प्रबन्ध मिलाउन आवासीय कार्यक्रमको अवधारणा अघि सारेको हो । आवासीय भवन निर्माणको योजनाले निरन्तरता पाइरहेको शिक्षा विकास निर्देशनालयका निमित्त निर्देशक दीपा हमालले बताइन् । उनका अनुसार कालीकोट, हुम्ला, डोल्पा, मुगु र जुम्लामा एउटा एउटा नमुना आवासीय विद्यालयको मापदण्डमा रहेर भवन निर्माण भइरहेका छन् । यो वर्ष पाँच जिल्लाका पाँच वटा विद्यालयलाई ५० लाख विनियोजन गरिएको हमालले जनाइन् । आवासीय विद्यालय भवन निर्माणको काम अन्तिम चरणमा पुगेको उनको भनाइ छ ।
रजनी याेगी ।