क्षयरोग निवारण अभियान, बिरामीले बसाइँ सार्दा चुनौती
सुर्खेत, १० चैत ।
विश्व क्षयरोग दिवस आज (शुक्रवार) नेपालमा पनि मनाइदैंछ । सरकारी तथा गैरसरकारी निकायहरूले हरेक वर्ष यो दिवस मनाउँदै आएका छन् । दिवसकै अवसरमा सुर्खेतमा पनि विभिन्न चेतनामूलक कार्यक्रमहरू आयोजना गरिएका छन् ।
यो रोग नियन्त्रणका लागि सरकारले विभिन्न प्रयासहरू सञ्चालन गरिरहेको छ । राज्यले ठूलो रकम खर्च गरेको भए पनि क्षयरोग निवारणमा थप चुनौती थपिदैं गएको हो । बिरामीले उपचारमा लापरबाही गर्ने र रोग लुकाउँदा समस्या बढ्दै गएको छ । मध्यपश्चिम क्षेत्रमा वर्षेनी यो रोगको संक्रमण बढ्दै गएको छ । सुर्खेतमा पनि संक्रमण बढ्दै गएको भन्दै स्वास्थ्यकर्मीले चिन्ता व्यक्त गरेका छन् । क्षयरोग नियन्त्रणका लागि प्रयासरत भए पनि बिरामीहरू गम्भीर नहुँदा कठिनाइ उत्पन्न भएको स्वास्थ्यकर्मी बताउँछन् ।
यो रोगका बिरामीहरूले स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधि सेवन गर्नुपर्दछ । तर कम्तीमा ६ महिनासम्म नियमित औषधि सेवन गर्नुपर्ने भए पनि बिरामीहरूले बीचमै औषधि छुटाउने गरेका छन् । यस्तै बिरामीहरू एक स्थानबाट अर्को स्थानमा बसाइँ सरेर जाने भएकाले पनि रोग निवारणमा थप चुनौती थपिएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका क्षय तथा कुष्ठरोग सम्बन्धी अधिकृत गणेश गौतमले भने, ‘रोग निवारणका लागि हामीले प्रयास जारी राखेका छौं, सरकारले त औषधि पनि निःशुल्क दिएको छ । तर बिरामीहरू लापरबाही गर्छन्, नियमित औषधि सेवन नगर्दा रोग पुनः बल्झिने गरेको छ ।’ बिरामीको बसाइँसराइँको कारण पनि रोग निवारणमा कठिनाइ भइरहेको उनले बताए । उनका अनुसार बिरामीले औषधि सेवनको मात्र पूरा नहुँदै अन्यत्र बसाइँ सर्ने र औषधि सेवनमा ध्यान नदिँदा रोग थप बल्झिने गरेको छ ।
बिरामीले ६ महिनासम्म नियमित औषधि सेवन गरेमा यो निको हुन्छ । तर अधिकांश बिरामीहरूले यो औषधि बीचमै छाड्ने गरेका छन् । कतिपय बिरामीहरूले एक स्थानमा औषधि सेवन गर्ने र त्यसको मात्र पूरा नहुँदै बस्ती नै सरेर अन्यत्रै जाने गर्दछन् । यस्ता बिरामीमा रोग पुनः बल्झिन्छ भने उनीहरूकै कारण निरोगीमा पनि रोगको संक्रमण हुने गरेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । त्यस्तै श्वासप्रश्वासका माध्यमबाट सजिलै सर्ने क्षयरोगको संक्रमण मधुमेह, एचआईभी, मृगौला प्रत्यारोपण गरेका, क्यान्सर जस्ता प्रतिरोध क्षमता कम भएका बिरामीलाई छिटो हुने गर्दछ । यस्तै जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार पछिल्लो नौ महिनाको अवधिमा सुर्खेतमा तीन सय ६७ जना क्षयरोगका नयाँ बिरामी फेला परेका छन् । यो संख्याले पनि जिल्लामा यो रोगको संक्रमण उच्च रहेको देखाएको छ । जिल्लामा बाहिरबाट पनि मानिसहरू आउने भएकाले रोगको संक्रमण बढी देखिएको बताइएको छ ।
गत साउनदेखि फागुनसम्म तीन सय ६७ जना नयाँ बिरामी भेटिएका छन् । जसमध्ये एक सय १० जनाको खकारमा किटाणु देखिएको छ । अघिल्लो वर्ष चार सय ८ जना नयाँ बिरामी भेटिएकोमा एक सय २० जनाको खकारमा संक्रमण देखिएको थियो । पछिल्लो समय जनचेतनाका कारण क्षयरोगका बिरामी समयमा नै उपचार गराउन आउने क्रम बढेको
छ । यो रोग निवारणका लागि जनस्वास्थ्य कार्यालयले जिल्लाका प्रत्येक वडामा स्वास्थ्य स्वयम्सेविकाहरूको निगरानीमा क्षयरोगको
औषधि वितरण गरिरहेको छ । यस्तै मध्यपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका अनुसार मध्यपश्चिममा खकारमा संक्रमण देखिएका क्षयरोगका बिरामी दुई हजार ११ रहेको बताए । त्यस्तै बितेको आर्थिक वर्ष २०७१÷०७२ मा दुई हजार एक सय ३७ जना, २०७०÷०७१ मा दुई हजार ९९ जना संक्रमित भेटिएका थिए । क्षेत्रीय स्वास्थ्य निर्देशनालयका क्षय तथा कुष्ठरोग अधिकृत पदम केसीले क्षयरोगको संक्रमणको संख्या घट्दो क्रममा रहे पनि बसाइँसराइँका कारण उपचारमा समस्या भएको बताए ।
नियमित औषधि सेवन गरेमा निको हुने क्षयरोगका कारण विश्वमा हरेक वर्ष १५ लाख मानिसको मृत्यु हुने गरेको छ भने विश्वमा हरेक वर्ष ९० लाख नयाँ क्षयरोगका बिरामी देखापर्ने गरेको तथ्यांकले देखाएको छ । क्षेत्रीय स्वास्थ्य निर्देशनालयका अनुसार नेपालमा हरेक वर्ष ४५
हजार नयाँ क्षयरोगका बिरामी थपिने गरेका छन् ।
जसमध्ये ३० हजारले मात्र स्वास्थ्य सेवा लिइरहेका छन् । नेपालमा हाल ८० हजार ५० जना क्षयरोगका बिरामी भएको सरकारी तथ्यांक छ । नेपालमा वर्षेनी पाँचदेखि सात हजार क्षयरोगका बिरामीको मृत्यु हुने गरेको छ ।
साझा बिसौनी संवाददाता ।