बस्तीमा बँदेलको आतंक

अन्नबालीमा क्षति, मानिसमाथि नै आक्रमण बढ्दो

सुर्खेत: दैलेखको भैरवी गाउँपालिकाको वडा नं. ६ मा मंगलवार बँदेलको आक्रमणमा परेर सात जना घाइते भए । जंगलबाट गाउँ पसेको एउटै बँदेलले सात जनालाई आक्रमण गरेको वडा अध्यक्ष तुलबहादुर हमालले जानकारी दिए । बिहानको समयमा घरमै बसिरहेको अवस्थामा बँदेलले एक्कासी आक्रमण गरी घाइते बनाएको हो ।

गत फागुन ३ गते पनि सोही वडाकी ६३ वर्षीया पवित्रा कँडेललाई बँदेलले घरमै आएर आक्रमण गरेको थियो । बँदेलले आक्रमणमा परेर उनी घाइते भइन् । कर्णाली प्रदेश अस्पतालमा उपचार गरिए पनि उनी शारीरिकरूपमा अपाङ्ग हुन पुगिन् । गाउँमा अहिले बँदेलको क्रास छ । बँदेलका कारण खाद्यन्न तथा अन्न बाली जोगाउनै धौ–धौ हुने र बर्सेनि अन्न बालिमा क्षति पुग्ने गरेको छ । पछिल्लो समय मानिसहरूमाथि पनि आक्रमण गर्ने गरेका घटनाहरू बढेका छन् ।

२०७९ वैशाख ४ गते जंगली बँदेलको आक्रमणबाटै दैलेखको दुल्लू नगरपालिका–१० का निरक खत्री गम्भीर घाइते भएका थिए । दिउँसोको समयमा खेतबारीमा काम गरिरहेका उनलाई एक्कासी गाउँ पसेको बँदेलले आक्रमण ग¥यो । उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पु¥याइयो । उपचारपछि ज्यान त जोगियो तर उनको एउटा हात र खुट्टाले काम गर्न छोड्यो । निरक भन्छन्, ‘दिउँसोको समयमा घरमै आएर बँदेलले आक्रमण ग¥यो, धौ–धौ ज्यान त जोगियो तर जीवनभर अपाङ्ग भइयो, बाँया खुट्टा र दाँया हात चल्दैन ।’

जंगली जनावर बँदेलको आतंकले स्थानीय त्रसित बनेका छन् । दिउँसोमा नै बँदेल गाउँमै पस्न थालेपछि गाउँले डरले घरबाहिर निस्कनै छाडेका छन् । अर्कोतर्फ खेतबारीमा लगाएको अन्न बाली र तरकारी बाली खाएर नष्ट गर्न थालेपछि कृषक चिन्तित बनेका छन् । जंगली जनावरकै कारण खेतबारी बाझै राख्नुपर्ने अवस्था आउन थालेको भैरवी गाउँपालिका–६ का रामबहादुर पुनमगरले बताए । ‘बथानमा आउने बँदेलको समूहले गहुँबाली खाइसक्यो’ उनले दुःखेसो पोख्दै भने, ‘बँदेल आतंक बढेको छ । जेनतेन खेति ग¥यो जंगली जनावरले खाइदिन्छन् ।’ जनावरबाट बाली जोगाउन धौ–धौ हुनेगरेको उनको भनाइ छ । बर्सेनि खाद्यन्न उत्पादन कम हुँदै गएको भन्दै उनले त्यसमा पनि जंगली जनावरले खाएर हैरान पार्ने गरेको सुनाए ।

दुल्लू नगरपालिका–१० का कृषक प्रकाश थापा पनि बँदेलदेखि हैरान भएका छन् । थापाले भने, ‘बँदेलले गाउँलेले बारीमा लगाएको गहुँ र तरकारी एउटा पनि राखेन । एक त समयमै पानी नपर्नाले हामीले मार खेप्नु परेको छ भने अर्कोतिर दुःख गरेर लगाएको खेतीसमेत बँदेलले आएर खान थाल्यो ।’ बँदेल भगाउन रातभरी जाग्राराम बस्दा पनि बारीमा लगाएको मकै जोगाउन नसकिएको उनको भनाइ छ ।

 

बँदेल नियन्त्रण गर्न माग

दैलेखबाट निर्वाचित प्रदेश सभा सदस्य घनश्याम भण्डारीले जिल्लाका विभिन्न स्थानीय तहमा बँदेल आतंक बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बँदेल नियन्त्रणका लागि पहल गर्न सरकारसँग उनले आग्रह गरेका छन् । कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशनको नवौं बैठकमा बोल्दै भण्डारीले दैलेखका दुल्लू, भैरवी, महाबुलगायतका विभिन्न स्थानमा किसानले लगाएको गहुबाली नष्ट गरेकाले किसानहरू मर्कामा परेको बताए । ‘दैलेख जिल्लामा जंगली जनावार बँदेलको आतंक धेरै बढेको छ, किसानहरूले खेतबारीमा लगाएको गहुँ लगायत अन्य अन्नबाली बदेलले नष्ट गरेकाले किसानहरू मर्कामा परेका छन्’, भण्डारीले भने । सरकारले जो जो किसानको क्षति भएको छ, त्यसको क्षतिको विवरण संकलन गरी क्षतिपूर्ति दिने व्यवस्था गर्नुपर्ने बताए ।

राहत वितरण गर्न निर्देशिका

यसैबीच जंगली जनावरले पारेको क्षतिको राहत दिने उद्देश्यले निर्देशिका जारी गरिएको छ । वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका २०८० जारी भएसँगै क्षतिपूर्तिको बाटो भने खुलेको छ ।

वन्यजन्तुबाट जनधनको क्षति भएमा राहत वितरण गर्ने प्रक्रियालाई सरल बनाउन निर्देशिका जारी गरिएको हो । संघीय वन मन्त्रालयले निर्देशिका जारी गरेको हो । उक्त निर्देशिका बमोजिम प्रदेश सरकारले राहत वितरण गर्ने प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ । १६ वटा जनावरबाट मानवीय तथा अन्नबालीमा क्षति भएमा राहत दिने गरिएको मन्त्रालयका सूचना अधिकारी निरज श्रेष्ठले बताए । उनका अनुसार हात्ती, गैँडा, बाघ, भालु, चितुवा, हिउँ चितुवा, ध्वाँसे चितुवा, ब्वाँसो, जंगली कुकुर, जंगली बँदेल, अर्ना, गोही, चौरीगाई, अजिङ्गर नीलगाई, बाँदरले पु¥याएको क्षतिमा क्षतिपूर्तिको व्यवस्थापन गरिएको छ ।

जंगली जनावरले बाली क्षति गरेमा कृषकले क्षतिपूर्तिस्वरूप दश हजार रूपैयाँसम्म पाउने छन् । निर्देशिकामा वन्यजन्तुको आक्रमणबाट अङ्गभङ्ग भएर जीवनभर शारीरिक रूपले अशक्त भएकालाई पनि राहतको व्यवस्था गरिएको छ । गम्भीर घाइतेलाई दुई लाख रूपैयाँसम्म दिइनेछ भने जीवनभर गम्भीर रूपले शारीरिक अशक्त हुने अवस्था भएमा एकमुष्ट पाँच लाख रूपैयाँ उपलब्ध गराइने व्यवस्था गरिएको हो ।

 

राहतका लागि निवेदन पेस

यसैबीच राहतका लागि चालु आर्थिक वर्षमा एक सय ३६ जनाले निवेदन पेस गरेका छन् । जिल्लाका डिभिजन वन कार्यालय मार्फत उनीहरूले निवेदन पेस गरेका हुन् । सबैभन्दा बढी मकै तथा अन्नबालीसम्बन्धी निवेदन पेस भएको मन्त्रालयले जनाएको छ । परेका निवेदनमाथि कागजी प्रक्रिया पूरा राहत वितरण गरिने मन्त्रालयका सूचना अधिकारी निरज श्रेष्ठले बताए । उनका अनुसार सल्यानका निवेदन धेरै पेस भएका छन् । राहत वितरणका लागि संघीय सरकारले मन्त्रालयलाई १७ लाख बजेट पठाएको छ  । राहत वितरणका लागि उक्त बजेट अपुग हुने देखिन्छ । सोही शीर्षकमा प्रदेशको मन्त्रालय आफैले बजेट विनियोजन गरेको छैन ।

प्रकाशित मितिः   १३ बैशाख २०८१, बिहीबार १३:४५