प्रदेश ६ मा स्थानीय तहको केन्द्रका लागि तानातान
सुर्खेत, ६ चैत ।
स्थानीय तहको पुनर्संरचना अन्तर्गत गाउँपालिका र नगरपालिकाको केन्द्रमा विवाद उत्पन्न भएको छ । सरकारले राजपत्रमा केन्द्र तोकेपछि स्थानीय तहमा असन्तुष्टी देखिएको छ । प्रदेश नम्बर ६ का विभिन्न जिल्लामा सर्वसाधारणले आफूहरूको अनुकूलता विपरित केन्द्र निर्धारण भएको भन्दै विरोधमा उत्रिएका हुन् ।
गाउँपालिका र नगरपालिकाको केन्द्रलाई लिएर सुर्खेत, रुकुम र जाजरकोटमा तीव्र विवाद उत्पन्न भएको छ । यस्तै यही प्रदेशको हुम्लामा पनि आफूहरूको चाहना विपरित भूगोल नमिल्ने गरी वडा विभाजन गरिएको भन्दै स्थानीयले राजपत्रमा प्रकाशित सूचना नै जलाएका छन् । सुर्खेतमा गाउँपालिकाको केन्द्रलाई लिएर तानातान नै भएको छ । जाजरकोटमा छुट्टाछुट्टै स्थानमा केन्द्र मानेर कार्यालय उद्घाटन गरिएका छन् भने रुकुममा स्थानीयले कर्मचारीलाई फिर्ता गरिदिएका छन् ।
यो प्रदेशका अधिकांश जिल्लामा यसअघि गाउँपालिका र नगरपालिका सिफारिस गर्दा पनि विवाद भएको थियो । सरकारले राजपत्रमा प्रकाशित गरेर केन्द्र तोकिदिएपछि नागरिकहरूमा असन्तुष्टी देखिएको हो । सुर्खेतको चौकुने गाउँपालिकामा केन्द्रको विषयमा विवाद बढेको छ । राजपत्रमा केन्द्र गुटु तोकिएको छ । तर साविकका लगाम, बेतान, बिजौरा र घाटगाउँका बासिन्दा आफूहरूलाई सो केन्द्र पायक नपर्ने भन्दै आन्दोलनमा उत्रिएका छन् । उनीहरूले सदरमुकाम वीरेन्द्रनगरमै आएर गाउँपालिकाको केन्द्र बिजौरामा तोक्न माग गरे । अर्कोतर्फ गुटुका बासिन्दाले भने राजपत्रमै तोकिएकाले गुटुमै केन्द्र हुनुपर्ने अडान लिएका छन् । गुटु बाहेकका अन्य क्षेत्रका बासिन्दाले केन्द्र माग गर्दै संघर्ष समिति नै गठन गरेका हुन् । उनीहरूले बिजौरामा केन्द्र नतोकिए गुटुमा तोकिएको केन्द्रलाई नमान्ने बताएका छन् ।
जाजरकोटमा पनि केन्द्रको विषयलाई लिएर तानातान नै भएको छ । जिल्लाको त्रिवेणी नलगाड नगरपालिकाको केन्द्रलाई लिएर विवाद भएको हो । राजपत्रमा यसको केन्द्र मन्मै तोकिएको छ । दुई ठाउँमा कार्यालय उद्घाटन गरिएका छन् । स्थानीय बासिन्दाले मन्मैमा केन्द्र उद्घाटन गरेका हुन् । तर राजनीतिक दलहरूले भने दल्लीमा केन्द्र पायक पर्ने भन्दै कार्यालय नै उद्घाटन गरेका छन् । यसले स्थानीय बासिन्दा र दलहरूबीच विवाद उत्पन्न गराएको छ । केन्द्रको विषयमा विवाद भएपछि कर्मचारीहरू सदरमुकाम फिर्ता भएका छन् भने कार्यालय सञ्चालन हुन सकेका छैनन् । स्थानीय बासिन्दाले आफूहरूले भनेको स्थानमा केन्द्र हुनुपर्ने भन्दै नाराबाजी र आन्दोलन जारी राखेका छन् ।
यो प्रदेशका दैलेख, कालिकोट, जुम्ला, मुगु, डोल्पा र सल्यानमा कुनै विवाद छैन । रुकुममा पनि केन्द्रकै लागि विवाद भएपछि कर्मचारीहरू गाउँ जान सकेका छैनन् । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिकाको केन्द्र राजपत्रमा कोल तोकिएको छ । तर स्थानीयले यसको केन्द्र तक्शेरामा हुनुपर्ने भन्दै आन्दोलन थालेका छन् । कोलमा केन्द्र पायक नपर्ने भन्दै उनीहरूले तक्शेरामा नतोकिए अस्वीकार गर्ने चेतावनी दिएका छन् । यस्तै आठबीसकोट नगरपालिकाको केन्द्र रादीबजारमा तोक्नुपर्ने माग पनि बढ्दै गएको छ । भौगोलिक सुगमता, पहुँच र पूर्वाधारलाई ख्याल नगरेर राजनीतिक पहुँचको आधारमा केन्द्र निर्धारण भएको भन्दै सर्वसाधारणहरू असन्तुष्ट बनेका छन् । उनीहरूले अहिलेकै अवस्थामा आफूहरूले केन्द्र स्वीकार गर्न नसक्ने बताउँदै आएका छन् ।
हुम्लाको ठेहेका बासिन्दाले भूगोललाई ख्याल नगरेर वडा विभाजन गरिएको भन्दै राजपत्र नै जलाएका छन् । उनीहरूले सिमकोट गाउँपालिकामा भौगोलिक पहुँच र सहजताको आधारमा वडा विभाजन गर्न माग गरिरहेका छन् । संघीयताले अधिकार दैलोमा पु¥याउने भए पनि यसको गलत प्रयोग गरिएको सर्वसाधारणको आरोप छ । सुर्खेतमा चौकुने गाउँपालिकाको केन्द्र बिजौरामा हुनुपर्ने माग गर्दै आएका लगामका लक्ष्मण आलेले अहिले तोकिएको गुटु केन्द्र पायक नपर्ने बताए । गाविसको अधिकार वडा तहमा रहेका जनताका घरघरमा आउने भनिए पनि आफूहरूका लागि भने त्यो लागू नभएको उनको भनाइ छ । यसअघि स्थानीय तह निर्धारण प्राविधिक समितिले छलफल गर्दा गाउँपालिकाको नाम चौकुनेमा सबैको सहमति भए पनि केन्द्रमा सहमति हुन सकेको थिए । केन्द्रमा विवाद भएपछि समितिले गुटु वा बिजौरा भनेर सिफारिस गरेको थियो । तर अहिले राजपत्रमा गुटु केन्द्र तोकिएपछि साविकका लगाम, बिजौरा, बेतान र घाटगाउँ गाविसबासी संघर्षमा उत्रिएका हुन् । यता जिल्ला समन्वय समिति सुर्खेतका सचिव अमृत लम्साल अहिले तोकिएको केन्द्र अस्थायी भएकोले विवाद नगर्न आग्रह गर्छन् । उनका अनुसार स्थानीय तहको निर्वाचन भएको ६ महिनाभित्र गाउँ वा नगरसभाको सामान्य बहुमतले नाम र केन्द्र तोकेर पुनः सिफारिस गर्नसक्ने प्रावधान रहेको छ । अहिले तोकिएका केन्द्र अस्थायी मात्रै भएका उनको भनाइ छ ।
साझा बिसौनी संवाददाता ।