‘घरको काम सकेर स्कुल जान्थें’

टीकाराम आचार्य समाज जागरण केन्द्र (स्याक) नेपाल सुर्खेतका कार्यकारी निर्देशक हुन् । वि.सं. २०२९ जेठ ८ गते बुबा लक्ष्मीप्रसाद आचार्य र आमा भूमिसरा आचार्यको कान्छा छोराको रूपमा जन्मिएका आचार्य स्याक नेपालमा स्थापनाकालदेखि नै कार्यरत छन् । यसबाहेक उनी सामाजिक कार्यमा पनि सक्रिय छन् । शिक्षाका लागि राष्ट्रिय अभियान सुर्खेतका संयोजकसमेत रहेका आचार्यले आफ्नो बाल्यकालको सम्झना हाम्रा सहकर्मी मुना हमालसँग यसरी साटेका छन् ः
म जन्मिएपछि बसाइसराइँ नै रोकियो
मेरो बाल्यकाल वीरेन्द्रनगर–१२ नेवारेमा बित्यो । किसान परिवारमा मेरो जन्म भएको हो । हामी सुर्खेत बस्नुको पनि खास कारण छ । तराईतिर खेती राम्रो हुन्छ भनेर हामी र हाम्रो आफन्तहरू सबै भैरहवा रूपन्देही बसाइँ सरेर जाने तयारी थियो रे । वि.सं. २०२९ जेठ ७ गते बसाइँ सरेर जाने भनेर सबै तयारी थियो । नेपालगन्जबाट प्लेनमा जानुपर्ने थियो । त्यसदिन प्लेन क्यान्सिल भयो । भलिपल्ट ८ गते जानुपर्ने भएछ । ८ गते बिहान म जन्मेछु । त्यसपछि हाम्रो परिवार यसै बस्यो । ठूलोबुबाहरू जानुभयो । म जन्मेपछि सुर्खेतमै बस्ने निर्णय गरिएको हो रे ।
घरको काम सकेर मात्र पढाइ
हाम्रो परिवार खेतीपातीमा निर्भर थियो । पशुपालन पनि गरिएको थियो । त्यसैले घरको काममा सघाउनुपथ्र्यो । घरको काम गरेर मात्र विद्यालय जान्थें । बिहान घाँसदाउरा काटेर विद्यालय जाने र साँझ विद्यालयबाट आउनबित्तिकै घरकै काममा जुट्थें । भाइबहिनी मिलेर बुबाआमालाई सधैं सघाउँथ्यौं । घरमा गाईभैंसी थिए । बुबाआमालाई मेलापात गर्न र खेतबारीमा ठीक्क हुन्थ्यो । हामी दुध बिक्री गर्नको लागि जान्थ्यौं । दुध बिक्री गर्नको लागि ईत्रामतिर र बजारमा आउनुपथ्र्यो । ईत्राममा सरकारी कार्यालयहरू भएकोले त्यहाँ कर्मचारीहरूले दुध खान्थे । बिहानको समयमा दुध पु¥याउन आउनुपथ्र्यो । घरमा तरकारी खेती पनि थियो । विद्यालयबाट आइसकेपछि कहिले काहीं तरकारी बेच्न भाइबहिनी भएर बजार पुग्थ्यौं ।

सानैदेखि समाजसेवा
म सानोमा अलि चञ्चले स्वभावको थिएँ । चञ्चले भए पनि त्यस्तो उग्र भने होइन । नराम्रो गर्दै भने हिँडिएन । मेरो रुचि सामाजिक काममा थियो । सानो छँदा जुनियर रेडक्रस सर्कलमा आवद्ध भएर सामाजिक कार्य पनि गरें । त्यस्तै गाउँमा साथीहरूसँग मिलेर टोलमा सरसफाइ कार्यक्रम गर्ने, कोही बिरामी भएपछि अस्पतालसम्म पु¥याउने काममा सक्रिय थिएँ । सामूहिक रूपमा देउसीभैलो खेलेर सामाजिक कार्यमा लगाउने गर्दथ्यौं । त्यसैले सानैदेखि मेरो रुचि सामाजिक कार्यमा थियो ।
अतिरिक्त क्रियाकलापमा अगाडि
मैले अमरज्योति नमुना माविबाट नै एसएलसी पास गरेको हुँ । सुरुदेखि नै त्यही विद्यालयमा पढें । मेरो पढाइ राम्रो नै थियो । म गणितमा अलि बढी जान्ने थिएँ । शिक्षकले एउटा पाठ पढाइ सक्दा मैले तीन÷चार वटा पाठको हिसाब गरिसक्थें । हिसाबहरूको उदाहरण हेरेर भए पनि हिसाब सबैभन्दा अगाडि गर्थें । कथा, उपन्यास, निबन्ध पढ्न रुचि खुब मन पराउँथें । विद्यालयको किताबहरूसँगै अरु किताबहरू पनि पढ्ने गर्थें । त्यसकारण पनि सामान्य ज्ञान बुझेको थिएँ । हाजिरीजवाफमा भाग लिएँ भने कहिले पनि असफल हुनु पर्दैनथ्यो, प्रथम नै हुन्थें ।
बालसुलभ बिठ्याइँ
गाउँमा सबैभन्दा धेरै काँक्रा चोरियो । साथीहरू मिलेर आफ्नो घरको साथीहरूको घरको छिमेकीका काँक्रा धेरै चोरियो । कहिले काहीँ काँक्रा हामीले चोर्ने र नाम अरु कसैको लेखेर छोडिदिन्थ्यौं । साथीहरूको लहलहैमा लागेर तास खेल्ने, सूर्ति खाने गरियो । हामी घाँस काट्नको लागि विमानस्थल क्षेत्रमा जान्थ्यौं । त्यहीं नै पहिलो पटक सूर्ति खाएको थिएँ । मुखमा सूर्ति हाल्नेबित्तिकै चक्कर लागेर ढलें । त्यसपछि मैले सूर्ति कहिल्यै खाइनँ । त्यहाँबाट सूर्तिको गन्ध पनि मन पर्दैन । कहिले काहीं स्कुलमा पढ्दै गर्दा पढ्न मन नलागे पछि भाग्ने पनि गरियो । पढ्न मन नलागेपछि हल्ला गर्ने गर्दथ्यौं । एक÷दुई घण्टी पढेर भाग्दा शिक्षकले दिएको सजाय अझै पनि याद आउँछ । ८÷९ कक्षामा पढ्ने बेलामा त स्कुलबाट भागेर भिडियो हेर्न बजार आउँथ्यौं । २०४३ सालतिर हो । अहिलेको जस्तो घरघरमा टिभीहरू थिएनन् । नयाँ फिल्महरू लाग्ने भयो भने भागेर हेर्न आउँथ्यौं । एक जना बजारको साथी थियो । उसले कुन फिल्म लागेको छ भनेर स्कुलमा आएर सुनाउँथ्यो । फिल्म हेर्नको लागि पैसा पनि उसैले नै हाल्दिन्थ्यो । कहिले काहीं काम गर्न अल्छी लाग्दा पढेको बहाना गर्थें । काम नगर्दा गाली पाइन्थ्यो त्यसैले किताब समाएर पढे जस्तो गर्थें । पढेको छ भनेर बुबाआमाले काम गराउनुहुँदैनथ्यो ।
आमाभन्दा बुबासँग डर
पढेर भविष्यमा यो नै बन्छु भन्ने थिएन । आमाबुबा निरक्षर भए पनि उहाँहरूले राम्रोसँग पढ्नुपर्छ, असल मान्छे बन्नुपर्छ, सक्षम बन्नुपर्छ र असल मान्छेहरूसँग मात्र संगत गर्नुपर्छ भनेर सम्झाउनुहुन्थ्यो । घरमा बरु सरकारी जागिर खानुपर्छ भन्नुहुन्थ्यो । मलाई शिक्षक बन्नुपर्छ जस्तो लाग्थ्यो । शिक्षकलाई सबैले नमस्कार गर्ने, मान्ने भएको कारण शिक्षक बन्न पाए हुन्थ्यो भन्ने सोंच्थे । कहिले काहीं भनेको नमान्दा पिटाइ पनि खाइन्थ्यो । आमाको भन्दा बुबाको अलि बढी डर लाग्थ्यो । गोठालो जान मन नलाग्दा गएन भने गाली गर्नुहुन्थ्यो अनि कहिले काहीं त पिट्नु पनि हुन्थ्यो । बुबासँग त अझै पनि डर लाग्छ ।
९ कक्षामा पढ्दा दाइ बित्नुभयो । हामी तीन भाइ थियौं । एक बहिनी । माइलो दाइ बित्नुभयो । आफूसँगै खेलेको हुर्केको दाइ गुमाउँदा धेरै पीडा भयो । बाल्यकाल कहिले पीडा, कहिले खुशीसँग बित्यो । बरु मिठो खान पाएन् होला । रोजेको लगाउन पाइएन् होला तर दुःख भने भोग्नु परेन् । एक हिसाबले भन्दा ठीकैसँग बित्यो मेरो बाल्यकाल ।

प्रकाशित मितिः   ७ चैत्र २०७३, सोमबार १३:०३