आगलागीको जोखिम

पछिल्लो समय आगलागीका घटनामा वृद्धि भएको छ । गर्मी बढेसँगै आगलागीका घटनामा वृद्धि भएको हो । दिनहुँजसो आगलागीका घटना बढेको प्रहरीले जनाएको छ । हिमाली जिल्लाहरूमा त केही समयअघिदेखि नै आगलागी हुन थालिसकेको थियो । हावाहुरीको मौसम सुरु भएसँगै कर्णालीका विभिन्न जिल्लामा आगलागीका घटनामा वृद्धि भएका हुन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार चालु आर्थिक वर्षको हालसम्म एक सय तीन आगलागीका घटना भइसकेका छन् । आगलागीमा परी आठ जनाको मृत्यु र दश जना घाइते भएका छन् । सबैभन्दा बढी सुर्खेतमा आगलागीका घटना भएका छन् । सुर्खेतमा १७ आगलागीका घटना भएका छन् । यसैगरी जुम्लामा १६, जाजरकोटमा १३, कालीकोटमा ११, सल्यानमा १४, दैलेखमा १२, रूकुमपश्चिममा दुई, मुगुमा ६, डोल्पामा सात र हुम्लामा पाँच वटा आगलागीका घटना भएका छन् । पछिल्लो समय आगलागीबाट मानवीय क्षति हुनेगरेको छ ।

अहिले फुसका घर, गोठ, वन जंगलतिर बढी आगलागीका घटना भएको छ । सावधानी नअपनाइँदा आगलागीका घटनाहरू बढ्दै गएको देखिन्छ । आगलागीका घटना भइरहनुमा मुख्यगरी अव्यवस्थित बसोबास र मानवीय असावधानी नै हो । प्राकृतिक हिसाबले पनि पछिल्ला वर्षमा आगलागीको बढी नै जोखिम छ । जलवायु परिवर्तनको असरले डढेलोजस्ता जोखिमहरू बढिरहेका छन् । यसको न्यूनीकरणका लागि सोहीअनुसारका सरकारी नीति र जनचेतनामुलक कार्यक्रम आवश्यक पर्छ । वन क्षेत्रमा गाईबाख्रा चराउँदा घास काट्दासमेत मानवीय क्षति हुनेगरेको छ । पछिल्लो समय हिमाली क्षेत्रहरूमा समेत आगलागीबाट ठूलो क्षति हुनगरेको छ । हिमाली जिल्लाहरूमा लहरै जोडिएर बनेका घरका कारण पनि आगलागीबाट धेरै क्षति हुने गरेको हो । त्यस्ता बस्तीमा आगो तीव्र रूपमा फैलने गर्छ । हिमाली तथा पहाडी क्षेत्रमा आगलागी हुँदा निकै ठूलो क्षति भएपछि मात्रै नियन्त्रणमा आउने गरेको छ । दमकल र पानीको अभावका कारण आगो नियन्त्रणमा लिन समस्या हुने गरेको हो ।

आगलागीबाट बर्सेनि क्षति भइरहेपनि सरकारले यसको न्यूनिकरणका लागि पर्याप्त योजना बनाउन सकेको छैन । प्रदेश सरकारले सबै बस्तीमा खरका छाना हटाएर टिन हाल्ने महत्वाकांक्षी योजना ल्याएपनि प्रभावकारी कार्यान्वयन भएको छैन । केही वर्षअघिदेखि सुरू भएको उक्त कार्यक्रम अलपत्र छ । आगलागीका घटनाबाट जनधनको क्षति भइरहँदा सरकारले राहत तथा पुनस्र्थापनामा पनि ढिलासुस्ती गर्दै आएको छ । बढ्दो भौतिक र मानवीय क्षति न्यूनीकरण गर्न सरकार गम्भिर हुन जरुरी छ । पीडितलाई राहत दिनुका साथसाथै आगलागी समस्या निम्तिन नदिनेगरी योजना बनाउन पनि ढिला गर्नु हुँदैन ।

प्रकाशित मितिः   ५ चैत्र २०८०, सोमबार ०५:०३