हरिया पातहरुमा कला भरिरहेका विराज

जुम्ला: २०७७ सालको असार ३ गते, यो दिन बिर्सन नसक्ने गरी विराजको स्मृतिमा बसेको छ । ‘लिफ आर्ट’ मा साधना गरिरहेका उनले ओखरको पातमा लिपुलेकसहितको नेपालको नक्सा कोरेका थिए । त्यसलाई सामाजिक सञ्जालमा राखे । सञ्जालमा त्यसले निक्कै चर्चा पायो, विराजले सोचेभन्दा पनि बढी । त्यसपछि विराजको कलाले व्यावसायिक रूप लियो ।

पातहरूमा पोखिएको उनको कला सामाजिक सञ्जाल हुँदै विभिन्न सञ्चारमाध्यमसम्म पुगे । रेडियोदेखि पत्रपत्रिका र टेलिभिजनमा चर्चा सुरु भयो । अहिले जुम्लाको चन्दननाथ–४ का विराज भण्डारीका लागि आम्दानीको मुख्य स्रोत पनि त्यही ‘लिफ आर्ट’ नै बनेको छ । पातमा बनाउने चित्र अर्थात् लिफ आर्टबाटै लाखौँ कमाइरहेका छन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकार, खेलाडी, राजनितिज्ञ तथा वैज्ञानिकहरूको मानव आकृती दुरुस्तै पातमा उतार्ने क्षमताले विराजलाई आयआर्जनमा जोड्यो । उनले चार वर्षभित्र लिफ आर्टबाटै १२ लाखसम्म आम्दानी गरिसकेका छन् । जुम्ला बसाइको क्रममा उनले जिल्लाभित्रका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारीलगायत विभिन्न व्याक्तिको अनुहार पातमा उतारेर आफ्नो क्षमता प्रस्तुत गरेका थिए । यस बाहेक जन्म दिन, विभिन्न पर्व तथा दिवस लक्षित चित्र र आकृति बनाएर कमाइमा जोडिएका विराजले आम्दानीसँगै ख्यातिसमेत बटुले । ‘यसरी आम्दानी हुन्छ भन्ने कल्पना थिएन, तर श्रम र सीपको सम्मान गर्ने वातावरण पाएँ, यसमा सन्तुष्ट छु, लिफ आर्टलाई व्यावसायिक बनाउन धेरैले प्रोत्साहन पनि गरे’ विराजले सुनाए ।

जुम्लामा मात्र सीमित विराजको कला अहिले देशव्यापी बनेको छ । आजभोली काठमाडांैका विभिन्न विद्यालयमा लिफ आर्टको प्रशिक्षणमा व्यस्त छन् । ‘सुरुमा रहरले अँगालेको सीप अहिले आयआर्जनको स्रोत बनेको छ, जुम्ला, डोल्पा, झापा, भक्तपुर, ललितपुर, काठमाडांै लगायतका जिल्लाका विद्यालयमा लिफ आर्टको प्रशिक्षण गरिरहेको छु’ उनले भने । प्रशिक्षणमा विद्यार्थीलाई लिफ आर्ट अर्थात् पातमा बनाउने चित्रको महŒव, बनाउने तरिका, यसको बजारका बारेमा ज्ञान बाँडिरहेको छन् ।

पातमा कोरिएको आकृति आकाशलाई पृष्ठभूमि बनाएर राख्दा प्रष्ट रूपमा देखिन्छ । विराजले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीदेखि काठमाडांै महानगरपालिकाका मेयर बालेन शाहसम्मको आकृति बनाइसकेका छन् । यति मात्र होइन, उनीहरूबाट स्याबासीसमेत पाएका छन् । कलालाई निरन्तरता दिन सुझाव पाएको विराजले बताए । उनको कला अहिले देशव्यापी बनेको छ ।

जुम्लामा हिँउदेयामका ६ महिनासम्म पात नपाइने हुँदा प्रशिक्षणमा लागेको विराजले बताए । पिपल, ओखर, अंगुरलगायतका पातमा चित्र तथा मानव आकृति कोर्ने उनलाई जुम्लामा ६ महिना सुख्खा हुँदा समस्या हुन्छ । त्यही समयलाई अहिले प्रशिक्षणमा सदुपयोग गरिरहेको विराजले जानकारी दिए । ‘हिमाली जिल्ला भएकोले जुम्लामा कार्तिकदेखि चैतसम्म हरिया पातहरू पाउन असम्भव छ, अर्डर आएपनि त्यत्तिकै समय बित्छ तर यो वर्ष प्रशिक्षण थालेपछि पछुतो छैन’ उनले भने ।

युवा जमात कुलत र विकृतिमा अल्झिरहेको खराब परिवेशले पिरोलीरहेको बेला विराजले आम्दानी र चर्चा बुटुलेको देख्दा हर्षित भएको उनका बुवा भिम भण्डारीले बताए । युवा पुस्ता सिर्जना र उत्पादनमा जोडिनुपर्ने उनको धारणा छ । ‘अहिले समय यस्तो आएको छ कि, हरेक अभिभावकलाई आफ्नो सन्ततिलाई कसरी कुलतबाट जोगाउने भन्ने पिरलो छ तर छोराले जुन किसिमको सिर्जनशील काम थाल्यो यसबाट हामीलाई खुसी त मिलेको छ नै, यसका अलावा युवा जमातलाई एउटा प्रेरणासमेत मिलेको छ भन्ने लाग्छ’ उनले भने ।

 

 

प्रकाशित मितिः   २६ फाल्गुन २०८०, शनिबार ०५:०५