दैलेखमा पेट्रोलियम अन्वेषण: उपकरण भित्र्याउन नाकामै अवरोध
सुर्खेत: पेट्रोलियम अन्वेषण गर्न ल्याइएका उपकरण नाकामै रोकिएका छन् । दश ट्रक ड्रिलिङ मेसिनहरू नेपालगञ्जको रुपैडिया नाकामा रोकिएको पेट्रोलियम अन्वेषण परियोजनाले जनाएको छ । चीनबाट भारतको कोलकाता हुँदै बुधवार रुपैडिया नाकामा सामान भन्सार छुटको पत्र नभएपछि नाकामै रोकिएको पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख दिनेशकुमार नापितले जानकारी दिए । उनका अनुसार अर्थ मन्त्रालयले समयमै भन्सार छुटको पत्र विभागका नाममा नपठाएकाले सामान नाकामा अलपत्र परेको हो ।
माघ २१ गते अर्थ मन्त्रालयमा खानी तथा भूगर्भ विभागले पेट्रोलियम अन्वेषण परियोजनाका नाममा सम्पूर्ण कर तथा महसुल छुट दिने भन्ने पत्र पठाएको थियो । पत्र पेस गरेको लामो समयसम्म पनि नाम परिवर्तन नगरिँदा मेसिन नाकामा थन्किएको प्रमुख नापितले बताए । अर्थ मन्त्रालयले समयमै भन्सार छुटको निर्णय नगरिदिँदा ट्रान्सपोर्ट कम्पनीलाई लाखौंको जरिवाना तिर्नुपर्ने भएको छ । २०८० असोज २२ गते गरेको पहिलो चरणको निर्णयमा चाइना जीओलोजिकल सर्भे कम्पनीका नाममा निर्णय भएको थियो तर परियोजनाले खानी तथा भूगर्भ विभागको नाममा हुनु पर्ने भन्दै अर्थ मन्त्रालयमा माघ २१ गते अर्को पत्र पठाएको थियो ।
नापितले भने, ‘अर्थ मन्त्रालले समयमा काम गरिदिएन । अहिले दोहोरो भाडा तिर्नु पर्ने अवस्था आयो । परियोजनाले दश दिन पहिले पनि अर्थ मन्त्रालयमा पुगेर यसबारे जानकारी गराएको थियो ।’ बेला–बेलामा कामबारे चासो दिएको भएपनि सत्ता फेरबदलले गर्दा परियोजनाको काम ओझेलमा परेको जनाइएको छ । अब पनि अर्थमन्त्रीले निर्णय गर्नुपर्ने भएकाले केही समय लाग्ने नापितले जानकारी दिए । ‘रुपैडिया नाकाबाट दैलेखसम्म मेसिन ल्याउन आठ दिन लाग्छ,’ उनले भने, ‘सबै मेसिनको पार्ट टुक्रा–टुक्रा पारिएकाले जडान गर्न समेत समय लाग्छ ।’
दैलेखबाट निर्वाचित प्रदेशसभा सदस्य घनश्याम भण्डारीले नाकाबाट मेसिन ल्याउने काममा सरकारले सहजीकरण गर्नुपर्ने बताउँछन् । उनले देशकै गौरवको आयोजना भएकाले सबै आ–आफ्नो ठाउँबाट सहजीकरण गर्नुपर्ने भन्दै सरकारले बाटो खोलिदिनुपर्ने जनाए । उनले भने, ‘मन्त्रालयको एउटा निर्णयमा विकास निर्माणका काम रोक्न हुँदैन । यसको निकास दिनुपर्छ ।’
मोड सुधारको काम अन्तिम चरणमा
यसैबीच अन्वेषणका सामग्री ल्याउनकै लागि कर्णाली राजमार्गमा रहेका साँघुरा घुम्ती (मोड) फराकिलो बनाउने काम अन्तिम चरणमा पुगेको छ । सुर्खेतको बाङ्गेसिमलदेखि दैलेखको साङ्गेतडासम्मका साँघुरा मोड फराकिलो बनाइएको हो । पेट्रोलियम पदार्थ अन्वेषणका लागि ठूला उपकरण ल्याउनुपर्ने भएपछि मोड सुधार गरिएको छ ।
सडक फराकिलो बनाउने काम ९५ प्रतिशत सकिएको छ । संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय सुर्खेतले मोड सुधारको काम गरिरहेको छ । एक किलोमिटर सडक कालोपत्रेको काम मात्र बाँकी रहेको कार्यालयका इन्जिनियर अशोक चौधरीले जानकारी दिए । ‘अहिले कालोपत्रेको काम भइरहेको छ । कामको भौतिक प्रगति ९५ प्रतिशत पुग्यो,’ चौधरीले भने, ‘मेसिन ल्याउनका लागि सडक फराकिलो पारिएको छ । अब मेसिन ल्याउन मिल्छ ।’
‘ड्रिलिङ’का लागि अन्तिम तयारी
दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा अन्तिम ड्रिलिङका लागि पूर्वाधार निर्माणका काम धमाधम भइरहेका छन् । मेसिन जडान गर्ने स्थानमा फिल्ड निर्माण, माटो कटिङ, जग्गा सम्माउने लगायतका काम सकिएका छन् । मेसिन जडान गरेर ‘ड्रिलिङ’को काम सुरु गरिनेछ ।
यसअघि दुई चरणको अध्ययनमार्फत् पेट्रोलियम पदार्थ रहेको पुष्टि गरिएको थियो । अब तेस्रो चरणअन्तर्गत पेट्रोलियम भण्डारणको अवस्था पत्ता लगाइनेछ । करिब तीन सय किलोमिटरको हाराहारीमा तीन हजारभन्दा बढी स्थानमा ड्रिलिङ गरी विस्फोटको माध्यमबाट तरङ्ग पठाइ गरिने अध्ययनबाट आएको जानकारी प्रशोधन गरी खानीको भण्डारण क्षेत्रबारे निक्र्योल गरी ड्रिलिङका लागि स्थान तय गरिएको हो । सोहीबमोजिम जलजलेमा काम भएको छ ।
चिनियाँ प्राविधिक टोलीले अन्तिम चरणको अन्वेषण गरेपछि दैलेखमा पेट्रोलियम खानीको अवस्था र व्यावसायिक उत्खनन् सम्भावनाको टुँगो लाग्ने छ । अन्तिम चरणमा हुने ‘ड्रिलिङ’ लगायतको कामपछि स्थानीय क्षेत्रमा कति पेट्रोलियम भण्डारण छ भन्ने पत्ता लाग्नेछ । अन्वेषणको प्रतिवेदनले पेट्रोलियम खानी सञ्चालन गर्न सम्भव देखाएमा उत्खनन् योजना अघि बढ्ने जनाइएको छ ।
नेपाल सरकार खानी तथा भूगर्व विभाग र चिनियाँ सरकारको जिओलोजिकल सर्भे कम्पनीबिच कामका लागि सम्झौता गरिएको हो । २०७६ असोजदेखि सुरु गरिएको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन् अन्तर्गतको अन्तिम चरणको कामको सम्झौता यही फागुनमा सकिदै छ । अहिले म्याद पथ गरेर काम गर्ने योजना रहेको परियोजनाले जनाएको छ ।
साझा बिसौनी ।