राजधानीभित्रकै उपेक्षित बस्ती: स्थायी पुर्जाको पर्खाइमा पठान टोल

सुर्खेत: ७२ वर्षीय भीमबहादुर सुनार वि.सं. २०२४ सालदेखि वीरेन्द्रनगर–१० स्थित पठान टोलमा बस्दै आएका छन् । पाँच दशकभन्दा लामो समयदेखि बसोबास गरिरहेको जमिन भने उनको नाममा छैन ।

तीन पुस्ता परिवर्तन भएपनि हातमा जग्गाको स्थायी पुर्जा नपरेको उनी बताउँछन् । जसका कारण सुकुम्वासी जीवन बिताउनु परेको सुनारको गुनासो छ । दलित भएकै कारण पनि उपेक्षामा परेको उनी बताउँछन् । उनलाई यस्तो किन पनि लाग्छ भने पठान टोलको सिँगै बस्ती दलित समुदायको छ । यहाँका नागरिकहरू स्थायी पुर्जाविहीन मात्रै छैनन्, विकास अन्य थुप्रै पूर्वाधारबाट समेत वञ्चित छन् । ‘विकासमा विभेद गरिएको छ,’ सुनारले भने, ‘शौचालय, स्वच्छ खानेपानी, बिजुली, बाटोघाटो, विद्यालयलगायतका भौतिक पूर्वाधार उपलब्ध नहुँदा हामीहरू वर्षौंदेखि अनागरिकजस्तै कष्टकर जीवन बिताउन बाध्य छौँ ।’ जग्गाधनी पुर्जा नभएकै कारण विभिन्न सेवाबाटसमेत वञ्चित हुनु परेको उनले सुनाए ।

भीमबहादुरजस्तै पठान टोलका एक सय १७ परिवारसँग जग्गाधनी पुर्जा छैन । पछिल्लो समय पठान टोलका सुकुम्वासीहरूलाई पुर्जा वितरणका लागि प्रयास भने भइरहेका छन् । पठान टोलसँगै अन्य भूमिहीन नागरिकहरूलाई स्थायी पुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाइएको वडाअध्यक्ष डिलबहादुर रखालले जानकारी दिए । उनकाअनुसार वडाभर एक हजार दुई सय ३२ घरधुरी पुर्जाविहीन छन् । वडाले उनीहरूको विवरण संकलन गरिसकेको छ ।

जग्गाधनी पुर्जा नहुँदा आर्थिक कारोबार गर्न समस्या हुने गरेको छ । जग्गाधनी पुर्जा नहुँदा बसिरहेको जमिनमा व्यवस्थित र सुरक्षित घर बनाउन नसकेको स्थानीय अम्मरबहादुर कामीले बताए । त्यति मात्रै होइन कुनै व्यवसायका लागि आवश्यक रकम जोहो गर्न ऋण लिनसमेत नसकिएको उनले जनाए । कामीका अनुसार बिजुलीको मिटर जोड्नसमेत समस्या भइरहेको छ । पठान टोलका करिब नौ वटा घरधुरीले धरौटी रकम बुझाउन नसकेका कारण बिजुलीको मिटर जोड्न पाएका छैनन् ।

सुकुम्वासी बस्ती अस्थायी भएको भन्दै अन्य पूर्वाधारको विकासका योजना नपार्ने गरेको लगायत समस्या भोगिरहेको सोही बस्तीका शुक्रबहादुर सुनारले बताए । उनले भने, ‘हामी सचेतनाको अभावमा छौँ । कुन तहबाट राज्यका सेवा उपभोग गर्ने भन्ने विषयमा सामान्य ज्ञानसमेत छैन ।’ पठान टोल समूहका संयोजक रनेबहादुर सुनारले आफूहरू न्यायको पहुँचमा पुग्न नसकेको बताए । अशिक्षा, गरिबीलगायतका कारण आधारभूत आवश्यकता परिपूर्तिका लागि यहाँका युवाहरू रोजगारीको खोजीमा भारत जाने गरेका छन् । सुनारका अनुसार बस्तीमा गुणस्तरीय बीउ, मल, आधुनिक कृषिका उपकरण र थप सरकारी स्रोत साधनहरूमा पहुँच पुग्न सकेको छैन । सिँचाइ सुविधा नहुँदा समुदायले खाद्य असुरक्षाको सामना गरिरहेको भन्दै उनले स्थानीय सरकारको सहयोग आवश्यक रहेकोमा जोड दिए । शिक्षाको सुविधाबाट नागरिकहरू वञ्चित हुनुपरेको र सरकारी स्रोतहरूमा नागरिकको सहज पहुँच अझै पुग्न नसकेको उनले बताए ।

एकातिर पुर्जा नहुँदा राज्यले प्रदान गर्ने सेवा लिनबाटै पठान टोलका नागरिक वञ्चित छन् भने अर्कोतर्फ जनचेतना र सामाजिक पहुँचको अभावका कारण पनि थप समस्या झेलिरहेका छन् । शिक्षा, स्वास्थ्य र रोजगारीमा सहज पहुँच नभएको स्थानीय सुशीला विकले बताइन् । गास र बासकै चिन्ता हुनेगरेकाले आधारभूत आवश्यकताबाटै वञ्चित भइरहेको उनको भनाइ छ ।

 

स्वरोजगारका कार्यक्रम सञ्चालन गर्दै वीरेन्द्रनगर

यसैबीच वीरेन्द्रनगर नगरपालिकाले लक्षित वर्ग विशेष कार्यक्रममा जोड दिएको छ । चालु आर्थिक वर्षमा लक्षित वर्ग विशेष कार्यक्रम सञ्चालनमा जोड दिएको नगरप्रमुख मोहनमाया ढकालले बताइन् । उनका अनुसार वडा तहबाट ती कार्यक्रम सञ्चालन गरिनेछ । प्रत्येक वडामा रहेका विपन्न तथा लक्षित समुदाय पहिचान गरेर सोही अनुरूपको सीपमूलक तालिम सञ्चालन गरिने उनले बताइन् । उनले भनिन्, ‘प्रत्येक वडाबाट छनोट भएर आएका कार्यक्रममा नगरपालिकाले स्वीकृति दिनेछ । त्यसका लागि अहिले छनोटका काम भइरहेका छन् ।’ वडा नं. १० को पठान टोलमा समेत सचेतनाका कार्यक्रम सञ्चालन गरिने उनको भनाइ छ । ढकालले भनिन्, ‘त्यहाँका नागरिकले विभिन्न समयमा नगरपालिकाको ध्यानाकर्षण गराउनु भएको छ । त्यहाँ पूर्वाधारलगायतका सेवा विस्तार भइरहेका छन् । यो वर्षपनि कार्यक्रम राखिएको छ ।’

प्रकाशित मितिः   २४ फाल्गुन २०८०, बिहीबार ११:१७